कविता : धर्मसंकट

~दिनेश अधिकारी~

केवल
आफूलाई अविश्वास गर्न सकिने
विश्वास मात्र बाँकी रहेको यो वेला
उफ !
फेरी यो कस्तो धर्म–संकट आइलाग्यो ?
स्कूलको वादविवाद प्रतियोगितामा
भाग लिने तयारीमा जुटेको
मेरो सानो छोरो
मसँग बारम्बार
कलम ठूलो कि बन्दुक ठूलो भनेर सोधिरहेछ
पढेको त
बन्दुक भन्दा कलम नै ठूलो हो
तर–
तर, पढेको खै ! के नै काम लागेको छ र ?
कानून कसङ्गर भएको छ
दुत्कारिदैछ दिनदहाडै मानवता
र, दर्शनशास्त्र
एकलास रुखमा झुण्डिएर
आत्महत्या गरेको लासमा परिणत भएको छ
जीवन र जगत फाटेको छ
मन र मस्तिष्क फोटेको छ
विश्वास र परिवेस फाटेको छ
छोराको जीत सोच्ने हो भने
यतिखेर जताततै बन्दुकको बोलवाला छ
र, मैले कलमभन्दा बन्दुक नै ठूलो भन्नुपर्ने हुन्छ
हैन र ! आफूलाई नढाट्ने हो भने
बन्दुकभन्दा कलम नै ठूलो भने भनेर
वर्तमानमाथि अविश्वास गर्नुपर्ने हुन्छ
उफ ! यो कस्तो धर्म–संकट !
म के गरुँ ?
चेतनाको तहमा
मैले
कि त आफूलाई ज्यूँदै मानुपर्ने भएको छ
कि त झुकेर अत्याचारलाई अभिवादन गर्नुपर्ने भएको छ ।

(स्रोत : धनकुटा सन्देश - नवौं अंक नोभेम्बर, २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.