कथा : त्यो जून अनि त्यो घाम

~पूर्ण राई~

किशोरी वसन्तको आगमनको मृदुल आभास दिंदै, चैते हुरीको उग्रतालाई सम्हाल्दै फक्रन थालेका वर, काब्रा र आरूका ती ङ्याल्डुङ पालुवाहरू वैशाखको सुरुआतसँगसँगै केही फक्रिएका, केही मौलाएका छन्। जागरूकता, मृदुलता, उष्णताको स्पर्श दिने पालुवा डांडाहरू, चिलाउने पाखा र माथि – माथिका जङ्गलबीच कोइली बास्न सुरु भइसकेको यो क्षणलाई तुवाँलोको धूमिल, पारदर्शी तप्कोभित्र लपेटिएर हल्का छरिएका ती पर – परका उदास – उदास पाखाहरू, माथि आकाश र गाउँ – बस्तीहरू – अहो! यहाँ यसरी नै, यहीं नै यिनीहरूमाझमै आफू आत्मसात हुँदा सांच्चै तिम्रा यी, यस्ता वाक्यहरू पनि प्रेरणा भएर आउँछन् –

मलाई भुल तिम्रो निम्ति घाम लाग्छ,
मलाई बिर्स तिम्रो निम्ति जून खस्छ,
मलाई नसम्झ हावा – बतास तिम्रै निम्ति बहन्छ,
कोइलीले तिम्रै निम्ति वसन्त डाक्ने गर्छ..।

… तर फेरि माया, स्नेह, प्यार र

आडका आकाशीय इच्छा अनि रहरहरू माया, स्नेह, प्यार र आडकै सीमानाहरूभित्र लथालिङ, भताभुङ हुँदा, प्रेम र सौहार्दको अनन्त भण्डारभित्र मान्छेलाई दिनुपर्ने, पाउनुपर्ने माया र प्रेमको वीभत्स अनिकाल देख्दा, माया र आडको भोक र तिर्खाले मान्छे जिउँदो लाश बनेको थाहा पाउँदा अनि प्रेरणाहरू मृगतृष्णा, अहो! कति विकराल अनुभूति, कति भयावह यी क्षणहरू! यसैले कहिले – काहिँ फेरि यस्तो लाग्छ –

तिमीले भनेको त्यो घाम मेरो निम्ति होइन,
तिमीले भनेको जून मेरो निम्ति होइन

कोइलीको गीत र वसन्तको आगमन मेरो निम्ति कतई – कतई होइन – होइनन्। होइनन् केही – कोही मेरो निम्ति होइनन्, कोही कसैका निम्ति होइनन्। तर फेरि संसारको आकाशमा घाम लाग्छ, जून हाँस्छ, कोइली गाउँछ, यो अर्को विडम्बना सायद! यस्तै – यस्तै र यही विडम्बनाहरू नै मान्छेका निम्ति रहर र करहरूको एउटा हास्यास्पद कसी होला – यसैले म बाँचिरहेछु यो क्षणलाई – हिजजस्तै। मेरो कमजोर मान्छे, मेरो दृढ मान्छे, मेरो भावुक मान्छे सधैँ एकलो उदास भएर पनि मान्छेसँगै बाँचेने इच्छा गर्छ, कति अचम्म्!!! भूल बिर्स, नसम्झ भन्ने ती कोमल तर विषालु शब्द – शब्दभित्र तिमी मान्छेसँग मेरो मान्छे बोल्छ, हाँस्छ, पीर पोखाउँछ तिमी मान्छेअघि…।

ऐ,साँई, लिऊ (लेघ्रो तानेर)

ह – जु – र….(लेघ्रे तानेर)

परखेव, परखेव, एउटी पाठी खोल्सोतिर लागिछ।

प्रस्तुत गाउँले वार्तालाप विष्ट बुढा र उनकी सानी छोरीबीचको हो, विष्ट बुढा आँगनमा हलो ताछ्दैछन्, साइँली खेत – खोल्सातिर गाई – बस्तु चराउँदैछ, म बसेको घरमनिको अर्को घरमा मकै गोड्ने कुरा हुंदैछ। आज बिदाका दिन, म छु – कहाँ भनूँ, घरमा/ परदेशमा? म छु यहीं, छु, जे होस्।

तल्लो घरको आँगनको डिलमा उभेका लिम्बू बाजेले ‘खेताला आउनैपर्छ’ भनेर जोड गर्दैछन्, केही तलको बारीमा गहुँका बालाहरू परस्पर अँगालो मारामार गर्दैछन्, पल्लो घरको लखपते टुकुल – टुकुल हिँड्नथालेको आफ्नो टुकुले छोरोलाई कटुवा सल्काउन ‘आगो ले ले, आगो ले ले’ भन्दैछ, घाम, जून, कोइली, बतास सबैलाई भुल्दै तिम्रै सम्झनामा म यो कथा कोर्दैछु … किन त्यो जाज्वल्यमान सूर्यले तिम्रो सम्झनालाई भस्म बनाउँछ, किन त्यो मायालु जूनले तिम्रो मायालाई धूमिल पार्दैन, किन यो बतासले तिम्रो प्रेमलाई कतै टाढो क्षितिजतिर उडाई लाँदैन, किन मान्छेले मान्छेलाई चाहेर पनि भुल्न सक्तैन?

लिम्बू बाजेले किन ‘खेताला आउनैपर्छ’ भनेका होलान्, लखपते दाइले छोरालाई किन ‘आगो ले ले, आगो ले ले’भन्नपरेको होला, घाम, जून, आकाश, बतासबीच पनि मैले तिमीलाई किन याद गर्नु परेको होला!!! हुँला!!!

छक्क पर्छु – यहाँ आएको पनि धेरै दिन भइसकेछ, छक्क पर्छु – उत्तरतिर गएको एउटा सडक, अजङ्ग पहाडको हत्केलाभरि हाम्रा झुप्राहरू, उदासे डाँडाहरू, गाई – बस्तु चराइहिँड्ने गोठाला – गोठाल्नी केटा – केटीहरू, पाठशालाका धुलेमैले मेरा नानीहरू, देवराली डाँडा, खेतखला, खोला – नालाहरू जो जस्ताको तस्तै छन्, म उस्तै, तिमी उस्तै! तर कति अविश्वास ‘हामी उस्तै छौं भन्ने’ यो घोषणा! यहाँ पनि छक्क पर्नु सिवाय अरू केही रहेन, प्रत्येक क्षण हरपल छक्क पर्नुपर्ने हामीलाई सधैँ एउटा न एउटा विडम्बनाले पछारिरहेकै अनुभव गर्छु र प्रत्येक छक्क पर्ने  स्थितिहरूसंगसंगै फेरि मैले तिमीलाई याद गर्नु, मान्छेले मान्छेको माया खोज्नु, मान्छेले मान्छेकै माया सम्झिरहनु, सम्झिरहनु, छक्क पर्नु त हो, होइन र?

भोलि सधैँ झैं त्यही फलैंचाडाँडा भएर म पाठशाला पुग्छु, त्यही परको बरडाँडा भएर पाठशाला पुग्छु, त्यही पँधेरा काटेर पाठशाला पुग्छु र खोज्छु – मेरै मनमिल्ने साथीहरू, मलाई मनपर्ने केटाकेटीहरू र मलाई मनपरेको त्यही धुप्पीको फेद। यी सब – सब छक्कपर्ने कुराहरू नै हुन्, यी सब विवशताका कथाहरू नै हुन्। जीवन के पो रहेछ र, छक्क पर्नु र विवशता सिवाय!

छि: विवशता सम्झेर पनि छक्क पर्छु र मेरो निम्ति लागिदिने त्यो घाम, जून, तारा, मेरो निम्ति बगिदिने हावा – बतास र मेरै निम्ति संगीत भरिदिने कोइली चरीसम्मलाई विवशताले विवश तुल्याए झैं लाग्छ।

सुन त – तिम्रो सभ्यताको अभिनयजस्तो, मेरो सभ्यताको ढोगजस्तो मान्छेको ईर्ष्या, स्वार्थ र लोभहरूजस्तो मान्छेको घना बस्तीबीच एकलो उदास र अनेकौं हामी मान्छेहरू सबै – सबै विवश तर यो कस्तो रहर हो मान्छेको – रुने, हाँस्ने, माया गर्ने, माया खोज्ने, माया दिने –

संसारमा घाम नउदाए पनि
संसारमा जून नउदाए पनि
कोइलीले वसन्त नडाके पनि…

‘ऐ, तिमीहरू के गर्दैछौ?” केही दिनअघि मात्र हो दिउंसो क्लास नहुँदा यसो फलैंचा डाँडातिर आउँदै थिएँ, बाटोमाथिको सानो काब्राको रूखको फेदमा एउटा दृश्य देखें –

बाल उद्यान कक्षाका साना – साना दुइ नानी,
किताब बोक्ने झोला आफूभन्दा लामो,
काब्राको फेदमा संसार भुलेर झरिरहेका काब्राका अमिला
टुसाहरू खोज्दैछन्, कुटु – कुट् टोक्दैछन्, घुम्छन्,
हेर्दैछन् काब्राको सानो रूख वरिपरि, तलमाथि
माडेर केही विष्ट बुढाका गहुंबारी, लुकिएर फेरि कताकता
गहुँबारीभित्र नाचिरहेछन् झुम्दै गहुँका बालाहरू
झुकेर, झुमेर…।

मैले अनायासै सोधें –

 ‘ऐ, तिमीहरू के गर्दैछौ?”

“गुड मर्निङ सर…”

“नमस्ते सर…”

सुन्यौ, एक क्षण आँखा बन्द गरी यहाँ आएर यी दृश्यहरूलाई आफ्नो मानसपटमा सजाऊ त, कस्तो लाग्दो रहेछ? अँ! ती दुइ नानीका अप्रत्याशित, कल्पनातीत उत्तर सुनेर तिमीलाईसम्म भुलिपठाएँ अनि ती दुइ नानीहरूको संसारमा आफू पनि आत्मसात् हुने रहरले सायद एउटा राम्री लाग्ने नानीलाई प्यारो गरेर सोधें –

‘तिम्रो घर कता हो?’

‘उ तेता।’ डाँडापारि देखाई।

‘घरमा को को छन्?’

‘आमा, पापा, नाना।’

‘म तिम्रोमा आउँछु ल?’

बुझ्यौ, थाहा छ? यो वाक्य आफूले भन्नासाथ मलाई त्यो नानीको प्रत्युत्तरको चाहना भइहल्यो! मलाई उसले स्वीकृति दिन्छे नै, अहा! तर मेरा असीम रहर र मीठा – मीठा कल्पनालाई भस्मीभूत बनाउँदै त्यो नानीले अर्कैतिर मुख फर्काई, म मर्माहत भएँ, म हारें, खण्डित भएँ। मान्छेको सानो रहरको पूर्णता पनि संसारमा नहुनु! के भनूं आफैमा चकनाचुर भएको फेरि चकनाचुर भएँ,  हराएँ, बिलाएँ…(त्यो नानीको जवाफ त आएन!)

तर म भाग्यमानी रहेछु मेरो त्यो अन्धकार क्षितिजमा आशातीत सूर्य उदायो, जून हाँस्दै आई अनि कोइली बासी। अचम्म, मैले ध्यान दिएर माया गर्दै बोलाएको नानीको सट्टामा अर्की नानीले पो हाँस्दै भनी, ‘सर, हाम्रोमा पनि आऊ ल?’

पत्याउँछौ? विश्वास गर्छौ? म यहाँनेर अवाक् भएँ, अवाक् भएको छु आनन्द, माया र सहानुभूतिले, संसारको प्रत्येक खुशी भएको छु प्रेरणाले, अब मलाई विश्वास भएको छ, साँच्चि यहाँ घाम लाग्दो रहेछ, जून हाँस्दी रहिछ, कोइली गाउँदी रहिछ, साँच्चै यहाँ घाम लाग्नु पर्दोरहेछ, जून हाँस्नु पर्दोरहेछ…।

अहो! बिच्चाका कुराहरू गरें। समय पनि त निकै भइसकेछ, म के भाको छि:! म त आज त्यो नानीको घरमा जानैपर्छ – जानैपर्छ।

‘सर, हाम्रोमा पनि आऊ ल?’ उसले मलाई बोलाएकी बोलाएकै छ। म जान्छु ल? लौ त बिदा चाहें। तर अहो! मलाई त्यो नानीको घर पो थाहा छैन। तर मलाई विश्वास छ – संसारको प्रत्येक डाँडा – काँडा, खेतखला, सागर – मरुभूमि सबै – सबै नाघेर पनि म त्यो नानीको घरमा पुग्छु नै।

लाग्छ – त्यो नानी अहिले हाम्रै बाटो हेरिरहेकी होली, घाम, जून, तारा, कोइली र बादलसँग खेल्दै होली, जहीं भए तापनि म उसलाई भेट्छु नै।

तिमी अहिले के गर्दिछौ, मलाई थाहा छैन, सम्भव छ  –  सम्झन नहुने मान्छेलाई सम्झी – सम्झी पिरोलिँदै छौ सायद… होस्।

नसम्झ, याद नगर, नपिरोलेऊ, तिमीलाई पनि तातो दिने घाम छ, माया र आड दिने जून छ, तिम्रो निम्ति संगीत भर्ने कोइली चरी सधैँ सधैँलाई छ –  बाटो देखाउने हावा र बतास छ। विश्वास भयो मलाई साँच्चै –

तिमीले मेरो भनेको घाम तिम्रो पनि हो
तिमीले मेरो भनेको जून तिम्रो पनि हो

तिमीले मेरो भनेको कोइली तिम्रो पनि हो – घाम, जून, तारा, बतास हामी सबैका हुन्, हामी सबैका हुन् …ठीक छ। अब तिम्रै आश्वासनलाई स्वीकार्दै उही घामलाई हेर्दै बाँचुला, उही जूनको छायाँमुनि गीत गाउँला, हावा – बताससँग बाँचुला अनि कोइली चरीको कुक्कु कुक्कुसँग सधैं – सधैँ म तिम्रै नजीक रहुंला….।

(स्व. पूर्ण राईको यस कथाको रचनाकाल 1988 हो।)
जुलाई 2011,
ग्यान्तोक, सिक्किम

कथाकार पूर्ण राइको एउटा कथा सङ्ग्रह छ । त्यसको व्यहोरा यस्तो छ :
जय-विजय : कथा-संग्रह
Author: पूर्ण राई
Published: गान्तोक, सिक्किम : जन-पक्ष प्रकाशन, 1993
Pages ९४
Size १/८डिमाई
Edition पहिलो
Press जयभारत प्रि. प्रेस
Press Address वाराणसी
Price भा.रु.५०
Published Date १९९३ई.
Description:
94 p. ; 21 cm

(स्रोत : रचनाकार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.