~रेखा पन्त~
पठाउनु छ मैले
आफ्ना इष्टमित्र लगायत
गाउँका
सयौं युवाहरुलाई परदेश
जहाँ पाइन्छ पसिनाको मुल्य
र
भित्रिने छ महिनै पिच्छे
आसुँको ढिका पैसा बनेर
बल्नेछ गरिवको चुलो
पाक्नेछ साँझ बिहान
रोटी र आटो
पालिने छन् हजारौं पेटहरु !!
बनाउनु छ मैले
आफ्नै आफन्तका
पानी पर्दा ओत लाग्ने
घाम लाग्दा शितल दिने
वासस्थान
जहाँ
बसेर खाएको कसैले नदेखोस्
परेली रुझाएको कसैले नदेखोस्
चाहन्छन् उनीहरु
दुख पाक्ने चुलो आफ्नै होस्
खेत बारी कुलो आफ्नै होस्
बिभिन्न चाडवाड
उत्सव समारोह
या
देहावसान जे जे होस्
आफ्नै घरभित्र होस्!!
जोड्नु छ मुल्यवान घडेरीहरु
आफ्नै शुभ चिन्तकहरुलाई
दिन दुगुना रात चौगुना
बढ्दै छ रे जग्गाको भाउ
बैनाबट्टा लगाउन पाए
ऋणधन गरी
हुनेथ्यो आफ्नै नाममा पुर्जा
पक्की रोडको सामुन्ने
चटक्क मिलेको दुइ कठ्ठा !!
सित्तैमा त होइन
ऋण नै हुन् मागेका
असुल गर्छौं कमाएर
मर्दैनौ भो खाएर
यही शर्तमा
मुख्य बजारको चोकमा
रुमाल जस्तै चारकुने
घडेरी छ
मात्रै
पास गर्न बाकी
तेरै भरोसा भन्दैछन् !!
आइरहन्छ यस्ता खबर
म्यासेन्जर भाइवरको बाटो
जसरी पनि किन्नु छ
घर घडेरी
जोड्नु छ खेतबारी
किनकि
म छु बिदेशमा
जहाँ फल्छन् पैसैपैसा
त्यसैले त
कसैको भरोसा तोड्नु हुदैन !!
पढाउनु छ छोराछोरी
स्कुले जीवन देखि
उच्च शिक्षा
उतार्नु छ नर्स डाक्टर बनाएर
महँगो शुल्कमा
सुविधा जनक आवास गृहमा राखि
माग अनुसार लवाई खवाई
इच्छा अनुरुपको खर्च !!
डिग्रीको नतिजा थमाएर
युरोप र अमेरिका उडाएर
बग्रेल्ती खुशीका कणहरु
टिप्न पठाउनु छ
लाखौं खर्चिएर !!
देशको बिगर्दो स्थिति
स्वयं आफ्नो बाध्यताले
रहर छ हरदम
बसाउने घरजम
जहाँ शान्तिको सास होस्
भोकमा खाने दुइ गास होस्
आफ्ना सन्तानको साथ !!
सयौं जनाको भविष्य
उज्ज्वल बनाउन
हजारौं रहर जिवित राख्न
लाखौं परिवारको पेट भर्न
बाच्नुपर्छ तिमी
मेरा आफन्तको निम्ति
मेरा छोराछोरीको निम्ति
उठनु पर्छ तिमी
खोल्नुपर्छ आखाँ
तिम्रा आँखा खुलेमात्र खुल्नेछ
मेरा सन्तानका भविष्यका पाना
फेर्नुपर्छ तिमीले स्वस्थ श्वास
अनिमात्र
सुनौलो भविश्यको कल्पना गर्छन
मेरा छोराछोरी
जब तिम्रा पेटमा चारो पर्छन
अघाउने छन् मेरा लालाबाला
ए डलर आमा
लाखौं अनुनयविनय छ
दीर्घ जिवनको तिमीलाई
तिमी बाच्नुपर्छ
हो तिमी अझै बाच्नुपर्छ !!
-रेखा पन्त, गोरखा
हाल:ईजरायल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )