कविता : शहीद र पातहरू

~चन्द्र गुरुङ्ग~

जब जब
जन्मभूमिका अङ्ग-प्रत्यङ्गलाई
नोच्न थाल्छन् क्रूर नङ्ग्राहरूले र
आमाको निर्दोष शरीरमाथि
ताण्डव नृत्य गर्छन् अन्धा पाइतालाहरूले
तब तब
असंख्य सपूतहरू
अन्धकारको विरोधमा राँको बनेर बल्दै
आफूलाई समाप्त पार्न तयार रहन्छन् र
आमाको घायल शरीरलाई
आफ्नो रगत दिन पनि पछि पर्दैनन्
जस प्रकार
शिशिरको निर्मम अत्याचार र
कठोर क्रूरतासंग जुध्दै
पातहरू मृत्युलाई अंगाल्न पछि पर्दैनन् र
आफ्नो जीवनलाई
माटोमा समाहित गर्न पुग्छन्
जब जब
अन्धकारको विरुद्घ लड्दै
मृत्युवरण गरेका सपूतहरू र
शिशिरको अत्याचारका विरुद्घ
आफ्नो ज्यान दिने पातहरू
माटोमा मिल्न जान्छन्
तब तब
धर्ती माथि फेरि
यिनको रगतले पोषित भएर
नयाँ-नयाँ सुन्दर फूलहरू फुल्दछन्
र यी फूलहरूको सुगन्धले
उमंग फैलन्छ युगको मुटुभरि

Chandra Singh Gurung
Address : Gorkha

(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.