~जीतबहादुर कटुवाल~
आज लक डाउन भएको तेह्रौ दिन । घरमै क्वारेन्टाइन सरहको बसाइ छ । बिहान र बेलुका समान्य घरायसी काम गरेर समय बित्दैछ । दिउँसो र राती टिभी र रेडियोमा समाचार हे¥यो ,सुन्यो । अनलाइन समाचार पढ्यो ,पुस्तक पढ्यो । साथीहरुसँग फोनमा कुरा गरेर विचार आदान प्रदान ग¥यो । अनि बीचबीचमा फेसबुक खोलेर गाउँघर देश दुनिया नियाल्यो । नियमित कार्यतालिका नै बनेको छ ।
बिहानभरिको दैनन्दिन कार्यमा परिवारजनलाई सघाएँ । बिहानको खानापश्चात पलङमा पलेँटी कसेर बसेँ । टिभी अघिदेखि खुल्लै थियो । टिभीको तल्लो छेउमा सुलुलु कुद्ने समाचारअनुसार संसारभर सङ्क्रम्ण हुनेको सङख्या बाह्र लाख नाध्यो र मृत्यु हुनेको सङ्ख्या चौसठ्ठी हजार सात सय पुगेछ । फास्ट ट्रयाकबाट अघि बढेको आँकडा एक हप्तापछि कति पुग्ला अनुमान गर्न गाह्रो थिएन । मन खिन्न भो ।
अनेक कुरा एकै पटक सल्बलाए । चिनको बुहानमा डिसेम्बर एकतीसमा पहिलो पटक फेला परेको कोभिड उन्नाईस अर्थात नोबल कोरोना भाइरस मानव संहारकारी यमराजको दूत सावित भएको छ । मानव अस्तित्व रक्षाको लागि यो एउटा गम्भीर क्षण हो । टिभीमा एकजना सांसदसितको अन्तर्वार्ता चलिरहेको थियो । केहीबेर हेरेँ तर त्यसले मेरो मन तानेन । पलङमा पल्टेँ । टिभी चलिरहेकै थियो । अब के होला ? कसो होला ? कहिलेसम्म यो कहर समाप्त होला भन्ने सम्बन्धमा मेरा मनमा अनेकन सवाल सल्बलाउन थाले ।
त्यही बेला मोबाइलमा कोरोनाको रोकथामको नेपाल टेलिकमको सन्देश बज्न थाल्यो । एक जना साथीले फोन गर्नुभएको रहेछ । “लक डाउन अझै बढछ कि पच्चीस गतेबाट सकिन्छ भन्ने अझै टुङ्गो लागेको छैन । तर छिमेकी भारतमा अझै नौ दिन लक डाउन हुने हुँदा यहाँ पनि अरु एक साता लक डाउन लम्बिन सक्छ । ” साथीको अनुमान थियो । दुइ मिनेटजति फोन वार्तामा केवल यही कोरोनाका बारेमा कुरा भए ।
यसबेला संसार नै कोरोनाको प्रकोपले मर्माहत बनेको छ । यसको असरबाट कोही अछुतो छैन । हाम्रो देशमा भने सरकारको बेलैमा अपनाएको सावधानी र नागरिकको सचेतनाका ठूलो कारण समस्या बनेको छैन । तैपनि उत्तरी छिमेकी चीनबाट उत्पत्ति भएको र दक्षिणको छिमेकी भारतमा फैलिँदै गएकोले जनस्तरको सम्बन्ध र खुल्ला सिमानाका कारण हामी अझैँ खतरामुक्त छैनौँ । त्यसैले अझै निकै समय सावधान बन्न आवश्यक छ ।” मैले मनमनै यति कुरा खेलाएँ ।
ल्यापटप खोलेँ ,केही अनलाइन समाचार खोलेँ । समाचार शीर्षकमा आँखा दौडाएँ । प्रायः सबैमा उस्तै खाले समाचार थिए । कोरोनाका ……. आदिआदि । फेसबुक लगइन गरेँ । मेसेन्जरमा एउटा मेसेज आयो । कतारबाट आफन्तको । केहीबेर कुरा गरेँ । त्यहाँ बाहिर हिडने कुरै छैन । खानेकुरा किन्नबाहेक हिँडन पाइदैन । रोगका कारण सबै त्रस्त छन् । अवस्था भयावह छ भन्ने कुरा थाहा भयो । सुरक्षित रहनु भन्ने सामान्य औपचारिकताबाहेक मसँग भन्ने कुरा केही बाँकी थिएन ।
फेसबुकमा स्क्रिन सारेर न्यजुफिड हेर्न थालेँ । केही जन्म दिनका शुभकामना , केही नयाँ विवाह वर्षगाँठका अवसरमा आँफैले आँफैलाई दिएका शुभकामना , केही विभिन्न भाव भङ्गीका तस्विर ,केही कोभिड नाइन्टिनबाट बच्ने चेतना , केही राहत वितरण र स्वास्थ्य सामग्री खरिदसम्बन्धी सरकारका आलोचना र समर्थन । केही दिनदेखि यसै खालका सामग्री फेसबुकमा बग्रेल्ती देखिन थालेको थियो ।
इटलीमा काम गरेर बस्ने एकजना विद्यार्थीलाई अनलाइनमा देखेँ । इटली संसारकै मानव क्षतिका हिसावले नराम्ररी थलिएको देश हो । युरोपको समृद्धशाली औधोगिक मुलुक अहिले कोरोनाबाट पिडीत छ । मिडियामा यहाँको दुरावस्थाका समाचार शीर्ष बनेका छन् । मैले इटली सम्झिनेबित्तिकै यी कुरा मेरा मस्तिष्कमा झल्किए । मैले ती विद्यार्थीभाईलाई भिडियो कल गरेँ । एउटा त दुखको बेलाको सहानुभूति विशेष अर्थपूर्ण हुन्छ । अर्को कुरा इटलीको वास्तविक अवस्था के छ भन्ने बारेमा थाहा पाउन पनि सकिने भो । कल लागेको घण्टी बज्यो । भाइ कतै बिरामी पो छन् कि भन्ने मेरो मनमा हठात सञ्चार भयो । तीन चार रिङमा पनि कल नउठे आफँै कल काटिदिने विचार गरेको थिएँ । उनले कल रिसिभ गरे । मैले उनको सञ्चो सुबिस्ताको बारेमा साधेँ । अहिलेसम्म राम्रै छ भनेर सङ्क्रमण नभएको जानकारी दिए । म ढुक्क भएँ । उनले यहाँको बारेमा पनि सोधे ।
“सबै ठीक ठाक छ । कोरोनाले गर्दा नेपालीले कहिल्यै नभोगेको लकडाउनको अनुभव गर्ने मौका पायौँ । मैले लकडाउन हाम्रै लागि हो भन्ने बुझेर सबैले पालना गरेका छौँ । ” मैले बताएँ । ”
अब प्रश्न सोध्ने पालो मेरो थियो । म पहिल्यै इटलीको बारेमा सुन्न लालायित थिएँ । त्यहाँका बारेमा सुनिएका र पढिएका कहालीलाग्दा समाचारको पुष्टी भुक्तभोगीबाटै चाहन्थेँ ।
“ त्यहाँ चाहि के कस्तो छ ? ”
“हामी पनि लकडाउनमा कोठामा छौँ । कोठाभित्र त कुन बेला के होला भन्न सकिन्न । तर बाहिर भने भनी साध्य छैन ।” उनले जवाफ दिए ।
उनको भनाइमा उराठ लाग्दो निस्सारता थियो । भय मिसिएको थियो ।
मैले पुनः जिज्ञासा राखेँ , “कस्तो छ ? बिस्तारमै बताऊ न , त्यहाँको अवस्था ।”
“यहाँको अवस्था भयावह छ । सुरुमा कसैले पनि खासै वास्ता गरेनन् । सङ्क्रमण भएकाहरूले पनि क्वारेन्टाइनमा रहने आवश्यकता ठानेनन् । त्यसपछि आफन्त र सम्पर्कमा आउनेहरु सबैको शरीरमा कोभिड उन्नाइस सल्बलाउन थाले । एक महिना अघिसम्म ठीकठाक रहेको इटली छोटो अवधिमै सङ्कटको दलदलमा नराम्ररी धसिन पुग्यो । घना आवादी भएको ऐतिहासिक सहर रोम मसानघाटजस्तै देखिन थालेको छ । सबैको ओठबाट हाँसो गायब छ । कसैको पनि आँखामा चन्चलता छैन । ”
उनको कुरा सुनेर म हतप्रभ भएँ । कतै हाम्रो देशमा पनि यसै गरी फैलियो भने ! मेरो शरीर काम्न थाल्यो । मभित्रभित्रै डराएँ । यहाँ चाहिँ ज्वरो आउने विरामी देख्यो कि कोरोना ठानेर अस्पतालले भर्ना नलिने र डाक्टर तर्किने गरेको खबर सुन्न पाइन्छ । त्यहाँको अवस्था झन कस्तो होला ? मेरो मनमा जिज्ञासा पैदा भो । मैले उनलाई उपचार र अस्पतालको बारेमा सोधेँ ।
उनले भने, “ बिरामीहरू दिनहुँ बढेको बढ्यै छन् । यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मीहरूले उनीहरुको व्यवसायिक धर्म छोडेका छैनन् । अस्पतालले कोरोनाका रोगीलाई राम्ररी उपचार गर्ने गरेका छन् । बिरामीको निरन्तर उपचार गर्नुपर्दा इटलीका स्वास्थ्यकर्मी शारीरिक रूपमा थकित छन् तर उनीहरूको साहस घटेको छैन । उनीहरूको भरोसामा सारा इटलीका लाखौँ नागरिकको आशा बाँचेको छ । मेडिकल मास्क र चस्माका कारणले परेका दागका नीला डामहरूले उनीहरूको अनुहार समेत नचिनिने भएका छन् । शरीर क्लान्त छ । अनुहारमा चमक छैन तर पनि सङ्कटको बेला परिवार र व्यक्तिगत सुखभन्दा जिम्मेवारीको बोधले शरीरको स्फुर्तीमा भने कमी हुन दिएका छैनन्् । ”
मैल उनलाई मृत्यु भएका मान्छेका बारेमा सोधेँ , “ मैले सार्वजनिक हिँडडुल गरेर प्रत्यक्ष देख्न त पाएको छैन तर पत्रपत्रिका र समाचार माध्यम तथा साथीहरुबाट भभने प्रशस्त थाहा पाएको छु । अन्त्येष्टी स्थलमा मरेका मानिसका लास गाड्नका लागि ठिक्क पारेर राखिएका कफिनहरूको लामै लाइन हुन्छन् । । अन्तिम संस्कार सेवा दिने मानिसहरूलाई भ्याइनभ्याइ छ । एकै दिन सयौ लासको एक्लै अन्त्येष्टी गर्दा मुस्किल हुन्छ । यहाँका पचासौँ शव विसर्जन कम्पनी को काम भ्याइ नभ्याइ छ । कफिन बनाउनेहरूलाई पनि उत्तिकै भ्याइनभ्याइ छ । कतिपय अन्तिम संस्कार गराउनेहरू आफैं पनि संक्रमित भएर समस्याको खाल्डो गहिरिएको छ । ”
उनले फेरि एकोहोरो रुपमा भनिरहे , “कोरोनाले मानिसलाई मर्नुभन्दा अघि प्रियजनबाट अलग गर्दाे रहेछ । सङ्क्रमणको भयले कोही पनि बिरामी र मृतक नजिक आउँदैनन् । बिरामीहरूले अस्पतालको आइसोलेसन कक्षमा परिवारका कुनै सदस्य वा साथीभाइको अनुपस्थितिमा एक्लै अन्तिम सास लिन्छन् । ”
“कोरोना भाइरसका कारण ज्यान गुमाएका धेरै मानिसका नजिकका आफन्तहरू क्वारेन्टाइनमा बसिरहेका छन् । बाबुआमा गुमाएका अबोध बालबालिकाका पीडा र सन्तानबाट सदाका लागि अलग्गिनु परेका आमाबाबुको शोक व्यथा शब्दमा उतार्न असम्भव छ ।” उनका बोलीमा पनि करुणाको भेल बग्दै थियो । उनी बोल्दै गर्दा भक्कानिए । म पनि उनीसँगै भावुक बनेर पग्लिएँ । केही बोल्नै सकिन , केही क्षण मौन रहेँ ।
मेरो मौनता देखेर उनले फेरि भने, “यहाँ हरेक नागरिकले ठूलो संकट झेलेका छन् । अझ अध्ययन गर्न आएकाहरुले व्यहोरेको मानसिक पीडाको कुनै लेखाजोखा छैन । धेरैजसोको रोजगारी गुम्ने अवस्थामा पुगेको छ । सबै जसो हतप्रभ छन् । बाँच्नका लागि ठूलो संघर्ष गरिरहेका छन् । मानिसहरू पर्खालबिहीन कैदखानामा स्वकैद छन् । मानिस देख्दा मानिस नै तर्किएर हिँडनु पर्न अवस्था निकै कहालीलाग्दो छ । बजार, चोक, पार्क, खेलमैदान, रंगशाला, कलेज , स्कुल, चाइल्डकेयर सेन्टर, चलचित्र हल बन्द छन् । सडक सुनसान छ । सबैतिर एक किसिमको शान्ति छ, मुर्दा शान्ति । ”
अब मैले सोध्नु पर्ने कुरा केही रहेन इटलीको दुखद परिस्थितिको शब्दचित्र उनले प्रस्तुत गरे । उनीसितको भिडियो कल विच्छेद भयो ।
ती विद्यार्थी भाइको कुरा सुनेर म टोलाएँ । “ यो कस्तो बिडम्बना ! कोरोनाले आफन्तजनको मृत्युलाई नजिकबाट नियाल्न पाउने क्षण आफन्तहरूबाट खोस्यो । मृतकका शरीरमा छाँद हालेर विलौना गर्दै रुने हक आफन्तजनबाट छिन्यो । कस्तो अपराधी भाइरस रहेछ । यदि मनोजले भनेजस्तै इटलीको परिस्थिति यहाँ आइदियो भने हामी कसरी सामना गर्न सकौला ? इटलीमा जस्तै एक हप्तामा पचास हजारमा सङ्क्रमण हुने हो भने हामी कसरी व्यवस्थापन गर्न सकौँला ? हामी बर्वाद हुन्छौँ । त्यसैले बेलैमा सावधान बन्नु पर्छ । अरु देशको अनुभवबाट सिकेर पनि रोगबाट लडने क्षमता विकास गर्न आवश्यक छ । भनिन्छ नि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । ” मेरो मनमा यी यस्तै प्रकारका सोच आए । घोसेमुन्टो उठाएँ । टिभी बोलिरहेको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोभिड उन्नाइसबाट सङ्क्रमण हुनेको सङ्ख्या नौ पुगेको जानकारी दिँदै थिए । धन्न अहिलेसम्म कोरोना दोहोरो अङ्कमा पुगेको छैन ।
“ आँखाले देख्न नसकिने नोबल कोरोना नामको सुक्ष्म जीवाणुले पैसा ,शक्ति र सामथ्र्यका हिसाबले अग्रणी देशको तेजोहरण गरेको छ । अमेरिका ,बेलायत इटली फान्स,स्पेनजस्ता देशको हालत देख्दा अरुको के होला गति भन्ने बेला भएको छ । भूकम्प आउँदा एउटा दुईटा देशलाई मात्र प्रभाव पार्छ । सामुद्रिक आँधीले पनि केही देशलाई मात्र असर गर्छ । तर यो कोरोनाले त सारा संसारलाई एकैपटक हल्लाइ दियो । संभवत् यो दोस्रो विश्वयुद्धपछिको आम मानवसंहारकारी परिस्थिति हो । जीवन क्षण भङ्गुर छ भनेको साँच्चै हो रहेछ । कुनै दिन मान्छेलाई छुनेबित्तिकै स्वाहा बनाउने खालको कोभिड उन्नाइसभन्दा घातक भाइरस यसैगरी फैलियो भने संसारको हालत के होला ? मानव जीवन पनि खासाका इलेक्ट्रोनिक्स सामान जस्तै कुनै भरोशा नभएको हो त , किनेकै भोलिपल्ट बिग्रिन पनि सक्ने वर्षाैँ टिक्न पनि सक्ने ।
जेहोस् यो बेला कोभिड उन्नाइस सङ्क्रमणबाट बच्नका लागि अवलम्बन गर्न सकिने उपायहरू मास्कको प्रयोग गर्नु , मानिससँग घुलमिल नहुनु ,स्यानिटाइजरको प्रयोग गर्नु , बाह्य वस्तु छोएपछि तुरुन्त साबुन पानीले हात धुने गर्नु उत्तम हुन्छ । सामान किनमेल गर्न जाँदा विशेष होसियार बन्नु आवश्यक छ । यदि लकडाउन खुकुलो भयो भने पनि दुई छिमेकी मुलुकमा कोरोना नियन्त्रण नआएसम्म हाम्रो देशमा सावधान र संयमित हुन नितान्त आवश्यक छ ।
अहिलेसम्म मानवीय क्षति र मानवीय संवेदनाका हिसावले मात्र कोरोनालाई हेरिएको छ । यसले पार्ने आर्थिक क्षतिको कुनै लेखाजोखा छैन । उद्योगभन्दा,व्यापार तहसनहस भए , उत्पादन घट्यो , रोजगारी गुम्यो , विप्रेषण घट्यो ,सरकारको कर असुली घट्यो ,काम गरेर खाने वर्ग त अहिले झनै अफ्ठ्यारोमा परेका छन् । ”
सम्झिँदा सम्झिँदा मेरो अनुहारे रातो भो । हिजैदेखि अलिअलि रुघा लागेजस्तो भएको थियो । “मलाई पनि कोरोना लाग्यो भने । ” यस्तो सोच्न पुगँे ।
ओठमुख सुक्यो । फेरि अर्काे मनले भन्योे, “घर छोडेर कहीँ गएको छैन । सामान्य रुघा ,ज्वरो ,खोकी त अरु बेला पनि त लाग्ने गथ्र्याे नि । बिनसित्तिमा किन डराउने ? सबै कालो चिज अङ्गार हुँदैन भनेझैँ सबै खोकी र ज्वरो पनि कोरोना हुँदैनन् । यदि लागि हाल्यो भने पनि आत्तिएर भएको छैन । आत्मबलले पनि ठीक पार्न सकिन्छ । सबै कोरोनाका बिरामी मर्दा पनि त मर्दैनन् । प्रतिरोध क्षमता वृद्धि गर्ने खानेकुरा खानुपर्छ । प्रशस्त तातो पानी पिउनुपर्छ ,चिसोबाट बच्नुपर्छ । अरुबाट अलग्गै रहनुपर्छ । कोरोना धेरैजसोलाई निको पनि त भएको छ । ” आत्म विश्वास पलाएर आयो ।
सबैतिर कोरोना ,कोरोना ,कोरोना । फेसबुकमा पनि कोरोना ,टिभीमा पनि कोरोना ,रेडियोमा पनि कोरोना अनि मनमा पनि त्यही कोरोना । मकैमा पानी पटाउन मोटर चलाएको थिएँ भुसुक्कै बिर्सेछु । बज्दै गरेको टिभी बन्द गरेर खेततिर हिडँे ।
रतुवामाई ८ ,दाम्राभिट्टा मोरङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )