~रोशन यक्सो “मूलसुब्बा”~
तिमीलाई तिम्रो घरखेत माग्दिन
तिम्रो धनसम्पती पनि मसग्दिन
काठमाण्डौ, सिंहदरवार र नारायनहिटी पनि माग्दिन
सिंहदरवारभित्रको कुर्सी
जसको निम्ती तिमी र तिमीहरूजस्तैहरू
लड्ने गर्छौ, बाझ्ने गर्छौ
त्यो कुर्सी तिमिलाई माग्दिन
त्यो तिमी नै राख ।
नारायणहिटी भित्रको कुर्सी
जसको निम्ती
विरेन्द्रको पूरा वंश विनास भयो
त्यो कुर्सी पनि माग्दिन
त्यो पनि तिमी ने राख ।
सिंहदरवार तिमी नै राख
नारायणहिटी पनि तिमी नै राख
अझ सम्पूर्ण काठमाण्डौ तिमी नै राख
तर
तिमीले हिजो झुक्याएर मसंग लिएको
लिम्वुवान माग्छु ।
तिमीसंग त्यो फक्ताङलुङमा माग्छु
जसलाई तिमीले कुम्भकर्न बनायौ
त्यो तुम्रिसे माग्छु
जसलाई तिमीले डुम्रिसे बनाएका छौ
त्यो मुकुमलुङ माग्छु
जसलाई तिमीले पाथिभारा बनाएका छौ
त्यो फेदेन माग्छु
जसलाई तिमीले फिदिम बनाएका छौ
समग्रमा म लिम्बिवान माग्छु
मेरो आफ्नै लिम्बिवान ।
म तिमीलाई काठमाण्डौ माग्दिन
तिम्रो अधिकार पनि माग्दिन
तर
म तिमीसंग मेरो अधिकार माग्छु
मेरो आफ्नै पहिचान माग्छु
मेरो आफ्नै अस्तित्व माग्छु
जसलाई तिमीले खोसेर लिएका थियौ/राखेका छौ
झुक्याएर लिएका थियौ/राखेका छौ
म तिमीलाई अरु केही माग्दिन
भो ! मलाई तिम्रो केही पनि नदेऊ
तर मलाई मेरो लिम्बुवान चाहिन्छ
हामीलाई हाम्रो लिम्बुवान चाहिन्छ
हो ! हामीलाई हाम्रै लिम्बिवान चाहिन्छ
हाम्रै पहिचान चाहिन्छ
हाम्रै अस्तित्व चाहिन्छ
मलाई मेरो लिम्बिवान चाहिन्छ
-ताप्लेजुङ, हाल: काठमाण्डौ
(स्रोत : नेपालीकविता डट कम)