~टि माया राइ~
पत्थरलाइ खोपेर
सिल्पी मुर्ती बनाउँछन
सिल्पीको स्पर्ष पाउनु अघी
त्यो एउटा ढुङ्गा नै त हुन्छ,
एक छेउ लडिराको त्यो ढुङ्गा
जब कल्पना साक्षात्कार हुन्छ त्यस्मा,
ती सिपालु हातहरुले
क्षितीज छोएको अनुभुत गर्दो हो !
आस्थाले जन्माएको स्वरुप
ब्रम्हा बिष्णु महेश्वर देखी
अनेकौं देबी देबता !
बाटोमा लडेको ढुंगाले जस्तो
गाडी बटुकीको किच्याइ खप्नु परेन,
आक्रोसमा झट्टारिदै
दिशाहिन बन्नु परेन,
योगदान बिनाको बदलाव
अन्धो भक्ति चमत्कार
अबिर चन्दनले रंग भर्न सुरु गरेपछी
होली दिवाली सबै एक साथ हुनुपर्ने,
अनी सदा सदाको लागी
बैराग्यता अनी नैराश्यताको
बिदाइ हुनुपर्ने
मन्दीर बाहिर केवल पत्थर नत्र मुर्ती
मन्दिर भित्र उ भगवान बनेको छ
कस्तो झकीझकाउ छ उ बस्ने ठाउँ
निस्प्राण भएपनी उ धेरैको
आसमा प्राण भर्ने काम गर्छ
भिखारीहरुको पेट भर्ने अछेता
भेटी चढावामा नास हुन्छ
जिउंदो मानीसको चित्कारले
ती भिडहरुको मुटु
पत्थर बन्नबाट रोक्न सक्दैन !
न बास्ना लिन सक्छ
न खाने मुख नै छ
जबर्जस्तीको गांसलाइ
अटाउने पेट सम्म छैन
सुगन्धित हार अगरबत्तीको बास्ना
लड्डु पेँडा मिठाइ नयुबेदका चांग
थुपारेर निश्प्राण प्रती श्रद्दा र
भक्ति गर्ने,
हामी प्राण भएका निश्प्राण प्राणीहरु
हामी प्राण भएका निश्प्राण प्राणीहरु ।
-आश्फोर्ड, केन्ट
युनाइटेड किङडम
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)