~डा बच्चु कैलाश कैनी~
मेरी आमाले औंठाको छाप लगाएर
शिशु कक्षामा मेरो नाम लेखाउँदा
मलाई स्कुल भर्ना गराउँदा
मलाई थाहा थिएन
हामी किन त्यहाँ पुगेको थियौं
त्यहाँ के हुँदै थियो ?
त्यो दिन मेरो मानसपटलमा
अझै ताजा छ
त्यो नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ वातावरण
मेरो मनमा अलिकति डर
अलिकति उमंग र उत्साह ।
मेरो जीवनको शुरुवात
आमाको कोखबाट गरें
मेरो नयाँ जीवनको शुरुवात
आमाको हात समाउँदै गएको
त्यही स्कुलबाट गरें
त्यो दिन मेरी आमाले
देख्नु भएको त्यो सपना
त्यो दिन मेरी आमाले
रोप्नु भएको शिक्षाको बीऊ
अहिले फलेर लटरम्म भएको छ ।
मेरी आमाले रोपेको
त्यो फूल नफुल्दै
मेरो आमाले देखेको
त्यो सपना साकार नहुँदै
मेरी आमाले चाहेको
त्यो दिन देख्न नपाउंदै
मेरी आमा धर्तीबाट बिदा हुनु भयो
म एक्लो भएँ
नितान्त एक्लो र टुहुरो भएँ ।
त्यति बेला मेरी आमाको सपना
पढ्ने क्षमता थिएन मसंग
मेरी आमाको सपना
अहिले बुझ्दै छु म
मेरी आमाको चाहना
म अहिले सम्झदैं छु ।
मेरी आमा औंठा छाप भएर के भयो ?
मेरी आमाको औंठा छाप
मेरी आमाको पहिचान थियो
मेरी आमाको औंठा छाप भित्र
मलाई न्यानो मातृत्व दिने
सबै तागत र शक्ति थियो
मलाई स्कुलसम्म पुर्याउने
चाहना र हैसियत थियो
मलाई असल मान्छे बनाउन सक्ने
सिप र लगनशीलता थियो
मेरी आमाको औंठा छाप भित्र
अद्वितीय साहस थियो
दु:ख र पीडामा पनि मुस्कुराउने
आफ्ना सन्तानलाई हुर्काउने, बढाउने र पढाउने
सबै क्षमता थियो ।
मेरी आमालाई सम्झेर
मेरी आमासंगका ती दिन सम्झेर
अहिले पनि म नतमस्तक छु
अहिले पनि म गौरान्वित छु
मेरी आमा मेरो आदर्श हुन्
मेरी आमा मेरो जिन्दगीको प्रेरणा हुन्
बिगत, वर्तमान र भविष्यमा पनि
मेरी आमा मेरो भगवान हुन्
मेरी आमा मेरो पाठशाला हुन् ।
डार्टफोर्ड, बेलायत ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )