~जीतबहादुर कटुवाल~
वसन्तको रमझम क्रमशः प्रकृतिको अधरबाट फुस्किँदै छताछुल्ल हुन खोज्दैछ । वृक्षहरुमा पलाएका नवपालुवाले वातावरणलाई सुरम्य बनाएको देखिन्छ । सिरसिर हावाले वृक्ष पल्लव यताउता गरिरहेका छन् । म आफ्नै घरको छतमा बसेर वरिपरि पर्यवेक्षण गरिरहेकी छु । दिनको बैँस ढल्कँदो छ । सूर्य नम्र स्वभावका बन्दै बिस्तारै क्षितिजपारि पुग्ने हतारोमा छन् । एक जोडा भ्याकुर अमलाका बोटमा बसेर एक अर्काका चुचो जोडेर मादक प्रेमालाप गरिरहेका छन् । वातावरण मनोरम छ । म भने आफ्नै व्यथाबाट गाँजिएकी छु ।
मेरो मनको तलाउमा भने अनेक ज्वारभाटा उथलपुथल भइरहेका छन् । मनमा उदासीपन भडकेको छ । कहिले रोउँरोउँ लाग्छ । कहिले परिस्थितिको खेल सम्झेर मन बुझाउने प्रयत्न गरिरहेकी छु । विवाहको कुरो छिनिएर लग्न पर्खेर बसेकी बैँसको सङ्घारमा टेकेकी एउटी युवतीको विवाह एक्कासि अनिश्चित बन्न पुग्दाको पीडाको मापन गर्ने यन्त्र के होला र ? मैले मनको औडाहा व्यक्त गर्न पनि र लुकाउन पनि सकिरहेकी थिइँन ।
केही दिनअघि मात्र सरोजको फोन आएको थियो । उनी विदेशबाट फर्किदै थिए । हाम्रो विवाहको कुरा पोहोरै छिनिएकोे थियो । मिति भने आफन्तसँगको कुराकानीबाट भरखरै टुङ्गो लागेको थियो । हाम्रोतिर विवाहको निमन्त्रणा पत्र पनि छापिएको थियो । आफन्तहरुलाई पनि खबर भैसकेको थियो । घरमा बिहेको चटारोले सबैलाई गाँजिसकेको थियो । गाउँघरका केटाकेटी मलाई देख्नेवित्तिकै ‘समीक्षा दिदी बेहुली’ भनेर जिस्क्याउँथे । छरछिमेकी सबैतिर मेरो बिहेको खुव चर्चा थियो । बेहुलाका लागि गहना कपडा र फर्निचरसामानको जोहो पनि भैसकेको थियो । खानेकुराको व्यवस्था पनि भएको थियो । मेरै विवाहको लागि भनेर आसामबाट मामा पनि आइसक्नु भएको थियो । घर रङरोगन गरेर चिटिक्क बनाइएको छ । बुबाले टेन्टवालालाई पनि बैना दिइसक्नु भएको थियोे । बुबाका मनका खुशी र सन्तुष्टीको आँखामा झल्केको थियो । आमाको त झन बेहुलीकी आमा बनेर भुईँमा खुट्टा थिएन । छोरी अन्माउँदा कुन बुबा आमाको छाती नपोल्ला र ? तर पनि यो गुरुत्तर दायित्व निर्वाह गर्न लागेको खुशीयाली पनि उहाँहरूमा कम थिएन ।
भाउजू र माइजू अनि मेरा साथीहरुले मलाई अनेक मनोविनोद र छेडछाड गरेर गिज्याउँथे । त्यो गिज्याइ र जिस्क्याइमा म बाहिर रिसाएजस्तो गरे पनि भित्रभित्रै दङ्गदास थिएँ । मभन्दा अघि बिहे हुने साथीका अनुभव सुनेर मनमनै आफ्नो विवाहको प्रथम रात्रिको कल्पना गरेर एक्लैएक्लै मुस्कुराउथेँ । एउटी नारीको वैवाहिक जीवनबाट जीवनको अर्काे अध्याय सुरु हुन्छ भने म मेरो जीवनको अर्काे अध्याय उठान गर्न गइरहेकी थिएँ । सासूससुरा, नन्दआमाजु, देवरजेठाजु आदि साइनो अगाडि म बुहारी भाउजू , पत्नीको नयाँ भूमिकामा नयाँ परिवारमा समायोजनको सुत्र मनमनै बुनेर मानसिक रूपमा तयार बन्ने अभ्यास गर्दै थिएँ । तर यी सबै परिकल्पना एकाएक भूकम्पमा लडेका घरका भग्नावशेषझैँ बनेका थिए र त्यहीँ भग्नावशेषमा म नराम्ररी किच्चिन पुगेकी थिएँ ।
सरोजले केही दिन अघि मलाई फोन गरेर जुत्ताका साइज औँठीको साइज , अनि गहना र कपडाका बारेमा आधा घण्टासम्म कुरा गरेको थिए । मेरो स्वभावै लज्जालु खालको छ । हत्तपत्त अरुसँग खुल्दिन । सरोजसँगको टेलिफोन वार्तामा मैले धेरैजसो ‘अँअँ ,लल’ मात्र बोलेँ । धेरैजसो उनै बोलिरहे । सरोज अर्थात मेरो हुनेवाला पति । उनको व्यक्तित्वको ठूलो तस्बिर रङ्गिन फ्रेममा सजाएर मनको भित्तामा टाँगेकी छु ।
त्यसको केही दिनपछि सरोजको फोन आयो । टिकट गरिसकेर एअरपोर्टमा आएका उनी विमानमा छिर्न पाएनन् रे । उनी एक महिनासम्म नेपाल आउन नपाउने भए रे , नोबल कोरोनाका भाइरसका कारण ।
“समीक्षा, धैर्य गरेर बस है ।” सरोजको अन्तिम वाक्य थियो । अहिले पनि उनको आवाज मेरो कानमा गुन्जिरहेको छ ।
हुनेवाला बेहुला अष्ट्रेलियामै अडकिए । हुनेवाली बेहुली म यहाँ छट्पटाइरहेकी छु । मलाई आश्वस्त पार्ने प्रयत्न गरे पनि सरोजको बोलीमा पहिलेको जस्तो उर्जा र आत्मविश्वास थिएन । उनको मन अमिलो भएको अनुभव गरेँ । अब मेरो विवाहको साहित पनि कम्तिमा एक महिना धकेलिने भो । प्रतीक्षाको घडी कठिन हुन्छ । मैले अब त्यहीँ कठीन घडीको सामना गर्नुपर्र्दैछ । एक महिनापछि पनि सरोज आउन पाउलान् र बिहे होला भन्ने कुरा के निश्चित छ र ! कोरोना प्रकोप झन बढन पनि त सक्छ । रात रहे अग्राख पलाउँछ भन्छन् । छ महिनासम्म बिहे हुन पाएन भने सरोजको मन परिवर्तन नहोला भन्न पनि त सकिन्न । त्यसो भयो भने मेरो त मरेकै जुनी हुने भो । असत्ति कोरोनाले मेरो बेहुली बन्ने सपना चकनाचुर पा¥यो ।
अहिलेसम्म नेपालमा त नोबल कोरोना भाइरसको प्रकोप खासै छैन । केवल अरु देशबाट सङ्क्रमण होला भनेर नेपाल भित्रिन प्रतिबन्ध लगाएको हो । साँच्चै यो प्रकोप झन बढदै गएमा अझै अनिश्चित भविश्यको सामना गर्नुपर्ला । कोरोनाका कारण मजस्तै अफ्ठ्यारोमा पर्ने कति होलान् कति ? सोच्दैसोच्दै मेरो मन मरिच चाउरिएझै हुन्छ ।
खै , कहिल्यै नसुनेको कोभिड उन्नाइस अर्थात नोबल कोरोना भाइरसले अहिले संसार नै त्रसित छ । ठूला अर्थतन्त्र र स्वास्थ्य सक्षमता भएका देशको पनि अहिले सातो गएको अवस्था छ । हजारौँ मानिस मृत्युको शिकार भए अनि लाखौँ मानिस यसबाट ग्रसित छन् । यसको सङ्क्रमण दर निकै द्रुत छ ।
हाम्रो देशमा प्रकोप फैलिए के होला ? त्यसैले विश्वसङ्कटबाट हाम्रो मुलुकलाई जोगाउन बेलैमा सावधान बन्नु त राम्रै हो । मैले चित्त बुझाउन कोशिस गरेँ । अहिले विद्यालय ,कलेज बिदा दिइएको छ । हाटबजार लाग्न छाडे । आजदेखि मुलुकभर लक डाउन हुँदैछ । एक अर्काेबीच हुने मानवीय सम्पर्क रोक्न लक डाउन गरिएको होला । यो बेला सावधानी अपनाउन पनि त जरुरी छ । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय पनि बन्द भएका छन् । कोही पनि घरबाट बाहिर निस्किन नपाउने भए । हरेक देशका सीमा बन्द छन् । हवाइ ,जल र स्थल यातायात पनि बन्द । सधैँजसो भिडभाड हुने सडक र सहर सुनसान भएका दृष्य टेलिभिजनका पर्दामा देखियो । सबैजना आआफ्नै घर ,आवासमा नजरबन्दको अवस्थामा छन् ।
हिजो दिनभरका केही परिदृश्य मेरा मनमा ताजा भए । काम विशेषले बजारमा निस्केकी थिएँ । बजारमा अनेक मानिस थिए । कोही सिलेन्डर साइकलमा राखेर दौडिदै थिए । कोही नुन तेल चिनीको जोहो गर्न खोज्दै थिए ।
मैले बाटामा भेटिएकी सानीमैयालाई सोधेँ , “ किन यति हतारमा ? ” उनले मलाई देखेर अनौठो मानेर माथिदखि तलसम्म हेरिन् , सायद उनले आज हुने तय भएको मेरो बिहेको बारेमा सम्झिन होला । उनले मुसुक्क मुस्कुराउँदै जवाफ दिइन् , “ कोरोनाले सबै सामान अभाव हुन्छ भन्छन् अनि सङ्कटका लागि भनेर जोहो गरेको । ” उनले साइकलको केरियरमा ट्युवले कसेर सिलिन्डर बाँधेकी थिइन् । विष्णुलाल काकाले पनि चार पोका आयो नुन पारदर्शी प्लास्टिकको झोलामा बोक्नु भएको थियो । सन्तलाल दाइ मोटरसाइकलमा ग्यालेन झण्ड्याएर हुँइकिदै हुनुहुन्थ्यो । सबैलाई अलिक बढता नै उपभोग्य सामानको जोहो गर्ने लालसाले छ । के गर्ने भालिका लागि पनि जोहो गर्नै प¥यो । के पर्छ , के पर्छ ।
सन्तोष दाइले हामीलाई अलिकति पैसा दिनु थियो । यस बेला हामीलाई पैसाको बढतै जरुरत थियो । घरमा बिहे आएको छ ; नचाहियोस पनि किन ? तर कोरोनाले गर्दा व्यापार व्यवसाय सुक्यो भनेर सन्तोष हाम्रोभन्दा पनि ठूलो समस्या देखाउनु भयो ।
अस्ति साँझ बस्नेत मामा हाम्रँो घरमा आउनु भएको थियो । उहाँ बुबासँग दुखेसो साटदै हुनुहुन्थ्यो , “ कुखुरा बजारमा निकाल्ने बेलामा कोरोना सङ्कट आइलाग्यो । कुखुरा नबिक्ने भए । खै कसरी बैङ्कको रिन तिर्ने हो । म त डुब्ने भएँ । ” टाउकोमा हात राखेर पिर गरिरहनुभएको थियो । यी त देखे सुनेका प्रतिनिधि समस्या भए । अरु यस्ता समस्या कति होलान् कति ।
म सोचाइको सानोतिनो तलाउमा डुबुल्की मार्दैछु । फेरि पनि यो क्रम जोड्छु ।
खै ,केके सङ्कट आइपर्छ , बेलाबेला । मानिसहरू किन यति बिध्न आत्तिइरहेका छन् ? मैले बुझ्न सकिरहेकी छैन । स्वस्थ्य जीवन शैली र केही सावधानी अवलम्बन गरेमा यसबाट बच्न सकिन्छ । अर्काे कुरा नोबल कोरोना लाग्ने बित्तिकै मानिसहरुको मृत्यु भइहाल्दैन नि । धेरैलाई निको पनि त भएको छ । अनावश्यक भिडभाडमा नजाने ,मास्कको प्रयोग गर्ने , साबुन पानीले हात धुने असुरक्षित तरिकाले अरुको प्रत्यक्ष सम्पर्कमा नआउने आदि उपाय अवलम्बन गर्न चिकित्सकहरूको सल्लाह छ । विशेष गरी प्रतिरोधी क्षमता कम भएका बालक वृद्ध र रोगी मानिसहरुलाई ज्यादा खतरा हुने हुँदा अधिक सावधान बन्नुपर्ने भन्ने कुरा रेडियो टिभीले फलाकेको फलाक्यै छ ।
यदि यो कोभिड नाइन्टिनको प्रकोप नभइदिएको भए आजको दिन मेरालागि विशेष दिन हुन्थ्यो । यसबेला म मेरो जन्मघर छोडेर कर्मघरमा पहिलो पटक पाइला टेक्दै गरेकी हुन्थेँ । रातो सारीमा लपक्कै सजिने थिएँ । मेरा हातमा चुरा , गोडामा पाउजू छमछम गर्थे । शिरमा सलले मुहार ढाकेर शर्माउँदै घोसेमुन्टो लगाइरहेकी हुन्थेँ । मलाई हेर्न आउने आफन्त र छिमेकीको भिडले घरआँगन ढपक्कै ढाकेको हुन्थ्यो ।
म सोच्दा सोच्दै भावुक बने । मेरा गाला राता भएजस्तो लाग्यो आँखाबाट चार थोपा आँसु टप्किएर गालाका डिलमा अडकिए दाहिने हातले पुछेँ । ठीक यहीँ बेला बुबा रित्तो मन लिएर आँगनमा टुप्लुक्क देखा पर्नुभो । उहाँका मनभित्रको दिक्दारी मैले केवल अन्दाजमात्र गर्न सकेँ ।
“ यो अहिलेको अवस्था विशेष परिस्थिति हो । त्यसैले यस्तो बेला सानातिना समस्या व्यहोर्नु परेकोलाई कसैले पनि पहाड सम्झिनु हुँदैन । समयसँगै यस्ता समस्या समाधान हुन्छन् ।” मेरी माइजूले मलाई सान्त्वना दिनका लागि भनेको कुरा सम्झिएर मन केही हलुको पारेँ । मानव जातिको रक्षाका लागि यो अवस्था सानोतिनो विश्वयुद्ध नै हो । यो युद्ध जित्नका लागि सबैले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्छ । सावधानी अवलम्बन गर्नुपर्छ । माइजूले भनेझैँ यस बेला व्यक्तिगत सुख र सुविधा गौण हुन्छन् । यो परिस्थितिबाट मुक्त हुन अवश्य समय लाग्ला । यो बेला सबैले केही न केही त्याग गर्नुपर्ला । मैले पनि कोभिड उन्नाईसले उत्पन्न गरेको परिस्थितिका कारण बेहुली बन्ने खुशीलाई त्याग गरेँ । मेरोतर्फबाट भएको सानो योगदान यहीँ भो । एकाएक ममा आत्मविश्वास पलाएझैँ भो । अघिको निराशामा अलिकति आशाको त्यान्द्रो झुण्डिएझैँ लाग्यो ।
सोचाइको तन्द्राबाट मुक्त हुन बसेको ठाउँबाट उठेँ । रेलिङमा लहरै राखिएका गमलामा कल्कलाउँदा देखिने फूलहरु दिनभरिको तापले ओइलिए जस्ता देखिन्थे । परतिर हेरेँ , बथानबाट छुट्टिएको एउटा पानी हाँस बास बस्न पूर्वतिर हुइँकिदै थियो ।
रतुवामाई ८ ,दाम्राभिट्टा मोरङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )