गद्य कविता : गाउँ कै यादमा

~आनन्द पौड्याल~

धरती र मातासँग स्पर्ष भए पश्चात्,
हिँजो, आज र भोलिलाई आत्मसात् गर्दै,
माया, ममता जस्ता शब्दको सम्झना गर्दा,
गाउँ कै यादले चिथोरिरहन्छ आज मलाई,
गाउँ र शहरबीच समीक्षा गर्दै जाँदा,
अत्यन्तै गहिराइमा डुवी कल्पना मै घोत्लिँदै,
सधैँभरि आत्मीय भावनाको झल्को आउँदा,
निस्वार्थी प्रेमिल गाउँले मुहार सम्झिँदै,
स्वच्छन्द विद्यार्थी जीवनको आभाष हुँदा,
आत्मीयता जडित स्पर्शले चट्कन दिँदा,
रन वन र वस्तु भाउको आभाष हुँदा,
उकाली ओराली र गाउँका खेतबारी सम्झँदै,
मेहनती हातद्वारा प्रिय पेटलाई साक्षी राख्दै,
पानी पर्दाको खेतबारीको माटोको वास्ना सम्झँदै,
फाँटभित्र जाँदा प्राप्त सुगन्धको सम्झनामा,
उब्जेका गाउँले चिज वस्तुको सवै स्वाद कल्पिँदै,
ती सवै वस्तु शहरमा प्रिय वनेको पाउँदा,
गाउँ विहिन शहरको अस्तित्व हुँदै हुँदैन भन्दै,
कञ्चन पानीद्वारा प्यास मेटिएको गाउँ सम्झँदै,
गन्धयुक्त शहरी वातावरणतर्फ दिमाग पुर्याउँदा,
मनको गति वढाउँदै बौद्धिक अभ्यास गर्दा गर्दै,
गाउँ र शहरबीच हृदयको तुलना हुन पुग्दा,
गाउँ भन्दा शहरिया तडकभडक वढी देखिँदा,
शहरी आकर्षणले जन घनत्व वढीरहेको पाउँदा,
शहरिया दूर्गन्धले नयाँ रोग प्रवेशको अनुभव गर्दै,
स्कूल र धेरै अस्पताल देखिन्छ अहिले शहरमा,
मेहनती हातद्वारा ताजा खाना प्राप्त हुनाले,
खेतिपाति, घाँस, दाउरा र पानीको निम्ति,
उकाली ओराली गर्दाका गाउँले कम्मर देख्दा,
स्वस्थताको यथार्थता झल्किन्छ गाउँमा नै अझै पनि,
शहरमा त अति नै अभ्यास गर्नुपर्छ यस्को निम्ति,
मनभित्र संस्कृति र सभ्यताको ध्येय आउँदा,
गाउँ कै जीवन शैलीमा घोत्लिन पुग्छु ऐले म,
त्यो माया, त्यो ममता र अपनत्वले छुँदा,
मनैदेखि गाउँ मै हराउँछु आज शहरबाट म,
गाउँ छोडि शहर पसेको कटु सत्य सम्झँदै,
गाउँमा हराई शरहमा भेटिएको मान्छे हुँ म,
गाउँलेद्वारा विर्सिएको एक्लो मान्छे हुँ म,
स्वार्थ निम्ति गाउँको विश्वासघात गरेँ मैले,
गाउँले झरना, खोला र नदीको कल्पना गर्दै,
सिर्सिरे हावाद्वारा छोइएको स्पर्षको अतीत सम्झँदै,
पँधेरा, खोला, खोल्सा, नदी र सवै प्रिय जनहरुले,
गाउँले चटक्क विर्सेको आभास भयो मलाई आज,
शहरी फोहरी खेल धुवाँ र धुलोसँग प्रित लाउँदै,
शहरभित्र स्वार्थका सयौँ डंगुर थुप्रिएको देख्ने,
सवल भोकले शहरमा अत्तालिएको मान्छे हुँ म,
शिक्षा र स्वास्थ्य अत्यन्तै महँगिएको पाउँदा,
बेफ्वाँकको शहरीया आडम्बरसँग घुलमेल हुँदै,
मर्यादा, संस्कृति र परम्परा खिईँएको अनुभूत गर्दै,
आत्मीयता, अपनत्व र सद्भाव घटेको अनुभव गर्दै,
गाउँ कै यादमा छटपटाएको नव शहरिया हुँ म ।

मिति २०७६ साल मंसिर १३ गते, शुक्रबार, काठमाडौँ ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.