संस्मरण : धनुषदाइको धोको

~नगेन्द्र शर्मा~

गएसालको मंगसिर १९ गते मंग्लबार मेरो निम्ति अलच्छिना रहेछ । लच्छिन, अलच्छिन भन्नेजस्ता कुरा अन्धबिश्वास हुन् भनिटोपल्ने मेरा धारणा गलत रहेछन् कि जस्तो पनि लाग्यो । किनभने, बहान राम्ररी उठ्न पनि पाएको थिइनं, टिरिर्र फोनको घन्टी बज्यो । भवानी घिमिरे दाइको रहेछ

‘नगेन्द्रजी, तपाईंले सुन्नुभयो ? ‘

‘कुन कुरा दाइ ? ‘

‘धनुषचन्द्रजीको । ‘

आं गर्दा अलंकार । वाक्य पूरा गरिरहने जरुरतै थिएन । यति मात्र सोधें, ‘कहां ?’

‘आज बिहानै । ओम हस्पिटलमा रे । पांच बजेतिर उठेर टोइलेट्बाट निस्कंदा फेन्ट भए झैं लड्नुभएछ । हतार हतार अस्पताल दौडाएछन् । तर पुग्दा नपुग्दै….बिचरा । ‘

अब फोन घुमाउने पालो मेरो थियो । पहिल्यै शिव रेग्मीजीलाई । तर उहांको धरमा काम गर्ने महिलाले भनिन्, ‘अघि नै बाहिर गइसक्नुभयो धनुषजीलाई हेर्नजानुभएको रे, नर्भिक अस्पतालमा….’

यो सूचनाले झन दोधारमा परें । ओम हस्पिटल जौं कि नर्भिक ? ‘बूढामामा’ श्याम अधिकारीजीलाई घन्टी बजाएं । उहां त धनुष दाइका मामा ससुरा नै भएकाले ।

‘धाट जानुभएको छ , ‘ फोन उठाउनेले भन्यो ।

भन्ने को थियो, सोधिनं पनि । तुरुन्त धाटतिरै दौडने विचार गरें । त्यहां ध्रुवचन्द्रजी, क्या. सिताराम शर्माजी, बुढा मामा, शिवजी, भवानी दाइ, सबै एकै ठाउंमा देखेपछि फरकै परेन सबै चुपचाप, निस्तब्ध । सोध्ने खांचोसमेत थिएन । सबै छर्लंग थियो

हातमा लिएर गएको फूल शवमाथि चढाउंदा अनुहार हेरें, राम्ररी । फेरि कहिले पाइन्छ र, त्यो दिव्य, सधैं हंसिलो र गफिलो, चेहरा हेर्न ?श्र बिरामीको कुनै लक्षण नभएको ।

शिर अलि तलतिर लत्रे झैं लाग्यो । अलि माथि उठाइदिनपाए हुन्थ्यो भन्ठानें । तर मनै बोझिलो थियो, कसलाई भन्ने ?

सबैजना एकअर्कासंग छोटकरीमा खासखुस गर्थे, बस् । स्तब्ध र गह्रुंगो, भनौं रुन्चे, वातावरण ।

शान्ता भाउजुहरुलाई देखिनं । एउटै नारी पनि थिएनन् । अन्दाज गरें, उहांहरु घाटमा आउनुभएको थियो भने पनि अघि नै फिरिसक्नुभएको हुनुपर्छ । अझ के पनि लाग्यो भने, मैले पो धेरैपछि थाहा पाएछु । भवानी दाइले नभन्नुभएको भए म अन्तिम दर्शनसम्मबाट पनि वञ्चित हुनेरहेछु । जस्तो कविगुरु धरणीधर, सूर्य विक्रम सर, आदि श्रद्धेय पुरुषहरु बित्नुहुंदा वञ्चित भएको थिएं

………………

तीन दिनअघि मात्र, अर्थात् मंगसिर १६ गतेको कुरा । म अफिसबाट फिर्दा उहांको घरमा छिरेको थिएं । प्रायः सधैं जस्तो रमाइला गफहरु झिक्नुभयो । हांस्नु र हंसाउनु त उहांको नित्यकर्मै जस्तो हो । त्यो दिन मलाई झन् हंसाउनुभयो । हुनत अट्टहासको मामलामा म अलि बढ्तै छु । बेफ्वांकमा हांस्ने भनेर साथीहरुको गाली पनि खानेगर्छु । सूर्य बहादुर थापाले त एक दिन मुखेञ्जी भनेकै पनि छन् , ‘तिमी त हांस्न पनि जान्दैन रहेछौ । त्यो सभ्य हंसाइ होइन ‘ हांस्नमा सभ्य र सोमत कस्तो हुन्छ, मलाई थाहा छैन ।

हिंड्ने बेलामा धनुषदाइले सोध्नुभयो पनि, ‘बिर्सिनु त भएको छैन हगि ?’

‘किन नसिकाउने दाइ ?’

आउन त आएं तर आर्यघाटमा र यस्तो बेमौकामा । अब के सिकाउनु र कहिले सिकाउनु ?’

केही वर्षअघि धनुषदाइको अर्को पनि धोको थियो । उहांको ख्यातिप्राप्त उपन्यास, घामका पाइलाहरु, लाई अंग्रेजी अनुवाद गराउने । कसोकसो उहांमा मेरो भाषाज्ञानप्रति बढी नै आस्था रहिआएको छ । तैपनि सोझै भन्न धक लागेर होला, एक दिन भन्नुभएको थियो, ‘तपाईंलाई के लाग्छ ?’

‘सके त मै गर्दिन्थें दाइ । तर म कति गहिरो पानीमा छु, त्यो मलाई राम्ररी थाहा छ । त्यसैले पटक्कै आंट आउंदैन । ‘
उहांका मुहारमा निराशाका धर्साहरु प्रस्टै थिए । तैपनि थप्नुभयो, ‘एकपल्ट चेष्टा त गर्दिनुहोस्न । भएन भने अरु कोही खोजौंला । ‘

‘झारा टार्नखोजेको होइन दाइ । बरु म दाइको तर्फबाट तीर्थराज तुलाघरजीलाई अनुरोध गर्दिन्छु, कसो ? ‘

‘उहां त झन् मेरा उहिलेदेखिकै लंगोटिया । मै भन्नसक्छु । तर हाल यता आएर उहांको स्वास्थ्य निकै गिरेकोले मात्र नभनेको हुं । ‘

अरु सम्भावित नामहरु पनि सम्झने चेष्टा भए । पारिजातको शिरीषको फूल उल्था गरिदिने र वाणीरा बहिनीका कविताहरु गरिदिने अंग्रेज महिलाहरुका नाम पनि सम्झ्यौं । तर टुंगो लगाउन सकेनौं

त्यो विषय त्यसै थांति रहेर गएको गयै छ, अहिलेसम्म …..

………………..

धनुष चन्द्र दाइसंग मेरो पहिलो भेट कहां र कसरी भएको थियो, मलाई हेक्का रहेन । तर, मसंग भन्दा मेरी पत्नी सोफीयासंग चैं उहांको अझ पुरानु सम्बन्ध रहेछ, स्कुलमा गुरु र चेलीको नाताले । मलाई लाग्छ, मैले पुतली सडकनेरको एउटा रामझुपडी किनेको बेलातिरै उहांले पनि त्यस्तै अर्को रामझुपडी किन्नुभएको थियो, बत्तीस पुतलीमा उहांका रमाइला गफै मात्र सुन्ने रहरले पनि एकदुइ, एकदुइ सन्चबार बिराएर म बत्तीसपुतली पुग्नेगर्थें । तर जहिलेसुकै गए पनि अर्का एक व्यक्तिलाई त्यहां हरदम लिट्टो कसेर बसिरहेको भेट्तथें । ती थिए राम प्रसाद शर्मा । धनुष दाइ र म जस्तै होचा होचा, तर अलि गोरा । म जस्तै दुब्लापात्ला पनि । उमेर चैं म भन्दा निकै खाइसकेकाले होला, अनुहारमा निकै धर्साधर्सी परेका । कुन्नि के दोषमा हो, बिचराले नेपाल दूरसन्चार संस्थानको महाप्रबन्धकबाट हात धुनुपरेको रहेछ । अनि धनुष दाइकहां भनसुनको निम्ति आउंदा रहेछन् । हुनपनि त्यस्तै बेलामा त हो साथीभाइ चाहिने

उनीहरुको बीचमा धेरैजसो भोजपुरी भाषा नै चल्ने गरेकोलेकोले लाग्थ्यो, उनको पनि धनुष दाइको जस्तै बारापर्सा कतातिर बालककाल गुज्रेको हुनुपर्छ । तिनताक जाउलाखेलमा उनको भव्य घर रहेछ र सायद त्यसैलाई देखेर जोरीपारीका आंखामा उनी कसिंगर भएका थिए कि ?

अब आफ्नै कुरा । धनुष दाइसंगको मेरो पहिलो भेट जहिले र जसरी भएको भए पनि रहंदा बस्ता उहां आफ्नै एक आंतका दाइभाइभन्दा पनि निकटका लाग्नथाल्नुभएको थियो । एउटा उदाहरण, श्री ५को सरकारले मलाई रातारात सूचना विभागको ठेकेदार निर्देशक नियुक्त गर्दा देखियो । किनभने, काठमान्डुमा सडकछाप भएर भौंतारिरहेको मलाई त्यो ओहदामा रातारात आसीन गराउनमा धनुष दाइको अत्यन्तै महत्वपूर्ण हात थियो । त्यस्ता गुणीला मित्र हत्तपत्त कहां पाइन्छन् ? (अं, राम प्रसाद शर्माको निीम्त पनि उहांले कुनै कसर राख्नुभएन । प्रधान मन्त्रीको सचीवको हैसियतले भरसक हैंसेहोस्टे गर्नुभएकै हो । कतिसम्म भने, राम प्रसादजीको केस दोहोर्याएर हेर्दिन उहांले एउटा विशेष आयोग नै गठन गर्न लाउनुभएको थियो । सायद त्यो आयोगका संयोजकमा तीर्थराज तुलाधर सचीवलाई राख्नुभएको थियो । जसरी तारतम्य मिलाएर भए पनि राम दाइलाई सफाई पनि दिलाउनुभयो, साबिककै पदमा पुनर्बहालीसमेत गराइदिनुभयो । कम हो ?)

अब तल आउने केही पंक्तिहरुमा मैले धनुष दाइको पक्षमा भन्दा आफ्नै पक्षमा बढी शब्द खर्च गरेको जस्तो पनि पाठकहरुलाई लाग्न सक्छ । कहां आग्राका कुरा, कहां गाग्राका कुरा झैं पनि लाग्ला । तर लाज पचाएरै भए पनि म त्यसो गर्दैछु, किनभने सन्दर्भै त्यस्तो छ । यसबाट पनि धनुष दाइको यशोगान नहुने चैं होइन, अप्रत्यक्ष रुपबाटै भए पनि । त्यो सन्दर्भको अलि विस्तृत व्याख्या गर्नको निम्ति उहांकै एउटा निबन्धबाट८ म निम्न हरपहरु सापट लिन गइरहेछु ः

‘एकतीस सालतिरको कुरा हो । नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्रीको पदमा हुनुहुन्थ्यो र प्रधानमन्त्रीको कार्यालयमा म उहांको सचिव थिएं । ….एक दिन बालुवाटारमा प्रधानमन्त्री प्रातः भ्रमणमा भएकै बेला मौका पारेर भनें,’सूचना निर्देशकको पद रिक्त छ त्यहां नगेन्द्र शर्माको नियुक्ति गरिदिनुभए विभागले एक योग्य मानिस पाउने थियो ।’ नगेन्द्रजी अलिक टाढा उभिइरहेका थिए । प्रधानमन्त्रीले हांस्दै डाक्नुभयो,’आउनुस् न, तपाईं त नामले पनि मेरो मित हो नि ।’ अनि मतिर फर्केर भन्नुभो,’तपाईं राधाबाबुसित कुरा गर्नुस्, सञ्चारमन्त्री हुन् । उनले प्रोसेस मिलाएर क्याबिनेटमा ल्याए भने मबाट कुनै आपत्ति हुनेछैन ।’

घर आएर प्रधानमन्त्रीसित बिहान भएको कुरा राधाप्रसादलाई फोनबाट सुनाएं । उनले ‘नगेन्द्रको भाषा क्षमता देखिने एकदुइ लेखोट भोलि बिहान लिएर आउनू । हाउसमा कुरा उठिहाल्यो भने मलाई उत्तर दिन पनि सजिलो हुन्छ ‘ भने बेलुकी कार्यालय समयपछि पुनः नगेन्द्रजीकहां भेला भयौं । …..सांझ परिसकेको थियो । एकाएक हाम्रो मण्डलीमा हिरालाल विश्वकर्मा आइपुगे । उनी रिजाल मन्त्रीमण्डलमा सहायक मन्त्रीको पदमा थिए ….

मैले भनें,’मन्त्रीज्यू , एउटा बौद्धिक रमाइलो गरौं न । तपाईं आफ्नो सधैंको शैलीमा एक धाराप्रवाह भाषण दिनुस् । अनि नगेन्द्रजी, तपाईंले आफ्नो टाइपराइटरमा उहांको भाषणको तत्काल अंग्रेजी अनुवाद गरिदिनुस् । हाम्रो यो खेलांची भोलि बिहान राधाबाबुकहां भेट्न जांदा बढो लाभप्रद हुनजानेछ । ‘

नभन्दै हिरालाल गीत गाउन उठेजस्तै भाषणको लाथि उभिए भने उता नगेन्द्रजीले आफ्नो हार्मोनियम ठीक पारेजस्तै टंकणयन्त्रमा दुवै हातका औंलाहरु बसालेर मन्त्रीका शब्दावलिको आशु अनुवाद गर्ने हांकको लागि तम्तयार भएर बसेको संकेत दिए ।….

हिरालाल विश्वकर्माले जुनसुकै विषयमा पनि धाराप्रवाह बोल्ने भन्ने नाम कमाइसकेका थिए । त्यहां पनि उनी अग्लो शिखरबाट गड्गडाएर अविरल झरेको छहराजस्तै बोल्नलागे । उता विद्युत्गतिले नगेन्द्र पनि आफ्नो टाइपराइटरमा औंलाहरुलाई गति दिनथाले । मन्त्रीज्यूको झन्डै पन्ध्र मिनेटसम्मको मधुमय महावाणी टंकित भएर लिपिवद्ध भयो ।

राधाप्रसादसित समय लिइसकेका थियौं । नगेन्द्रजीले दार्जींिलंगदेखिका एकसेएक प्रमाणपत्रका पुलिन्दा, समाचारपत्रमा छापिएका अनेक लिखतका चिराफाराहरु बटुलेर झुसी पारेको फाइल बोके

मैले भनें ,’यी सब केही चाहिंदैन । हनुमानले सिंगै पर्वत बोकेर लगेजस्तो किन गर्नुहुन्छ ? सञ्जीवनी बुटी त मसित छ । ‘ मैले हिजो टाइप गरेको कागज देखाएं ।

हामीले टंकण भएको कागत त्यसको कुनै पृष्ठभूमि नभनी राधाप्रसादको हातमा दियौं, ‘यो नगेन्द्रजीले हिजो लेख्नुभएको हो । ‘

उनले गहिरिएर सिंगै लेख आद्योपान्त पढेर भने, यसमा कुनै अशुद्धि छैन र भाषा पनि मीठो प्रयोग गरिएको पाएं । मान्नैपर्छ, उहांको अंग्रेजी भाषामा राम्रो दखल रहेछ ‘ हामीले हिजोको कुरा बेलीविस्तार लाएर भनेपछि राधाप्रसाद नगेन्द्रलाई हेर्याहेर्यै भए । त्यसको दुइ तीन दिनपछि सूभना विभागको घुम्ने मेचमा नगेन्द्र शर्मा र उनका वरिपरि थिए मागिखाने तुम्बा बोकेका तिनै पत्रकारहरुको हुल्लड । ……’

धनुष दाइले राम प्रसादजीको पुनबर्हालीमा र सूचना विभागको ेठेकेदार डाइरेक्टर ेको रुपमा मेरो नियुक्तिमा मात्र सहयोग गर्नुभएको होइन । धेरैपछि उहां प्रज्ञा प्रतिष्ठानको सदस्यसचीव हुनुभएको बेला पनि एउटी चिन्दै नचिनेकी र भखैरैजस्तो सुत्केरीबाट तंग्रिंदैगरेकी एक नेवार्नीलाई पनि उप कुलपतिको पी.ए.मा जागीर लगाइदिनुभएको थियो । यस्ता गुणिला घटनाले पनि उहांको सहयोगी भावना नै प्रमाणित गर्छ ।

………………..

मैले सूचना विभागको निर्देशक पदबाट दुइ वर्षपछि राजीनामा दिएं । त्यसको करीब २० वर्षपछि मैले फेरि गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष हुने अवसर पाएं । तर त्यस बेला पनि, काकताली नै भनौं, धनुष दाइ आफैले फेरि त्यही सूचना विभागको निर्देशक पदमा दोस्रोपल्ट नियुक्ति पाउनुभएको थियो । भनिरहनु परोइन, सूचना विभाग र गोरखापत्र संस्थान भनेपछि सरकारी प्रचार प्रसार कार्यक्रमको दृष्टिले एउटै रथका दुइ पांग्रा पनि हुन् । त्यसकारण प्रायः पलपल र क्षणक्षण भनेझैं उहां र मैले फेरि एकअकौको निकटको संपर्कमा रहनुपर्ने खण्ड परिआयो । दशपांचको सरकारी रुटिनमा त संगैजस्तो हुनुपर्ने थियो थियो, सन्ध्याकालीन रमझममा पनि हामी दुवै हल गोरु जस्तै नारिएरै हिंड्ने बानीजस्तै परिसकेको थियो ।

गोरखापत्रको मेरो पहिलो नियुक्ति चार वर्षको लागि थियो । तर कुन ग्रहदशाको खेलले हो, मलाई त्यहां अर्को एक वर्ष बस्नुपर्नुे हुनआयो । त्यो अवधि पनि पूरा गरेपछि फेरि म औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड्को टाउके हुनपुगें । यसैबीच धनुष दाइको पनि सूचना विभागबाट तथ्यांक विभागतिर सरुवा भयो । लाइन फरक परेकोले हाम्रो आपसी हेमचेमको नियमितता केही कम हुनु त स्वाभाविक ै थियो । तैपनि फुर्सद भयो कि म बालाजु औद्योगिक क्षेत्रको उराठलाग्दो र एकाकी जीवनमा रस सिंचन गर्ने उद्देश्यले थापाथलीस्थित उहांको अफिसमा दुइचार दिन बिराएर टुप्लुक्कि नै रहन्थें । त्यसमा मेरो अर्को पनि स्वार्थ थियो । के भने, उहांले तथ्यांक विभागको पुस्तकालय पनि सम्हाल्नुभएको थियो र म पनि एक किसिमको किताबी किरालाई मन बहलाउने त्यो भन्दा अर्को आनन्दी ठाउं कहां हुनसक्थ्यो ?श्र ेघामका पाइलाहरु े त्यसै समयको उपज थियो । त्यो पुस्तकालय गएको बेला सो उपन्यासकाका केही अध्यायहरुको वाचन अमुद्रित अवस्थामै उनको मुखबाट सुन्नपाउने थोरै भाग्यशाली व्यक्तिहरुमा म पनि परेकोले ठूलो अहोभाग्य अनुभव गर्थें ।

केही समयपछि धनुषदाइको अफिस मैतीदेवीथान भन्दा उत्तरतिरको पशुपतिनाथतिर जाने मूल सडकनेरको एउटा भाडाको घरमा सर्यो । त्यसै कार्यालयमा छंदाछंदै पुनः एकपल्ट उहांको चन्द्रमा दाहिने हुनपुग्यो। किनभने, छयालीस सालपछि कृष्ण प्रसाद भट्टराइ के प्रधान मन्त्री भए र केशरजंग रायामाझी के शिक्षा मन्त्री भए, तथ्यांक विभाग र योजना आयोगरुपी रोगले एक प्रकारले वर्षाैंसम्म पिरोलिएका धनुषदाइले एकैचोटि उन्मुक्ति पाउनुभयो । सात सालको जनक्रान्तिमा किसुनजीसंग र कम्युनिस्ट पार्टीमा छंदा रायामाझीसंग उहांको घनिष्ट सम्बन्ध रहेको कारणले नै ती दुवै महाबलीले हैंसेमा होस्टे गरेर क्रेनले मोटर उचाले झैं जुरुक्क धनुषदाइलाई उचालेर एकैचोटि राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य सचीवको आसनमा थपक्क बसाइदिए

त्यति मात्र होइन । उपकुलपतिदेखि लिएर अरु जम्मै प्राज्ञहरुको सूचि बनाउने र त्यसलाई स्वीकृत गराउने जस्ता अभिभारा पनि उहांकै कांधमा आइपरेको देख्ने एउटा साक्षी म पनि हुनपुगें । त्यो कसरी भने, हुनेवाला उपकुलपति ईश्वर बराल र सदस्य सचीव धनुष दाइको सांझबिहान भेटेर अरु प्राज्ञहरुको नाम निक्र्यौल गर्ने सुविधाजनक थलोको भूमिका मेरो तिनताकको पुतली सडकस्थित घरले नै खेलेको थियो । ती छलफलहरुको क्रममा आएका दुइचार रमाइला क्षणहरुबारे मैले अरु नै सिलसिलामा पनि पाठकहरु समक्ष पस्किसकेकै छु । धनुषदाइ स्वयम्का कलमले चैं त्यो सन्दर्भलाई ेउत्तरोत्तर े निबन्धमा यसरी राख्नुभएको छ ः

‘…..नयां प्राज्ञहरुको नामावली तयार गर्नु निकै कठिन काम थियो, यस कबरणले पनि यो विशेष चिन्ताको विषय हुनगयो

मैले धेरै सोच विचारपछि ….नगेन्द्र शर्मालाई गुहार्ने विचार गरें । यिनी भर्खर गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रवन्धक पदबाट बालाजु (औद्योगिक क्षेत्र) सरुवा भएर गएका थिए । यिनी गोरखापत्रमा हुंदा म सूचना विधागको निर्देशकको पदमा थिएं …..

जम्मा सातजनाको नामको फेहरिस्त सकेसम्म हामी दुवै, म र नगेन्द्र शर्माले, निस्वार्थ भएर ेआफ्नोे हात जगन्नाथ े को दोषारोपण नआउने गरी तयार गरेका थियौं । एक एक व्यक्तिबारे घण्टौं घोरिएका थियौं, कतिपटक कुनै नाम विशेषको औचित्यका लागि हामीमा वादविवाद र भनाभन जस्तो पनि भएको थियो ….

एउटा कुरा मेरा मनमा भुनभुनाइरहेको थियो । त्यसले सांझपख छुट्टिने बेला अझ हुंडुलो मचाउनथाल्यो । उच्चारण नगरी धरै पाइनं ।

मैले विस्तारै नगेन्द्रलाई भनें, ‘धेरैबेरदेखि मलाई के गरुं, कसो गरुंको तुलबुलले उकुसमुकुस पारेको छ । एउटा कुरा भन्छु , नगेन्द्र । यस लिस्टमा तपाईको नाम समावेश गर्नु न्यायसंगत होला जस्तो लागेको छ मलाई । तपार्इंको योग्यताबाट म मात्र होइन, सबै प्रभावित छन् । तपाईं यहां तोकिएका व्यक्तिहरुमध्ये कोहीभन्दा कम हुनुहुन्न । के विचार ? ‘

उनले भने, ‘नाईं दाइ म प्राज्ञ बन्न इच्छुक छैनं । ‘ नगेन्द्रले एक पंंक्तिमा आफु एकेडेमीमा वस्न नचाहेको कुरा प्रस्ट पारिदिए ।…..

नगेन्द्रजीलाई कुनै दृष्टिबाट प्राज्ञ हुन अयोग्य भन्न सकिन्नथ्यो । …..तर नगेन्द्रजीले किन संकोच गरे, मैले सोधेको छैनं । त्यो विनम्रताको संवेग थियो वा हीनतावोधको उदेव्ग, अहिलेसम्म अनुत्तरित नै रहेको छ । ‘

……………………..

समवयस्क साहित्यिक वन्धुहरुमध्ये धनुष दाइसंगको जस्तो वर्षौंवर्ष एकनासको प्रीतिकर साहचर्य रहिरहेको अरु थोरैसंग मात्र मेरो अनुभव छ उमेरकेै हिसाबले त उहांं मभन्दा धेरै पाका थिएनन् । तापनि म उहांलाई दाइ नै सम्बोधन गर्थें, यद्यपि उहांको निम्ति म चैं नगेन्द्रजी नै रहिरहें ‘न भाइ न भतिजा ‘ भने झैं ।

उहां दोस्रोपल्ट सूचना विभागको निर्देशक हुनुभएका बेला हामीलाई भारत सरकारको तर्फबाट भ्रमणको निम्तो आएको थियो । त्यस निम्तोमा जानपाउने मिडियाका चारजना प्रतिनिधिहरुमा म र धनुषदाइ पनि छानिएका थियौं र रमाएका पनि थियौं । त्यो भ्रमणमा हामीलाई दिल्ली, बम्बई, गोवा, मद्रास, कलकत्ता, आदि ठाउंहरुमा घुमाइनेभएको थियो । तर जुनजुन ठाउंमा गए पनि होटलमा बस्ता चैं हामी दुवैजना एउटै कोठामा बस्ने है भन्ने सल्लह गरिसकेका थियौं । मन्त्रीपरिषद्ले त्यो प्रतिनिधिमण्डल पठाउने प्रस्तावलाई हरियो झन्डा देखाइसकेको थियो र काठमान्डुस्थित भारतीय राजदुतावासको तर्फबाट पनि सबै तयारी पूरा भइसकेको थियो । विमानका टिकटहरु पनि आइसकेका थिए । तर हामी प्रस्थान गर्नुभन्दा एक दिन अघिमात्र, अर्थात् अन्तिम दिनमा आएर, तिनताकका प्रधान मन्त्री मरीचमान सिंहले कुनै कारणवश धनुष दाइको यात्रा रोकिदिए । फलस्वरुप, भारत भ्रमणमा रमाइलो गरौंला भन्ने हाम्रो सल्लाह अचानक खरानीको डल्ला हुनगएको थियो । म चैं त गएं, तर दशबाह्र दिनको त्यो भ्रमणमा मैले बढो बेस्वादको एकाकीपन अनुभव गरिरहें

अर्कोपल्ट फेरि त्यस्तै, तर धेरै छोटो, अर्को यात्रामा भने हामी दुवै संगै परेका थियौं । अवसर थियो, बी.पी. कोइराला नेपाल भारत प्रतिष्ठानले सिलिगुडीमा आयोजन गरेको साहित्य सम्मेलन । त्यस अवसरमा चैं नेपालको डफ्फा ठूलै थियो, झन्डै १५ जनाजति । सबैले एकएकवटा कार्यपत्र पनि प्रस्तुत गर्नुपर्ने भनिएको थियो । तर सिलिगुडी पुगिसकेपछि मात्रै थाहा भयो, आयोजकहरुले प्रायः सबै निम्तारु साहित्यिकहरुलाई एउटै जस्तो विषयमा कार्यपत्र तयार गर्नदिएका रहेछन्, लोकभाषा, लेकगीत, लोक साहित्य वा त्यस्तै केही । मेरो आफ्नै उदाहरण लिऊं । म कुनै लोक साहित्यको अध्ययन भएको मान्छे त हुइनं । मैले त्यस क्षेत्रमा काम गरेको भनेको एउटा ‘नेपाली जनजीवन’ नामक सानु किताब र केही नेपाली लोककथाहरुको अंग्रेजी अनुवादको संगालो ‘फोकटेल्स् अफ नेपाल ‘ मात्र हो । तैपनि, बिडम्बना, मैले त्यस समागममा प्रस्तुत गर्नुपर्ने कार्यपत्र पनि लोकसाहित्य नै राखिएको थियो । के सम्झेर त्यसका आयोजकहरुले (नेपालपटिबाट कमल दीक्षित र भारतपटिबाट राम प्रसाद लामा वा यस्तै हरु कोही थिए रे भन्नेसम्म सुनिएको हो) त्यस्तो विषय मेरो थाप्लोमा थोपरिदिएका थिए, त्यो त मैले बुझेको थिइनं नै, उपन्यासकार र संस्मरणात्मक निवन्धकार धनुष दाइलाई पनि मलाई जस्तो त्यही नीरस विषय दिएर के बुज्रुक्याइं छांट्नचाहेका थिए, त्यो त तिनै दिग्गजहरुलाई नै थाहा होला । प्रस्टै थियो, त्यस्तो सम्मेलनमा गएर भत्ता पचाउनुबाहेक कुनै ठोस उपलब्धि प्राप्त हुने सम्भावना पनि थिएन र भएन पनि । नामूद गायिका हिरा वाइबा जस्ता कसैकसैले त कार्यपत्र पनि पढेनन्, केवल प्रतिनिधिहरुले फर्माइस गरेका केही लोकप्रिय गीतहरु गाएरै गर्जो टारे । यस्तै लटरपटरमा तेस्रो दिनको बैठकले कनीकुथी एउटा ‘लिगुडी घोषणापत्र ‘ त तैयार गरिटोपलेको थियो । सम्मेलनको अन्तिम सत्रबाट त्यसको अनुमोदन पनि गरिएको हो । तर त्यो सबै काम केवल एउटा नौटंकी जस्तो मात्र । न तातो न छारो सिलिगुडीको सिन्क्लेयर होटलमा त्यो सम्मेलन भएको थियो । भारतका पनि विभिन्न ठाउंबाट लेखक कलाकारहरुको जमघट भएको थियोे । धनुषदाइ र म होटलको एउटै कोठामा बसेका थियांै । त्यस सम्मेलनमा सहभागी हुन भारतमा नेपालका राजदूत डा. भेष बहादुर थापा पनि दिल्लीबाट आएका रहेछन् । हामी पुगेको सांझ उनीसंगै दिल्लीबाट आएका उनका सहकारी हाम्रै कोठामा आइपुगे । दूतावासबाट ड्यूटीफ्री ब्ल्याक लेबेलको ठूलैे सिसि बोकेर ल्याएका रहेछन् । हास्यरसका अर्का पण्डित, रमेश खकुरेल, पनि हाम्रै हांचमा थिए । अनि त के चाहियो ?’

प्रख्यात् उपन्यासकार, लील बहादुर छेत्री, संग पनि त्यही सम्मेलनको क्रममा हाम्रो भेट भयो । मैले धनुषदाइसंग पनि उनको परिचय गराइदिएं । उनी औधि रमाए मात्र हौइन, धनुष दाइको हातमै ढोगेर भने पनि, ‘म त यहांको कस्तो जबर्जस्त फ्यान् हुं भने तपाईंको घामका पाइलाहरु त सधैं मैले सिरानीमन्तिरै राखेर सुत्नेगरेको छु । ‘ अर्थात्, धनुष दाइको प्रखर उपन्यासकारिताको ख्यातिले सुदूर आसाम र पूर्वौत्तर भारतका पाठकहरु समेत कायल भएका रहेछन् भन्ने बलियो दसी थियो त्यो । लील बहादुरै भए एक अनन्य उदाहरण ।

सिलिगुडी पुगेका भोलिपल्ट बिहानदेखि नै गोष्ठी शुरु भयो । तर रातको रमरमीले राम्ररी नछोडेकाले म चैं पहिलो सत्रमा चैं सामेल हुनसकिनं । थकथकी त लाग्यो, तर के गर्नु ?

सम्मेलन सकिएपछि नेपाल फिर्दा हाम्रो टोली धुलाबारीमा अडियो । बैरागी काइंलाजीकोमा दिउंसोको स्वागतभोजन खाइयो । त्यसपछि अरु धेरैजसो हवाइजहाज समात्न भद्रपुरतिर लागे । धनुष दाइ र म चैं बथानबाट अलग्गियौं । शनिश्चरेतिर लागेर भाइ हरि बांस्तोलाकोमा एक रात पाहुना बन्नपुग्यौं ।

…………………

धनुषदाइलाई मुटुको रोगले बेलाबेलामा सताउंथ्यो भन्ने कुरा त उहांका लेखनिबन्ध पढ्ने वा उहांसंग संगत गर्ने सबजसोलाई थाहा थियो । दोस्रोपल्ट सूचना विभागका निर्देशक भएका बेला पनि एकपल्ट अचानक सो रोगले सताएर उहां टिचिंग अस्पतालको शरणमा पुग्नुपरेको थियो । केही दिन अस्पताल बसेर घर आएपछि स्वास्थ्यप्रति अझ बढी चनाखो हुनुभएको थियो । ‘हेल्थ एन्ड न्युट्रिशन ‘ नामक अंग्रेजी मासिकका नियमित पाठक मेरा मित्रमण्डलीमा उहां नै एकजना । त्यतिमात्र होइन । बिहान बिहानको मर्निंग वाकले र नगुड्ने साइकल (एक्सर्साइजर) मा गर्नुहुने दिनहुं व्यायामले नपुगेर योगासन लगायत खानपानमा विशेष सतर्कता अपनाउने ।

तर यति हुंदाहुंदै पनि रौसे स्वभावका उहांले बेलाबखत साथीसंगीलाई निम्त्याएर सांझको रमझम गर्न चैं छोड्नुभएको थिएन । त्यस्तो जमघटमा म पनि निकैपटक पर्ने गर्थें । तर त्यस्तामा पनि बढ्ता पिइहालिन्छ कि भन्ने सतर्कता अपनाउनको निम्ति उहांले बारहरुमा पेग नाप्ने सानु गिलासजस्तो उपकरण घरैमा पनि राख्नुभएको थियो र त्यसैले औषधि नापे झैं नापेर बांढ्ने गर्नुहुन्थ्यो ।

पचीस तीस वर्षको संगतमा समेत मैले कहिल्यै उहांलाई मातेको देखिनं । बरु मेरो आफ्नै लम्फु ताल देखेर उहांले कहिलेकाहींं हपार्नुहुन्थ्यो, ‘नगेन्द्र, अब तपाईंलाई पुग्यो । नथप्नुहोस् । ‘

उहांले घरमा राख्नुभएको एक्सरसाइजर देखेर मलाई पनि रहर लाग्यो । धनुषदाइ पनि तुरन्त तम्सिनुभयो र आफैंले गाडी हांकेर मलाई भोटाहिटीको साइकल पसलमा लग्नुभयो । पुराना गाहकी भनेर पसलेले पनि सक्दो मोल घटाइदियो । फेरि आफ्नै गाडीको डिकीमा हालेर त्यो एक्सरसाइजर मेरो घरसम्म ल्याइदिनुभयो ।

तर म जस्तो अल्छेलाई त्यो पनि व्यर्थै किने जस्तै भयो । मुस्किलले एक दुइ महिना प्रयोग गरेंहुंला । त्यसपछि थन्किएको थन्कियै छ , सायद खिया पनि परिसक्यो होला ।

अर्कोपल्ट फेरि उहांले घरमै ब्लडपे्रसर नाप्ने हातघडीजस्तो उपकरण किनेर ल्याउनुभएको रहेछ । जापानी क्यानन कम्पनीको । म त्यसमा पनि लोभिएं । उहांले नै फेरि त्रिपुरेश्वरको एउटा पसलमा लगेर किनाइदिनुभयो । सातआठ हजार कति परेको थियो । तर केही दिनपछि नै त्यो पनि कता हरायो, कता ?

……………….

धेरै वर्षअघि म पनि गाडी हांक्ने गर्थें । तर एक सांझ होटल सोल्टीमा भएको रमझमबाट ठिक्कठिक्क भएर फिर्दा हनुमान ढोकाको सांगुरो मोडमा रहेको पानपसलेको गुम्टी नै भत्किने गरी ठोक्काएपछि भने श्रमितीले कसम ख्वाइन् , अब उप्रान्त गाडीको स्टियरिंगमा हात राख्न नपाउने कसम । त्यहांदेखि गाडी हांक्न भनेपछि दुर्दुहाइ भएको छु । कमको डरछेरुवा छु र म ?

त्यही डरछेरुवा मनोवृत्तिले होला, धनुष दाइले गाडी हांक्दा मलाई चढूं कि नचढूं हुन्छ । अर्थात्, चढ्नअघि नै गोडा काम्नथाल्छन् । एक त उहांको आंखामा मोतियाविन्दु छ भन्ने आफैं भन्न्ुहुन्छ । त्यसमाथि अहिले काठमान्डुमा जस्ता सांघुरा सडकहरु छन् र तिनमा पनि जुन बहुला रफ्तारमा यहांका युवा पिंढीले मोटर साइकलहरु हांक्छन्, त्यो देखेर अघिबाटै मेरो मुटु थर्हरी हुन्छ । एकातिर दिन दुइगुणा रात चौगुणा सवारी साधनहरु बढिरहेकै हुन्छन् (किनभने कमिसनको खेल त्यसैमा त छ।) । तर सडकहरु फराकिलो पार्नलाई चाहिने ठाउं नभएकाले ती त झन्झन् सांधुरा हुंदै गइरहेछन् । तर धनुषदाइ चैं कस्ता निडर ?श्र

…………………….

हालैका दिनहरुमा म मण्डिखाटार सरेको हुनाले र अफिसबाट फिर्दा उहांको घर बाटैमा पर्ने हुनाले समयसमयमा त्यहां छिर्ने गर्थें त्यसो गर्नमा मेरो प्रमुख स्वार्थ चैं के रहेको हुन्थ्यो भने, उहांका टेबलभरि चांग लगाएर राखिएका नयांनयां किताबहरु छानीछानी बटुलेर घर ल्याउन मलाई उहांले छूट दिनुभएको थियो । तर त्यसरी नयांनयां किताबहरु बटुल्ने मात्र मेरो मनसाय हुंदैनथ्यो । त्यसैको निहुंमा एकआध घन्टा मज्जाले पेट मिचीमिची हांस्नपाइने लोभले पनि म टुप्लुक्किरहन्थें । धनुष दाइ र उहांको उत्कृष्ट हांस्ने हंसाउने बानी एक अर्काका पयार्यवाची नै थिए भन्दा फरक पर्दैन भन्ठान्छु म ।

यस विषयमा कुनै बेला छलफल हुंदा उहां भन्नुहुन्थ्यो, ‘नगेन्द्रजी, पाठकहरुलाई हंसाउनै भनेर म कुनै लेख, संस्मरण, आदि लेख्तिनं । तर मेरो लेखाइ र बोलाइको स्वभाव नै त्यस्तो भएर होला, नचाहे पनि कताकताबाट ठट्टा कुरा फुसफुस फुस्किहाल्छन् जे होस् , मेरा रचनाहरुले पाठकहरुको मनोरन्जन भएको देखेर चैं आफैंलाई पनि रमाइलो लाग्छ । ‘ एक दिन कुरैकुरामा सोध्नु पनि भयो, ‘तर तपाईं भन्नोस् त, अंग्रेजी हास्यव्यंग साहित्यमा प्रचलित कुनकुन स्वरुप मेरा बोलीचाली वा लेखाइमा पाउनुहुन्छ ? ‘

म बढो चेपुवामा परें के भनुं, के भनुं भयो । तैपनि लाजै पचाएर जवाब दिएं, ‘दाइ, मलाई के नै जानकारी छ र ?’

‘हो हुनत, संस्कृतका काव्याचार्यहरुको भनाइमा पनि हास्य विधालाई स्मित, हसित, विहसित, अवहसित, अपहसित र अतिहसित जस्ता धेरै थरी विभाजन छन् भनेर कलेज, युनिभर्सिटीका गुरुहरुले त पढाउंथे, तर अहिले त ती सब ज्ञान पनि पोलेर खाइसकियो । जे मनमा आयो त्यही लेख्छु, बस् । ‘

पछिल्लो समयमा म जहिले र जतिपल्ट जान्थें, दाइकहां प्रायै भेट भइराख्ने अर्का व्यक्ति हुनुहुन्थ्यो श्यामजी । हाम्रा सर्कलका नामुद ेबूढामामा े । हांस्न हंसाउनमा उहां पनि किन्चित कन्जुस्याइं नगर्ने । खुब जम्थ्यो तीनजनाको संगत, यद्यपि म आफू त वालपेपर जस्तो मात्र, अर्थात् सुन्ने र हांस्ने मात्र ।

……………………………..

आज उहांको अचानक अनुपस्थितिबाट म एक असमन्जसपूर्ण र अप्ठ्रयारो परिस्थितिमा छु । सोच्दछु , धेरै दिनदेखि धनुषदाइको संगतले गर्दा आत्मीय भइसक्नुभएकी भाउजुलाई यस्तो अवस्थामा ‘मेैले कसरी मुख देखाउने होला ?’ कहिलेसम्म आंट जुटाउन सकिन्छ, किटान गर्ने स्थितिमा समेत म छुइनं ….र एक अपरिचित कवि, राजेश्वर रेग्मी, का यी शब्दहरु मलाई अहिले सान्दर्भिक लागिरहेछन् ः

आकाशको त्यो चम्किलो तारा

एक्कासि आज झरेर गयो….

मैले यो संस्मरणको शीर्षक धनुषदाइको धोको राखेको छु । उहांले जीवनमा मलाई कति गुण लगाउनुभयो, त्यसको हिसाब नगरौं । तर मैले चैं नेपाली कम्प्युटर टाइप गर्नचाहने उहांको सानु धोको पनि पूरा गर्दिनसकिनं । यही एउटा तुस, एउटा पछुतो र एउटा पिरलोले मलाई आजीवन पिरिरहनेछ, पिरोलि नै रहनेछ…

(स्रोत : धनुषदाइको उत्तरोत्तर निबन्धसंग्रहमा प्रकाशित नगेन्द्र : मेरो दृष्टिमा’ बाट)

This entry was posted in संस्मरण and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.