कथा : सङ्क्रमित मन

~लक्ष्मी गाइजू~Laxmi Gaiju

चारैतिर मेरै खोजी भइरहेको थियो । रेडियो, टेलिभिजन, अनलाइन समाचारहरूबाट मेरै बारेमा बोलिरहेका थिए, खोजिरहेका थिए, । मानौँ म कुनै आतङ्कारी हुँ । बाहिर पुलिस बुट बजाउँदै आएका थिए । तिनीहरू पनि मेरै खोजीमा थिए ।

“म कुनै चोर हुँ ?” आफँैलाई प्रश्न गर्छु । “म कुनै हत्यारा हुँ या आतङ्ककारी हुँ ?”

आफ्नै मन चिच्याउँछ र मनैले जवाफ दिन्छ, “होइन” ।

“त्यसोभए सबैजना किन मलाई खोज्दै हिँडेको त ? कुनै चोरलाई, कुनै आतङ्ककारी या हत्यारालाई खोज्दैनन् होला यतिका मिहिनेत गरेर । तर मलाई पत्रकार, पुलिस, समाचारहरूले किन पछ्याइरहेका छन् ? मलाई शान्तिसँग बाँच्न पनि दिइरहेका छैनन् ।

“तिनीहरूले खोज्यो भन्दैमा म किन यतिको तेज भाग्दै छु त ?” मनबाट आएको अप्रत्याशित प्रश्न मनैलाई तेर्सियो । “म कुनै म्याराथुनमा भाग लिंदै छु ? मलाई कुनै दौड जित्नु छ ? या मलाई संसार जित्न हिँडेका सिकन्डरहरूसँगै विश्वविजेता बन्नु छ । म किन यति तेज भाग्दै छु ?

मनको भित्री अनकन्टार ठाउँबाट तेर्सिएका यी प्रश्नहरूले मेरो मनलाई छिया–छिया बनाइदियो । किनकि सबै प्रश्नको उत्तर मेरै मनलाई मात्र थाहा थियो । सबैले किन मलाई खोज्दै छन् ? मात्र म जान्दछु ।
ती सबैको एउटै उत्तर हो, मृत्युदेखिको मेरो डर । म मर्न चाहनँ । जीवन कति सुन्दर छ, त्यो सुन्दर जीवन म अझ बाँच्न चाहन्छु । तर, तिनीहरू “तँ मर्दै छस् त्यसैले आत्मसमर्पण गर” भन्दै मेरो खोजी गर्दै छन् ।

म मेरो घरको एउटा अँध्यारो कोठामा लुकेर बसेको छु । ममाथि कोरोना सङ्क्रमणको शङ्का गरेका छन् । विदेशबाट फर्किंदा प्लेनमा एक जना कोरोना सङ्क्रमित भेटिएपछि साथमा आउने सबैको खोजी सुरु भएको थियो । विश्वमा ५३ हजार मानिसलाई सिध्याइसकेको कुरा समाचारमा तथ्याङ्क दिंदै गर्दा आफ्नो पनि मृत्युको घोषणा भइसकेको र अब हलालमात्र हुन बाँकी भएको महसुस भयो । त्यसैले मृत्युबाट भाग्दै आज म अँध्यारो कोठाको एउटा सानो खाटमा कुँजिएर बसेको छु । म चाहन्छु, जसरी पुलिस, पत्रकारहरूले मलाई खोज्दै, पत्ता लगाउन सकेनन् त्यसरी नै मृत्यु वा कालले पनि मलाई नभेटाओस् । त्यसैले त म चार दिनदेखि आफूलाई बन्द कोठाभित्र बन्दी बनाएर बसेको छु ।

तर सोचेजस्तो कहाँ भइदियो र ? रुघा त मलाई चार दिनअघि नै लागेको थियो । घाँटी खसखसाउने र खोकी लाग्ने त अस्ति नै सुरु भइसकेको थियो । आज त ज्वरो पनि चर्को हुनथाल्यो । के म अब साँच्चिकै मर्दै छु त ? म मर्ने नै भएँ त ? शङ्का त आफैँलाई पनि लाग्दै छ । रुघा, सुख्खा घाँटी, खोकी, बढ्दै गरेको ज्वरो र श्वासप्रस्वासमा समस्या हुन थालेको छ । तर म सङ्क्रमित भएँ भनेर स्वीकार्न चाहन्नँ । त्यसैले त म खोजी हुँदा पनि सम्पर्कमा गइनँ ।

म लुकेर बसेको कुरा आमालाई पनि थाहा नभएको होइन । उहाँ पनि आफ्नो छोरालाई सङ्क्रमण भएको नहोस् भन्ने चाहनुहुन्छ सायद । त्यसैले त मेरो साथ दिंदै हुनुहुन्छ । तर मेरो सम्पर्कमा उहाँलाई पनि रुघा लाग्न थालेको थियो । तापनि उहाँ पनि मजस्तै यो कोरोना सङ्क्रमणको लक्षण हो भनेर स्वीकार्न चाहनुभएन सायद ।

एक दुई दिनमै तलमाथि गर्दै रहने मेरी आमाले पनि बेस्सरी खोक्न थाल्नुभयो । म सिकिस्त हुँदै गइरहेको थिएँ । आमा मलाई भेट्न आउन छोड्नुभएको थियो । म घरमै भएको कुरा आमाले परिवारका अरु कसैलाई भन्नुभएको थिएन । त्यसैले दाइ, भाउजू, बहिनीलाई आमाको खोकीमाथि कोरोनाको शङ्का लाग्ने कुरै भएन । किनकि न बाहिरको सम्पर्क थियो घरमा, न आमा बाहिर कतै जानु नै भएको थियो ।
आमा पनि ज्वरोले थलिनुभएछ । मेरो रेखदेख गर्ने कोही भएनन् । म झन्झन् शिथिल भएँ । मलाई सास फेर्न गा¥हो हुनथाल्यो । मानौँ, कुनै अज्ञात व्यक्तिले मेरो घाँटी जोड्ने अँथ्याइरहेको छ । पछिपछि मेरो शिथिल कानमा घरका अरु सदस्यहरूले पनि जोडजोडले खोकेको आवाज सुनिन थाल्यो । चारैतिर निरस आवाज र कर्कस खोकीबाहेक सुनिएन ।

मृत्युदेखि भाग्दै गरेको म । आखिरमा मृत्युले मेरो घाँटी अँथ्याएजस्तो भान हुनथाल्यो । म जीवन र मरनको दोसाँधमा थिएँ । छट्पटाउँदै सकी नसकी आफ्नो शरीरलाई घिसार्दै म कोठाबाट बाहिर निस्केँ । मेरो एक जोडी कमजोर चक्षुले विभत्स दृश्यहरू देखे । घरका सबैजना लापरबाही लडेका थिए । खोकी त खोकी, घाँटीमा समात्दै बसेका आमा, दाइ, भाउजू, बहिनी, भदा सबैजना पसिना पसिना भएको थियो ।

थुसथुस खोक्दै गरेका आवाज त बाहिरबाट पनि आउँदै थियो । झ्यालबाट बाहिर कमजोर दृष्टि फ्याकेँ । उहाँ त घिमिरे काका हुनुहँुदोरहेछ । जसको आवाज केही दिनअघि हाम्रो घरमा गुञ्जिएको थियो । उहाँ खोक्दै र हाछिउँ गर्दै गुरुजुको घरमा छिर्नुभयो । अरुबेला हाँसो मजाक सुनिने यो टोलमा आज जताततै खोकेको र हाछिउँ गरेको आवाजमात्र प्रतिध्वनित हुँदै थियो ।

“यो सब के भयो ?” मेरो मन अत्तालियो । के यो मेरै गल्ती हो ? मेरै लापरबाहीका कारण परिवार, टोल, छिमेकी सबै कोरोना सङ्क्रमित भए ? उफ् ¤ यो मैले के गरेँ ? आफूलाई बचाउने नाममा मैले सबैलाई मृत्युको मुखतिर धकेलेँ । म यी सबैजनाको हत्यारा कहलिन्छु ।” आफ्नो मनमाथि सब दोष कोचेँ । सास फेर्न गाह«ो भयो । आँखा धमिलो हुँदै गयो । चारैतिर अँध्यारो भयो । म अचेत भएँ र डङ्ग्रङ्ग भुइँमा पछारिएँ ।

झसङ्ग बिउँझेँ । पसिनै पसिनाले निथु्रक्क भिजेको रहेछु । अँध्यारो कालो कोठा झन् अँध्यारो हुनथाल्यो । सपनाको एक–एक चित्र आँखासामु नाच्नथाल्यो । आफ्नो अन्तिम अवस्था, आमा र परिवारको अवस्था, बाहिर छिमेकीहरूको अवस्था । मेरै कारण भएको परिवार र छिमेकीहरूको हविगत सम्झेर मन बेचैन भयो । मन पोल्नथाल्यो । यो सपना कुनै कहानी थिएन । सम्भाव्य परिस्थितिको भयानक चित्र थियो । त्यसैले मैले आफूलाई सुधार्नुपर्छ ।

अझै पनि मलाई नै खोजिंदै गरेको समाचार प्रसारण हुँदै थियो । मृत्युदेखि भागेर कहाँ पो जान सकिएला ?” मनले भन्यो । “हो त, म मेरो सपनाजस्तो भयावह स्थितिको कारण बन्न चाहन्नँ । त्यसैले मैले सम्पर्कमा जानुपर्छ ।” आफूलाई सम्झाएँ । त्यसै पनि कति सङ्क्रमित मानिसहरू निको भएर घर पनि फर्केका छन् । बेलैमा विचार पु¥याए अवश्य म पनि स्वस्थ भएर घर फर्किनेछु ।” मनलाई आशावादी बनाएर अँधेरो कोठालाई एकपटक नियालेँ र सम्पर्कको निम्ति दिइएको नम्बरमध्ये एउटामा डायल गरँे, ९८५….. । घन्टी गयो, घन्टी गइरह्यो ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.