~आनन्द पौड्याल~
नेपाल राज्यको कुनै प्रदेशको कुनै एउटा गाउँमा पाँचजनाको परिवार छ । त्यो परिवारका सदस्यहरुमा बाबु लर्के, आमा निरु, जेठो छोरा सुरे, कान्छो छोरा सम्फे र एक छोरी चमेली वस्दछन् । पाँच जनाको सो परिवार आर्थिकरुपले निम्न वर्गीय परिवार हो । परिवारको सम्पत्तिको नाममा दुई तीनवटा भिराला बारीका पाटाहरु छन् । दुई तीन मुरी धान फल्ने टारी खेत पनि छ । गोठमा दुईवटा भैँसी र छ वटा गाई गोरु छन् । लर्के अति नै परिश्रमी छ । लर्केले विदेशमा नोकरी गर्छ । तर, लर्केको हौडे खालको स्वभाव पनि छ । बोलीमा सत्यताको निखार पाइँदैन लर्केमा । समाजमा लर्केको भन्दा निरुको बोली विक्ने गर्दछ । लर्केको बोली क्षण क्षणमा परिवर्तन हुन्छ । अति नै महत्वाकांक्षी र घमण्ड गर्ने बानी छ लर्केको ।समाजका अधिकांश मान्छेले लर्केले भनेको कुरा पत्याउँदैनन् । नैतिकतामा पनि लर्के केही कमजोर छ । बोलीमा विश्वास दिलाउन सक्ने क्षमता छैन लर्केमा । जशो तशो निकै दुःख गरेर आफ्नो परिवार र छोरा छोरीको हात मुख जोड्नको लागि दैनिक जोहो गरेका छन् लर्के र निरुले । लर्के र निरु दुवै काम गर्नमा अति व्यस्त हुन्छन् । उनीहरु निकै चलाख र मेहनती पनि छन् । लर्के र निरु सँगै भएको वेला घरको काम पनि एक आपसमा मिलेर गर्दछन् । लर्के विदेशमा वस्ने हुँदा वर्षदिनमा भए पनि लर्के र निरुको भेट हुने गर्दछ । त्यही भएर होला लर्के र निरुको परिवारमा छोरा छोरीको संख्या पनि कमै छ ।
सो परिवारमा निरु अति नै स्पष्टवादी नारी हो । नआत्तिने र नअत्तालिने स्वभावकी नारी हो निरु । कसैको घरमा कुनै समस्या परेमा निरुको न्याय गर्ने दिमाग अत्यन्तै निष्पक्ष रहेको पाइन्छ । निरुको अति राम्रो बानीलाई गाउँका अरु मानिसले समेत अनुकरण गर्ने गर्दछन् । लर्के विदेशमा वस्ने भएकोले घरको सारा कामको जिम्मा निरुले नै सम्हाली रहेकी छ । छोराहरु सुरे, सम्फे र छोरी चमेलीलाई अति नै मायाँ गरेर हुर्काई रहेका छन् लर्के र निरुले । लर्केले विदेशबाट आवश्यक पैसा र सरसामान ल्याउने वा पठाउने गर्दछ । हरेक दिन घरको सारा कार्यसम्पादन गरी सवै कुराको रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारीपूर्ण सवै भार थामेकी छ निरुले । विदेश गएको श्रीमान् लर्केले विदेशमा रहेर पनि निकै नै परिश्रम गरेर काम गर्दछ । कम्तिमा पनि वर्षको एक पटक लर्के घर आउँछ । श्रीमान् लर्केले आफ्नी प्रेयसीलाई न्यानो माया गर्छ । श्रीमती निरु पनि लर्केलाई औधी माया गर्छे । विदेशबाट कोही साथी घरतर्फ जाने थाहा पाएको अवस्थामा पैसा र अन्य सामान पठाउने गर्दछ लर्केले । उक्त पैसा आफ्ना लालावालालाई नाना चाचा, पढाइ र अन्य खर्चमा लगाउँछे निरुले । निरुलाई आफ्नो आर्थिक हैसियत सम्बन्धमा निकै गहिरो ज्ञान छ । निरुले अति मितब्ययी भएर घाँटाी हरै हाड निल्नु पर्दछ भनेर खर्च गर्दथे । पाँच जनाको परिवारको समाजले मूल्यांकन गरिरहेको हुन्छ । सो परिवारको सम्बन्धमा सवल र दुर्वल प्रकारका विभिन्न टिका टिप्पणी गर्ने गर्दछन् गाउँलेहरु ।
त्यस घरपरिवारमा विभिन्न समयमा अनेकौँ आपत विपत पनि आइपरेको पाइन्छ । कहिले लर्केको तास र जुवा खेल्ने वानीले सारा सम्पत्ति जुवामा हारेर घर खेत भएका घटना सुनिन्छ त कहिले जेठो छोरा सुरेले अरिङ्गालको गोलो डढाउने किसिमको वाल सोच रहेको बुद्धिकोको कारण घरको छानामा आगो लगाउँदा सारा घर जलेर नष्ट भएको घटना पनि सुनिन्छ । सोही घटनाको कारणले उक्त पाँचजनाको परिवार घरवास विहिन पनि हुन गयो । तर पनि शरीर क्षीण गराई अतास्सिएर कहिले पनि कमजोर मनस्थिति गराएको पाइँदैन निरुले । लर्के र निरुको परिवारमा यी र यस्तै आरोह अवरोहका घटना घटी नै रहेको पाइन्छ । साँझ विहान हातमुख जोर्न पनि धौ धौ नै छ लर्के र निरुको परिवारलाई । आपत विपत पर्दा पनि घरकी मालिक्नी निरु अति नै नम्र, सभ्य र स्पष्ट बोल्ने वानी गरेकी सिल स्वभावकी सहनशील सुशिल तथा संयमशील नारी हो । श्रीमान् लर्के, जेठो छोरा सुरे, माइलो छोरा सम्फे, छोरी चमेली र स्वयम् आफूलाई सम्हालेर राखी जीउने कला सिकेकी छ निरुले । जस्तो सुकै महामारी र अन्य समस्या आइ परे पनि कहिले पनि आत्तिनु हुँदैन भन्ने कला सिकेकी छ निरुले । उसले समाजका अरु व्यक्तिलाई पनि सोबारे प्रशिक्षित गर्छे । सुखमा मात्तिने र दुःखमा आत्तिने बानी छैन निरुको । उक्त दुवै कार्य राम्रो हैन भन्ने कुरामा अत्यन्तै सचेत, सजग र संयमित हुने नारी हो निरु । समाजका अन्य नारीहरु भन्दा अत्यन्तै निष्ठावान र जाँगरी नारी हो निरु ।
लर्के र निरुको परिवारमा जम्मा तीनजना छोरा छोरी भएकोमा जेठो छोरा सुरेलाई लर्के र निरुले निकै पुलपुल गरेर हुर्काएको पाइन्छ । सुरेलाई कहिले पनि घर ब्यवहारको काममा सहभागी नगराँने बानी छ तिनको । उसलाई प्यारो नानी भनेर औधी माया गर्दछन् लर्के र निरुले । त्यसैले सुरेलाई निरुले घर व्यवहारको काममा कहिल्यै नलगाएकोले उसले घर ब्यवहार सम्बन्धी कार्य सिक्न, बुझ्न र कार्यसम्पादनमा सहभागी हुने अवसर पाएन । यसरी व्यवहारिक काममा निकै नै पछि परेको छ सुरे । उठ नानी भनेर सुरेलाई सधैँभरि विहान पाँच वजे उठेर आमा निरु पँधेरामा पानी लिन जान्छिन । कान्छो छोरा सम्फे र छोरी चमेली भने निकै साना छन् । जेठो छोरो सुरेलाई बाबु लर्के र आमा निरुले निकै नै न्यानो माया दिएर हुर्काएको हुनाले आमा निरुको दैनिक काममा सुरेले सहयोग गर्न जान्दैन । उसलाई सो कार्य गर्ने बानी परेको छैन । किन कि सुरेले आफ्नी आमा निरुलाई घरब्यवहारको काममा सहयोग गर्नुपर्छ भन्ने कुरासम्म पनि व्यवहारिक संस्कार दिइएको छैन । त्यसैले उक्ति पनि छ “आफ्नो सन्तानलाई सम्पत्ति दिइएन भने ऊ केही वर्षमात्र रुनेछ तर, यदि संस्कार दिइएन भने ऊ जीवनभर रुनेछ” भन्ने कथन पनि हरेक मानिस जस्तै सुरेका लागि पनि निकै सान्दर्भिक हुन्छ ।
हरेक दिन विहान उठेर आमा निरुले पँधेराबाट पानी ल्याउँछे । दाउरा घाँस गर्छे । खाना पकाउँछे । छोरा सुरेलाई उठ भाइ बहिनीलाइ हेर भनेर पँधेरा वा घाँस काट्न जान्छे । तर, आउने बेलासम्म पनि सुरे विस्तरामा सुतेको सुत्यै देखेर फेरी पनि अति नम्र बोलीमा उठ नानी उठ बाबु भन्छे निरुले । कति संयमशील हो त्यो आमा । अझ भन्ने हो भने निरुलाई नकारात्मक बोली बोल्न नै आउँदैन । उठ नानी सुरु उज्यालो भयो । घाम पनि माथि आइसके भन्दै आफ्नो घरको सारा बाँकी काम गरिरहन्छे निरुले । सुरेले उठ्छु मात्र भन्छ तर सुतिरहन्छ । यसैगरी सधैँभरि आमा निरुले धेरै समय काम गरेर सक्दासम्म सुरे धेरै वेरसम्म पनि सुति नै रहन्छ । सो देखेर र सवै कुरा सुनेर वरिपरिका गाउँलेहरुले निरुले छोरो सुरेलाई चाहिने भन्दा वढी मायाँ गरेको फल भोग्दैछे आज भन्दै कुरा काटी रहन्छन् । तर, त्यो काटिएको कुरा भने निरुलाई पटक्कै थाहा हुँदैन । निरुले विहान सवेरै उठेर पँधेराबाट चार पाँच खेप पानी ल्याउँछे । गोठमा गोवर सोत्तर गर्छे । विहानको नास्ता खाएर घाँस काट्न खरवारीमा जान्छे । केही समयपछि अति ठूलो घाँसको भारी बोकेर ल्याउँछे । भकारामा भएभरका सवै भैँसी, पाडापाडी, गाई र गोरुलाई खुवाउँछे । सो गाउँ पहाडमा भएकोले गाई गोरुबाहेक भैँसी चराउन मिल्दैन । किन कि जमिन भिरालो भएकोले भैँसी लड्ने डर हुन्छ । निरुले भने दैनिक रुपमा सकी नसकी विहान उठेदेखि साँझसम्म घरको सवै काम गर्छे । यो कुरा निरुको लागि दैनिकी नै भएको छ । तर, घरमा वढ्दै गरेको जेठो छोरो सुरे भने विहान ढिला गरी उठेर खाना खाईसकेपछि दिउँसो गाउँ गाउँ डुल्ने, चिया पसल धाउने, भएको पैसा खर्च गर्ने, गफ मार्ने र राती घर फर्कने दैनिकी नै वनाएको छ । पढाइ लेखाइ प्रति भने सुरेको पहिलो प्राथमिकतामा पर्दैन । किन कि ठूला ठूला मान्छेसँग भेट गर्ने, निकै ठूला गफ गर्ने र ठूलो व्यापारी वन्ने ध्याउन्नमा मात्र छ ऊ । आफ्ना सँगी साथीले पढे लेखेर धेरै उन्नती प्रगति गरेको कुनै अत्तो पत्तो नै छैन सुरेलाई ।
निरुको श्रीमान् लर्के पनि चाडबाडको लागि भनेर विदामा विदेशबाट घर आयो । सरदऋतु भएकोले दशैँ र तिहारजस्ता चाडबाडको समयमा अति नै रमझम छाएको थियो । त्यो वेलामा हरेक घरका मानिसहरुले आ–आफ्नो घर लिप्ने र झ्याल ढोकामा रङ लगाउने काम गर्दछन । त्यही समयमा गाउँमा सवैको चास छर्ने बेला पनि हो । सो समयमा हरेक घरमा मकै स्यारेको अवस्था हुँदा प्रत्येक घरमा अन्नको अभाव देखिदैन । सो समयमा निरुले पनि आफ्नो बारीको मकै स्यारे पछि चास छर्ने काम सके पछि घर लिप्ने, झ्याल र ढोकामा रङ लगाउने काम पनि एक्लै सकी । आफूले वुहार्तन गरेर भए पनि श्रीमान् लर्के र छोरो सुरे समेत आफ्ना सवै सन्तानलाई कहिले पनि कुनै दुःख नदिने लक्ष छ निरुको । हाड घोटेर एक्लै काम गर्ने किसिमको निरुको वानी पनि समाजमा अत्यन्तै अनौठो र अपबाद नै मानिन्छ । किन कि अरुले त आफ्ना सन्तान्लाई समेत घरको काममा लगाउँछन् । निरु समाजमा भएका अरु नारी जस्ती छैन ।
लर्केले आफू घर आएको वेला आफ्नी प्यारी श्रीमती निरुको दैनिक कार्यमा कहिले काँही सहयोग गर्ने आँट गर्दछ । लाहुरबाट आएको हुनाले लर्केले गाउँमा डुल्नु पर्ने हुन्छ । लर्केले गाउँका सवैसँग भेटघाट र पुरानोदेखि नयाँसम्मको बारेमा भलाकुशारी गर्दछ । लर्केले गाउँमा कुरा गर्न थालेपछि कति समय गयो र कहाँ पुगियो त्यसको पत्तो नै हुँदैन । कहिले काँही त गाउँका मानिससँग गफ गरेर, तास जुवा खेलेर अर्काे दिन पनि घर फर्कने गर्छ लर्केले । लर्के अचम्मको स्वभाव भएको मान्छे हो । तर लर्केको हरेक स्वभावमा सुपरिचित भई बुझेको हुनाले घरमा चित्त बुझाएर एक्लै रात विताउँछे श्रीमती निरुले । किन कि श्रीमान् लर्केले कुनै गल्ती र कमजोरी गरे पनि निरुले सधैँभरि नरम भएर बोल्ने गर्छे । आफ्नो श्रीमान् लर्केलाई सहजै माफ गर्छे उसले । सोही कारणले लर्केले पनि जे गरे पनि हुँदो रहेछ भन्ने आँट गर्न सक्छ सधैभरि । लर्केले तास जुवामा अति धेरै रकम हार्दा र घरवास नहुँदा पनि वाहिर समाजमा नदेखिने र नसुनिने गरी नम्र तरिकाले सम्झाउने गर्छे निरुले लर्केलाई । विहान उठेदेखि साँझसम्म घरका सवै बाँकी काम सम्पन्न गर्छे निरुले । मायाजालमा परेको कारणले गर्दा कहिल्यै पनि श्रीमान् लर्केसँग बाझ्ने बानी छैन निरुको । श्रीमान् लर्केले पनि उसकी प्राणप्रिय निरुलाई कहिल्यै पनि हप्काउने, गाली गर्ने र झगडा गर्ने गर्दैन । उसले आफ्नी श्रीमती निरुलाई औधी माया गर्छ । यसरी उनीहरुको दिनचर्या वितिरहेको छ । हर्के केही दिन चाडबाड मनाए पछि विदेश जाने र पूनः अर्काे वर्ष आउने गर्दछ ।
ज्यानको समेत कुनै पर्वाह नगरी आफ्नो मुटु भन्दा प्यारा छोरा छोरीको पालन पोषण र शिक्षा दीक्षाको निम्ति बाबु लर्केले विदेशमा र आमा निरुले स्वदेशमा अति नै कठोर काम गरिरहेका छन् । जस्तोसुकै परिस्थिमिा पनि लर्के र निरुको अनुहार मलिनो हुँदैन । किन कि उनीहरु दुवैले समय र परिस्थितिलाई राम्रोसँग बुझेका छन् । विदेशमा श्रीमान् लर्के र घरमा श्रीमती निरुले कुशलतापूर्वक कार्य सञ्चालन गरिरहेका छन् । छोरा छोरीको शिक्षा दीक्षा र पालन पोषण गर्नको लागि नै आफ्नो सारा जीवन समर्पपण गरेका छन् लर्के र निरुले ।
यसरी नै सो परिवारको धेरै समय वित्दै गयो । सुरे, सम्फे र चमेली पनि ठूला हुँदै गए । छोरी चमेली बैसले मत्त हुँदै गई । उसको विवाहको वेला आयो । धेरै ठाउँबाट छोरी चमेलीलाई विवाहको प्रस्ताव आएका थिए । चमेली पनि निकै सुन्दरी लगनशील, शील स्वभाव भएकी केटी हुनाले विवाहमा कुनै अप्ठ्यारो परेन । माग्न आएक धेरैजना मध्ये एउटा राम्रो कुल घरानसँग कुरा मिल्यो र विवाह हुने पक्का भयो । सोही बमोजिम धुमधामका साथ चमेलीको विवाह पनि सुसम्पन्न भयो । यसरी धेरैको नजर परेकी सो परिवारकी जेठी छोरी चमेली पनि आफ्नो घर गई । यसै गरी जेठो छोरा सुरेको पनि विवाह सम्पन्न भयो । विवाहको कार्य उमेर अनुसार सकिने कुरा भएकोले समयानुसार कान्छो छोरो सम्फेको लगायत सवैको विवाह गर्ने कार्य सकियो । तर खर्च भने धान्न मुस्किल परेको थियो हर्के र निरुको परिवारलाई । ऋण धन गरेर सवै छोरा छोरीको वैवाहिक कार्य सम्पन्न गरेका थिए तिनीहरुले ।
दिन रात गर्दै धेरै वर्षहरु पनि विते । दैनिक रुपमा गाउँ गाउँ डुल्ने, चिया पसलमा गएर चिया र चुरोट खाने बानी भए पनि सुरेले कहिल्यै मादक पदार्थ सेवन गर्दैन । कान्छो छोरा सम्फे कामको सिलसिलामा विदेशीएको छ । उसले केही कक्षा पास पनि गरेको छ । लर्के र निरुको परिवारले कोल्टे फेर्दै गयोे । दुवै छोरा सुरे र सम्फेले काँध थाप्न सुरु गरे । सो परिवारमा हर्षले सीमा नाघ्न थाल्यो ।
यसै क्रममा जेठो छोरा सुरेमा ब्यापार व्यवसाय सञ्चालन गर्ने आँट आयो । सानैदेखिको सुरेको उत्कट इच्छा अनुसार बाबु लर्के र आमा निरुले पनि उसको सो प्रस्ताव स्वीकार गरे । किन कि छोराछोरीको आँट र चाहनालाई कहिल्यै पनि मार्नु हुँदैन भन्ने सोच थियो लर्के र निरुको । सुरेको निर्देशनमा व्यापार व्यवसाय सञ्चालन भयो । ऋण धन गरेर सुरेले सो कार्यलाई निरन्तरता दिन थाल्यो । घरका सवैको समर्थन र आवश्यक सहयोग पनि पायो सुरेले । केही वर्ष सुरेको व्यवसाय निकै नै राम्रोसँग सञ्चालन हुँदै गयो । सुरेको व्यवसायबाट घरमा मनग्गे आम्दानी पनि हुन थाल्यो । व्यापार व्यवसायमा हात हालेको भए पनि उसमा पूरानो लगनशीलता थिएन । व्यवहारिक कुराहरु नसिकेकोले उसलाई व्यवसायमा लगनशील हुन निकै नै कठिन भयो । यसरी नै व्यापार व्यवसाय गरिरहेको समयमा स्वयंको आफ्नै र परिस्थितिजन्य विविध कारणहरुले गर्दा सुरे पल पलमा असफल हुन थाल्यो । । एकातर्फ व्यवहारिक विषयमा ज्ञान थिएन भने अर्काेतर्फ आफ्नो औकात भन्दा निकै माथिको महत्वाकांक्षी आँट लिएर काम गर्न चाहाने र त्यसबाट सधैँभरि असफल हुने सुरेको सक्रिय जीवन थियो । तर, सुरेले आफूलाई सफल व्यापारी वनाउने चाहना त्याग्न सकेको छैन अझै पनि । उक्त कार्यमा दत्तचित्त भएर लागि नै रहन्छ त्यो । आफूले सोचेको र चाहेको कुरामा सधैँ असफल हुँदै जान थालेपछि उसमा आशाका भन्दा निरासाका कीरणहरु थपिन थाले ।
सुरेले ऋण लिएर किनेको एउटा गाडि थियो । त्यसले निकै नै आम्दानी गर्दै थियो । त्यो एउटा गाडि पनि दुर्घटनामा पर्यो । सुरेको व्यापार पनि घट्दै जान थाल्यो । अलि अलि गरेर चलेको पसल पनि एक दिन चोरी भयो । पसलको बिमा गरेको थिएन सुरेले । बिमा नै नगरेको हुनाले पसलको के कुरा भयो र ? तर बीमाबाट गाडिको क्षतिपूर्तिवापत आउनु पर्ने रकम पनि आवश्यक कागजात नपुगेको कारणले समयमा आउन सकेन । सुरेले सधैँभरि घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने बानी बसालेको थिएन । ऋण लिन भने पछि जहिले पनि आँट गरेर अघि सरी सधैँ तत्पर हुने वानी वसेको छ सुरेमा । व्यापार, पेशा तथा व्यवसायबाट जहिले पनि सुरेको स्वयंको महत्वाकांंक्षी बानी र परिस्थितिले साथ दिएन । जव मानिसलाई समय र परिस्थितिले साथ दिँदैन भने सुरेमात्र होइन कोही पनि जीवनमा सफल भई माथि उठ्न सक्दैन । व्यापार, व्यवसाय र ऋणको भारबाट सधैँभरि च्याँपिएको च्याँपियै हुन थाल्यो सुरे । अन्त तः उसले आफ्नो उक्त व्यवसाय नै परित्याग गर्न बाद्य भयो । सोको कारणले उसको घरको आर्थिक, सामाजिक र व्यवहारिक अवस्था निकै नै खस्किएर गयो ।
सुरेवाहेक कान्छो छोरो सम्फेले विदेशमा गएर पनि आफ्नो व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गरेर घर ल्याएको थियो । उसले भने आफ्नो व्यापार र व्यवसायबाट सन्तोष लिन सकेको पाइन्छ । ऊ अहिले स्वदेशमै वसेर आफ्नो परिवारको लागि दिन रात जुटेर मनग्गे आय आर्जन गरेको छ । दुई विगाहा जग्गा र एउटा ठूलो घर किनेको छ । यसैगरी स्वदेशमा वसेर पनि दैनिक गुजारा राम्ररी चलाईरहेको छ कान्छो छोरो सम्फेले ।
यसैबीच विदेशमा बाबु हर्केको असामयिक निधन भयो । आमा निरुको विचल्ली भयो । त्यसरी मिलेर बसेका परेवा र ढुकुरको जस्तो जोडी मध्येकी निरुलाई अत्यन्तै ठूलो मानसिक चोट पुर्यायो त्यस घटनाले । परिवारमा सुरेको पनि विचल्ली भयो । एउटा हुने र अर्काे नहुनेको मन मिल्न छोड्यो । सुरे र सम्फेले एक अर्काको अस्तित्व नै स्वीकार गर्न छोडे । भाइ भाइमा मेल हुन छोड्यो । परिवारमा खल्ली वल्ली मच्चिन थाल्यो । दैनिकरुपमा घरमा झगडा भई वैमनुष्यताले छाउन थाल्यो । सोही कारण सुरे र सम्फे पनि बाबु लर्केको निधन भए पछि छुट्टी भिन्न भए । यसरी नै वर्षहरु वित्दै गए । आमा निरुले भने कहिले कुन छोराको घरमा त कहिले कुनको घरमा गएर जीवन यापन गरिरहेकी छे । अहिले निरु आशामूखी भएर बसेकी छ । कुन कपडा लाउन देलान र कति बेला खान देलान् र खाउँला भन्दै विगतको आफ्ना सवै घटनाहरु सम्झँदै घरको पेटीमा घाम तापेर बस्छे दैनिक रुपमा निरु अहिले । निरुको शारीरिक अवस्था निकै नै दर्दनाक भई क्षीण हुँदै गइरहेको छ । दिसा पिसाव गर्न पनि साहारा चाहिन्छ निरुलाई । बुढेसकालको अशक्त अवस्था छ । कस्तो अवस्थाबाट कस्तो अवस्थामा गुज्रेर गइरहेको छ है निरुको अहिले ।
मिति २०७६ साल चैत १८ गते,
नवजागृति टोल, काठमाडौँ ।
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)