~त्रिभुवनचन्द्र वाग्ले~
बाटाहरू मिसिएपछि
बन्छ दोबाटो
तर अल्ली भिन्न छ सत्य
जहाँबाट हामी छुट्टिन्छौँ त्यही हो दोबाटो
मिसिन कि छुट्टिन
बनेको हो दोबाटो ?
बाटाहरू,
फुस्किएका आँचल लमतन्न छन्
हामीले लगनगाँठो कस्नुपूर्व
व्यापारीका गजले नापिएको कोरा कपडा
हामै्र पाइतालाले
कुल्चिएका हुन् बाटा
पयरका बुट्टा खोज्दै
दोबाटोमा भेटिन्छौं र छुट्टिन्छाँै हामी
धुलोमा अस्थायी कथा कोरेर
कोरा कपडामा सपना बेरेर
तिमीलाई गुराँस टिप्नु छ
मलाई कमल फुल्नु छ
बाटाहरू उक्लन्छन् पहाड
फाँट झर्छन् बाटाहरू
सत्य यो पनि हो
जहाँबाट छुिट्टन्छन् बाटा
त्यही मिसिन्छन् हाम्रा काव्य
घुम्तीमा मोडिएपछि गन्तव्य
म पछाडि हेर्छु
र तिमीलाई गीतमा सुन्छु
सत्य हो पनि हो
नबोल्दा तिमी
धेरै सुन्छु तिमीलाई
कसलाई खोज्न भौँतारिएका हुन् यी बाटा
विपरीत यात्राको थालनी
बाटोले सुरु गर्छ
एकपल्ट म हेर्छु
अर्कोपल्ट तिमी हेर
हाम्रा निधारका प्रतिछायाँ
लग्न–राशीका जन्मकुण्डली
दोबाटाका रेखाले भरिएका छन्
किन मिसिएका हुन् बाटा
किन छुट्टिएका हुन् बाटा
एउटै पुस्तक थियौँ
पत्रपत्रमा छुट्टियौं
आखिर विम्ब विम्बमा
लेखिनु नै थियो पानापाना भरि
वियोगान्तका साझा विराग
किन भिन्न छन् कितावका पाना
आखिर साझा ‘वियोगिनी’ घोक्नु नै छ
बाटाहरू मिसिएपछि
बन्छ दोबाटो
तर अल्लि असत्य लाग्छ सत्य
जहाँबाट हामी छुट्टिन्छौँ त्यही हो दोबाटो
बाटाहरू जहाँ पुगेर टुङ्गििन्छन्
हामीले यात्रा त्यहीँबाट गरेका थियौँ
एउटा बाटो–
मन्दिरबाट शुरु भएको थियो
अर्कोबाटो
अदालतमा गएर टुङ्गिएको थियो
हो हामीले यात्रा त्यहीँबाट गरेका थियौँ
२०७५ चैत २०
कलाश्री २०७६ मा प्रकाशित
तनहुँ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )