~कुमार रम्तेल~
छोराको छातीमा तातो गोली
छोरीको त मुटु नै छेडिएको छ
हेर्न नसकी सगरमाथा रोएको छ
आमा साह्रै विरामी छिन्
न्यानो लुगा पनि नसुकेर
छिमेकीको चोली टाल्दैछिन् ।
छाती चस्केर चर्केको छ
भित्र-भित्र पोलिएको मुटु डढ्दैछ
रापले धड्कन तीव्र हुँदैछ
चिसो हावा आजभोलि हराउँदै छ
चन्दन, चिराइतो र श्रीखण्ड घोट्दै
गरेका सपुतहरू बगर बगरमा
पल्टिरहेको छन्, आमा-आमा भन्दै
वीर सहिदहरूले लामो-लामो
सास तान्दैछन् ।
प्यारो लाग्यो त्यो विशाल छाती
सलल बग्न थाल्यो रगत छातीमाथि
कोखबाट जन्मे पनि मृत्यु भयो यसैमाथि
चोक्टा चोक्टा शरीरबाट प्राण त्यागी
राष्ट्रमा दीर्घ शान्तिको कामना मागी
सहिदहरूको सपना पूरा गर्नको लागि
तिमीसँगै मर्ने भयो अर्को एउटा साथी ।
(स्रोत : नेपालीकविता डट कम)