व्यङ्ग्य निबन्ध : कर, कर र करकर

~ब्रजेश~Brajesh Khanal

तपाईं फाइँफुट्टीराजको पुरानो पाठक हुनुहुन्छ भने थाहै होला, उसलाई सधैं रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुतेपछि मात्र फाइँफुट्टी फुर्छ  । यस पटक भने यहाँहरूलाई चकित पार्नका लागि फाफुराले विनिर्माणको शैलीमा नयाँ तरिका अपनाएको छ । आज उसलाई एउटा चुट्किलाबाट फाफुरा उवाच सुरु गर्ने मुड आएको छ ।

‘एक पटक कुनै एउटा बारमा केही पहलमानहरू बसेर बियर पिइरहेका थिए । सबै सात फिटभन्दा अल्गा, घरका पर्खालजस्ता छाती, मेलम्चीको पाइपजस्ता मोटा पाखुरा भएका भीमकाय र बलिष्ठ पहलवानहरू । कुरैकुरामा एउटा पहलमानले एउटा कागती लिएर त्यसलाई निचोरेर बियरको ग्लासको आधा जति रस निकालिदियो । अनि उसले अरूलाई चुनौती दिँदै भन्यो— यो खोस्टोबाट निस्कन सक्ने जति रस मैले निचोरिसकें । अब यसबाट अरू कसैले रस निकाल्न सक्दैन ! अर्को पहलमानलाई त्यो हाँक खपिनसक्नु भयो । उसले न्वारानदेखिको बल निकालेर त्यसबाट अर्को दुई थोपा रस निचोरेर देखाइदियो । तेस्रो पहलमान पनि के कम, उसले अझै बल लगाएर अरू दुई थोपा निकालिदियो । चौथो र पाँचौं पहलमानले पनि अझै एकएक थोपा निकालेपछि छैटौं र सबैभन्दा शक्तिशाली पहलमानको पालो आयो । तर उसले जति गरे पनि खोस्टोबाट रस निकाल्न सकेन । काठमाडौंका धाराहरूबाट बरु कहिलेकाहीं एक–दुई थोपा तरल पदार्थ झर्ला, त्यो खोस्टोबाट केही झरेन । त्यही बेला अलि पर बसेर त्यो सब हेरिरहेको एउटा अलि पाको उमेरको दुब्लो पातलो भद्र मानिसले मसिनो स्वरमा सोध्यो— एक पटक म ट्राई गरूँ कि ?हुन त यो लरतरो आँटको कुरा होइन । किनभने हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूले फाफुराजस्ता हास्यव्यंग्यको भरमा आफ्नो मुखमा माड लगाउने कलमजीवीहरूको पेटमा ब्रुस लीले जसरी ड्रप किक हान्न थाल्नुभएको धेरै भइसकेको छ । हप्तैपिच्छे भनेजसो खतरा–खतरा चुट्किलाहरू सुनाएर उहाँले मनोरञ्जनको मापदण्ड नै यति माथि पुर्‍याइदिनुभएको छ, अब मानिसलाई हँसाउने भनेको फलामको च्युरा चपाए सरी भइसकेको छ । उहाँको ‘लेभल’ छुन सितिमिति सकिन्न । त्यसैको सिको गरेर हुँदाहुँदा उहाँका मन्त्रीहरू, प्रशासक, सल्लाहकार, बोली बचाउ दस्ता, रफु विशेषज्ञ मात्र नभई प्रहरी र अदालत पनि एक से एक चुट्किलाबाज भएर निस्किसकेका छन् । त्यसैले अब लेखनमा हास्य क्षेत्र पनि भरपर्दो पेसाचाहिँ रहेन । तर पनि के गर्नु, फाफुराले जानेको कुरा अरू केही छैन । उसमा भएको यही एउटा दुर्गुण हो । त्यसैले ऊ आज आफ्नो खानदानी पेसा जोगाउने प्रयासमा लागेको छ ।

उसको त्यो धृष्टता देखेर पहलमानहरू मरीमरी हाँसे । त्यसको वास्ता नगरी त्यो मानिस चुपचाप पहलमानहरूतिर गयो । उसले त्यो सुकेको खोस्टो मुठ्ठीमा लियो । पहलमानहरू उसलाई हाँसेर हेर्दै थिए । उसले खासै बल लगाएको पनि देखिएको थिएन तर मुसुमुसु हाँस्दै उसले त्यो खोस्टो निचोर्दा आठ–दस थोपा रस तपतप गरेर निस्के । सुकेको जीउमा लुकेको बल देखेर सारा पहलमानहरू स्तब्ध भए । ऊ मुसुमुसु हाँस्दै फर्केर जान लागेपछि एउटा पहलमानले सोध्यो, ‘तिमी को हौं ? परिचय त दिएर जाऊ ।’

त्यो मानिसले मुसुक्क हाँसेर जेम्सबन्डको स्टाइलमा भन्यो,‘खतिवडा । युवराज खतिवडा । नेपाल भन्ने एउटा देश छ, म त्यहाँको अर्थमन्त्री हुँ भाइ ।’फाफुराजस्ता तपाईं–हामी सर्वसाधारण आजकल थरीथरी करको नाममा कागतीका त्यस्तै खोस्टा बनिसकेका छन् । केही समयअघि फाफुराले यस्तै अव्यावहारिक नियमहरूका सांकेतिक विरोधका रूपमा केही हाउडे करहरूको बारे लेखेको थियो । तर सरकारले त त्यसलाई नै गम्भीरतापूर्वक लिएर त्यही फाफुरापथ समातेको पो हो कि भन्ने लाग्न थालेको छ । साँच्चै त्यसो हो भने त खोस्टा निचोरेर देशलाई समृद्ध बनाउने यस महान् यज्ञमा अरू दुई–चार पित्को घिउ र केही दाना चरु किन नहाल्नु ? सचेत नागरिक हुनुको दायित्व निर्वाह गर्दै आज फाफुरा अरू केही थप करहरूका आइडियाहरू सुझाउन चाहन्छ जुन अहिलेसम्म सरकारले देखेको छैन । उसको पहिलेका लेखजत्तिकै यसलाई पनि गम्भीरतापूर्वक लिइनेछ भन्ने विश्वास पनि फाफुराले लिएको छ । के थाहा त्यसपछि पुर्परोमा फुलौरा फुलेर उसलाई सरकारले अहिले भइरहेका अनगिन्ती सल्लाहकारहरूको हूलमा मिसाइन्छ कि ? अथवा फाफुराले सुझाएका मध्ये कुनै कर लागू गरेर निचोरिएको रसको दुई थोपा मात्र पनि पुरस्कारस्वरूप छर्किदिए पुग्छ । त्यसो भयो भने उसको तीन पुस्ताले रत्नपार्कमा टोपीले मुख छोपेर सुतेर बाँच्न पुग्छ । त्यसैले उसले यी सबै आइडियाहरूको प्रतिलिपि अधिकारचाहिँ कालिकास्थानमा गएर पहिले नै सुरक्षित गरिसकेको छ । यो वैधानिक चेतावनी हो ।

पाइला कर
अतिरिक्त करहरूको लिस्टमा पहिलो सुझाव हो पाइला कर । आजकल मानिसहरू अग्रगामी हुन थालेका छन् । त्यसबाट राज्यले उठाउन सक्ने फाइदाबारे अहिलेसम्म कसैले सोचेको छैन । तसर्थ अग्रगामी पाइलाहरूलाई करको दायरामा ल्याउनु आवश्यक भइसकेको छ । अब हरेक खोस्टाले चालेको प्रत्येक पाइलामा रु. पाँचका दरले कर लगाइनुपर्छ । प्रतिगामी पाइलाहरूलाई चाहिँ प्रोत्साहनस्वरूप प्रतिपाइला रु. एकको दरले पुरस्कृत गरिनुपर्छ । अब तपाईं भन्नुहोला कसले कति पाइला हिँड्यो भन्ने कसरी पत्ता लगाउने ? त्यसको पनि उपाय फाफुरासँग छ । आजकल सबैको हातमा फोन हुन्छ । ती फोनहरूमा पाइला गन्ने अनुप्रयोग हुन्छन् । सरकारले सादा पोसाकमा खटाएका गुप्ती कर अधिकृतहरूले कुनै पनि खोस्टालाई कहीं पनि कर्‍यापझ्याप् पारेर त्यो जाँच गर्न सक्नेछन् र ठामका ठाम हिसाब गरेर कर तिराउन सक्नेछन् । गोजीमा रकम नभएको अवस्थामा जायजेथा, तलब, वृद्ध भत्ता इत्यादिबाट असुलउपर गरिनेछ । त्यो नहुन्जेल तिनलाई थुनामा राख्न सकिनेछ ।

साहित्य कर
हुन त पुस्तकमा कर लगाउने महान् प्रथाको सुरुआत भई नै सकेको छ । तर त्यतिले पुग्दैन । कवि, लेखक तथा साहित्यकारहरूले राज्यलाई धेरै ठगिसकेका छन् । राष्ट्रलाई सुक्को कर नतिरी आजसम्म तिनले करोडौं करोड शब्दहरू लेखिसकेका छन् । यो साहित्यिक दोहनलाई नियन्त्रण गर्न सबै लेखकलाई अविलम्ब करको दायरामा नल्याई हुँदैन । किनभने तिनका रचनाहरू बिक्लान् र कर उठाउँला भन्ने कुरा सम्भव छैन । एक त अधिकांशका बिक्दै बिक्दैनन्, बिक्नेले पनि कर तिर्दैनन् । तसर्थ साहित्यमा अग्रिममै कर उठाउनुपर्छ । लेखरचनाका आकारका आधारमा कर निर्धारण गरिनेछ । यसअनुसार प्रतिहाइकु रु. दस, प्रतिमुक्तक रु. पन्ध्र कर लगाइनेछ । छन्द वा इन्टर कविताको हकमा बाह्र लाइनसम्म रु. पाँच र त्योभन्दा बढी प्रत्येक लाइनमा अतिरिक्त रु. दुई कर ठटाइनेछ । खण्डकाव्य, महाकाव्य, उपन्यास, संस्मरण, आत्मकथाजस्ता विधाहरूमा प्रतिशब्द दुई रुपैयाँ पचास पैसाका दरले कर लगाइनेछ । हास्य–व्यंग्य लेख्नेहरूलाई सरकारको विरुद्धमा भए करको अतिरिक्त विद्युतीय कारोबार ऐन लगाएर कैद पनि गर्न सकिनेछ ।
(द्रष्टव्य : यो व्यवस्था ‘अप्रगतिशील’ लेख तथा लेखकहरूका हकमा मात्र लागू हुनेछ ।)

भ्रमण कर
आजकल खोस्टाहरू धेरै भ्रमण गरेर चाहिनेभन्दा बढी बाठा हुन थालेको गम्भीर अवस्था छ । यो खतराको संकेतलाई समयमै बुझेर सम्बोधन गरिएन भने भोलि झनै विकराल हुने पक्कापक्की छ । कुवाको ब्याङ त्यहाँबाट बाहिर निस्क्यो भने त्यसले संसार देख्छ । संसार देख्यो भने बिस्तारै चेत पलाउँछ । चेत पलाएका ब्याङहरू तर्क गर्न थाल्छन् । तर्क गर्न जानेकालाई नियन्त्रण गर्न गाह्रो हुन्छ । तसर्थ अबदेखि आम नागरिकलाई विदेश यात्रा गर्न सकेसम्म दुरुत्साहन गरिनेछ । यसै पनि यो कुरामा केही महत्त्वपूर्ण पहल भई नै सकेको छ । विदेश भ्रमणमा जाँदा बोक्न पाउने विदेशी मुद्राको सीमा पच्चीस सयबाट पन्ध्र सय डलरमा घटाइसकिएकै छ । अझै घटाएर केही सेन्टमा ल्याइनेछ । अत्यन्तै जरुरी प्रयोजनका लागि विदेश भ्रमण गर्दा कर तिर्नुपर्नेछ ।

खोस्टाहरूलाई समूहमा विदेश घुम्न जाने तथा पढ्न जानेजस्ता कुलत लागिरहेको हुनाले त्यसलाई निर्ममतापूर्वक नियन्त्रण गर्नु आजको प्रमुख आवश्यकता हो । तसर्थ विदेश घुम्न जानेहरूले दिनको रु. एक हजारका दरले सरकारलाई कर तिर्नुपर्नेछ । आन्तरिक भ्रमणमा भने रु. पाँच सय दर तोकिनेछ । पढ्न जानेहरूलाई नो अब्जेक्सन पत्र दिइने छैन । मजदुरी गर्न जानेहरूसँग पनि वैदेशिक रोजगार कर भनेर पहिले नै कर लिइनेछ । भोलि उता गएपछि रेमिट्यान्स पठाएनन् भने के गर्ने ?

सामाजिक सञ्जाल कर
अभिव्यक्तिको स्वतन्त्रताको नाममा सामाजिक सञ्जाल उच्छृंखल हुँदै गएको जगजाहेर छ । राज्य र सरकारले सुन्न नचाहेका कुराहरू धेरै बोलिन थालेको छ । त्यसैले यस्ता सञ्जाल प्रयोग गर्दा पनि इन्टरनेटका लागि तिरिने शुल्कमा लागिरहेको करबाहेक अतिरिक्त कर तिर्नुपर्नेछ । फेसबुकमा प्रतिस्टाटस वा एउटा ट्विट गरेको रु. पच्चीसका दरले कर लाग्नेछ । त्यसमा फोटो पनि टाँसेमा रु. तीस र भिडियोसमेत भएमा रु. पचास कर निर्धारण गरिनेछ । इन्स्टाग्राममा पनि रु. पचास प्रतिफोटो कर लाग्नेछ । प्रचलनमा रहेका यीबाहेक अरू ह्वाट्सएप, भाइवर, इमो, वीच्याटमा प्रतिसन्देश रु. दुई कर लाग्नेछ । इमेल पठाएको वा पढेको, गुगल र युट्युब हेरेको पनि अतिरिक्त कर तिर्नुपर्नेछ ।

यीबाहेक पनि अरू धेरै कुरामा कर लगाइनेछ । खोस्टाहरूले चाहिनेभन्दा बढी देख्नु पनि राज्यको लागि खतरा हुने भएकाले अबउप्रान्त चस्मा तथा कन्ट्याक्ट लेन्समा पावरको अनुसार वार्षिक कर लगाइनेछ । काठमाडौंलाई धूलो धूवाँ र प्रदूषणमुक्त बनाइसक्दा पनि कुत्सित मनशाय राखेर व्यक्तिविशेषलाई बदनाम गर्न मास्क लगाएर हिँड्नेहरूलाई दुरुत्साहन गर्न मास्क कर लगाइनेछ । अपान वायु त्यागमा पनि कर लगाइनेछ । निर्गन्धी वायु त्याग गर्दा प्रतिनिकास रु एक सय, दुर्गन्धी निकासको रु. दुई सय कर लाग्नेछ । ठूला नेता तथा मन्त्रीहरूको सुगन्धी निकासलाई भने कर मिनाहा गरिनेछ ।

प्रेम तथा विछोडमा पनि कर लगाइनेछ । हो यस किसिमका चुहावट भइरहेका दुलाहरू थुनेर कर संकलन गरी राज्यलाई समृद्ध बनाउने महान् योजनामा विरोधहरू हुन सक्छन् । अप्रजातान्त्रिक र अधिनायकवादी रवैयाको दोष पनि लाग्न सक्छ । त्यसैले सरकारको विरोध गर्न खुल्लमखुला छुट प्रदान गरिनेछ । तर, त्यसका लागि कर तिर्नुपर्नेछ । प्रतिविरोध रु. पाँच हजार कर तिरेर जसले जहाँ जसरी र जुनै बेला पनि सरकारको हरेक जायज नाजायज कुराको विरोध गर्न पाउनेछ ।

महापरिनिर्वाण कर
माथि प्रस्तावित करहरूबाहेक सबैभन्दा पहिले र अनिवार्य लगाउनुपर्ने कर हो, मृत्यु कर । अबउप्रान्त कुनै पनि नेपालीले कर नतिरी मर्न पनि पाउने छैन । यसअन्तर्गत स्वाभाविक र कालगतिले हुने मृत्युमा रु. दस हजार, प्राकृतिक प्रकोप तथा दुर्घटनामा परेर मर्नुपर्दा रु. पन्ध्र हजार र आत्महत्या गरेर मर्नुपर्दा रु. बीस हजार कर नतिरी प्राण त्याग गर्न पाइने छैन ।

यी नयाँ करका प्रस्तावहरू लिएर फाफुरा अर्थमन्त्रीज्यूलाई भेट्न गइरहेको बेला अचानक उसको आँखा खुल्यो । सदाझैं ऊ त रत्नपार्कमा टोपीले मुख छोपेर सुतिरहेको रहेछ र उसलाई सपनामै यो दिव्यज्ञान प्राप्त भएको रहेछ फाफुराले आँखा चिम्चिम् गर्दै हेर्‍यो । उसको छेउमै एउटा मान्छे एकोहोरो उसलाई हेरेर मुसुमुसु हाँसिरहेको रहेछ । उसले मीठो स्वरमा भन्यो, ‘के छ फाइँफुट्टीराज ? धेरै पछि पो रत्नपार्कमा देखियौ ।’

फाफुरालाई पनि त्यो मानिस कताकता देखेको जस्तो लाग्यो । उसले सोध्यो, ‘तपाईं को हो रे ? चिनेचिनेजस्तो लाग्यो ।’

त्यो आकृतिले हाँस्दै भन्यो, ‘हो, म सरकार हुँ ।’

फाफुरा दंग पर्‍यो र सरकारलाई प्रणाम गर्‍यो । सरकारले उसलाई सोध्यो,

‘तिमी त निदाइरहेको थियौ क्यारे हैन ?’

‘हो सरकार ।’

‘सपना पनि देख्यौ ?’

‘देखें सरकार ।’

सरकार प्रसन्न भयो र भन्यो,

‘गुड् । अब तिमीले सपना देखेको कर तिर्नुपर्छ ।’

अनि सरकारले कोटको गोजीबाट एउटा प्याड झिकेर फाफुराको नाममा कर तिरेको रसिद काट्न थाल्यो ।

(स्रोत : कान्तिपुर)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.