मनोवाद / स्वगत : साढे सातदेखि अढैयाको शनिसम्म

~कृष्ण प्रधान~

१. वास्तवमा सन् २००५ लागेदेखि वर्षभरि नै कहिले अढैया त कहिले साढेसातले छोइ नै रह्यो । आफूलाई (मीन राशीलाई) अढैया रहेछ, मार्च महिना अर्थात् २०६१ साल चैत ८ गते रातीको १२ बजे छोरा अर्पण (जेठो छोरा) बैंगलोरमा दुःखदायी मोटर दुर्घटनामा पर्‍यो । भाग्यैले मात्र बच्यो भन्नु पर्‍यो । आठ बाह्र पनि परेछ । २ लाख भन्दा बढी भारु हालेर खरीद गरेको मटिज कारको नामोनिसान रहेन । मैले त कार किन्न पटक्कै मन गरेको थिईंन । तर श्रीमती र छोरा मिलेर मैलाई समेत थाहा नदिइकन कार किनेछन् । मलाई त ६ महिना पछि पो चकित पारे । अहिलेसम्म पनि कार किन्दा राखेको बचत पत्र उकास्न सकिएको छैन । दशा लागेपछि यस्तै हुन्छ होला । कमाउने भाथ्यो छोरो, महिनाको २४ हजार भारुसम्म खाँदो रहेछ बैंगलोरमै । उसले जागिर खाएको पनि मलाई सरप्राइज नै दिएको थियो, कार किनेको पनि सरप्राइज नै भो र अन्त्यमा कारको नराम्रो दुर्घटना पनि मेरा लागि सरप्राइज नै भयो । कार किनेपछि इ-मेल गरेर कारको फोटो पठाएको थियो, कार किनेको कुरा declare भएपछि । दुवै छोराहरू बैंगलोरमै बस्ने । एउटा MBA सिद्धयाएर जागिर खाँदै रहेछ तर ६ महिना विति सक्दा पनि मलाई पर्ढाई अझै बाँकी छ भन्थ्यो । कहिले रिजल्ट नभएको कुरा गर्थ्यो त कहिले एक पेपर नै बाँकी पनि छ भन्थ्यो । आखिर कुरा अर्कै रहेछ । मैले ठानेको थिएँ MBA सकेपछि उसलाई काठमाडौं बोलाउने र कतै जागिर पाइ हालिन्छ ! किन भने उताको MBA भनेको यताको MBA जस्तो होइन भन्ने सोचाइमा म बाँचेको थिएँ । त्यसपछि एउटा जोडी बाँधिदिएर पूर्खाको बिडो थाम्ने परिकल्पनामा थिएँ । तर हुँदा हुँदै वर्षदिन बित्यो । तर ऊ आएन । वर्षदिन भएछ काम गर्न थालेको । वर्षदन पुगेपछि १ महिनाको विदामा काठमाडौं आउने कुरा गर्दैथियो । विदा पनि स्वीकृत गराइ सकेको रहेछ । तर दुर्भाग्यै हो, वर्षदिन पुगेकै दिन आफैंले हाँकिरहेको कार अचानक दुर्घटनामा पर्दा छोरो कसरी बाँचेछ त्यही कुरामा अहिले सबै अचम्ममा छन् । हुन पनि भगवानले नै हात थामेको लाग्यो । उसको पुनर्जन्मै भएको हो । आधा घण्टा मात्र अपरेशन गर्न ढिलाएको भए संभवतः आज म पुत्रवियोगले छटपर्टाईरहेको हुन्थें । हामीलाई त दुर्घटना भएको चौबीस घण्टा पछि मात्र पो थाह भयो – अर्को कान्छो छोरो नभएको भए संभवतः त्यो पनि थाहा पाउने थिइँन कि – तर बाँच्ने दिन भगवान्ले हात थापिदिनुभएछ । सत्य साइ बाबाको चार चार पटक दर्शन गर्न पाएको थिएँ, बाबालाई धेरै संझें । सायद बाबाले पो हात थापिदिनु भयो कि – भन्ने लाग्यो । पछि चिना देखाइयो, त्यो दिन त छोराको अन्त्य नै पो लेखेको रहेछ । बैंगलोरको एक गाउँ नजीक राजमार्ग मैसोर राजमार्गमा भएको त्यस दुर्घटनालाई सायद जिन्दगीमा भुल्न सक्दैन होला उसले र हामीले पनि । खर्च भैकन पनि जीवनको वरदान पाएकोमा मात्र साढेसातको दशालाई अपजस दिनु उचित हो होइन अहिले अन्यौलमा छु । तर जे नहुनु थियो त्यही भयो । अपाङ्ग भएन, कुनै हात गोडा भाँचिएनन् । दिमागी चोट परेन । मात्र स्टेरिङ्गले गर्दा Internal Injury भै splin (इस्प्लीन) फुट्यो र पेटको ठूलो अपरेशन गर्नु पर्‍यो । भाग्यले बच्यो । अहिले झट्ट हेर्दा उसलाई कसैले पनि दुर्घटनामा परेको भन्दैनन् । कारको स्थिति हेर्दा भने बाँच्ने परिकल्पनासम्म पनि गर्न सकिंदैन । आखिर मैले त त्यो कारको कच्याक कुच्चुक भएको अवस्थाको फोटो मात्र हेर्न पाएँ । हेर्न मनले मानेन । बल्ल तल्ल ६।७ हजारमा कवाडीलाई दिएर आइयो । दुर्घटनाको केश भएकाले पुलिसलाई पनि उल्टै नजराना नचढाई सुख पाइएन । त्यो भन्दा ठूलो दशा के हुनसक्छ – अढैयाको दुःखद उपलब्धि साँच्चीकै हुँदो रहेछ लाग्यो ।

२. सन् २००५ को शुरुमै दशाको चक्कर शुरु भएको थियो । इरानबाट फर्केपछि विजय भट्टर्राई काकतालीले गभर्नर बन्न पुगे । उनको तालुमा आलु फलेकै हो । गभर्नर चयनको राजनीतिले आखिर देउवा सरकारकै अपहरण पनि भो । राष्ट्र बैङ्ककै एकजना कनिष्टतम् विशिष्ट श्रेणीका व्यक्तिलाई समेत गभर्नर चयन समितिले सिफारिशमा पारेको थियो । सिफारिश समितिबाट देखिएको विवाद अन्त्यमा भट्टर्राईको चयन हुनासाथ भोलिपल्टै माघ १९ को राजनैतिक परिवर्तन भयो । भट्टर्राईको गभर्नर नियुक्ति के हुने हो को भयले उनी अनुहार खुम्च्याएर बसेका देखिन्थे । तर भाग्यले साथ दियो उनको गभर्नरपदलाई पछिल्लो सरकारले पत्र थमाएर पुष्टि गरिदियो । भट्टर्राई गभर्नर बनेपछि उनको डेपुटी गभर्नरको अवधि बाँकी नै थियो । कानून अनुसार त्यही बाँकी अवधिका लागि डेपुटी गर्भनर नियुक्तिका लागि गभर्नरले नै २ जनाको नाम सिफरिश गर्नुपर्ने व्यवस्था थियो । काकतालीले गर्दा हो वा उनीसँग समेत ४ वर्षराम्रोसित सर्म्पर्क र सान्निध्यमा रहेर काम गरेको परिणतिले हो अहिले मलाई दिग्भ्रम भैरहेछ यो लेख्ताका समयमा, उनले मेरो नाम पनि सिफारिश गरेछन् – रिटायर्ड हुनै लागेका लेखनाथ भुषालसित । तर उनले मलाई संकेत भने दिएनन् । मैले मित्र डा.विमल कोइराला त्यसताकाका मुख्य सचिवबाट त्यो कुरा थाहा पाएँ । त्यो थाहा पाएपछि मैले भट्टर्राईलाई भेटेर कृतज्ञता जाहेर गरें तर उनले आफूलाई केही थाहा नभएको कुरा गरेर जिब्रो चपाए । हुन पनि यस्तो कुरा मलाई कसरी थाहा भयो भन्नेमा उनलाई भ्रम परेको हुन सक्छ । विमल कोइरालाले मैले सकेको सहयोग गर्छु भनेका थिए । सिफारिश भएको थाहाभएपछि अर्थ मन्त्रालयका साथीहरूबाट कस्तो प्रकारको सिफारिश भएको सो ज्ञात समेत भयो । प्राथमिकताको क्रम विनै मध्ये एक भनेर उनले सिफारिश गरेका रहेछन् । त्यो वेलाका मन्त्रीहरू सबै नयाँ थिए । अर्थमन्त्री मधुकर शमसेरलाई मैले चिनेजानेका कमलमणि दीक्षितले मेरो बारेमा थप सिफारिश गरिदिएका पनि हुन् । टंक ढकाल, राधाकृष्ण मैनाली लगायत पुराना चिनजानका साथीलाई पनि कुरा राख्न पाएको थिएँ । आखिर अन्त्यमा मलाई पत्रिकावाजहरूले कट्टर काँग्रेसीको लेबल लगाइदिएर नौ महिनेको डेपुटी गभर्नरबाट पनि पन्छाउने षडयन्त्र रचेछन् । आखिर अढैयाको दशै चलिरहेको थियो । एकाएक भोलिपल्ट त भुषाल पो डेपुटी गभर्नर भएको खबर आगो झैं फैलियो । भाग्यै नभएको ठानें आफूलाई, सायद त्यो आफ्नो हातमा थिएन । दरबार भित्र आफ्नो कोही थिएनन्, यस्तै लाग्यो । चित्त बुझाएँ आफैंलाई । एक मनले ठिकै छ भनें । किनकि १४ महिना जागिर खानु बाँकी थियो, भै हालेछ भने नौ महिने डेपुटी गभर्नर किन नखाने, सिफारिशै भएपछि भन्ने हिसावले म पनि युद्धस्तरमा मंत्रीजीहरूको चाकडीमा लागेको पनि हो । त्यसै दौडाहाबाट गभर्नर भट्टर्राईको तालुमा आलु फलेको रहस्य पनि पत्ता लागेको थियो । डे.ग. नभएपनि मैले भट्टर्राईलाई सिफारिश गरेको बखत आभार व्यक्त गर्दा उनले भनेका थिए – तपाईंले कसरी थाहा पाउनु भयो, तपाईकै सिफरिश भएको छ भन्ने कुरा < त्यसवखत म सोझो मान्छेले यस कुराको मेसै पाएको रहेनछु । पछि भुषाल डे.ग. भएपछि पो दिग्भ्रम हट्यो । वास्तवमा त्यो वेला एउटा पेपरले काँग्रेसीको लेबल लगाएको बाहेक सबैले मेरो पक्षमा लेखेका पनि हुन्, भएन । अढइयाको लागो ठानें । चित्तै बुझाएँ । नौ महिनापछिकोमा बल गर्नु पर्छ भनी मैले धाएका केही मन्त्रीजीहरूबाट पनि आश्वासन पाए पछि नाक पनि नफुलाएको थिइँन । तर अहिले लोप्पा खाइएको देखेपछि त दशा माथि महादशाले पो घेर्दै छ कि भन्ने लागिरहेछ । यो अर्काले दिने चीज सँधै आफ्नो हातमा हुँदो रहेनछ । समय नै बलवान् रहेछ, लाग्यो ।

३. त्यतिमात्र होइन डे.ग.को चक्कर सकिएपछि राष्ट्र बैंकभित्र ‘३० वर्षको’ र ‘ २५ वर्षको’ राँके भूत जाग्न थाल्यो । अर्थात् अव VRS र CRS लगाएर कहिले २५ वर्षको त कहिले ३० वर्षको कानून लगाइ अर्थात् त्यति वर्षजागिर खाएकालाई निश्चित समयावधि (सात दिन) दिएर धपाउने । केही थप तलब दिएर । यस्तो आतंक आउदा आउँदै एक थरी सि.ए. भनाउँदाहरू २८ वर्षल्याउनु पर्ने लबीमा लागेका थिए । म पनि २८ वर्षको मै पर्थें । अव त भएन भनी हामी २८ वर्षकोहरूको नेतृत्व गर्दै भट्टजी र म पनि संचालक महोदयसित लविङ्ग गर्न थाल्यौ । ३० वर्षको नियम पहिले पनि थियो । वीचमा हटेको थियो । फेरि ल्याउँदा ठिकै हो भनियो । तर यो ताल न वेताल को २८ वर्षको नियम चाहिं कुन उपबुज्रुगको दिमागी उपज हो लागेको थियो । आखिर हाम्रो लविङ्गले पनि कामै गरेछ । २०६२ साउन १ देखि ३० ल्याइएछ । वास्तवमा कर्मचारीहरू सँधै पाँडे पजनीमा पर्नु नै पर्ने रहेछ लाग्यो । म जस्तो विशिष्टलाई त न ५८ न ३० नै लाग्ने । लाग्ने रहेछ सातको दशा । अर्थात् सात वर्षको कानून । तीनवटा अवरोधबाट जुन चाहिं पहिले आउँछ त्यो चै झँक्रीको शिकारी वाण लागेजस्तो लाग्ने रहेछ । विकसित देशमा जव जब पाको अर्थात् ५० नाघिन्छ ब्यूरोक्रेसीमा तव तव उस्को आवश्यकता ठानिन्छ । तर यहाँ कहिले ३० त कहिले सात वर्षको कहिले २५ वर्षको त कहिले २८ वर्षको नियमले पाँडे पजनी हुने गर्छ । यो पनि समयको चक्कर लाग्न थाल्यो । मानिसभन्दा त समय पो बलवान रहेछ । भुषाल जुँगामा ताउ लाएजस्तै गरी मलाई भन्दै थिए – “कस्तो मुस्किलले २८ लाई बचाइयो कृष्णबाबू !” मैले पनि भित्रभित्रै ठूलै माछा पारेछौ भनें । किनभने २८ नै ल्याइएको भए पनि मानिसहरू कति नै जान्थे र < दुइ जना डे.ग.को उमेद्वारको काँडा पन्छियो त्यो बाट । यो सबै समयकै खेल रहेछ भनेर चित्त बुझाएको थिएँ आफूलाई । जिन्दगी त सँधैको छैन भने जाबो जागिरमै झुण्डिरहनु पर्छ भन्ने पनि अडान लिनु उचित होइन तर मानिसलाई नमरी संसार देखिन्न भन्ने ब्रम्हज्ञान चाहिं बेलैमा हुँदो रहेनछ । अर्कालाई पर्दा र आफूलाई पर्दाको फरक मात्र भिन्न हुँदो रहेछ लाग्यो । यसलाई समयको खेल भनौं वा साढेसात वा अढइयाको उखेल भनौं ताक परे तिवारी नत्र गोतामे बन्नु चाहिं बढिया लाग्यो र त्यस्तैको जय विजय हुँदो रहेछ लाग्यो । अढइया भरखरै गएपनि मेरी श्रीमतीलाई साढेसातको दशाले भसक्कै छोइसकेको थियो । आखिर ३० वर्षको ल्याएर सात दिने VRS को म्याद गभर्नर भट्टर्राईको उदय कालमा आइनै छाड्यो । मैले पैसै सब चीज होइन भन्दै २०६२ मंसीर ४ को नौ महिने डे.ग. भुषालको म्यादलाई नै रोजें । आखिर त्यो पनि आफ्नो हातमा थिएन । थियो त मात्र आफ्नो कर्म सक्षमता माथि विश्वास र सिनियर हुनुको अलिकति गर्व । आखिर त्यसले पनि कुनै माखो मारेन । सिनियरीटीलाई त बागमतीमा ढल मिसाए जस्तै भयो । मैले आफ्नो अढैया समाप्त भए पनि परिवारभित्र अर्कोलाई साढेसातको शनि संकटाले घेरेको हुँदा संभवतः यसैको पनि पो चक्कर हो कि भनी चित्त बुझाएँ । यसपटक मलाई दोस्रो ब्रम्हज्ञान भयो । सिनियरिटीबाट हिडीरहेको ब्यूरोक्रेसी मात्र समयकालमा सँधै टिकिरहँदो रहेनछ लाग्यो । वास्तवमा सोझो औंलाले घीऊ आउँदैन रहेछ । मंसीर ४ मा खाली हुने भुषालको नौ महिने डे.ग. सिनियरीटीका नाताले गवर्नर भट्टर्राईसितै एकै दिन विशिष्ट भएकाहरूमा म र भट्ट (माधव प्रसाद भट्ट) बाँकी थियौं । यसै त विशिष्ट श्रेणी (कार्यकारी निर्देशक)ले सात वर्षको जागिरको समयावधिमा बाँधिनु नै छ । भएन भट्टर्राई पनि बैंकभित्रकै कर्मचारीबाट उठेका इमान्दार र एउटै लटका (एकै दिनको बढूवा) विशिष्ट भएको नाताबाट यति तल झरेर हरेक दृष्टिले जुनियर व्यक्तिलाई डे.ग. मा सिफारिस गर्लान् भनेर सपनामा पनि चिताएको थिएन । किनभने साधारणतया ब्यूरोक्रेसीमा त्यस्तो हुँदैन पनि । तर यस पटक अचम्मै भयो, अचम्मै हुँदो पनि रहेछ । यसैले यो अर्काले दिने चीज भनेको सँधै आफ्नो हातमा हुदो रहेनछ । यही ब्रहृमज्ञान भयो । तर दिग्भ्रम चाहिं सँधै रहीरह्यो कि सिफारिशसम्मगर्न सक्नेले दिनै नसके पनि, यस पटकको सिफारिशमा दुवै जना जुनियर परेको देख्ता भने यो समय नै बलवान रहेछ भनेर चित्त बुझाउनु परेको छ । यस पटक कहाँ धाइएन – दरवारीया सचिवहरूको चाकरीमा पनि चार चार जनासम्म पुगिएछ । आखिर ब्यर्थै रह्यो त्यो चाकडी पनि । सिनियर भएको नाताले भट्ट र मेरो नाम भट्टर्राईले पक्कै सिफारिश गर्लान् भन्ने पनि ठूलो आत्म विश्वास थियो । दुइ मध्ये कुनै एकलाई मंत्री परिषदले रोज्ने भएको हुँदा त्यसलाई आ-आफ्नै भाग्यको उपलब्धि हुने ठानेको थिएँ । तर त्यो सोम शर्माको कथा मात्र रहेछ । अहिले सिनियरिटीको कुरै उठेन । के यो साढेसात र अढैयाकै खेल हो त < मैले यस दिग्भ्रमको उत्तर कसै गरेर पनि पाउन सकेको छैन । पहिलेको दौडधूपको तुलना र अनुभवबाट यसपटक दरवार नजीकको शक्ति केन्द्रतर्फखुबै पहल भएको थियो । तर त्यसले पनि काम गर्दो रहेनछ । यस्ता कुरामा दलालहरू पनि खुबै आएका थिए । तर म आफ्नो कार्यक्षमता, योग्यता, र वरिष्ट वरीयतामा विश्वास भएको मान्छे भएकाले र दलालहरूले मागेजस्तो धनको पोको थुपार्न सक्ने व्यक्ति पनि नभएकाले ती दलालहरूलाई मैले टेर पुच्छरै लाईंन । पैसा दिएर चाहिं डे.ग. हुन सक्दिनँ, ठाडै भनिदिएँ ।

४. सन् २००५ भरि नै कुनै न कुनै रूपका दुःखदायी क्षणहरू अढैया र साढेसातले ल्याइ नै रहे । कहिले सवारी दुर्घटना त कहिले धनको नाश, कहिले प्रोमोशनमा अवरोध त कहिले घरायसी झै झगडा यस्तै रह्यो यस सालभरि । चिना त न देखाइएको होइन । तर त्यो पनि एक थरी ज्योतिषीलाई मात्र नभएर थरी थरीका ज्योतिषीलाई । दुइ चार हजार त सायद तिनै ज्योतिषी बाजेका दक्षिणामा सिद्धिए होलान् । एउटाले बूटी बाँध्नु पर्छ पनि भन्यो । मेरी श्रीमतीको ढिपीका कारण आखिर त्यो बूटी नबाँधी मैले सुखै पाइन । कहिले खोल्न नमिल्ने त्यो बूटी आफूलाई भने घाँडो जस्तै भएको थियो । तै साढेसातको प्रताप रहेकोले होला आखिर त्यस बूटीलाई एक दिन टुक्रा टुक्रा पारेर घुर्‍यानमा फालिदिएँ । ठगहरू पनि अनेक हुन्छन् । चाँदीको खोलमा बुटी भरिएको भन्थ्यो १५ दिनमै चाँदीको टलक गएको देख्दा मैले त त्यतिबेलै त्यस बुटीको करामत माथि शंका गरेको हो । तर मेरी श्रीमतीले मानिनन् । आखिर यता पनि नहुँदा उता पनि नहुँदा त्यसले घुर्‍यानको बास बस्नु परेको हो । यस्ता जन्तर मन्तरमा विश्वास नगर्नु नै उत्तम हो, थप ब्रह्मज्ञान मिलेको छ । मानसिक त्रास र कमजोरी देखाइदिएर यस्ता जन्तर मन्तरेहरूले ठगि खाने भाँडो मात्र बनाएका हुँदो रहेछन् , लाग्यो । अचेल मेरी श्रीमती पनि ज्योतिषी भने पछि अलिक नाक खुम्च्याउन थालेकी छिन् । ज्योतिषी देखाएर मात्र कहाँ भर हुँदो रहेछ < उसले एउटा न एउटा दोष देखाइहाल्ने र त्यस्तो दोषबाट मुक्तिका लागि कुनै न कुनै उपचार विधिका लागि प्रोत्साहित भन्दा त्रसित बनाइहाल्ने । आखिर डाक्टर र ज्योतिषी एकै सिक्काका दुइ पाटा जस्तो लाग्यो । अचेलका डाक्टर पनि देखाउन पाएको छैन हर प्रकारको परीक्षण र औषधिको झोलै बोकाइहाल्ने हुन थालेका छन् भने ज्योतिषी बाजेहरू पनि कहिले नारायण बूटी भिर्ने त कहिले जप तप र दान दक्षिणा गरे शुद्धि पाइने जस्ता प्रेस्कृपसन् दिइ हाल्छन् । दुइ चार हजारले पनि नपुग्ने ! फरक यति रहेछ डाक्टरको औषधि नकिन्दा र उसले भनेका उपचार नगर्दा भौतिक डर हुने । ज्योतिषीको कुण्डली नमिल्दा भने मानसिक त्रास बढी हुने रहेछ । तर नेपालमा यी दुवै थरीले आफ्ना पेशाचाहींबाट राम्ररी नै आम्दानी गर्दा रहेछन् । यस्तो ब्रह्मज्ञान भने यस पटकको चक्करले गराइ छाड्यो मलाई ।

५. हुँदा हुँदा यस वर्ष यस अढैयाका प्रतापले दक्षिण भारतको शनिश्चर मन्दिरसम्म पनि जाने मौका जुराइदियो । भ्रमण योग भएको त राम्रै हो । सम्भवतः यस्ता अढैया र साढेसातका दशाग्रहले सेवाग्राहीलाई केही केही त फाईदा पनि दिंदा हुन् । मलाई पनि त्यस्तै भैदिएको छ , यो वर्षभरिनै बाउन्न ठक्कर खाइए पनि यस वर्षको भ्रमण योग भने निक्कै राम्रो रह्यो । भारतको पूणे शहर समेत गर्दा पाँच पटकको विदेश यात्रा गर्ने मौका मिलेछ यस वर्ष। तर सबै यात्रा साह्रै छोटो अवधिका थिए कुनै एक दिने बैठक, कुनै तीन दिने गोष्ठी त कुनै दुइ दिने सेमिनार । ती पाँच मध्ये २ वटा भ्रमण भने आयोजक संस्थाका उपहार थिए, अर्थात आफू काम गर्ने संस्थाले एक पैसा पनि बेहोर्नु परेको थिएन । एशियाली विकास बोर्ड मनिलाले लघुवित्त सप्ताह (Micro finance week) को सन्दर्भमा २ दिन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो मार्च २००५ मा । मनिलामा पुगेको थिएँ उसकै खर्चमा । आतेजाते खर्च देखि लिएर खान बस्न सवै उसैले भनेका ठाउँ र भने बमोजिम नै उपलब्ध भएकाले यस अघिजस्तो बैंकबाट पाइने फुटकर खर्च र मनोरञ्जन खर्च समेतको घाटा बेहोर्नु परेको थियो । किनभने आयोजक संस्थाले खर्च वर्च बेहोर्ने गरी विदेशिंदा यस अघि बैंकबाट २।४ सय डलर पकेट खर्च मिल्थ्यो । तर मेरै पालामा नियम परिवर्तन भएको देख्दा त्यो चाहिं अढैयाकै प्रताप लाग्यो । दुइ दुइ पटक पुगिसकेको ठाउँ (मनिला) मा तेस्रो पटक जाँदा खासै मजा लाग्दो रहेनछ पनि, त्यसमाथि पाँचै दिनमा स्वदेश फर्कनुपर्दा यात्राको उस्तो मजा पनि लिन नसकिदो रहेछ । आफू लघु वित्त क्षेत्रको पारखी भएकाले यात्राको मजा नमिले पनि वास्तवमा म आफू भने त्यस सेमिनारबाट – सेमिनारको बौद्धिकताबाट निकै नै लाभान्वित भएको थिएँ । त्यसको लगत्तै अर्थात् मे २००५ को शुरुमै विश्ववैंकको निम्तो र उसैको खर्चमा नेपालकै प्रतिनिधित्व गर्दै अर्थ मन्त्रालयका सह-सचिव कृष्ण ज्ञवालीजी र मलाई जेनेभा UNDP को २ दिने अन्तर्राष्ट्रिय सम्मलेनमा सहभागी हुने मौका मिल्यो । तर समयाभावका कारण खर्चवर्च र टिकट यात्रा गर्नु अघि आउन नसकेकाले ऋण सापटै लिएर पनि जेनेभा स्वीजरल्याण्ड उडियो । किनभने त्यो देशको नाम सुन्नासाथ म स्वर्गको कल्पना गर्थें । रहेछ पनि स्वर्गै जस्तो सुन्दर । तर सम्मेलन सकिएर तीन तीन महिनासम्म पैसा रिफण्ड नआउँदा भने मन साह्रै खिन्न पनि भएको थियो । तर ढिलै भए पनि छोरै भएछ । पैसा झण्डै चार महिनापछि खातामा जम्मा भयो र मैले राहतको लामो सास फेरें । नत्र त पटकौं ताकेता गर्दा पनि तीन महिनासम्म पैसा नआउँदा भने कुन चाहिं ठगको फन्दामा परिएछ जस्तो लागेको पनि थियो । तर ज्ञवालीजी को भने २ महिनाभित्रैमा आएको थियो, त्यसैले मेरो पनि कसो नआउला र भनेर चित्त बुझाउँथें । यता टिकटवाला ट्रेभल एजेण्टहरू दिनहुँ पैसाको ताकेता गर्थे भने सरसापटी दिएकाहरूको त कुरै भएन । ऋणम् कृत्वा घृतम् पिवेत् जस्तै गरेर स्वीजरल्याण्ड लागिएको थियो । बडा रमाइलो भएथ्यो त्यो यात्रा पनि । त्यहाँ २ दिन थप विदा लिएर त्यस देशको सौन्दर्यलाई ज्ञवालीजी र मैले चुम्ने मौका पाएका थियौं । अहिले सपना जस्तो लाग्छ । कुनै दिन समय मिलेछ भने नियात्रामा ती क्षणलाई बुनौंला । झण्डै तीनहजार डलरको चक्कर थियो त्यो । पैसो नआइदिएको भए मैले घरखेत बेचेरै भएपनि तिर्नु पर्थ्यो । हुन पनि टिकटको पैसो चाहिं मैले १५ दिनपछि संचयकोष निकालेरै तिरेको थिएँ । कस्तोसम्म पनि भयो भने कतै पैसा आइदिएन भने आफू त्यहाँ गएका प्रमाणहरू कहाँ पेश गर्ने < धन्न तेस्तो केही भैदिएन, UNDP का मानिसहरू वचनका पक्कै रहेछन् । मैले UNDP को स्थानीय कार्यालयमा यसबारे Follow-up पनि गरेको थिएँ । राम्रै भएछ । सबैले सहयोग गरे । संभवतः त्यस्तो हुनमा पनि अढैयाकै चक्कर हुनुपर्छ; अहिले झल्यास्स संझन्छु । जे होस् मंहगै भएपनि पृथ्वीको स्वर्ग भनेर चिनिने र नेपाल जस्तै स्वीजरल्याण्डमा टेक्ने मौका पाउनु मेरा लागि तीन हजार डलरको मूल्य भन्दा महान् थियो । फेरि त्यहाँ आफ्नै खर्चमा कहिले पुगिएला र < थोरै दिनको यात्रा भए पनि जेनेभा, स्वीजरल्याण्डको रमाइलो बसाई अविस्मरणीय नै रह्यो र अढैयाको सुखदायी प्रतापकै उपलब्धिको रूपमा लिएको पनि छु । त्यसपछि अप्राकाको नियमित वैठक र साधारण सभाको लागि बैंकक थाइल्याण्ड र तत् पश्चात् म्यानमार (वर्मा) को भ्रमण यस वर्षमा अढैया र साढेसातकै प्रताप भित्रका ठानेको छु । खासगरी, बैंकक त पानी पधेरै हो नेपालीहरूका लागि । तर म्यानमार भन्ने मुलुक सित्तिमित्ति पुग्न नपाइने भएकाले त्यसलाई उपलब्धि नै ठानें, तर बसाई चार दिनको मात्र थियो । म्यानमार बसाईंका रमाइला /नरमाइला नियात्रालाई ‘कृष्णा गल्ली देखि स्वेदागन प्यागोडासम्म’मा बेग्लै उतार्ने कोशिश गरेको छु । हेरौं समयले कतिको साथ दिन्छ । यस वर्षको सम्भवतः जागिरकै अन्तिम भ्रमण भने एप्राका (APRACA) को पचासौं बैठक र कृषि तथा ग्रामीण वित्त सम्बन्धी विश्व कांग्रेसको सम्मेलनका सिलसिलामा अफ्रिका महादेशको इथोपिया र प्राचीन सभ्यताले चिनिएको रोम शहर इटलीको भ्रमण गर्ने योग पनि पर्‍यो । वास्तवमा अढैया र साढेसातको दशाको चक्करले वर्षभरि नै २००५ लाई मेरो जीवनकै वैदेशिक यात्रामय जीवन पनि बनाइ दिएको रहेछ । एकपटक त कृष्ण ज्ञवालीसित जेनेभामा जोक पनि गरिएको थियो । ‘यति लामो यात्रामा आइएको छ । कतै प्लेन नै दुर्घटनामा पर्न गयो भने त संभावित डे.ग. को लागि एउटा उमेद्वार नै पो घट्ने हुन्छ ।’ हुनत त्यस्तो दुर्घटना त केही भएन । तर देशबाट धेरै टाढा टाढाको यात्रामा निस्कदा भने यस्ता परिकल्पनाका तरङ्गहरू उठिरहँदा रहेछन् । हुनपनि बैंककबाट जुरीचसम्म लगातार Non stop flight मा १४ घण्टा, जेनेभा जुरीच अर्को डेढ घण्टा आतेजाते र वीचको ट्रान्जिटको समय जोड्दा यात्राले नै अधिकांश समय खाइदिदो रहेछ । काठमाडौं बैंककको अर्को तीन तीन घण्टा समेत जोड्दा त हैरानै हुइदो रहेछ । यस्तो बेला च्ब् ले काठमाण्डूबाट सोझै यूरोपको रुटमा उडान संचालन गर्दो हो त बैंककसम्म पटक पटक गैराख्नु नपर्ने हुन्थ्यो । तर RA को कुरा गर्दा खोइ के नमिलेको नमिलेको लाग्छ । अरुका मान बढ्दैजान्छन् RA का घट्तै जान्छन् । फरक त्यति मात्र रहेछ । अचेल RA ले यूरोपको रुट हटाएपछि त बैंकक नगई सुखै नपाइने रहेछ, भरपर्दो यात्राका लागि ।

६. लाग्छ, अब मेरो अढैया पनि सकिएको छ । जागिरका अन्तिम दिन गन्दै बस्नु पर्ने समय पनि पो आउदो रहेछ । किनभने २०३४ सालमा जागिरमा प्रवेश गर्दा पिताजीसित पेन्सनको कुरा गरेको थिएँ । बीस वर्षपछि पेन्सन पाइन्छ भन्दा पिताजी त्यो बेला निकै खुशी देखिनुहुन्थ्यो । तर मेरो दुर्भाग्य अहिले पेन्सन पट्टा पाउने बेलामा मैले पिताजीलाई ती कुरा भन्नै पाइन । वहाँको स्वर्गे हुँदा मेरो बीस वर्ष पुगेको थिएन । हुदा हुँदा सात वर्षको कार्यकाल पनि कति छिटो पो बितिसकेछ । समय अव मात्र दिनहरूमा झरेछ । हिजोसम्म अब यति वर्ष बाँकी छ भन्ने गर्थें । अब त यति दिन बाँकी छ भन्नु पर्ने समय पो आइसकेछ । साँच्चै यो जीवनकै दिन गन्न पाइए कस्तो हुन्थ्यो होला <

७. आफैंलाई चित्त बुझाउँछु । जिन्दगी त सधैंलाई छैन भने जाबो जागिरको समय जिन्दगी भन्दा माथि पक्कै नहोला । तर यत्ति हो जिन्दगीका महत्वपूर्ण क्षण जागिरले खाइदिएपछि अचानक अवकाशको जीवनलाई गन्नुपर्दा भने निकै पीडा हुँदो रहेछ । साँच्चै केही हराए जस्तो, केही बिर्सेजस्तो । कहाँ कतै केही छोडेजस्तो ! अढैया र साढेसात आए पनि नआए पनि यो सात वर्षको जागिरेको अन्तिम दिन त यसै पनि आउँथ्यो, उसै पनि आउँथ्यो, त्यसको ब्रह्मज्ञान चैं भएनछ ।

२०६२ माघ ७
#Monologue

(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.