~मुकुल दाहाल~
पहाडका यी कुराहरू मेरा मन नजिक छन्
त्यसैले म पहाडका कुरा गरिरहेछु
म यहाँका पुड्के थुम्काहरूलार्इ
त्यहाँका गौरवशाली चुचुराहरूसँग जोडिरहेछु ।
यी थुम्काहरू जसलार्इ उनीहरू पहाड भन्छन्
शायद ‘थुम्को’ भन्ने उनीहरूसँग शब्दको अभाव छ
मन राखिदिन उनीहरूको म पनि यिनीहरूलार्इ
पहाड भनिरहेछु ।
मेरो मन मानेको छैन तर
पहाड भन्नलार्इ त्यत्रा भिरहरू देखेको
आकासलार्इ मुड्कि हानुलाझैँ माथि माथि सुरिएर जाने
चट्टानहरू देखेको
मैले आफ्नै दिमागमा बोकेको पहाड कत्रो छ
मैले आफ्नै ढाडमा राखेको पहाड कत्रो छ
मेरी आमाले पहाडमा जन्मेर पहाड नै बोक्न
सिक्नुभएको थियो
हजुरआमाले पहाडमा जन्मेर पहाडकै
दोसल्ला ओढ्नुभएको थियो
पहाड छाडेर मधेस झरेपनि
पहाडनै बोल्नु हुन्थ्यो उहाँहरू
पहाडनै सुन्नुहुन्थ्यो हर समय
मधेसको हाम्रो घरमा
पहाडकै हावा चल्थ्यो
पहाडनै बस्थ्यो हामीसाथ
ती पहाडहरू अत्यन्त फरक छन यी भन्दा
यीनीहरू समुद्रबाट यस्सो उठेका छन्
ढाड लुकाइ कुम मात्र उचालेर लमतन्न परी बसेका छन्
उनीहरू हरेक दिन सिँगारि बस्छन यीनीहरूलाई
र सप्ताहन्तमा खुट्टा लरखराउँदै
हिड्छन यीनीहरूमाथी
र भन्छन पहाड यीनीहरूलाई
त्यत्रा विशाल
पहाडहरूका उकाली ओरालीमा
कैयौँ बर्ष हिडेको मेरो मन मानेको छैन
तर मन राखिदिन उनीहरूको
यी थुम्काहरूलार्इ ‘पहाड’ भनिरहेछु ।
(स्रोत : नेपालीकविता डट कम)