~श्रवणकुमार ढुंगना~
यसपालि
म आफ्ना कवितामा भएपनि
नयाँ वर्षलाई बोलाउन चाहन्छु
किनभने नयाँ वर्षको फूल फुल्ने मेरो आँगन
सरकारी सडकले बगाएको छ
मेरो बारी कंक्रिटका उन्नतिहरूले सेपिएको छ।
हुन त
ती महलहरूमा मेरा कबिता पढ्दैनन्
र ती सडक पेटीहरूमा मेरा कविता पुग्दैनन्।
त्यो सडक पेटीबाट उत्रँदै गरेका
त्यो अट्टालिका तिर लम्कँदै गरेका
ती छायाहरूलाई
यतिबेला
नयाँ वर्षका
बियर बेच्नेहरूको बियरमा डुवाएकाछन्
चुरोट बेच्नेहरूको चुरोटका धुवाँमा उडाएका छन्
सपना बेच्नेहरूले सपनामा सुताएका छन्
तिनीहरु पनि यतिबेला मेरा कविता पढ्दैनन् ।
तैपनि,
म आफ्ना कवितामा
नयाँ वर्षलाई बोलाउन चाहन्छु।
वर्षभरीमा जोगाएको एउटा कुखुरो
एउटा कालो बोको
जसरी पनि जोगाएर
एउटा झाँक्री बोलाएर
बनदेउता उतारेर
खोलाको मसान झारेर
तिनका बासको फलानो दिशातिरको बोक्सी डामेर
आफूले थाम्न सकेको गरेर
तैपनि
अन्त्यमा मरेका
तिनका हैजाले लगेका आफन्तहरू
तिनका आन्द्रा फूटेर मरेका आफन्तहरू
बिर्सने
एउटा दिन खोजेर बसेका छन्
जहाँबाट पुराना कथाहरू दोहोरिने छैनन्,
तर त्यो दिन नयाँवर्ष हुन सक्दैन
उनीहरूलाई पनि थाहा छ
मलाई पनि थाहा छ
तैपनि,
म आफ्ना कवितामा
नयाँ वर्षलाई बोलाउन चाहन्छु।
कोहि
नासाको बैज्ञानिक बन्छु भनेर हिडेको, उसलाई
बिज्ञानको किताब बेचेर ‘रिचार्ज’ गरेको मोबाइलबाट
बर्षौंदेखि भन्न नसकेको मनको कुरा
सन्देश पठाउने निहुँ चाहिएको छ,
कसैलाई
रूपमा जेसुकै भए पनि
सारमा ख्वामितकै प्रतिरुपका पाउमा
कोसेली अर्पण गर्ने उत्सव चाहिएको छ,
यस्तै, यस्तै अनेकथरी…….
नत्र त
नयाँ वर्ष आफै आउँदो हो त
बाबुआमाले किनिदिएका नयाँ खेलौना
र नयाँ लुगाहरूले
बाबुआमाले देखाइदिएका नयाँ शहर
र नयाँ सपनाहरूले
ल्याएर देखेको नयाँ वर्ष
अहिले पसिना बेचेर भरे पेट भर्ने
तर भोलिविहान के गर्ने
टुंगो नभएकाहरूका नानिहरूले
आएको किन देख्दैनन्?
तैपनि,
म आफ्ना कवितामा
नयाँ वर्षलाई बोलाउन चाहन्छु।
यो नयाँ वर्ष
कसैकालागि
जिउँदो छ
उनिहरू त्यसलाई देख्छन्
कसैकालागि
मरेको छ
उनिहरू त्यसलाई देख्दैनन्
र कसैले देख्छन् तर हेर्न सक्दैनन् ।
सायद
यो पानीमा कोरिएका अक्षरहरू जस्तो छ
जसले कोर्यो उसैले देख्छ
उसैले मात्र बुझ्छ!
नयाँ वर्ष
एउटा नयाँ दिनलाई
चाकरी देखाउने शैलीमा
नयाँ वर्ष भन्दै
आफैंलाई अर्थ थाह नभएका
इमान, धर्म, परोपकार, सदाचार, आदि, आदि शब्दहरू
पोको पारेर काब्यात्मक शैलीमा
झुठ्ठा कसमका तुल टाँगेर
सामाजिक संजाल र ब्यक्तिगत सन्देश भरी
आफैंलाई भ्रमित गर्नेहरूले ठड्याएको
बुख्याँचा !
म यसलाई
प्रकृतिका रंगहरूले पनि स्वागत गर्न नसक्ने हुँदैगएको छु।
तैपनि,
म आफ्ना कवितामा भएपनि
नयाँ वर्षलाई बोलाउन चाहन्छु
किनभने नयाँ वर्षको फूल फुल्ने मेरो आँगन
सरकारी सडकले बगाएको छ
मेरो बारी कंक्रिटका उन्नतिहरूले सेपिएको छ।
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)