~राप्रउ पोखरेल~
अरविन्द रिमालद्वारा लिखित ५६८ पृष्ठको ‘१९९७ देखि २०१७ साल एक अवलोकन’ पुस्तक अहिले मेरो अगाडि छ । प्रख्यात भारतीय अरविन्दो घोषको सम्झना भयो मलाई । यहाँ श्री अरविन्दोको उचाईसित नेपाली अरविन्दलाई जोर्न खोजेको होइन । त्यो धृष्टता म गर्दिन पनि । यति खेर यो प्रसङ्ग ल्याउने खास अभिप्राय छ । दुवै अरविन्दमा नजानिदो एउटा सामञ्जस्य कताकता म पाउँछु । युरोपेली संस्कारमा प्रशिक्षित र क्याम्ब्रिजका स्नातक अरविन्दो सन् १८९७ देखि १९०७ सम्म वंगालको क्रान्तिकारी समूहका अगुवा थिए । तिनै अरविन्दो आफूलाई भारतीय संस्कारमा पत्याउनै नसकिने गरी रूपान्तर गरेर प्रख्यात दार्शनिक सन्तको परिचय दिन पुग्छन् ।
अचेल आध्यात्मिक तत्वज्ञानमा लागेका अरविन्द रिमाल पनि २००७ सालदेखि २०१७ सालसम्म नेपालको कम्युनिष्ट आन्दोलनका एक जल्दाबल्दा योद्धा थिए भनेर सुन्दा कतिलाई आश्चर्य लाग्न सक्छ । समीक्ष पुस्तक टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले २०६२ सालमा प्रकाशित गरेको छ । पुस्तकमा प्रसिद्ध राजनीतिज्ञ रामहरि शर्माले आशीर्वचन र ख्यातिप्राप्त इञ्जिनीयर गौरीनाथ रिमालले प्राक्कथन लेखेका छन् । यस पुस्तकले १९९७ देखि २०१७ साल सम्मका प्रमुख राजनीतिक घटना र परिवर्तनका पाटाहरूलाई समेटेको छ । २००७ साल अघिपनि काठमाडौंमा सेवा समिति, नेपाल नेशनल लीग, प्रजापंचायत जस्ता सामाजिक राजनैतिक संगठनहरू खुलेका थिए । सेवा समिति, प्रजा पंचायत लगायतका संस्थाहरूले चलाएको २००४।०५ को सत्याग्रहमा लेखक स्वयं पनि थिए । लेखकले त्यस आन्दोलनको थप विवरण र विवेचना भुवनलाल प्रधानको ‘अंसे’ पुस्तकको लामो अंशबाट प्रस्तुत गरेका छन् ।
डिल्ली बजारको सेरोफेरोबाट लेखकको आख्यान सुरु हुन्छ । उनले आफ्नो वाल्यकालको क्रीडा- संस्मरणलाई जीवन्त र मनमोहक चित्रण गरेका छन् । पाठकलाई पुस्तकको यो अंश पढुञ्जेल आफ्नै बाल क्रीडाको सम्झना गराउँछ । अघि अघि काठमाडौंमा अहिले भन्दा निकै बढी जाडो हुने गर्थ्यो । पुष माघको ५० दिनलाई माछालाई पनि जाडो लाग्ने हुन्छ भन्ने लोक विश्वासमा मीन पचास भन्ने गरिन्थ्यो । २००२ सालमा बाक्लो हिउँपरेर काठमाडौं र वरिपरिका डाँडा पाखा सेताम्मै भएको दृश्य काठमाडौं वासीकै लागि विस्मयकारी बनेको थियो । लेखकले यो प्रसंगलाई सजीव र लोमहर्ष किसिमले उतारेका छन् । काठमाडौंको मौसम यता आएर धेरै परिवर्तित भइसकेको छ । आज यस्तो कुरा गफ झैं लाग्न सक्छ ।
रिमाल परिवार काठमाडौंको शिक्षित परिवारमा गनिन्थ्यो । रानीपोखरी संस्कृत प्रधान पाठशालाका पण्डित विश्वनाथ शास्त्रीका अष्टवसु अर्थात् आठ भाई छोराहरूको पारिवारिक वृत्तमा लेखकले पुस्तकका केही अंशमा आत्म वृत्तान्त राखेका छन् । जेठा सरदार शिवनाथ कविराज शिरोमणि थिए । उनै कविराजका ठाइँला भाई नरेन्द्रनाथ रिमाल लेखकका पिता हुन् । उनले पनि सिद्धहस्त कविराजको रूपमा ख्याति पाएका थिए ।
राणा शासनको अन्त पछि देशमा राजनैतिक अस्थिरता देखा पर्छ । राजा त्रिभुवनको शासन कालको चार वर्षनेपाल नाम मात्रको स्वतन्त्र राष्ट्र थियो भन्दा हुन्छ । त्यो समयमा देशको राज्य संचालन भारतीय सल्लाहकारहरूबाट हुने गर्थ्यो । अरविन्द रिमाल इतिहासको त्यसै कालखण्डमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)मा केन्द्रीय स्तरका कार्यकर्ता थिए । पुस्तकमा त्यस अवधिको घटना र प्रसङ्गहरूलाई लेखकले इतिहासको कसीमा उतारेका छन् । प्रजातंत्रोर नेपालमा नेपाली कांग्रेसको संघर्ष उल्लेखनीय छ । तर राष्ट्रिय स्वार्थका विषयमा त्यो दल संवेदनशील बनेको देखिएन । त्यो दल संवेदनशील वन्न नसक्नु पछाडिका कारण के थिए त < त्यस्को लेखाजोखा प्रष्ट हुने गरी पुस्तकमा आउन सकेको छैन । २०४६ सालको परिवर्तन पछि पनि दलहरूमा आन्तरिक द्वन्द्व र फूटको प्रवृत्ति देखा पर्यो । संसदमा बहुमत पाएको दलकै सरकार हुँदा पनि सदनले पूरा अवधि काम गर्न पाएन । देशले भोग्नु परेको भूटानी शरणार्थीको नटुङ्गिने भारी र त्यसमा थप हुन पुगेको माओवादी हिम्साको विध्वंश, दलहरूको सत्ता लुछाचुँडी र दृष्टिविहीन राज्य संचालनका उपज थिए भन्दा हुन्छ ।
नेपालको राजनीतिक क्षितिजमा राजा त्रिभुवन, राजा महेन्द्र, विश्वेश्वरप्रसाद कोइराला (वि.प्र.) टंकप्रसाद आचार्य, पुष्पलाल श्रेष्ठ शर्ीष्ास्थ व्यक्तिहरू थिए । आज ती पाँचै पुरुष हामी बीच छैनन् । लेखक रिमालले पाँच दिग्गज भनेर ती पाँचै व्यक्तिको छुट्टा छुट्टै परिच्छेदमा चित्रण गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको चरित्र चित्रण र मूल्याङ्कन सुहाउँदो छ । पुष्पलालको राजनैतिक व्यक्तित्वलाई लेखकले यसरी राखेका छन् :–
“त्यतिवेला त जङ्गलमा पठाए पनि जङ्गली जनावरहरूको पार्टी समिति खडा गरेर आउन सक्ने सामर्थ्य भएका महासचिव पुष्पलाल जनसंघर्षका पर्यायवाची बन्न गएका थिए” (पुस्तक पृष्टः२११) तर पुष्पलालको व्यक्तित्व त्रुटिरहित थियो भन्ने मान्यता लेखक राख्तैनन् । उनमा कमजोरी पनि त्यत्तिकै थियो । उनका कमजोरीलाई लेखकले यसरी हेरेका छन् –
“सिङ्गो पार्टीलाई फुटाउनलाई प्रमुख कारक तत्व भए बापत् नियतिले उहाँलाई त्यस्तो सजाय दियो । यस अर्थमा पि.एल. कम्युनिष्ट इतिहासका एक वियोगान्त पुरुष हुनुहुन्थ्यो ।” (पुस्तक पृ.४९४)
एक अर्को ठाउँमा लेखक पुनः लेख्छन् :– “आफूले जन्माएका हुर्काएका सन्तानहरूले नेपालका पहाड पर्वत फेदी र मधेश ढाक्दा ढाक्दै पनि उहाँ आफ्नो जीवनमा आखिरी दिनहरूमा त एक्लो प्राणी रहनु भयो ।”
राजा त्रिभुवनको सम्बन्धमा लेखकको उच्च र सकारात्मक धारणा छ । उनी त्रिभुवनलाई राजनीतिक सूझबूझ भएको साहसी व्यक्ति मान्छन् । त्रिभुवनलाई दिल्ली निर्वासनमा रहँदा नेपाली राष्ट्रियता जोगाउन सकेको श्रेय दिन्छन् । २००७ सालमा त्रिभुवनको भारत निर्वासन त्यतिखेर देखिनै विवादास्पद रहेको हो । यो पंक्तिकार राजा त्रिभुवन बारे लेखकको उल्लिखित टिप्पणीमा सहमत हुन सकेन । राजा त्रिभुवन सम्बन्धी देहायका तथ्यलाई पनि हेरिएको भए इतिहास प्रति न्याय हुने थियो भन्ने यो पंक्तिकारको मान्यता छ ।
१ त्रिभुवनलाई प्रजातन्त्र दिने राजाको रूपमा चित्रण गरिन्छ । त्रिभुवनलाई नेपाली जनताले समाजवाद चाहन्छन् भने उनी त्यसमा वाधक नबन्ने लेखक सितको दर्शनभेटमा भनेको भनी पुस्तकमा उल्लेख गर्छन् । उनै राजाले राणा शासन समाप्त भएको तीन वर्षपुग्न नपाउँदै २०१० साल माघ ७ गतेको शाही घोषणाद्वारा सम्पूर्ण अधिकार आफूमा खिचेका थिए । प्रजातन्त्र माथिको यो पहिलो प्रहार उनले भारत सित गरेको सौदावाजीको परिणाम थियो भन्न सकिन्छ । जस्का साक्षी किनारामा कोइराला बन्धु, सुवर्णबन्धुहरू थिए । कोशी नदीको सौदा त्यसै प्याकेज मध्येको हुनु पर्छ ।
२ यहाँको राज्य संचालन भारतबाट गर्ने अवस्थाको जिम्मेवार त्रिभुवन थिएनन् भनेर के आधारमा मान्ने <
नेपालको राजनीतिमा दोस्रो केन्द्रविन्दु मानिएका वि.प्र. को व्यक्तित्व अग्लो मानिन्छ । वि.प्र.लाई महान् मान्नेहरू उनमा कमजोरी पनि थियो भनेर मान्न तयार हुँदैनन् । एक थरी यस्ता पनि छन् जो उनमा कमजोरी मात्र देख्न पुग्छन् । तिनीहरू वि.प्र.मा विशेषता पनि थियो भनेर मान्न पटक्कै चाहँदैनन् । यस पुस्तकमा रिमालजी वि.प्र.लाई सकारात्मक रूपमा अलि हेर्दैनन् । तर पनि उनको हेराई दुवै किसिमका आतिवादी भन्दा फरकमा केही सन्तुलित रहेको पाइन्छ । छोटकरीमा भन्नु पर्दा उनको व्यक्तित्व विवाद र प्रशंसा बीच जटिल किसिमको थियो । श्री रिमाल टङ्कप्रसाद र पुष्पलाललाई वि.प्र. भन्दा अग्ला मान्छन् । अझ उनी एक कदम अघि बढेर के पनि ठोकुवा गर्छन् भने गणेशमानले नै वि.प्र.लाई राष्ट्रिय नेता बन्न निर्णायक रूपमा सघाएका थिए । लेखकको पछिल्लो भनाई त्यसै रूपमा स्वीकार गर्न कठिन छ । तर त्यो भनाईलाई सोझै इन्कार गर्न पनि मिल्दैन । जे होस् लेखकले यस विषयलाई छलफलमा ल्याइदिएका छन् । यति हुँदा हुँदै पनि लेखकले वि.प्र.को व्यक्तित्व अवलोकनमा उल्लेख गर्नै पर्ने केही तथ्य छुटाएका छन् । उदाहरण तल प्रस्तुत छः-
१) २०३३ साल भन्दा पहिले वि.प्र.को व्यक्तित्वमा नेपाली माटोको सुगन्ध त्यति सारो पाईदैन । एक पटक वि.प्र.ले आफ्नो बारेमा भनेका रहेछन् “काठमाण्डू अथवा नेपालको समाजमा बस्दा मलाई भारतीय समाज र संस्कृति आफ्नो हो जस्तो लाग्छ । यस्तो भान हुन्छ कि म हिन्दुस्थानमा हुर्कें बढें वहाँकै माटो मेरा लागि उपयुक्त छ । अनि म जब भारतमा हुन्छु, मलाई लाग्छ यस नौलो देशमा किन आएँ” (उद्धृतांश ‘विश्वेश्वर प्रसाद कोइराला’ शीर्षक निबन्धबाट (शंकर लामिछाने)
२) वि.प्र.लाई भारतले नेपाली राजनीतिमा रोपेको थियो । उनी(वि.प्र.)ले एक पटक टङ्कप्रसादलाई कुनै प्रसङ्गमा पत्र मार्फत् भनेका पनि रहेछन् ‘आफ्नो निम्ति राजनीति गर्न भारतकै विशाल क्षेत्र सुरक्षित छ ।’ (यसै पुस्तकमा, पृ. ४७४)
३) वि.प्र.लाई २००७ साल भन्दा अघि सम्म नेपाल एक स्वाधीन र र्सार्वभौम राष्ट्र हो भन्ने कुराको जानकारी थियो झैं लाग्दैन । उनी त्यतिखेर नेपाल र भारतको विभाजनलाई कृत्रिम हो भन्ने गर्थे -नेपालको राजनैतिक दर्पण-भाग-१ पृ. ११ गृष्म ब.देवकोटा)
४) वि.प्र. पहिलो नेता हुन् जसले नेपालको सुरक्षा र परराष्ट्र मामिला भारतसित एकीकृत गर्नु पर्छ भन्ने प्रस्ताव गरेका थिए (द स्टेटसम्यान दैनिक, कलकत्ता फेव्रुअरी २१, १९५०) उद्धृतांश- नेपाल स्ट्राटेजी फर सरभाइभल’ लिओ इ रोज )
५) २०१५ सालको आम चुनाव पछि वि.प्र.ले तत्कालीन भारतीय प्र.मं. जवाहरलाल नेहरूको प्रभाव प्रयोग गरेर प्रधानमन्त्रीको पद पाएका थिए -इण्डियन डिप्लोम्यासी इन नेपाल, पृ. १२९, मुरलीधर धरम दसानी, आलेख पब्लिकेशन, जयपुर)
६) वि.प्र.को अठार महीनाको शासनमा नेपालको परराष्ट्र, सुरक्षा, अर्थ बाणिज्य जस्ता महत्वपूर्ण विषय नेहरूको परामर्शबाट हुने गर्थ्यो । तसर्थ भारतको लागि अत्यन्त लाभप्रद रह्यो (पूर्वोक्त पुस्तक, एम डि धरमदसानी)।
७) वि.प्र.ले सन् १९६० मा चीन भ्रमणमा जाँदा चिनियाँ प्र.मं. चाउएनलाईले प्रस्ताव गरेको अनाक्रमण सन्धि र शान्ति र मैत्री सन्धि प्रस्तावलाई एक पछि अर्को गरी ठाडै अस्वीकार गरेका थिए (सोही पुस्तक पृ. ६५, एम डि धरमदासानी) काठमाडौंलाई चीनको भूमिसित जोर्ने सडक मार्ग निर्माण गर्ने तेस्रो चिनिया प्रस्तावलाई पनि उनले यस्तो मार्ग निर्माणले नेपाललाई आर्थिक लाभ हुँदैन भनेर इन्कार गरेका थिए (डकुमेण्ट्स इन नेपाल्’स रिलेशन्स् विथ इण्डिया एण्ड चाइना १९४९-६६, पृ. २६३ ए एस भासिन, एकेडेमिक बुक, लि. बर्म्बई)
८) काठमाडौंलाई तिब्बत सित जोर्ने सडक निर्माण गर्न २०१३ सालमा नेपाली व्यवसायीहरूले नै आफ्नो सरकार समक्ष माग राखेका थिए । प्रमं. आचार्यले त्यस राजमार्ग निम्ति रु. ५० हजारको बजेट पनि छुट्याएका थिए । -उपर्युक्त पुस्तक पृ. २६३, एस भासिन) (विस्तृत जानकारीको लागि उल्लिखित पुस्तकहरू हेरौं-राप्रउ)
माथि प्रस्तुत गरिएका उदाहरण केही मात्र हुन् । पाँच दिग्गज प्रकरणमा राजनेता टङ्कप्रसाद आचार्यको व्यक्तिचित्र नजिकबाट कोर्न खोजिएको छ । लेखक रिमालले टङ्कप्रसादको प्रधानमंत्रित्वलाई नेपालको स्वाधीनता तथा सुदृढीकरणको अवधि भनेका छन् । यो मूल्याङ्कनलाई तथ्यमा आधारित भएकोले सर्वथा उचित भन्न सकिन्छ । नेपाललाई वास्तविक रूपले स्वाधीन र सार्वभौम राष्ट्र बनाउन खडा गरेका आधार संरचनाको श्रेय लेखकले प्रमं. आचार्यलाई एकलौटी रूपमा दिएका छन् । यो अतिरञ्जित पो हुन्छ कि ! राजा महेन्द्रको मार्ग दर्शन र सहयोग उनले नपाएको भए त्यतिखेर ने क पा को प्रतिबन्ध फुकुवा गर्ने जस्तो कार्य पनि राजालाई सोध्नु पर्ने सीमित अधिकारवाला प्र.मं. एक्लैले त्यत्रो काम गर्न सक्थे होलान् र < तथापि टंक प्रसाद आचार्य प्रजातन्त्रोत्तर नेपालका सबै भन्दा अग्ला प्रधान मन्त्री हुन् भन्न अलिकति पनि हच्किनु पर्दैन ।
अर्का दिग्गज राजा महेन्द्रको राज्य संचालन प्रजातन्त्र विरोधीको रूपमा रह्यो । लेखक रिमाल राजा महेन्द्रलाई त्रिभुवन जति शिक्षित नभएको (पुस्तकको पृष्ठ ४८२, ४८७) मान्छन् । लेखकले त्यसो भन्ने आधार खुलाउनु पर्थ्यो । राज्य उत्तराधिकारी अर्थात् युवराजलाई दरवार भित्रै त्यस समयको उच्चकोटीको शिक्षा र राजोचित तालिम दिने प्रचलन अघि देखि थियो । पृथ्वी विक्रम र त्रिभुवनका निजी सहायक सरदार राममणिले आफ्नो ‘पुराना सम्झना’ पुस्तकमा त्यस पक्षको उल्लेख गरेका छन् । यति हुँदा हुँदै पनि सारांशमा भन्नु पर्दा राजा महेन्द्रले प्र.मं.को रूपमा टङ्कप्रसाद जस्ता व्यक्ति नपाएको भए उनको (महेन्द्र) व्यक्तित्वले त्यो उँचाई निश्चय पाउने थिएन । राजा महेन्द्रको चित्र समयोचित छ । असहमति जनाउनै पर्ने ठाउँ न्यून छ ।
‘नेपालमा कम्युनिष्ट आन्दोलन’ शीर्षक प्रकरणमा लेखकले मनमोहन अधिकारीको व्यक्तित्वमा पनि थोरै शब्दमा टिप्पणी गरेका छन् । उनको दृष्टिमा ‘मनमोहन अधिकारीमा अन्य जे जति गुण भएतापनि पार्टीलाई समग्र रूपमा हाँकेर लैजाने नेतृत्व कुशलता थिएन (पुस्तकमा पृ. २२१) । मनमोहन उपरको यो टिप्पणी उनका प्रशंसकहरूलाई पचाउन कठिन पर्न सक्छ । उनी पार्टी महासचिव रहँदा पार्टी मुख्यालयमा लेखकले संगसँगै काम गरिसकेकोले यो उनको अनुभवले दिएको निष्कर्ष पूर्वाग्रह नराखेर हेर्ने हो भने इन्कार गर्न कठिन छ ।
यस पुस्तकमा कम्युनिष्ट आन्दोलन सित जोरिएका निकै प्रसङ्गहरूको चर्चा छ । यो आन्दोलनमा सुरुदेखि संलग्न रहेर पार्टीलाई विस्तार दिने जुझारु कार्यकर्ताहरू आज समयको पत्रे धूलोमा ओझिलिएका छन् । त्यस वेलाका कैयौं कार्यकर्ताहरू अब हामी बीच छैनन् पनि । लेखकले ती कम्युनिष्ट योद्धाहरूलाई आफूले सम्झेसम्म उल्लेख गरेका छन् । इतिहासका अज्ञात पात्र श्यामसिंह, चन्द्रशेखर लाल, श्रीराम सापकोटा, वि.आर. राई, चन्द्रमोहन अधिकारी, जीवेन्द्रनाथ झा, कृष्ण दहाल, गुजाई यादव, मधुसिंह, संघरत्नहरू मध्ये कति जना त अब यस लोकमा छैनन् पनि होला । जीवितहरू पनि कतै अज्ञात कुनामा आफ्ना संघर्षका दिनहरू सम्झिदै बसेका होलान् । तर खोई त्यतातिर कसैले दृष्टि दिएको, तिनका बारेमा चर्चा उठाएको – केदार उपाध्याय, कृष्ण अधिकारी २००७ साल भन्दा अघि देखि भारतीय कम्युनिष्ट पार्टीमा समेत काम गरिसकेका व्यक्तिहरू हुन् भनेर यो पंक्तिकारले सुनेको थियो । डिल्लीबजारको बाटोमा गोरो र चेप्टो अनुहारका लठ्ठीको वलले खोच्याएर हिंड्ने गरेको व्यक्तिलाई कतिले देखेका होलान् । तिनै वृद्ध पुरुष २००७ सालको दिल्ली सम्झौतालाई धोखा हो भन्दै विद्रोह जारी राख्ने पिवि मल्ल हुन् जो ने क पा को दोस्रो महाधिवेशन पछि केन्द्रीय सदस्यमा पनि छानिएका थिए । पि वी मल्लको त्यो परिचय आजका कामरेडलाई थाहा होला र < कस्तो विडम्बना ! अरविन्द रिमालले काठमाडौंका चन्द्रानन्द नेवा, नेमुद्दीन, नातीदाई, सानो दाई, मकवूल शाह, गोविन्द नापित, शक्ति लम्साल, विष्णु कान्त सिल्वाल, नानी मैयाँ, भाइ दाई, रामकृष्ण मानन्धर, पुष्पलता, श्रीमाया, शिवा राणा, इत्यादि लगायत मोफसलका कार्यकर्ताहरूलाई पनि सम्झिन पुगेका छन् ।
लेखकले केही छिटपुट घटना र प्रसंग पनि सटीक र साह्रै रमाइलो हुने गरी हालेका छन् । डिल्लीरमण रेग्मीको गद्दी बैठकको चर्चा गर्दा उनको व्यक्तित्व देखिने गरी त्यसको प्रस्तुति खुलेको छ । त्यो प्रस्तुति शैलीमा शिष्ट व्यंग्य भाव पाइन्छ । अर्को एउटा प्रसंग कलकत्ताको छ । २००६।७ साल तिर होला पहिलो पटक केशर जंग रायमाझीलाई भेट्दा उनको भौतिक कायाको ५।७ शब्दमा गरिएको चित्रण पनि रसिलो र जीवन्त छ । यस्ता छोटा मीठा प्रसंग ठाउँ ठाउँमा आएका छन् ।
लेखकले केही प्रकरणमा कविताका अंश र उक्तिहरू नेपाली र अरु भाषाका प्रसंगलाई गहनामा हीरा जडेको झैं सुहाउने गरी हालेका छन् । यस जडाउले भाषालाई सम्प्रेषणीय बनाएको छ । त्यसले गर्दा उनको भाषा रसपूर्ण छ । लेखक त्यसो त खारिएका प्रौढ पत्रकार हुन् । यो कृति पढ्दा उनमा साहित्यिक प्रतिभा पनि रहेछ भन्ने रहस्य खुल्छ । लेखकलाई आगामी दिनहरूमा साहित्यमा समेत कलम चलाउन म यसै लेखनीमार्फत् आह्वान गर्छु ।
प्रस्तुत कृति लेखकको लामो अध्ययन र अनुभवको सार परिणाम हो भन्ने कुरा पाठकले यो पुस्तक आद्योपान्त पढिसकेपछि ठम्याउन गाह्रो पर्दैन । माथि धेरै कुरा भनिसकियो यसको विशेषताहरूलाई लिएर । पुस्तकको अर्को पाटो हेर्नु पनि वान्छित हुन्छ । त्यसो नगर्दा विवेचनकर्तालाई गुणानुवाद गरेको आरोप लाग्न सक्छ । इतिहासको साक्षी बन्न सक्ने पुस्तकको समुचित सम्पादन हुन नसकेको देखा पर्छ । यसमा देखिने अधिकांश त्रुटिहरू कमजोर सम्पादनको कारणले रहन गएका हुन् । व्यक्तिको नाम उल्लेख गर्दा समेत असावधानी भइदिएको छ । विख्यात अमेरिकी प्रा. लिओ इ रोजले एक्लै लेखेको ‘नेपाल स्ट्राटेजी फर सरभाइवल’ नामको पुस्तकलाई नेपाली प्रा. भुवनलाल जोशी सित मिलेर लेखेको उल्लेख एक भन्दा बढी ठाउँमा परेको छ । ती विद्वान्ले भुवनलाल जोशी सित मिलेर लेखेको ‘डेमोक्रेटिक इनोमेशन्स इन नेपाल’ भन्ने पुस्तक हो ।
बेलायतकी महारानी एलिजावेथ (द्वितीय) पहिलो पटक २०१७ साल फागुनमा नेपाल आएकी हुन् । पुस्तकको पृ. २८८ मा राजा महेन्द्रको राज्याभिषेक जुन २०१३ सालमा भएको थियो त्यस अवसरमा आगमन भएको थियो भन्ने उल्लेख गरिएको छ । राणा प्रधानमंत्री रणोद्वीप सिंहलाई वीर शमशेरका माहिला काका (पृ. १३२ ) भनिएको छ । रणोद्वीप सिंह जंग बहादुरका ठाइलाभाई हुन् माहिला भाई बमबहादुर कुँवर हुन् । कुनै कुनै घटनाका साल मिति मिलेका छैनन् । कीर्तिनिधि विष्टले नेपालको उत्तरी सीमानामा रहेको भारतीय सैनिक पोष्ट २०२६ साल जेठमा हटाउन लगाएका थिए । तर पुस्तकमा (पृ. २०२) २०२५ सालमा त्यो कार्य भएको उल्लेख छ ।
अरविन्द रिमालले यो ग्रन्थ लेख्दा मुख्य रूपमा आफ्नो संस्मरण कोशले काम गरेका छन् । उनले यो सत्यलाई पुस्तकमा भनेका पनि छन् । यसले गर्दा पनि होला पुस्तकमा कमजोरी केही रहन गए । यसमा लेखकले जति मिहनत खर्चेका छन् त्यस अनुरूप नै स्रोत सामग्रीको उपयोग हुन सकेको भए ग्रन्थको उँचाईमा वृद्धि हुन्थ्यो भन्ने लाग्छ ।
पुस्तकमा देखिएका उल्लिखित त्रुटिहरू तपसील प्रकृतिका हुन् । ती कुराहरूले पुस्तकको ओजमा केही असर त पर्छ । तर पनि त्यसले पुस्तकको उपादेयतालाई घटाउने छैन । आशा गरौं अर्को संस्करणमा माथि दर्शाइएका कमीहरूमा परिमार्जन होला । नेपालको राजनीतिमा रुचि राख्नेहरूका लागि यो कृति पठनीय छ । भिन्न रुचि भएका पाठकले समेत यस पुस्तकबाट लाभ लिन सक्छन् । लेखकलाई साधुवाद दिनै पर्छ ।
२०६३।१।१४
Raprau Pokharel
Address : 221/46Janaudaya Galli, Siphal,ktm
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)