कथा : पश्चाताप

~चन्द्र रानाहँछा~

‘डम्बरीले भीरखर्केको पेट बोकी छे ।’

टोलभरि भित्रभित्रै हल्ला फैलिसकेको थियो । मान्छेहरु आपूmसित ठोक्किन आइपुगेको दोस्रो व्यक्तिसँग यही प्रसङ्ग झिकेर चर्चा गर्थे ।

‘एहै ! भीरखर्के काका र डम्बरी फूपूको बारेमा सुन्यौ ? हैन ती फूपूलाई के मति आ’को लौ !’

पँधेरामा भेट्नासाथ रामसरीले रुद्रासँग टिप्पणी गरेकी थिई, रुद्राले बिट मारिदिई– ‘काका नि त ! उहाँको झन् के भा’को मति भन्नु त ? नातिनातिनासमेत त्यत्रा ठूल्ठूला भैसके । छ्या सुन्दा पनि ।’

मबुलेले आरा काटिरहेको हात रोकेर राजेशसँग भन्यो– ‘ए गाँठे ! यो भन्दा उल्का के हुन्छ ? अब ती दुईको चिलिम फर्के न त ?’

‘म त उनीहरुलाई मात्र दोष दिन्न हौ पुसैँ, भक्तेम्पाले हाम्रो कुरा खाइदिँदैन, काँधिएकी छोरीलाई माइतैमा थच्याएरै यो दिन देख्नुपरेको, त्यस्तो राम्रो कुटुम्ब आउँदा सिकुवा टेक्नै नदिई परपरै पा¥यो बूढाले !’

कतिपयले भन्दै थिए– ‘पाप यसरी नै धुरीबाट कराउँछ, भक्तेम्पा अधर्मी हो नि, दुईपाथी अक्षता के बेच्छ, आफूलाई कत्ता हो कत्ता सम्झिन्छ, स्वास्नीचाहिँ पनि भुइँमै खुट्टा टेक्दिनँ !’

भैंसीमा राँगो लाउन लाँदै गरेको ज्ञानेम्पा, हतियार अर्जाप्न कामीगाउँ निस्कँदै गरेको सर्वजित, मिलमा चामल पिसाएर फर्किएकी कौशिला, मासुको पैसा उठाउन लाप्तुङ हिँडेको देउराजका साथै तासको खालमा अडेस मारिरहेका जगजित, देशराज र बुद्धिमान आदिको मुखमा यही विषयले प्रश्रय पाएको छ आज ।

०००

माघमा उनन्तीस वर्ष पुगेकी डम्बरी सात वर्ष भएको थियो माइती आँगन तापेर बसेको । नौ वर्षअगाडि असारको मध्यतिर बेसीगाउँको चतुरेसँग कुलेलम ठोकेकी थिई ऊ । बाउ–माइतीको नाकै काटेर बेला न कुबेला लफङ्गा केटोसँग पोइल हिँडेकीले भक्तेम्पाले रिसैले वर्ष दिनजस्तो माइतीगाउँको बाटो बन्द गरिदिए डम्बरीलाई । तर आमाको मन कति दिन कठोर बन्न सक्थ्यो र ! अन्ततः तान्यो भक्तेम्माको कोमल आँसुले छोरीलाई माइतमा । ऊ माइत आउँदा घटेर सिन्काको सुतरी भएकी थिई, धेरै दिन रोएर थाकेका जस्ता देखिन्थे उसका आँखा, माइतैमा पुल्पुलिँदै बस्दा मुस्लिएका हात–खुट्टा अहिले सुकेको दाउराजस्तो भएको थियो । घुत्लुक–घुत्लुक चल्न थालेको छ महिने पेट लिएर माइत आएकी खिनौटी छोरीलाई देखेर भक्तेम्माले मन कुँड्याउँदै बरर्र आँसु खसाली ।

०००

बित्दै गए दिनहरु । माइती आएपछि ओथारो बसेकी पोथीझैँ ढुक्कले बस्न थाली डम्बरी । ‘म तिमीलाई रानी बनाएर राख्छु’ भनी फकाएर भगाएको चतुरेले केही महिनापछिदेखि नै मरणासन्न हुने गरी कुट्न थालेपछि उसको सेखी झार्न थिलथिले शरीर लिएर निकै दिन बस्ने गरी माइती आएकी थिई ऊ । तर पराइघर गइसकेकी छोरी धेरै दिन माइतमा बसेको बाउचैँलाई भने पटक्कै मन परेको थिएन । एक त छोरीले फर्केर घर जाने कुरा नगर्नु, अर्काे उसलाई खोज्दै ज्वाइँ लिन नआउनु, बूढाको मनमा शङ्काको बादल मडारिन थाल्यो । डम्बरी बाउचैँलाई सीधा आँखाले हेर्न सक्दिनथी । डरले पछिसम्म पनि तर्की–तर्की हिँड्ने छोरीको ज्वाइँसँगको सम्बन्धमा कहीँ न कहीँ तुषारापात भएकै छ भन्ने भित्रभित्रै अड्कल काटे पनि कठोर स्वभावको उसले बूढीलाई भन्थ्यो– ‘गइसकेकी छोरीलाई अझै किन कुप्दाइराख्छेस् ? बंैशले पात्तिएर पोइला जाने बेला चँै आँखा देखिन, खुरुक्क पठाइदि’हाल !’

भक्तेम्मा बूढालाई कुनै जवाफ दिन्नथी । प्रायः छोरीसँग साथ–साथ जस्तो हुने उसको वृद्ध चेहरा निकै दिनदेखि उदास देखेको छ बूढाले । तर के कारणले हो ? सोधेको छैन उसले, बरु मनमनै भन्छ– ‘आऽऽ जेसुकै होस्, फतौरीलाई टाउकोमा टेका’की नै यसैले हो ।’

०००

एक दिन भकारीको कोदो खलामा फिँजाएर सुकाउन लाग्दा रोइरहेकी थिई डम्बरी । त्यो दृश्य देखेको भक्तेम्पाले भोलिपल्ट सँुगुर खोरछेउको अम्बाकको फेदमा घाम ताप्दै कपालमा ठुङ मारिरहेकी आमा–छोरीको वार्तालाप झट्टै सुनिलग्यो– ‘हाई हाई तेरो कर्म‘’, एकक्षण शून्य भएर आँखाको भृकुटी खुम्च्याउँदै भनी बुढियाले– ‘पापी लबस्तरा, त्यै भर’पो मुख देखाउनको लाजले नमुन्टेको रै’छ, डर त छ नि त्यसलाई पनि, तेरो बाउले थाहा पायो भने…!’

डम्बरीले आमालाई जिउभरिको नीलडाम देखाउँदै भनी । ‘पल्लो घरको जेठाजु पर्ने गोफ्ले अस्ति जेठमा खसेपछि उसकी गतिछाडा स्वास्नी खुबै चटारिएकी थिई, अहिले त्यै राँडीसँग उसको नाम जोडिएको छ आमा ।’ त्यसपछि हत्केलाले आँखा छोपेर स¥याक्क आँसु पुछी– ‘यो पेटमा असत्तिको सन्तान नबसिदिएको भए मैले पनि जानेकी थिएँ, के गर्नुपर्छ !’

छोरीको दुःखद् कुरा सुनेर विक्षिप्त भई भक्तेम्मा, रसाएका वृद्ध आँखाले केवल हेरिरही चुपचाप छोरीलाई, गलाबाट झट्टै कुनै शब्द निकाल्न सकिन ।

त्यो दिन त्यत्तिकै वित्यो । भोलिपल्ट झिस्मिसेमै तल्लोघरको भतिजो रेमनसँग छोरीको घर पुगेको भक्तेम्पा दिउँसो बाह्र बजेतिर माटो भएर आइपुग्यो ।

‘खै त ज्वाइँ ?’

बूढीको मुखतिर नहेरी भन्यो उसले– ‘गुहु खाएछ नर्कबासीले ।’

‘हैन के भो अरे ?’

‘गोफ्लेकी स्वास्नी टिपेर हिँडेछ अस्ति बुधबार ।’

‘हे दैव ‘ !’

बुढिया टोलाको टोलाएई भई, डम्बरी रुँदै घरपछाडितिर दगुरी ।

०००

हर्के मावलमै जन्मियो, सक्कल काटिकुटी चतुरेकै लिएर । थुकिसकेको पोइको घृणित अनुहार छोरामा देखेर तथानाम सराप्दै करैले वर्ष दिनजस्तो दूध चुसाई डम्बरीले । थुत्ना बाउको जस्तै भए पनि बानी साह्रै असल थियो केटोको । सानैदेखि तीक्ष्ण बुद्धिको ऊ बुझ्ने भएदेखि नै ‘म हराएको बाउ खोजेर ल्याउँछु र आमालाई अधिकार दिलाउँछु’ भन्थ्यो । फुच्चेको विलक्षण हाउभाउ देखेर चित्त बुझाउँदै लगी डम्बरीले ।

दिन बित्दै गयो, डम्बरीका लागि सबै कुराहरु सामान्य हुँदै गयो । भुल्दै लगी उसले क्रमशः कर्मघर, चतुरे र यातनाहरु । कसै–कसैले ‘अब छोरालाई लिएर घर नफर्कने ?’ भनी प्याट्ट सोध्थे । ऊ निर्धक्क जवाफ दिन्थी– ‘आऽऽ केलाई फर्केर जानु र ? लोग्ने भनाउँदोले गुहु खाइहाल्यो ।’

घरबार टुक्रिएर माइतैमा बसेकी उसलाई यसबीचमा पनि सुहाउँदा जुक्ताहरुले आँखा नगाडेका भने होइनन् । धिचुङको फ्यानेले त मरिहत्ते नै गरेको थियो तर रीतभातसहित कलिया लिएरै आएको उसलाई भक्तेम्पाले ढिम्कनै नदिई परपरै पार्दै ‘दुई जनाको बाउलाई दिनुभन्दा बरु माइतमै बसोस्’ भनेर फर्काएपछि आफैँलाई रुँदै धिक्कारेकी थिई डम्बरीले । बाध्यताले माइतीघरमै छोरा पाएर निरस जिन्दगीको शून्य क्यालेन्डर पल्टाउँदै बाँचेकी ऊ पश्चातापको भुङ्ग्रोमा पिल्सिँदै गई आपूmखुशी निर्णय गर्दा आफ्नो खुट्टामा आफँैले बन्चरो हानेकी थिई उसले । र, अब पुनः यस्तो गल्ती दोहो¥याउन चाहन्न पनि थिई ऊ ।

हुन त चतुरेसँगको सम्बन्ध भाँचिएपछि पनि उसले अन्य राजकुमारहरुको स्केच दिमागमा नउतारेकी भने होइन । मनमनै कल्पनाको सुन्दर महल ठड्याउँथी, भत्काउँथी । त्यसैले होला सायद उसको हात थाम्न आएको फ्याने रित्तै फर्केको रात ऊ अनिदै भएकी थिई । ऊ सोच्थी– बाउआमा भइन्जेल पो जन्मघरमा ठाउँ छ, उहाँहरुको शेषपछि के होला ? दाइ र भाउजू अहिलेदेखि नै झर्कोफर्काे गर्छन्, पछि त झन् … ! हे भगवान् कुन दिनमा व्यर्थै चतुरे नागासँग भागेंछु ! अलि धैर्य गरेको भए त राम्रै मान्छेसित पर्थें हुँला ।
एउटा भरपर्दो पुरुषको कल्पना गर्दै सिरानी अँगालेर रात गुजार्न थालेकी डम्बरीको अन्तरचाहना पछिल्लो काल निकैचोटि टुङ्याएथ्यो भक्तेम्पाले ।

‘त्यो पुन्टे केटोलाई समेत छहारी दिन्छु भन्नेहरु आइलाग्दा त दिए पनि हुने’ भन्थे छिमेकीहरु । भक्तेम्माले त छोरीको मर्म बुझेकी थिई तर बूढाको निर्णयलाई बदल्ने साहस थिएन ऊसँग ।

०००

सात कान्लामाथि भीरखर्केको घर छ । दस सालअघि साहूको तमसुकको हतकडी लागेको आफ्नो चार सुर्का बारी उकास्न नसकेर कोइलाखाद पसेको ऊ दुई वर्षपछि घर फर्कंदा अकस्मात छाँगाबाट खसेथ्यो । विगतदेखि नै सधैँ दाइँको गोरु बेचेको साइनो लगाउँदै लुसुक–लुसुक आइरहने मुढेटोलको गोविन्देले आपूmले भगवतीजस्ती मानेकी स्वास्नी आपूm आइपुगेकै भोलिपल्ट भगाइदिएपछि उसले पीडा भुलाउन निकै दिन आफैँलाई रक्सीमा डुबाएको थियो ।

‘घरमा दुःख अवश्य छ साइँला, तर नखरमाउलीलाई कहिल्यै आधा पेट राखिनँ, एउटा सिन्कोसमेत भाँच्न लाएको थिइनँ मैले, ठूलो भाग खान हिँडिछ, खान्छे अब’ – दुःखले गर्दा स्वास्नीसँग राम्ररी बस्नसम्म नपाएको भीरखर्केले बरर्र आँसु झार्दै छिमेकी चरिकोटेसँग बिलौना गरेथ्यो ।

‘दाइ, कालो गए सेतो आउँछ, चिन्ता किन ? अब एउटी तपाईंलाई सुहाउने भाउजू खोज्नुपर्छ, गरिखाने खालको ।’

‘आऽऽ साइँला सबै त्यस्तै त हुँदाहुन्, मलाई अब कुनै आइमाईको पनि थोपडा हेर्न मन छैन ।’

भन्न त भीरखर्केले यसै भन्थ्यो तर घर–व्यवहार, चुलाचौका, इस्टमित्र, सबै ऊ एक्लैले धान्न गाह्रो थियो । बेलुकी लखतरान गलेर आयो, अँगेनामा आगो निभेको हुने । बिहान उठेर व्यवहारमा हिँड्न आँट्यो, बेलुकीको जुठो भाँडा थुप्रिएको हुने । ‘साँच्चै चरिकोटेले भनेको ठीकै हो कि क्याहो ? एउटी घर रुङ्ने र चिसोको तातो बनाउने त चाहिने नै भो’ तर भन्न अप्ठ्यारो र पो’ –उसलाई त चिसोको तातो बनाउने भन्दा बुढेसकालतिर ढल्कँदो शरीर तातो बनाउने साथको आवश्यकता महसुस हुँदै गएको थियो ।

०००

एकादशी बजार भरेर रक्सीले धन्फनिदै घर फर्कंदै गरेको भीरखर्केलाई घरि–घरि हुत्तिएर लड्नबाट जोगाउँदै थियो उसैको सुखदुःखको साथी चरिकोटेले । घुमाउनेको वरबाट अघि नै हिँडेका उनीहरु निकै समयपछि मात्र गहतेपाखा छिचोलेर बाँसघारीमुनिको जोरधारामा आइपुगे । जहाँबाट भीरखर्केको घर निस्कन धेरैमा दस मिनेटको उकालो चढ्नुपथ्र्यो भने चरिकोटेको बाटो आधा घन्टा तेर्सो हिँड्नुपथ्र्यो ।

‘हिँड् हौ साइँला, भक्तेम्पाकोमा गएर डम्बरीको हातको एक शेर चढाऊँ’ –चरिकोटेले बजार भर्न आएका बैनीज्वाइँलाई बजारमै भेटेर सँगै ल्याएको थियो, साथमा एक बीसौली सुँगुरको मासु पनि बोकेको थियो उसले ।

‘आज नथपौँ दाइ, म यी पाहुनाहरुलाई लिएर जाँदैछु, हिँड्नोस् बरु तपाईं पनि मेरैतिर ।’

‘छोड्दे मुजी त्यस्तो कुरा, मूला भोलि मरेर जाने जिन्दगी, दाइले भनेपछि खुरुक्क हिँड, आज मेरो तर्फबाट..!’

‘हैन हौ, तपाईंलाई लागिसक्यो आज, बरु भक्तेम्पाकोबाट राँको चैँ लिएर बेलैमा घर पुग्नोस् न ।’

‘ए, तैँले मलाई घर जान सिकाउने ? तँ मैले किनेको रक्सी नखाने ? तँ बद्लिइछस् चरिकोटे, तँ अर्कै भइसकिछस् थुइक्क ! मै पो उस्तो र’छु त, तँ नाथेलाई‘‘. हेर्दै जान्छु म पनि‘‘..।’

‘हैन, धोकेपछि यस्तै बेहोरा छ र त म तिमीसित हिँड्न छोडेको, अस्ति मनसरीको घरपैँचोमा नरेले त्यत्तिकै तिमीलाई हात छोडेको हो र ? धन्न मैले छुट्ट्याइदिएँर पो…।’

निकै रिसले रन्किएको चरिकोटेलाई बैनीले ‘दाजै, भैहाल्यो चुप लाग्नुस्’ भनेर चिमोटेपछि ऊ अलि मत्थर भयो । ‘हैन, मैले नराम्रो भनेँ दाइ तपाईंलाई ? मैले त भलो कुरै बोलेथेँ, बुझ पचाएर कहाँको कुरा कहाँ बटारेपछि पारो तातिँदैन त ?’

‘तँसँगैको मेरो भाइ तीनै दिनको बेथाले टिपिएपछि तँलाई आफ्नो कलेजोको भाइ देख्छु साइँला’– आँसुसँगै नाकबाट झरेको सिँगान भित्तातिर फर्केर धुसुरेको पातले पुछ्यो उसले ।

‘त्यसैले त तपाईंलाई मेरैतिर जाऔँ भन्दैछु’– भित्री हृदयमा कता–कता चसक्क दुख्यो चरिकोटेको पनि । उसको आँखामा मरिसकेको दौँतरी रघुको धमिलो तस्बिर देखा परेर सुस्तरी बिलाएजस्तो भो ।

‘तेरोमा म कैले आ’छैन र ? तैँ त होस् साइँला मेरो भाइ भने पनि, साथी भने पनि दुःख सुखको, तेरोमा म भोलि नै झर्छु । यहाँ बैनीज्वाइँलाई पनि मेरोतिर निकाल्नु छ । यसो गरौँ, अहिले तँ जा बरु घर पुगेर एकछिन आइज न एउटा सल्लाह छ, म भक्तेम्पाकोमै हुन्छु ।’

‘ल, ल म कोसिस गर्छु तर अबेर भैहाल्यो भने नकुर्नु है’– चरिकोटे पाहुनासँगै तेर्साे लाग्यो ।

‘बैनी, ए पकु बैनी, भोलि ज्वाइसँग उँभो पनि कसैगरी निस्क है दाइको दुःख हेर्न ।’

‘कस्तो त दाजै, हामी निस्किहाल्छौँ नि ।’

भीरखर्के साँझमा मताननेर आइपुग्दा कुखुरा थुन्दै थिई डम्बरी । घरमा अरू कोही थिएन । भक्तेम्पा–भक्तेम्मा नाति केटासहित खेताला लिएर बेँसी खेतको दाइँमा रातै बस्ने गरी झरेका थिए । दाइ धु्रव भाउजू लिन ससुराल गएको थियो ।

साँझमा धन्फनिँदै आएको भीरखर्केलाई देखेर सुरुमा अलि डराई ऊ । तर छिमेकी भएकोले गलत्तै सोचिहाल्न पनि मिलेन । फेरि उमेरमा झन्डै पन्ध्र वर्षकै अन्तर भए पनि साली–भेना साइनो पर्ने ती दुईबीच विगतदेखि नै खुबै हाँसोठट्टा चल्ने भएकोले भीरखर्केको उपस्थितिलाई खासै असहज ठानिन डम्बरीले । पहिले थुप्रैचोटि ख्याल–ख्यालमा भनेको थियो उसले– ‘अब बिहे गर्नुपरे तिमीलाई नै गर्नुप¥यो कान्छी, नत्र साला यत्तिकै जान्छ एकबारे जुनी ।’

‘के हेरिबसेको त ? गरे भैहाल्यो नि’– भन्थी ऊचाहिँ ।

साँच्चै यो ठट्टा व्यवहारमै परिणत हुन्थ्यो पनि तर चौबीसै घन्टा खुकुरी भिरेर बस्ने कडा स्वभावको भक्तेम्पासामु कुरा राख्ने साहस कसले गर्ने ?

‘कहाँबाट हौ भेना, यो मुर्कुट्टा हिँड्ने बेला ?’

‘बजारबाट फर्कंदैछु कान्छी’, घरमा कसैको चलह–पहल नदेखेर मौका छोपिहाल्यो उसले– ‘के गरौँ दिनमा एकचोटि तिम्रो मुख नहेरी चित्तै बुझ्दैन । त्यसैले छिरेको ।’

‘उस्ऽऽ! बजार चैँ एक्लै सुटुक्क जाने, अहिले मुखले भने दुरुस्त’, अनि छड्के गरी हेरेर भनी– ‘खै बजारको सौदा मलाई ?’

‘के चाहियो लु भन ?’

‘चाहियो नि जे भा’ पनि ।’

उसले गोजीमा हात छिराउँदै यताउता हेरेर भन्यो– ‘यै सालीको मायाले गर्दा फर्केर कोइलाखाद जान पनि सकिनँ, अब गएँ भने त एक्लै के जान्थेँ, हैन. कान्छी ?’

गोजीबाट के–के न झिक्न आँट्यो भनी हेर्दै ओठ लेप्राएर भनी– ‘अहिलेसम्म कुनचँै तरुनीसित धूलोमा लडिबुडी गरेर आएजस्तो छ, मेरो छेउमा चँै ठिक्कै ।’

गोजीबाट लिपिस्टिक, टीका, दुइटा कपाल बाँध्ने क्लिप र एउटा काइयो सँगै पोको पारेको रुमाल झिकेर दियो उसले ।

‘अनेकथरि नभन न हौ कान्छी, म किन अरू तरुनी हेर्थें, सिनेमाको हिरोनीभन्दा राम्री सालीलाई छोडेर‘.., तिमीले मनैदेखि हुन्छ मात्रै भन न म केलाई पर्खिराख्थेँ आइतबार ।’

‘कुरा मात्रै’, फ्याट्ट गालामा हानेर विस्तारै भनी– ‘आँटबिनाको नामर्द तपाईंजस्तो लोग्ने मान्छेलाई भन्छ ।’ आपूmलाई सम्हाल्नै नसकेर बोली पठाई डम्बरीले । धन्न घरमा आज कोही नभएकोले सुनेनन् । भीरखर्के रनन्न तातिँदै आएको थियो ।

‘बस भन्दिनौ कान्छी ?’

‘भनिराख्नुपर्छ ?’

दैलोभित्र दाहिनेपट्टि कुनामा सुकुल ओछ्याइएको थियो, त्यसैमा थ्याच्च बस्यो ऊ ।

डम्बरीले घरमा कोही नभएको कुरा जानकारी गराइसकेकी थिई । त्यसैले पनि एउटा छोराकी आमाजस्ती पनि नदेखिएकी भर्भराउँदी डम्बरीलाई देखेर ऊ आज त्यसै–त्यसै उत्तेजित भइसकेको थियो ।

‘कान्छी एक शेर छ ?’

‘छैन, हिजो पारेको दुई शेर थ्यो, दिउँसै पठाइदिएँ मेलोतिर ।’

‘छ भने देऊ न, चरिकोटेलाई गफ दिइहालँे, बजारमा निख्रिएर आउँदैछु, हिसाबचैँ भोलितिर गरौँला ।’

एकछिन के–के सोचेर डम्बरी जेकु कुनातिर गई अनि केही छिनपछि एउटा शेरे बोतल लिएर आई– ‘खै त चरिकोटे ?’

‘आउँछु भन्थ्यो, आउँदै होला ।’

‘तपाईंहरु धेरै बेर अलमल नगर्नुस् है, मान्छेलाई कुरा काट्ने बाटो हुन्छ ।’

‘छोड्देऊ त्यस्तो कुरा, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’

‘हैन नि माथ्लो घरकी ठोक्सी कस्ती छ, सानो कुरा पाई भने पहाड बनाएर सात गाउँ सुनाउँदै हिँड्छे ।’

डम्बरीले अघिल्तिर बोतल राखिदिँदा भीरखर्केले हात समात्न भ्याइहाल्यो ।

‘छ्याऽऽ नचल्नु न’, ऊ पानी–पानी भई । अलि परतिर काठको कप्लिमा थियो, त्यही गएर टुसुक्क बसी ।

भीरखर्केले ग्लासको रक्सी एकचोटि स्वाट्टै पा¥यो । चरिकोटेले आउँछु भनेर धोती बोकायो । फटाहा, अब त्यो जाँठो नआए नि हुन्छ ।’

‘चिसो होला, मेथीमा झानिदिऊँ ? जिउ दुखेको जाती हुन्छ ।’

‘हो र ? लौ न त ।’

बोतलको बाँकी रक्सी झ्वाँइ‘या पारी डम्बरीले । खोपीमा उसैको पेवा पोथी भर्खरै फुल्न थालेकी थिई, सुटुक्क दुइटा अण्डा झिकेर कन्तीमा डामीवरी भीरखर्केको अगाडि राखिदिई । अनि आपूmलाई समेत स्टिलको ग्लासमा रक्सी सारेर भनी– ‘आज बाउ घरमा नभा’को मौकामा म पनि चाख्नुप¥यो ।’

‘अलि छेउमा आऊ न कान्छी, साह्रै खल्लो भो’– मुखमा अण्डाको लाप्रा चपाउँदै बोल्यो ऊ ।

‘पर्दैन, यहीँ ठीक छ मलाई ।’

‘म त्यहीँ आउँ त ?’

‘नकराउनु है, मान्छेले सुन्ला’, उठेर ढोकाबाट एकचोटि बाहिरतिर चियाइवरी ऊ बोली– ‘लौ जाडो बढेछ है, गैह्राको सिठ्ठी जति सीधै यै घरभित्र थुरिन्छ ।’

तातो रक्सीले रन्थन्याउँदै लगेपछि रित्याइसकेको ग्लास भुइँमै थेचारेर जुरुक्कै उठेको भीरखर्के झन्डै लड्यो । डम्बरीले नसमातेकी भए सीधै अँगेनामा पर्ने ।

त्यतिबेलै जस्केलाबाट छिरेको हावाले बत्ती झ्याप्प निभाइदिएपछि एक्कासि अन्धकार छायो । जिउ झट्कारिँदा भर्खरै पिएको रक्सी हल्लिएर सीधै दिमागमा चढिसकेको थियो उसको । निस्लोट अन्धकारबीच जिब्रो लर्बराउँदै अर्धचेत भएर सोध्यो– ‘कान्छी, मेरी कान्छी, कहाँ छ्यौ तिमी ?’

‘यहीँ, तपाईंकै अँगालोमा‘‘’– कम्पित स्वर दबाएर सासले बोली डम्बरी ।

‘चुरोट पिउन मन ला’थ्यो, सलाई कहाँ छ ?’

‘थाहा छैन ।’

केही क्षणपश्चात् छामछुम गर्दै अँध्यारैमा दैलो र जस्केलो बिस्तारै ढप्काई डम्बरीले ।

०००

घाम डुब्न एक टाँगो बाँकी हुँदा सकी–नसकी डम्बरीले दाउराको भारी लिएर आँगनमा घोप्ट्याई । भारी घोप्ट्याउँदा रिँगटा लागेर डोकैसँग झन्डै ढलेकी थिई ऊ । खोल्माको खाँबो समातेर जबर्जस्ती बँची ।

‘ए कुलंघार्नी, त्यो भीरखर्के गधा कहाँ मरिरा’छ, झट्टै यहाँ मुन्टी भन्… ।’

आगो भएर अधिल्तिर ठिङ्ग उभिएको बाउले एक्कासि भीरखर्केको नाम लिएर कड्किएपछि डम्बरीको मस्तिष्कमा झट्का लाग्यो । उसले ‘किन ?’ भनेर प्रश्न गर्नै सकिन । त्यत्तिकै लाटिएर नाम्लो खेलाउँदै उभिरहेकी थिई, बूढा फेरि तर्सने गरी करायो– ‘सुनिनस् तैँले ? मैले के अह्राएँ ?’ बिरालोको चालमा ऊ बेपत्ता भई, केही क्षणपछिको भयानक विपत्तिसँग मुकाबिला गर्ने साहस क्षीण हुँदै गइरहेको थियो उसमा । खुट्टा थरर्र कमाउँदै, बिजुलीको गतिमा दौडेकी ऊ ठाउँठाउँमा लालक–लुलुक भएर पुक्लुक–पुक्लुक ढल्थी । उसले आपतमा थाहै पाइन, स्वयंले कसरी नाघी खोल्सा र बारीका कान्लाहरु । यता भक्तेम्पाको पनि आज होस ठीकमा छैन, कोसित के बोल्दैछु हेक्का पनि छैन । डम्बरीलाई झपारेको अलि भरेसम्म मूर्तिसरी वाल्ल टोलाइरहेको उसको आँखाको शून्य तलाउमा उभिएर एकछिनपछि हो कि हैन जस्तो धमिलो आकृतिले कमजोर स्वरमा सोध्यो ।

‘मलाई बोलाउनुभा’को भेना ?’

कतातिरबाट साइनो घुमेकोले भीरखर्केले पनि बूढालाई भेना भन्थ्यो ।

‘थुइक्क नर्कबासी ! तेरो गुहे थुत्ना हेर्नुअघि म किन मरिनँ ?’ भीरखर्के घोसेमुन्टो लाएर थचक्क भुइँमा बस्यो ।

‘ए डम्बरी, यहाँ मर ।’ थरर्र काम्दै डम्बरी बाउको छेउमा आई ।

‘टोलभरि हल्ला फिँजिएर खप्नु छैन, सत्य के हो ? भन् मलाई, के तेरो पेटमा भीरखर्केको…?!’

बूढाको वाक्य सकिन नपाउँदै डम्बरी रुन थाली । उसको आँसुले अरूले लख काटेको रहस्यको पुष्टि गरिरहेको थियो ।

‘ए गधा तँ किन बोल्दैनस् ? भन् कहिलेदेखि हो तिमरको यो नाजायज सम्बन्ध ?’

‘पाँच महिना भो भेना’– डराउँदै मुख खोल्यो भीरखर्केले ।

‘तँ हुच्चिललाई यस्तै मतिले गर्दा स्वास्नीले लोपरेर हिँडेकी हो ।’

अवाक भीरखर्के पुनः भुइँतिर घोप्टियो, उसको हालत असारमा जोत्दा–जोत्दा थाकेको गोरुको जस्तो भएको थियो ।

‘ल भन्, तँ के गर्छस् अब ?’

‘म कान्छीसित छुट्न सक्तिनँ’– वर्षांै नमाझेको पहेँलो दाँत देखाएर पुलुक्क हे¥यो भीरखर्केले ।

कुनामा दुइटैलाई सतिसराप गर्दै रोइरहेकी भक्तेम्माले छोरीलाई हापरझाप पारी– ‘त्यत्रो पाप बोकेर गोहीको आँसु नझार, ऐले लगेर तँ अगत्तिनीलाई सीधै भीरबाट गुल्ट्याइदिन्छु…, कोखमै तुहिएर झर्न नसकेकी साहु ।’

‘तेरो चैँ के विचार छ त ए चण्डाल्नी ?’

धेरै कुरा सोचिसकेपछि छोरीको राय सोध्यो भक्तेम्पाले ।

‘तपाईंहरुले जे भन्नुहुन्छ त्यै मान्छु’– उसले भीरखर्केसँगै जाने अमूर्त इच्छा प्रकट गरी ।

बूढाको कठोर मन विस्तारै पग्लँदै गयो । उसले अलि मत्थर भएर दायाँ–बायाँ हेरीवरी भन्यो– ‘अब जे नहुनुथ्यो भैहाल्यो, यसो गर, तिमीहरु आजै राति अँध्यारैमा चखेवा भन्ज्याङ काटिहाल, भोलि उज्यालो खस्दा निकै टाढा पुगिसक्ने गरी ।’

भीरखर्केले ज्योतिमय नेत्रले डम्बरीलाई हे¥यो, डम्बरीले हर्केलाई रुझेको आँखाले हेरिरहेकी थिई । हर्के भक्तेम्पाको दौरामा लेपिएर ‘म पनि आमासँगै जान्छु नि बाजे’ भन्दै झिज्याउँदै थियो । बूढाले नाति केटोलाई थम्थम्याउँदै भक्तेम्मालाई हे¥यो । भक्तेम्मा भने डम्बरीलाई ‘आइज नानी, तेरो पेवापात के–के छ, सबै लिएर जा’ भनेर आँसु पुछ्दै तलातिर उक्लिई । फूलको थुङ्गाजस्तै हलुङ्गो भएर आमाको पछि–पछि लागेकी डम्बरीलाई हेर्दै बूढाले पहिलोचोटि जिन्दगीमा पश्चातापको आँसु बगायो– ‘तेसिमा झेक्ने, मेरो घमण्ड, फ्याने त ऊ बेला रीतभात लिएरै माग्न आएथ्यो, खुरुक्क दिइपठाउनुपर्ने रै’छ, नत्र आज यस्तो दिन देख्नु त पर्दैनथ्यो ‘।’

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.