~गोरखबहादुर सिंह~
सडकवारि मोतीप्रसाद छटपटाइरहेको थियो । सडकपारि दुईजनामा भकुराभकुर चलिरहेको थियो । त्यसलाई भकुराभकुरभन्दा पनि बलियोको कमजोरमाथिको जबरजस्तीभन्दा बढी यथार्थ हुन्थ्यो । विचरा निर्धो रक्ताम्मे भएर भाग्न खोज्दा भाग्नसम्म पनि पाइरहेको थिएन । बलियोले निर्धालाई एकतर्फी हिसाबले निर्दयतापूर्वक भकुरिरहेको थियो ।
मोतीप्रसाद सडकपारिको त्यही भकुराई देखेर छटपटाइरहेको थियो । ऊ जतिसक्दो छिटो सडक पार गरेर घटनास्थल पुग्न चाहन्थ्यो । तर सडक पार गर्नु सजिलो थिएन । दिउँसोको समय, सडकमा गाडीहरुको आवत-जावत निकै बाक्लो थियो । दुबैतिरबाट रफ्तारमा कुदिरहेका गाडीहरू छिचोल्दै सडक पार गर्नु साच्चिकै अप्ठेरो थियो ।
‘अब कसरी सडक पार गर्ने ? मार्नै आँट्यो त्यो मोटेले विचरालाई ।’ केही उपाय लाग्छ कि मोतीले यताउता मुन्टो घुमायो । उसले देख्यो केही पर बाटो काट्ने मान्छेको स-सानो हूल जम्मा भएको छ । ऊ पनि त्यही हूलमा मिसिन पुग्यो र केहीबेरपछि हुलसँगै सडक पार गर्यो । मोती गोलीको रफ्तारमा कुद्दै घटनास्थलमा पुग्यो र मोटेमाथि जाइलाग्यो । ‘अब त बाचिन्छ कि ?’ विचरो घायल सकी नसकी उठ्यो । अनि विस्तारै मोतीसँगै मोटेलाई भकुर्न थाल्यो । मोटेले धेरैबेरसम्म दुई जनाको सामना गर्न सकेन, टाङमुनि पुच्छर लुकाउँदै भाग्यो । ‘ढिलै भए पनि विचराको उद्दार गर्न सकेँ ।’ मोतीले सन्तोषको लामो सास फेर्यो । तर मोतीप्रसाद कुकुरको नाम थियो ।
(स्रोत : मधुपर्क २०६८ मंसीर)