~कञ्चन पुडासैनी~
उसका बाबुको विवाह केटीका बाबुहरूले उनको दुब्लै बान्कीको मुख र सानो घर हेर्दै फर्कंदै गर्ने गरेका हुनाले छब्बीस वर्षको उमेर पुगेपछि एउटा दुःखी परिवारकी एघार वर्षी छोरीसित बल्ल भएको थियो । पहिले उनको जरज्यथा थोरै देखेर केटी दिन गाहारो मानिएको थियो त पछि छिप्पिएको केटो देख्ता अझसम्म विवाह नहुनुमा उनका बैगुन अरू पनि होलान् भन्ने ठानिएको हुँदो हो । उनको पछिल्लो सन्तान छोरो तेह्र वर्षको भइसकेको हुनाले उसकी आमालाई सबैले बेत बसेकी आइमाई मानिसकेका थिए । ख्यालख्यालैमा उनको भुँडी बढ्न-उचालिन थाल्दा उनलाई लाज लागिरहेको थियो । तर ऊचाहिँ एक राति गर्भगृह छाडेर संसारमा निस्क्यो र निर्धक्कसित च्याहाँ-च्याहाँ गरेर सबका कान ठाडा गराइदियो । भर्खरकी सुत्केरी आमाले उसको नाइटामनि छामेर एउटा सुस्केरा फालेकी थिइन्- छोरीको अभागी जात थिएन ऊ । उनका केही गाउँलेहरूलाई ऊ कुनै अर्कै बाबुको छोरो हो कि भन्ने मनोरञ्जक सन्देह पनि लागेको थियो- ‘के हो ए यस्तो – बूढी आमैलाई झुक्याउन त झुक्याएन कसैले -‘ तर त्यो आनन्ददायी सन्देह क्षणिक थियो र आफै मर्यो । त्यसमाथि उसले दाजुहरूकै बाबुको लाम्चो खालको चेहरा पाएको थियो, जो पछि-पछि झन् प्रष्ट हुँदै गयो ।
उसले जन्मेर आफ्ना दाजुभाउजूहरूलाई भने उति प्रसन्न गराएन ।सानो सम्पत्तिमा दाजुहरूको अंशियार भाइ थपिएको थियो ऊ । भाउजूहरूका बच्चाहरूको पनि दूध र लिटोको अनिच्छित अंशियार ऊ थियो । तैपनि उसका आमाबाबुले उसलाई साह्रै माया गरे । मायाभन्दा पनि उनीहरूको असीम दयामाया उसले पायो । यो नहुर्किंदै आफू मरिगए यसले काकाकुलले नपाउने दुःख पाउला भन्ने डर बाबुआमालाई लागिनै रह्यो ।
ऊ एउटा हठी बालक बनेर हुर्कन थाल्यो । एक दिन बाबुले एकादशीको व्रत लिएका हुनाले उनले बस्ने गरेको भान्छाको ठूलो बाटुलो पिरामा पलेटी मारेर बसी खाने संयोग पर्यो । भोलिपल्टदेखि उसलाई त्यही पिरामा नबसी भात रुचेन । भातको लागि चरेसको थाल, तिहुन र दूधको लागि अलग-अलग कचौरा पनि उसलाई चाहिन्थे । अनि मात्र बाबुसाहेब आफ्नो भातमा हात हाल्थ्यो । तर ऊ नौ वर्षको हुँदा उसकी आमाको मृत्यु भयो । तब कहिले दाजुका छोराछोरीले दूध खाएर माझन नभियाई छोडेका कचौरा जूठा हुनाले उसलाई कचौरा पुग्न छोडयो, कहिले भाउजूहरूले उसलाई कचौरा नदिनकै लागि ‘कचौरा पनि कता कता परेका हुन्’ भन्दा कचौरा पुगेन । तब ऊ आफ्नो भागमा खन्याउन ल्याएको दाल-तिहुनको डाडुलाई हातले छेकेर धुम्म परीकन पिरामा पलेटी कसेको कस्यै भातको भागलाई हेरिरहन थाल्थ्यो । अनि उसका बाबु आफ्ना दूध-तिहुनका कचौरा आफ्नै भातको छेउमा खन्याएर भन्थे- “यही देऊन त !” तर एक बिहान कचौरा नपाएर घोरिन लाग्दा उसलाई भान्छेदेखि झोक चलेर आयो, आफ्नो घुर्कीदेखि झर्को लागेर आयो । अनि उसले भात, ढिँडो, दाल, तरकारी एकै ठाउँमा मुछ्तै निहुरेको निहुर्यै सपासप खायो र भान्छे भाउजूलाई मुसुमुसु हँसायो ।
बालक हुन्जेल उसलाई प्रायः नै रुघा लाग्ने गर्थ्यो र उसले आफ्नो नाकलाई मास्तिरबाट समातेर ठीँ-छीँ गरेको देखिने गर्थ्यो । उसलाई बूढी र चोर औँलामा झुन्डयाएर सिँगानको पहेँलो लत्को फुत्त फालिरहेको देख्न पाइन्थ्यो । ऊ अरूका आँखा छलेर कुनै भित्तो, थाम, ढोका वा कहीँ रूखमा आफ्नो सिँगान लागेको हात पुछ्तै सफासुग्घर हुन लागेको देखापर्थ्यो । सिँगानको टलक कहिलेकाहीँ उसका दायाँ तिघ्रामा पनि देखिन्थ्यो मानो एउटा चिप्लेकीरो भर्खरै त्यस बाटो गएको थियो । एकबाजि स्कुलबाट घर आउँदा बाटामा झगडा परेर उसको पाँचौँ कक्षाको साथी अनूरुले उसलाई ‘पख्लास् सिँगाने !’ भनेको थियो । त्यसको साटो उसले भोलिपल्ट स्कुलबाट घर आउँदा अनूरुको अनुहारतिर एउटा यति लामो लत्को सिँगान फालेको थियो कि त्यस लत्काको एक हाँगो अनूरुको गालाबाट नाकसम्म र अर्को हाँगो आँखासम्म पुगेको थियो ।
एक दिन उसका बाबुले आफ्नो टयाङ्कामा ताल्चा मार्न बिर्से । उसले उघारेर हेर्दा एकातिर जग्गाका रसिद-पुर्जाहरू थिए; अर्कातिर एउटा प्याङमा माथि दस-दस रुपियाँका दुइटा नोट, मनि पैसा र मोहरहरू थिए । उसले एउटा नोट झिक्यो र टयाङ्काको घपना लगाइदियो । एक छिन त ताल्चा मारिदिने विचार पनि उसले गरेको हो । तर त्यसो गर्दा नमारी छोडेको ताल्चा कसले मारेछ भन्ने शङ्का उठेर रुपियाँ हेरिएला र चोरिएको थाहा होला भन्ने डरले त्यसै छोडिदिएको थियो । त्यस गल्तीको नतीजा के भयो भने पछि बाबुले आएर टयाङ्कामा ताल्चा नमरेको देख्ता कसैले भित्र त हात हालेन – भनेर हेरिहाले र चोरी देखिइहाल्यो । त्यस दिउँस घरमा कि ठूली भाउजू थिइन् कि कान्छो देबर । बूढाले आफ्नो बालक छोरालाई त्यतिसम्म छिप्पिएको ठानेका थिएनन् र बुहारीलाई सोधे- “ठूली बुहारी ! मैले अघि ताल्चा मार्न बिर्सेछु । टयाङ्काबाट दश रुपियाँ हराएको रहेछ । तैँले देखिथिस् कि -“बूढाको त्यस सवालले घरमा एउटा रडाको मच्चाएथ्यो । मजस्ती सोझी लाटीलाई जे भने पनि हुन्छ भन्ठानेर भन्दै ठूली बुहारीले आँगनमाथिको आकास उचालेपछि बूढाले बुहारीदेखि डराएर भनेका थिए- “कान्छाले पो हात हालेछ कि त !” कान्छोको नाउँ लिँदासाथ उनलाई पछुतो लागिसकेको थियो र पनि यसमा उसको हात होला र गाली खालाजस्तो लागिहालेको थिएन । तर उससँग सोध्दा उसले मुखले छैन भने पनि उसको बोली चोरकै जस्तो लटपटिँदो थियो । जब उसका उनासी वर्षका बूढा बाबुले भनेथे- “तैँले झिकेको भए दे बाबै !” भर्खरै अनुरुलाई दसको नोट देखाएर आफ्नो अपूर्व रोब जमाएर फर्केको थियो । आखिर उसले जाँघेको इनार-घरबाट झिकेर त्यो पट्टयाएको नोट दिएको थियो । दाजुले गाला चड्काउन खोज्दा बूढाले भनेका थिए- “भैगो, नचला त्यसलाई । रुपियाँ पाइहालियो, भैगो नि ।” तर भाउजूको मुख कसैले थुन्न सकेन- “बाले माया नै माया गर्दा त हो नि यिनलाई यहाँसम्म अहमत्याइँ लागेको ।… देख्नलाई सानो, चोर्न कति सिपालु ! मैले त यो मान्छे घरभित्र पसेर निस्केको पनि देखेकी थिइन ।… आफूले चोरेर मलाई चोरीमा पार्न कत्रो दाउ गरेको !”
अब उसलाई बखत-बखतमा छेड हान्न र हेलाँ गर्न एउटा खासा निहुँ भाउजूले पाएकी थिई- “खाने बेलामा त्यस्तो छ; दूध नभए पनि कुँडेतिर आँखा लाग्छन् । गाई-भैँसीको गोठालो लागेको कहिल्यै पाउनु छैन । कहिलेकाहीँ आफूले नभियाएर ‘त्यति भकारो सोहोरिदिनुहोस् न आज’ भन्यो भने पाठ घोक्न बितेको हुन्छ । आफ्ना केटाकेटीलाई यसो दुइ अक्षर सिकाइदिएको पाउनु छैन । काम त छैन छैन, कुन बेला कुन अपजसमा पार्ने हो बाबा भनेर थरहरी हुँदै बस्नुपरेको छ ।” तब एक दिन उसलाई बोलाएर बूढाले भनेका थिए- “तेरो ढङ्ग छैन कान्छा ! तैँले दुःख पाउलास् भन्ने पीर भो मलाई । मेरो जाने वेला भइसक्यो, अहिले हो कि भरे हो । शत्रुदेखि डराएर काम गर्दै जा । उनले फेरि भनेथे- “मैले दुःख पाए पनि कसैलाई रुवाएको छैन । तँलाई मेरो आँसुको आशिक लाग्ला- गन्ने मान्ने होलास् ।” अनि उनले उसलाई पटुकाको भित्री पत्रबाट दुइ मोहर झिकेर दिँदै भनेका थिए- “लुकाएर खर्च गर्नू । केही चाहियो भने मसित भनेस् । मसित भएसम्म दिउँला ।”
त्यस बेला ती सेताम्म्य कपाल फुलेका, सेता दाह्रीका ठुटाले चेहरा घेरेका बूढाका आँखामा आँसु थिए । उनको बोलीबाट रुवाइको पत्तै पाइँदैनथ्यो । तर उनको आँसु आँखाबाट तर्रर गालामा झरेथ्यो । घर-व्यवहार, लेन-देन राखन-धरन उसको दाजुले नै गर्थ्यो । बूढासँग के पो थियो र ! उसलाई किताब-कापी, कमीज-कट्टु ल्याइदिन पनि उनले ताकिता लाइदिनु पर्थ्यो । तैपनि बूढाले केकेन राखेको कुरा अरूहरू गर्थे र विनायक राम पनि त्यही भ्रममा थियो । आजै उसको त्यो भ्रम टुटिसकेको थिएन तापनि उसलाई आफू बूढो बाबुको निमुखो छोरो भएको अनुभव भएथ्यो । आफ्नो गाउँको स्कूलमा पढिसकेर त्यसताक ऊ डेढ कोशपर अर्कै स्कूलमा सातौँ कक्षामा पढिरहेको थियो ।
ती आँसु भरिएका गम्भीर आँखा, ती आँखाबाट तरक्क झरेका क्षणिक आँसुका दुइ झीना धारा उसले फेरि रुपियाँ झिक्ला भन्ने पीरले झरेका थिएनन् । ती आँसु उसदेखि चित्त दुखेर आएका आँसु थिएनन् । ती आँसु त छपन्न वर्षगोरु जोतेको हङङ्खोर हलीका आँसु थिए । ती आँसु तीन छोरा र चार छोरीको बिहा गरिसकेको किसान बाबुका आँसु थिए । ती आँसु संसार सहेको एक गरीब ज्ञानीका आँसु थिए । ती आँसु बल्ल अठार वर्षपछि साहूबाट जग्गा निखनेको आसामीका आँसु थिए । ती आँसु उसको बालमूर्खता र उसले बाँच्नुपर्ने दुनियाँदेखि आतङ्कित वयोवृद्ध पुरुषका आँसु थिए ।
(पछि जब उसले कुनै दिन भोकभोकै डेरामा सुत्नुपरेथ्यो, उसलाई ती आँखा याद आएथे । जब कुनै भिखारी केटालाई बजारमा देखेथ्यो, ती आँखा याद आएथे । जब हिजो एउटी आमाले भोक खप्न नसकेर रोइरहेको आफ्नो बच्चालाई “बरु मेरो मासु खा मोरा !” भनेर पिटेको सुनेथ्यो, ती आँखा याद आए ।)
उस बेला मोहियानीहकको पनि किनबेच हुने गर्थ्यो । तर बर्सेनी तोकिएअनुसार बाली अर्थात् कूत नतिरे मोही जग्गाबाट निष्कासित हुन्थे ।
बूढाले छ महिनाअघि ठूलो छोराको काँधमा बिसाएको हलो ऊ जन्मेपछि फेरि आफ्नो काँधमा हालेका थिए र फेरि गोरु जोत्न थालेका थिए । किनभने यता उनको एउटा छोरो बढेको थियो, उता पुरुखाका पालादेखिको आफ्नो मोहियानी अर्थात् जोतको एक खलो खेत कूत बाँकीमा अकस्मात् निष्कासनमा परेको थियो । त्यो खेत, जो अठार वर्षबन्धक रहेर एघार महिनाअघि मात्र निखनेका थिए र गोरु जोत्न छोडेका थिए । तिनले त्यो खेत किनेरै भए पनि फेरि आफ्नो गराउन जेठा र माहिला छोरालाई कुली-काम गर्न जाऊ भनेर सम्राट्गञ्जको बाटो देखाए र जेठाले समातेको अनौ फेरि आफैंले समातेर गोरु धपाए । उनी ज्यालाको लागि जसतसको जग्गा जोतेर आउँथे र जीउ करकर दुखेर बिस्तारै ‘ऐय्या’ भन्दै राति राति कराउँथे । ऊ चार-पाँच वर्षको भएपछि उसले पनि उनको गोडा थिचिदिन थाल्यो । बूढा सुतेर घोप्टो पर्थे, ऊ उनका पिँडौला तल-माथि तल-माथि गरी कुल्चिदिन्थ्यो । बूढा सान्त्वना पाउँथे, आराम अनुभव गर्थे ।
कसैले आफ्ना गाउँलेको जग्गा लीलाम वा मोहियानीहक निष्कासनमा ल्याउनु गाउँको धर्म नष्ट गर्नुजस्तै थियो र पराईले त्यसरी जग्गा लिएर चलन गर्न आउन पनि आफ्नो इज्जत ठान्दैनथ्यो र आँट पनि गर्दैनथ्यो । त्यस कारण बाली तिरेको भरपाई मागिरहन कोही लागिपर्दैनथ्यो । तर यस वर्ष आषाढ मासमा आएर जग्गाको मोहियानी हक हरियो । तब जनता खेतीकै लागि रिन काढिरहेको थियो, पर्म लाइरहेको थियो, घुम ओढेर रोपाइँ गरिरहेको थियो, जुहारी सुनिरहेको थियो, ज्याला कमाइरहेको थियो । त्यस बेला सपरिवार किसान वर्षभरि खाउँला-खुवाउँला भन्ने आशाले जीउज्यानमा भएसम्मको बलतागत खेतीमा लगाइरहेथ्यो । उस अवस्थामा गणेश गाउँबाट उत्तर-पश्चिमतिर साढे तीन कोशपर डाँडैडाँडामाथिको समथर सदरमुकाम शिखरान उनका लागि त्यसै पनि टाढै थियो । त्यहाँ आवतजावत गर्ने सडक-सुविधा यताका जनतालाई थिएन । यताबाट त पसिना काढेर अनेक उकाला-ओरालाका घुम्तीहरू पार गर्दै जानुपर्थ्यो । तब, महिनौअघि अदालतबाहिर भित्तामा नालेस परेको सम्बन्धमा टाँसिएका सूचनापत्रहरू हेर्न कोही पुगेको थिएन वा मुद्दाको मिसिलमा सूचना टाँस गराएको भन्ने जनाएर सबै कानूनी विधि पूरा गरिएको थियो । अखबारमा त खालि खबरै पढिन्थे । विज्ञापन र सूचनाका पृष्ठ त केही ठेकदार र बेकारहरूलाई नै रुच्ने भइ आएका हुन् ।
त्यस फैसलाको दिन बिहान, रातभरिको झरीमा सम्मिलित नभएर उत्तरतिर हिमालयको काखमा निदाएर ओर्लेको एउटा महामेघ टाढै लेकमाथि बडो विशाल भूतझैँ बसेको देखिएको थियो । बूढा किसान भानु दाइले एकबार उसलाई जाँचे र भित्र पसेर आज पनि ओढो लिएर नै मेलामा जाने सल्लाह ठूली बुहारीलाई दिए । ऊ भात-तिहुन पकाएर ढिँडो उँडेलिरहेकी थिई । आज अन्त कहीँबाट वर्षाको शङ्का थिएन । सबा दश बजे अदालतका कर्मचारीहरू दराजबाट आफ्नो कामका फाइलहरू झिकेर टेबिलमा राख्तै थिए । न्यायाधीशको कोठाको पर्दा पालेले एक छेउमा तान्यो र श्रीमान्ले भित्र प्रवेश गरे । त्यतिखेर त्यो महामेघ दक्खिनतिर ओर्लिरहेको थियो जो शिखरानमाथि पुगेर निहुर्यो । बाह्र बजेतिर त्यो महामेघ एक्कासि भयानक गर्ज्यो, मानो शिखरानमा सहस्र वज्र पर्यो । भानु दाइको खेतमा ताँती लागेका रोपारहरूले तर्सेर त्यसतिर हेरे- त्यता झरीको अँध्यारो थियो । अदालतका कारिन्दाहरूले पनि सातो गएझैँ गरी हाकिमतिर हेरे जो बेला-बेला भ्रष्ट हुने गर्थ्यो । अनि झयाल बन्द गरेर मैनबत्ती बाले । गर्जन र वर्षा निरन्तर चलिरह्यो । साढे चार बजेतिर वर्षाका झीना-मसिना धारा गणेश गाउँसम्म पुगे । रोपाइँ चलिरहेको तर अहिलेदेखि भानु दाइको हक सकिएको त्यस खेतको छिपछिपे पानीमा तिनको पहिलो स्वर टप्-टप् सुनियो । उसपछि धारावाही वर्षा हुन थाल्यो । रोपार-बाउसेहरूले आलीबाट आ-आफ्नो घुम लगेर मेलो समाए ।
साँझपख वर्षा समाप्त थियो । त्यसै मेघको शेष एउटा क्षीण फुस्रो धर्र्सो गणेश गाउँको लेकमा बसेको थियो जहाँ यसै गाउँका किसानहरूका बारी, खर्क र गोठहरू थिए ।
उनले समयमैँ बाली बुझाएका थिए- राम्ररी सुकेको कटुसजस्तै पुष्ट सफा धान भरिएका बोराहरू जग्गाधनीका मटानमा खन्याएर, पाथीले भराएर । तर घन्टौँ ढुकेर भरपाई लिने गरेका थिएनन् । दुइ-तीन वर्षको भरपाई एकैपटक पाएर पनि सन्तोषै मान्ने गरेका थिए । तलसिङ र मोहीको सम्बन्ध बाबु-छोराकै जस्तो लाग्थ्यो भानु दाइलाई । निस्सा-प्रमाणको जरुरत थिएन । परन्तु साहू पल्ला गाउँका थिए जसको जेठो छोरो सम्राट्गञ्जमा बसेर व्यापार गर्थ्यो । उसले घडेरीका लागि ठाउँमै जग्गा किनेको थियो, एकतले घर पनि बनाएको थियो र अब शहरसुहाउँदो भवन बनाउन धेरै रुपियाँको दरकार हुनाले उनले धेरै कित्ता जग्गाहरू गाउँकै अर्को साहूलाई बेचिदिएका थिए र आफू पनि सम्राट्गञ्जतिरै झरेका थिए । नयाँ जग्गाधनी सिद्धिराज कुनै पापको डर नभएको लोभी थियो, क्रूर कपटी थियो, बदनाम झगडिया थियो ।
उसले गत वर्षहरूको कूतबाली बाँकीबापत जिल्ला अदालतमा नालेस गरेको थियो । मोहीपक्षले अदालतबाट पठाएको प्रतिवादको म्याद नबुझेको हुनाले उनका घरदैलामा टाँसेको भन्ने झूठो मुचुल्कासमेत मिसिलमा सामेल गराएर मुद्दा एकतर्फी बनाएको थियो र गत वर्षको बाली समेत भराउने गरी मोहियानीहक नीज जग्गाधनीकै हकमा हुने ठहरेको फैसला छिटै हात पारेको थियो ।
त्यस फैसलाको घाउ धेरै जनाको हृदयको मासुमा लाग्यो । उनीहरू रुन्चे मुख लिएर उही पल्लो गाउँका साहू सिद्धिराजका अगाडि परे । उनले पनि दुवै हात हल्लाउँदै मानो दुवै हातले आशीर्वाद दिँदै भने- “भैगो, बक्यौता बाली तिर्नुपर्दैन । मोहियानीहक मेरो हुनु र तिम्रो रहनुमा केही फरक छैन । तिम्रो हक तिमी नै कमाइराख । अलि अलि मलाई पनि खुवाऊ, अलि अलि आफू पनि खाऊ । यसबाट तिम्रो पनि कल्याण, मेरो पनि कल्याण । यौटा उस्तै कामले म उनकहाँ पुगिहालेँछु र मात्रै । नत्र आफ्नो गाउँको यतिको जग्गा-ज्यथा झन्डै परचक्रीले कुदाइसकेको । सबका धर्मले गाउँको गाउँमैँ आयो ।” उनले फेरि सान्त्वना दिएथे- “ल जाऊ, अब धन्दा छैन जाऊ । आखिर न तिमीले केही लैजानु छ, न मैँ केही लैजान पाउँछु ।” त्यस दिन बूढा भानु दाइ मुटुमा भक्कानो र आँखामा आँसु लिएर आफ्नो घर फर्केथे । अब ती जग्गामा मोहीको कुनै हक बाँकी थिएन ।
त्यो जग्गा फिर्ता पाउन भानु दाइले अरू चार वर्षगोरु जोत्नुपरेथ्यो र उनका दुइ छोराले भरिया भएर चार-चार वर्षघर छोड्नुपरेथ्यो । ती आँसु खास त्यस गरीब बूढाका आँसु थिए, जसले अठार वर्षपछि बल्ल निखनेको मोहियानी गुमाएर फेरि किन्नुपरेको थियो । त्यसताक उनलाई खेत-बारी जोतिदिन भरसक डाकिन्नथ्यो । उनी धेरै बूढा भइसकेका हुनाले अनौ समातेर घिच्चिरहेजस्ता देखिन्थे । उनका गोरु पनि गतिला थिएनन् । जस्तो हली, त्यस्तै गोरु । अरू-अरूका हलसँग अघि-पछि लाग्नु नपरेर एकलै जोत्न पाएको मेलो उनका लागि अहोभाग्यको मेलो हुन्थ्यो ।
उसताक विनायक रामको सुरुवालका दुबै घुँडा चर्केका थिए र त्यहाँ बल परेमा च्यातिने डर हुनाले ऊ कहीँ बस्नुपर्दा ढुङ्गोसुङ्गो ओछयाएर आसन अग्लो नपारी बस्तैनथ्यो । बरु उभिइरहन्थ्यो । बसमा उक्लँदा होस् कि उकालो लाग्दा होस्, सुरुवाल अलि तल सार्थ्यो र चर्केको ठाउँमा बल पर्न नदिन सावधान रहन्थ्यो । उसको कमीज कुहिना-कुहिनामा फाटेको थियो । फाटेको लुकाउन कुहिनामाथिसम्म बाहुलो दोब्र्याउँथ्यो । इस्टकोटमा ठूलठूला टाँक थिए । ती टाँक बूढा बाबुले आफ्ना पुराना कोटबाट झिकेर दिएका थिए । किनभने गाउँको दमाईंसित टाँक थिएनन् । इस्टकोटको कपडा ल्याइदिने दाजुले टाँक किन्न बिर्सेको थियो । बूढा जाडामा त्यै पुरानो कोट लाएर बस्थे । तर टाँक नहुनाले कोटबाहिर पटुका बाँध्थे ।
उसपछि एक साँझ बूढाले ठूलो छोरालाई पर्सि बिहान खुवा बनाइदिन, ठूली बुहारीलाई भोलि नै लुगा धोइदिन अर्हाए । त्यो दिन आयो र उनले दौरा-सुरुवाल लगाएर पटुका बाँधे । ती लुगा दश-बाह्र वर्ष पुराना थिए, तिनमा लागेको धूवाँको कैलोपन धुँदा पनि गएको थिएन । छाता रङ खुइलिसकेको, एउटा डाँडो खुस्केर बाहिर निस्केको थियो, जसको बीँड काँधमा अडयाएर उनले ओढेका थिए । उनको दायाँ हातमा अङकुसे परेको लट्ठी थियो, जो उनको पाइलैपिच्छे अघि अघि लागिरहेको थियो । विनायक कहिले उनको पछि-पछि, कहिले दायाँ-बायाँ, कहिले अघि-अघि हिँडिरहेको थियो । कहिले ऊ निक्कै पछि परेर कुनै बुटेनको टुप्पामा बसेको चरालाई ढुङ्गाले हिर्काउँथ्यो, कहिले एउटा ढुङ्गो बाटामा बच्चेर अर्को ढुङ्गाले मार्दै खोपी खेलेको सोख पनि लिँदै थियो । कहिले बूढा बाबुको भनाइ मानेर उनको आधा छातामनिको सिँयालमा हिँडिरहेको थियो । यसरी दुइ जना शहरतिर गइरहेका थिए ।
गाउँको दमाईंले सिइदिएको, उसले भिरिराखेको कोराको झोलाको पीँधमा दुइ छाकको सामल दुइ मानाजति चामल, एउटा एकमाने बट्टामा खुवाको कोसेली, बूढाले नुहाएर जीउ पुछ्ने गरेको कोराको रुमालमा भुटेको मकै र परालले बाँधेको मकैको खोस्टाभित्र सखर थियो । छ-सातोटा घिरौँला पनि झोलाको मुखमाथि टाउको ठडयाएर यी गरीबहरूसंगै शहर गइरहेका थिए ।
दुम्सेको उकालामा, पहराको कापबाट बगेर आएको पानी धारो भएर खसेको ठाउँमा, बाटामाथि, फलाँटको रूखमनि उनीहरू अलि बेर बसे । रूखको फेदमा अडेस लागेर चिउँडामा लट्ठी टेकाउँदै बूढाले भने- “पख् कान्छा ! एक छिन दम घटाएपछि पानी खानुपर्छ । धापिएको वेलामा पानी खाइहाल्दा मुटुमा लाग्ला ।”
धारामा मुखै थापेर पानी खाई त्यर्से उकालो हिँडेर भन्ज्याङबाट हेर्दा पर सम्राट्गञ्जका गुजुमुज्ज घरहरू देखिए । ती घरहरू उत्तरतिरका डाँडाकाँडाहरूदेखि डराएर एकै ठाउँमा जम्मा भएर बसेजस्ता थिए । शहरमाथि परेवाहरू उडिरहेका थिए । बीच-बीचमा मन्दिरका गजूरहरू टल्किरहेका थिए । शहरलाई सोझयाएर फेदीबाट एउटै लामो सडक पूर्वतिर गएको थियो । यिनीहरूले अब ओरालो लागेर पार्वती नदीलाई झोलुङ्गे पुलले तरेर त्यो सडकमा टेक्नु थियो । तल आएर पार्वतीको किनारमाथि डाँडाको छायामा बसेर हाम्रा बटुवाहरूले मकैका सेता फूलहरू गुलियो सखरमा चोब्दै खाजा खाए । बूढाले बीस-बाईस फूल खाए होलान् । बाँकी सबै केटाले चपायो र रित्तो रुमाल हावामा फट्कार्यो । पार्वतीको पानीले कुल्ला गरेर किनारतिर थुकीकन त्यस रुमालले हात-मुख पुछेर बूढा अघि लागे ।
सडकको चौबाटामा पुग्दा एउटा थोत्रो बस शिखरानतिरबाट आएर अडियो । यहाँ बस पर्खेका बटुवाहरू थिए । बसको ढोकामा निस्केर एउटा ठिटो करायो- “सम्राट्गञ्ज, एकेक मोहर ।” बूढाले आकाशतिर हेरे- सूर्य भर्खरै पश्चिमतिर ढल्केको थियो । अनि शहरतिर हेरे- घरहरूको भीड त्यहीँ थियो । ‘आधै कोश त होला नि’ उनको मनले भन्यो । त्यहाँ भएजति मान्छे बसमा उक्लिसक्ता ‘जाने होइन त बूढा बा -‘ भन्न बस-कन्डक्टरको मुखमा आइसकेको बोली बूढा हिँडिदिनाले उसको मुखमैँ रह्यो । अब बूढा बा र उनको कान्छो छोरो हिँडेरै सरासर शहरतिर गइरहेका थिए । सडकका दुवैतिर रूखहरू थिए । आँखिभौंलगायत सारा रौं फुलिसकेका तर लट्ठी टेकेर धैर्यसाथ हिँडिरहेका बूढालाई बटुवा-बटुवीहरूले गौरसित हेरे । कसैले भनी पनि- “कस्तो बूढो मान्छे हगि – तैपनि कसरी फटाफट हिँड्न सकेको ।”
उनीहरू शहरको सेतो अग्लो ढोकामा नपुग्दै बजार शुरु भइसकेको थियो । शहरभित्र ठाउँ नपुगेर मानिसहरू ढोकाबाहिर बजार बसाउँदै थिए । विनायक राम दायाँ बायाँ बजारतिर पल्याकपुलुक गर्दै थियो । सडकबाट एउटा गल्लीमा पस्ने घुम्तीमा बूढा उभिए । यता र उति हेर्दै हिँडिराखेको सुरमा विनायक रामलाई बाबु उभिएको थाहै भएन र उ उनको पिठयूँमा ठोक्किन पुग्यो । एउटा पसलभित्र दिउँसै बिजुली बत्ती बलिरहेको थियो । एकातिर काठको बारभित्र ज्यासलमा सुनको माल पोलिँदै थियो । अर्कातिर दराजमा सुन-चाँदीका गहनाहरू थिए र तल गद्दामा बसेको एउटा युवक सानो तराजुमा गहना जोख्तै गाहाकीलाई भन्दै थियो- “एक लाल मात्तै घटी छ ।” बूढाले सोधिहाले- “मोती साहू कहाँ हुनुहुन्छ बाबु -” र उस युवकले काम छोडेर उनतिर हेर्यो । उसले उनलाई देखिसकेको थियो र शायद चिनिसकेको पनि- “माथि नै जानुहोस्, बा आफ्नै कोठामा हुनुहुन्छ ।” उनी छ वर्षपछि आज शहर आएका थिए । तैपनि आफूलाई चिनेर मानेको देख्ता बूढा प्रफुल्ल भए ।
पसलउताको ढोकाबाट पसेर भरेङमा छामछुम गर्दै माथि मटानमा पुगेपछि उनले कर्के परेको ढोकामा टाउको छिराएर भने “मोती साहू !” भित्रबाट “को हँ -” भनेको सुनियो र “म भानु दाइ ।” भन्दासाथ दोलाया ओढेका, चश्मा लगाएका एक जना वृद्ध बाथ भएका गोडाले धर्मराउँदै ढोकामा आइपुगे । उनका दुवै आँखा चश्माबाहिर निस्कूँझैँ चम्केका, दङ परेका देखिन्थे- “ओः हो ! दाइ आउनुभएको ! प्रणाम ! धन्य हो !” उनले आफ्नै हातले लामो चकला ओछयाएर दुवैलाई बसाए । विनायकरामलाई चिनाइयो । “ए ! पछि जन्मेको छ भन्या यै रहेछ” भनेर साहूले सम्झनाको प्रस्टयाइँ गरे । उनले नाति होकि भन्ठानेका रहेछन् । हाम्रा बूढाले यस यात्राको उद्देश्य जाहेर गरे- “अरू त उमेरदार भए, बिहा-दान पनि भयो । यै एउटाको भारा तिर्न बाँकी रहेको छ । यसको पनि एउटा थिति लाउन पाए अब भो साहू ! सकुन्जेल दुःख पनि गरियो । अब यत्तिकै हो ।”
गहना बनाउनुपर्दा, गहना बन्धक राख्नुपर्दा, अलि दिनको काम सार्न गहना चाहिँदा भानु दाइ मोती साहूकहाँ आउँथे । धेर-थोर सर-सापटको काम पनि चल्थ्यो । एकबाजि एक जना गाउँलेको बिहा चलाउन गहना चाहिएर उनी जमानी भएका थिए । तर त्यस गाउँलेको भाइ त्यो गहना चोरेर हिँडिदियो र उनी छ-सात महिना साहूलाई मुख देखाउन आउन सकेनथे । कसैले चुग्ली लगाएथ्यो- “तपाईंको भानु दाइ अब आउँदैन है साहू ! कसरी उठाउनुपर्छ उठाउनोस् है !” साहूले भनेथे- “घिउ कहाँ पोखिएछ – दालैमा । घिउलाई पनि त पोखिने ठाउँ चाहिन्छ नि ।” करीब तेत्तीस वर्षअघि एकताका मानिसहरू मोती साहूको बारेमा नराम्रो खासखुस गर्थे । यता उनलाई प्रहरीले धुइँधुइँती खोजिरहेको थियो । उता उनी रात रहेर अग्राख नपलाउन्जेलको लागि भानु दाइको गोठमा बडो हेरचाहसित पालिएर बसेका थिए । त्यो गुन उनकहाँ अझै धितो रहेको छ ।
उनीहरू पहिले उता खेतीपातीको अनि यता बजार-महँगीको अनि आफ्ना बुढेसकालको चर्चा गर्दै रहे । विनायक कोठाका तस्वीरहरू हेर्दै रह्यो । एउटा खोपामा बुद्धको पूजित मूर्ति पनि थियो । साहूको माहिँलो छोरो कुनै अड्डामा हाकिम हुनाले भानु दाइ आएका थिए- उसले विनायकलाई पिउन-सिउनमा जागिरे गराइदेओस् र विनायकरामले सम्राट्गञ्जमा बसेर रात्रि-पाठशालामा पढ्न पाओस् । तर उ केवल चौध वर्षको थियो र साहूलाई साह्रै कलिलो लागेथ्यो- “यति सानो मानिसले जागिर खान सक्ला र दाइ -“
“सक्छ-सक्छ । नसकेर के गरोस् !” भानु दाइले छोरातिर हेर्दै बल गरेथे- “आफ्नो लागि आफैं नगरेर कसले गरिदिन्छ र गर्न नसकेर सुख पायो यसले !”
बेलुका साहूले छोरालाई बोलाए र उनको हाकिम छोरो उनका कोठामा आएर उभिएथ्यो । उसलाई देख्ता भानु दाइ महापुरुषको दर्शन पाएझैँ मुग्ध भएथे । उसले उनको कुरो गम्भीरतापूर्वक सुन्यो । “यै एउटाको भारा तिर्न बाँकी” सुनेर ऊ उनको मुखमा हेरेको हेर्यै भयो । यस्तो बुढेसकालमा पनि कुनै बाबुको छोराप्रतिको जिम्मेवारी यहाँसम्म हुँदो रहेछ ! एउटा एकासी-बयासी वर्षपुरानो मान्छेको बोली-विचारदेखि ऊ प्रभावित भयो- “यिनको उमेर त पुग्दैन । तैपनि ठाउँ भएपछि म थाहा दिउँला ।”
“तपाईंको जय होस् हाकिम बाबु ! तपाईंको जय होस् !” भानु दाइको स्वर काँपिरहेको थियो । उनले जोडेका हात पनि काँपिरहेका थिए । उनको मन कृतज्ञताले गद्गद थियो ।
केही महिनापछि ऊ सम्राट्गञ्जको रात्रि-पाठशालामा भर्ना भएथ्यो र छिँडीको एउटा कोठामा गुन्द्रीमाथि छोटो लम्पट ओछयाएर बाबुको बर्को ओढेर ऊ सुत्थ्यो । कोठाकै कुनाको सानो चूलामा रोटी र तिहुन पकाएर सिलाबरको थालमा खान्थ्यो । महिना-महिनामा घर गएर चामल-पीठो बोकेर ल्याउँथ्यो । दिउँस आफिसमा कसैलाई चुरोट, कसैलाई पानी, कसैलाई चिया पुर्याउँदैमा उसले धानिसक्नु हुँदैनथ्यो । कहिले कुनै बहिदार चुरोट सल्काउन कसैसित सलाई मागेर ल्याउन अर्हाउँथ्यो त कहिले कुनै खरिदार उसले ल्याएको चिया मीठो नमानेर र्झकन्थ्यो । कहिले चिठी बाँड्न अरू अरू अड्डा-अफिसमा जानु पर्थ्यो । तर न उसले साइकल चढ्न जानेको थियो, न अड्डाहरू नै चिनेको थियो, न कोही उसलाई टेरेर चिठीपत्र नै चाँडै बुझिदिन्थ्यो । उसको अवस्था बुझने दयालुहरू कमै थिए ।
पिउनको पहिलो तलब पाएको साँझ उसलाई बाबुका तिनै जलामय आँखा याद आइरहेथे । ऊ त्यो रात उदास भएर भोकै सुतिदिएथ्यो । पर्सिपल्ट सबेरै उठेर कमीज-सुरुवालको भरमा जाडाले काम्दै ऊ आफ्ना बूढा बाबुलाई भेट्न घरतिर लागेथ्यो । दुम्सेको ओरालामा आइपुगेपछि ऊ उभिएथ्यो र त्यस फलाँटको फेदलाई हेरेथ्यो । मोती साहूकहाँबाट र्फकंदा पनि बूढा त्यहाँ अडेस लागेर बसेथे । त्यस दिन उनी उता पनि दुइ ठाउँमा बसिसकेका थिए- “पख्, यहाँ पनि एक छिन बसौँ ।” तब दुइ छाक पकाई बाँकी रहेको दुइ-तीन मुठी चामल, खुवाको खाली बट्टा, एक रुपियाँको जुलेबी र पाँचोटा बिस्कुट उसको झोलामा थिए । उनले त्यो जुलेबी झिक्न लगाएर कागजैमा तीन-तीनोटाको दुइ भाग छुट्टयाई एक भाग उसलाई “खा !” भनेथे । यसपटक त्यहाँ चौतारो चिनेको ढुङ्गामा बसेर उसले फलाँटको त्यस फेदलाई त्यसै हेरेनथ्यो । त्यहाँ त उसका बाबु उस दिन अडेस लागेका थिए र उनको आकार त्यहाँ अङ्कति छँदै थियो ।
बाबुको लागि ऊनी काने टोपी र काला मखमली जुत्ता, भाउजूको लागि चोलाको बुट्टा-बान्कीदार कपडा, बच्चाहरूको लागि बिस्कुट, चक्लेट उसको नयाँ झोलामा थिए । बाबु अलि जिङ्ग्राउन लागेका उसलाई थाहा थियो । यी दुइ-तीन महिनैमा उनका आँखा र कान मन्द भइसकेका थिए । उनी अब मानिसलाई कम चिन्थे- “को हँ… – ए, तँ पो आएको रहिछस् !” उनी कम सुन्थे र मुन्टो अघि सार्दै भन्थे- “के – ……के भनिस् -” उनको चेहरा फुङ्ग उड्दै गएको थियो । बिरामीको लागि अरू-अरूले बजारमा फलफुल किन्ने गरेको देखेको हुनाले तीन-तीनोटा अनार-सुन्तला पनि उसले झोलामा हालेको थियो । यी फलफुल आफ्नै हातले छोडाएर खान दिने उसको इच्छा थियो । ऊ कल्पनामा देखिरहेको थियो- ऊ फल छोडाउँदै दिइरहेछ, उनी खाइरहेछन् । तर उनलाई आफूले मात्र खाएर कहाँ चित्त बुझछ र ! एउटा थाल-सालमा राखेर ‘ए, तँ पनि आ न’, ‘ल, तँ पनि अलिकति खाएर जा न’ भन्दै घरभरिका मान्छेलाई एक-एक दुइ-दुइ कोसा, बाह्र-बाह्र पन्ध्र-पन्ध्र गेडा नबाँडी हुँदैन । छिमेकको अरू कोही पनि वर-पर भए ‘कान्छाले ल्याएको तँ पनि चाख् न’ भनेर उसको हातमा पनि हालिदिनैपर्छ ।
भाउजूका हातको चोलाको कपडा छाम्दै बूढा भनिरहेछन्- “राम्रै ल्याएछ हगि ठूली बुहारी -” त्यसको माने हुन्छ- ‘देख्यौ कि ठूली बुहारी – तिमी झर्को-फर्को गछर्र्यौ नि । कान्छो त असल मान्छे पो छ त । विचरालाई माया गर्दै गर । यसका भन्नु तिमीहरू नै त छौ अब । मेरो त जाने बेला भइगो । ऊ तिम्रो गुन बिर्संदैन । कमाउन सक्ने भएपछि तिमीहरूलाई पनि हेरिहाल्छ । ल हेर त, कति राम्रो चोलो ल्याइदिएछ तिम्रो लागि !’ उसकी भाउजू त्यो कपडाको चोलो लाएर पनेरातिर गइरहिछ । कोही तरुनी उसको चोलो कति राम्रो रहेछ भन्छे । तब भाउजूका आँखा आफ्नो जीउतिर लाग्छन्- “राम्रो छ हगि -….सानो बाबुले ल्याइदिनुभएको ।”
ऊ जर्याक्-जुरुक्क चौताराबाट उठेथ्यो र दौड्दै-फट्कँदै ओर्हालो लागेथ्यो । तल घुम्तीबाट उता लाग्दासाथ अनूरु एकलै आइरहेको देखिएथ्यो । बरु अनूरु उसलाई देखेर त्यहीँ टक्क उभिएथ्यो मानो अचानक कुनै दुश्मनलाई देख्नाले फर्केर दगुरूँ कि छेउ लागेर अघिल्तिर कुदूँजस्तो अनूरुलाई भइरहेथ्यो । विनायकरामले उसनेर नपुग्दै सोधेथ्यो- “कता हो अनूरु -“
“तँलाई नै लिन पठाएर आएको ।”
“किन हँ -” उसको मुटुले ढयाङ्ग्रो ठोकेथ्यो ।
“बिहान तेरो बा जानुभो !”
बिनायक रामको पाइलामनि भूइँ त थियो । तर दिशा टाढा टाढा पुगेजस्तो, आकाश झन् अकास्सिएजस्तो, संसारै खङ्ग्रङ्ग भएजस्तो लागेथ्यो । कति बेरपछि उसका पाइला सरे, उसलाई थाहा भएनथ्यो । ऊ हिँड्दै गएथ्यो, ओर्लंदै गएथ्यो । अनूरुको भनाइअनुसार उसका बा बिहानको पहार ताप्तै पिँढीमा अडेस लागेर बसिरहेका थिए । भाउजूले तल पाखाको धाराबाट पानी लिएर आएर नाति खेलाउन दिन जाँदा बाको मुन्टो पनि भित्तामा अडेस लागेर निहुरेको, आँखा हेरेको हेर्यै भएको देखिछन् रे । ऊ अनूरुको कुरो सुनिरहेको थियो कि थिएन कुन्नि । उसको छातीभित्र, उसको मगजमा कुनै बूढो प्राण निसास्सिन थालेथ्यो र उसले एक्कासि डाँको छोडेथ्यो- “मेरो बा !” उसको गाउँमा कोही शोकाकुल थिएन- उमेर पुगेको मान्छे कुनै व्यथै नलागी जीवनमुक्त भएको थियो । यतिखेर शव घाटमा लाने सरसल्लाह हुँदै थियो । विनायक राम भने उनको मुख हेर्न उति चाँडचाँडो हिँडिरहेको थिएन । शव कसैको नातादार हुँदैन । तर उसका बाबुको आत्मा अब उसको आत्मामा पसिसकेको, उसका पाइला-पाइलामा बसिसकेको थियो ।
बिनायक राम ह्वाँ-ह्वाँ रुँदै हिँडिरहेको थियो । उसको रोदन टाढा-टाढासम्मका मान्छेले सुनेथे । ठाउँ-ठाउँका बटुवा ऊ बलीन्द्रधारा रुँदै हिँडेको देखेर उभिएका उभियै भएथे । ऊ रुँदै गएथ्यो रुँदै, रुँदै, रुँदै ।
त्यसपछि बिनायक रामले धरधरी रोएको कहिल्यै कसैले देखेन । तर उसले जनताका शत्रुहरूलाई, मानिसका वैरीहरूलाई चिनिसकेको थियो । जब कहीँ अन्याय देखेर ऊ रिसले विह्वल हुन्थ्यो, मुरमुरिन्थ्यो, उसका आँखामा आँसु हुन्थे । उसका आँखामा आँसु देखेपछि मानिसहरूलाई डर लाग्न थाल्थ्यो । त्यतिखेर उसका शत्रुहरू पनि भयभीत हुन्थे ।
Kanchan Pudasaini
Address : Jorpati,ktm
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)