कथा : मेनेजर र म

~लक्ष्मी शर्मा~

एउटी आइमाइ मान्छेले जथाभावी नबुझी बोलिदिंदा, त्यै बोलेकै भरमा पत्र पत्रिकाले प्रचार प्रसार गरिदिंदा कुमारीमै गर्भ फालेको आरोपले प्रताडित भएकी मलाई उसले सहजै स्वीकार गर्‍यो । ऊ मेरो बैंकको मेनेजर थियो, म उसको स्टाफ कर्मचारी थिएँ । मेरो बिरामी आमा र सानो भाइ सहितको तीन जनाको परिवार थियो । आमा बिरामी भएका कारणले मैले बैंकबाट छुट्टी लिएर महिनौं दिन गोरखपुरको अस्पतालमा आमालाई स्याहार सुसार गरेकी थिएँ । महिनौं दिन म अफिस नगएको भएरै वास्तविक कुरा नबुझी मलाई आक्षेप लगाइयो । पछि यी कुरा पत्रिकामा देखेर मेनेजर मलाई भेट्न घर आयो र भन्यो- “तिमीले मलाई पहिले यी कुरा अफिसमा भन्नु पर्थेन < यत्रो दिन तिमीले मानसिक आघात आफूले मात्रै बेहोरी रह्यौ ।” म नबोली एकोहोरो रोइरहें । बिरामी आमाले मेनेजरसँग मेरो जीवनको बारेमा अनुनय, विनय भरिएका शब्दहरूमा के के भन्नु भयो । उसले मेरो घरकै मन्दिरमा मेरी आमालाई साक्षी राखेर मेरो सिंउदो रङ्गाइ दियो । सुहाग रात मेरो माइतीघरमा नै बित्यो । नचाहेर भनौं या चाहेर म मेनेजरकी भएँ । तर मलाई सवै कुरा सपना झैं लागेको थियो । भोलिपल्ट मेनेजरले विवाहको भव्य पार्टी आयोजना गर्‍यो । मैले र उसले विवाह गरेको कुरा सबैलाई थाहा भयो । बधाई दिनेहरूको घुइँचो थियो । तर पनि मेरो मन चाहिं किन हो कुन्नि भित्र भित्र दुखेकै थियो । पार्टी सिद्धिएपछि उ र म बैंकको क्वाटरमा प्रवेश गर्‍यौं । क्वाटर व्यवस्थित तरिकाले सिङ्गारिएको थियो । म मलिन अनुहार लगाएर सोफामा थ्याच्च बसें । मेनेजरले मलाई खुशी राख्न मनग्गे प्रयत्न गर्‍यो । म थाकेकी थिएँ साथै मेरी बिरामी आमाको सम्झनाले पनि मलाई पिरोलिरहेको थियो ।

मेनेजरले मलाई सोफाबाट बोकेर बेडरुममा लग्यो । उसका वलिष्ठ बाहुपाशमा बाँध्यो । अनेक मिठा मिठा कुराले मलाइ भुलायो । मैले पनि सवै बिर्सिएर स्वर्गीय आनन्द महसुस गरेँ । भोलिपल्ट छुट्टी परेकाले हामी धेरै वेर सम्म सुतिराख्यौं ।

उठ्दा घाम माथि पुगिसकेको थियो । मेरो शरीर भारी भएको थियो । कता कता दुखेको पनि थियो । मैले उठेर चिया मगाएर कोठामा लगें । चिया दुवै मिलेर खायौं । त्यस पछि दुवैले बिहानको नित्य कर्म सकेपछि मैले आमा भएको ठाउँ जाने र उतै माइतीमा खाना खाने भनेँ । उसले नाईंनास्ति नगरी मेरो कुरा स्वीकार्‍यो ।

त्यति वेलै एकतारले फोनको घण्टी बज्यो । फोन उसको बाबुको रहेछ उ अत्तालियो ल ल आजै हिँड्छु भन्दै फोन राख्यो । त्यसपछि मलाई एकटकले हेरेर भन्यो – हेर रुची तिमीलाइ मैले अपर्झटमा विवाह गर्नु पर्‍यो । मैले तिमीलाइ विवाह गर्ने कुरा सोचेको पनि थिइँन । त्यसमा तिमी पनि अनभिज्ञ छैनौ , मैले विवाह गर्दिन भनी नाईंनास्ति गरेको भए तिम्रो र तिम्री आमाको जिन्दगीले सायद त्यहीं विश्राम पाउने थियो । त्यसैले मैले जे गरें ठिकै गरेँ ।

तर …. तर म विवाहित हुँ, मेरी जेठीले घरमा छोरो जन्माइछ । भोलि न्वारन रे मलाई आज घर पुग्नु पर्ने भयो । तिमीलाई म आमा कहाँ छोडर एयरपोर्ट जान्छु भोलि काम सके पछि म तुरुन्त फर्किन्छु । यति भन्दै ऊ आफ्ना कपडा ब्याग भित्र राख्न लाग्यो ।

म उसका मुखबाट बगेका कटुकषाय शब्दले विक्षिप्त जस्तै भएकी थिएँ । मेरो शरीर लास भैरहेको थियो । म चाहेर पनि बोल्न सकिनँ । आँखा धमिला भए, केही देखिनँ उसको पछाडि पछाडि हिँडेर गाडीमा चढेँ । मेरी आमाको घर अगाडि गाडी रोकियो । म उत्रिएँ उसको मुखमा पनि हेर्न सकिनँ ऊ सहज पारामा भन्दै थियो – जाऊ रुची आराम गर म भोलि आउँछु ।

म आमाको काखमा घोप्टो परेर निकै बेर रोएँ । आमाले के भयो नानी भनी सोध्नु भयो तर मैले उसको कुरै गरिनँ । आमा मैले हजुरलाई छोड्न सकिन ! भनेर रोएँ तर मेरो रुवाइ मेरो अन्तरहृदयको वेदना अर्कै थियो ।

दोष पनि दिउँ कस्लाइ < आफ्नो भाग्यलाई या त्यही जे पायो त्यही बोल्ने आइमाइलाई, या पत्रकार, पत्रिकालाई < म इन्तु न चिन्तु भएँ । म दुइ/तीन महिना थल्लिएँ । मलाई शरीरभरि आगोले पोलेको डाहा हुन्थ्यो । उसलाइ देख्न सक्तिनथेँ । तर मलाई उसले नै हेर बिचार गरिराखेको थियो । मेरो माइतीमा सानो भाइ र बिरामी आमा बाहेक अरु नभएकाले म बिरामी हुँदा उसकै हेर चाहमा बस्नु पर्‍यो तर ऊ नै मेरो रोगको जड थियो । मैले चाहेकी थिएँ ऊ मेरो हो केवल मेरो मात्र होस् अरु कसैको ऊ प्रति हक नलागोस् । तर त्यस्तो ऊ थिएन ।

उसकी त झन् छोरा पाएकी जेठी स्वास्नी घरमा थिई ! त्यो सम्झँदा म निसासिएकी हुन्थें । लाग्दथ्यो मेरो सास घाँटीमा गाह्रोसँग अड्की रहेछ । तर पनि मेरो भाग्यको विडम्बना म बिस्तारै तङ्रिएँ । मलाई माइतीमा लिन मेनेजर आयो र आमालाई भन्यो – आमा अब रुचीलाई लिएर म क्वाटरमा बस्छु । हजुर पनि अव निको हुनु भयो । आमाले हुन्छ भनी स्वीकृति दिनु भयो । ऊ सिधै मेरो कोठामा आएर मेरो सामान एक एक झिकेर झोलामा राख्न लाग्यो । मैले भनेँ – म आमालाई छोडेर जान सक्दिनँ । हजुर जानु ! उसले मलाई धेरै सम्झायो, तर मलाइ उसका कुरा राम्रो लागेन “मैले विवाह नगरेको भए तिमी र तिम्री आमाको जिन्दगीले सायद त्यहीं विश्राम पाउने थियो ।” खाली त्यही शब्द मेरो मष्तिस्कमा ताजै घुमिरहेको थियो । तिनै शब्द विष भएर मेरो शरीर भित्र तल माथि गरिरहन्थे । कस्तो हृदय नभएको मान्छे, घरमा गर्भवती श्रीमती हुँदा हुँदै कसरी मेरो सिउँदो रङ्गाउन सकेको होला ! म हरदम सोचिरहन्थें । उ चाहिं मलाइ कल्याण गरेको देखाउन खोज्दथ्यो ।

विवाह गरेको लगभग ६ महिना पछि आज म बैंकमा काम गर्न गएँ । सवैले मलाई मेनेजरकी दुलही भनी आदर सम्मान गरिरहेका थिए । तर म चाहीं पहिलेकै रुची भइसकेकी थिएँ ।

Laxmi Sharma
Address : Bhairabha Bahumukhi Campus

(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.