समीक्षा : नेपाली साहित्य र व्यवसायिकताको खाँचो

~बिपिन शर्मा~

वर्तमान विश्वमा हरेक विषयवस्तुले आफ्नो अस्तित्व रक्षागर्न र आफ्नो वर्चस्व कायम राख्न ब्यावसायिक बन्न जरुरी छ। हामीकहाँ ब्यावसयिक शब्दलाई यसको वास्तविक अर्थभन्दा भिन्नैगरी बुझ्नेगरेको पाइन्छ। अर्थात ब्यावसायिक भन्नासाथ नाफा आर्जनका लागि मात्र गरिने कार्य भन्ने भ्रम पर्नेगर्छ। ब्यावसायिकता (professionalism) लाई सर्वप्रथम त बृहत अवधारणावाट सोच्नु जरुरीछ। कुनैपनि क्षेत्रले आफ्नो विकास र विस्तारको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न आफैं सक्षम हुने ब्यवस्था मिलाउनुलाई नै व्यवसायिकता भनेर बुझ्न सकिन्छ।

प्रसङ्गलाई साहित्य क्षेत्रमै केन्द्रित गरौं। सर्वप्रथम त यस क्षेत्रलाई ब्यावसायिक बनाउन साहित्यिक क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने श्रष्टाहरुले यसैलाई आफ्नो पेशाको रुपमा अपनाउन सक्ने अवस्था बन्नु जरुरी छ। तर हामीकहाँ साहित्य पेशाको रुपमा अपनाइएको पाइँदैन। यो अलग कुरा हो कि एकजना लेखकले जीवन यापन गर्ने उद्धेश्यले वा आर्थिक लाभको उद्धेश्यले लेख्नु सम्भव छैन र यो उद्धेश्यमात्र लिएर लेखियो भने यसमा विकृतिहरु पनि आउन सक्छन्। हामीले देखिराखेको छौं अहिलेका कतिपय चल्तिका म्यागजिनहरु ग्लामर, नग्नता र पोर्नोग्राफी तिर केन्द्रित छन् । नेपालमा (शहरी क्षेत्रमा विशेष) बिदेशी ग्लामरस म्यागजिनहरुको प्रभुत्व हुनु र सस्ता यौन साहित्यहरुको माग हुनु आदि जस्ता कुरालाई व्यवसायिकता भन्दा पनि नाफामुखी मात्र भन्न सकिन्छ। गजलकार ज्ञानुवाकर पौडेल भन्नुहुन्छ- “पाठकको मागलाई शालीन बनाउने जिम्मेवारी धेरैहदसम्म लेखकको पनि हुन्छ। पाठकको रुचिलाई परिवर्तन गर्नसक्ने क्षमता कुशल लेखकमा हुन्छ”। हामीकहाँ त्यो स्तरका लेखकहरुको कमि छैन पनि। तर कुरा यति हो पाठकहरुलाई दिन आवश्यक खुराक लेखकबाट पाठक सम्म पुर्‍याइदिने जिम्मेवारी कसको ?

एउटा प्रसङ्गमा नाटककार डा अभिसुवेदि को विचारलाई हेरौं:
नाटक अग्निको कथा मञ्चन गर्ने क्रममा विदेश जाँदा एक विदेशी साहित्य अनुरागी महिलाले उहाँसँग सोधिन् “अग्निको कथा लेख्ने नाटककार मरेको कति वर्ष भयो?” त्यसमा उहँको जवाफ यस्तो थियो “रेलाँ बार्थले लेखकको मृत्यु भन्ने निवन्ध लेखेकै दिन मरेका हुन् यस नाटकका लेखक।” आसय हो जव लेखकले लेखिसक्छ त्यसमाथि उसको अधिकार सकिन्छ। यसरी हेर्दा लेखकले लेखेका कुरालाई पाठक सम्म पुर्‍याउन र त्यसको महत्व उजिल्याउन एउटा दह्रो सम्यन्त्रको खाँचो छ। यो सम्यन्त्र कुनै भौतिक अस्तित्वमा स्थापित हुने नभएर विभिन्न क्षेत्रका, पेशाका वा ब्यावसायका मानिस भित्र साहित्यिक चेतना जागृत हुनु आवश्यक छ। एउटा गलत सोच हामी पाउँछौं कि साहित्यमा रुचि केवल साहित्यकारको मात्र हुन्छ र हुनुपर्छ। तर साहित्य जीवनका हरेक पक्षसँग सम्वद्ध र सम्वन्धित विषय हो। आज हामी कहाँ साहित्य अनुरागीहरुको खाँचो छ। सचेत पाठकहरुको खाँचो छ र सोचाइमा समृद्धीको खाँचो छ। यदि यो खाँचोलाई पूरा गर्न सकियो भने हालसम्म ओझेल परेका (ब्यावसायिक कारणले पर्याप्त रुपमा वाहिर आउन नसेकेका) स्तरीय सृजनाहरुले आफ्नो वास्तविक विशिष्टता हासिल गर्न सक्छन् भने आउँदो दिनमा अझ स्तरीय सृजना हुनसक्छ।

साहित्य क्षेत्रको उत्थानको लागि सर्वप्रथ पुस्तकहरुको विक्री प्रवर्द्धनलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ। किनकि यस क्षेत्रलाई ब्यावसायिक बनाउन वा सहित्यलाई पेशाको रुपमा अँगाल्न सकिने बनाउनको लागि आर्थिक सवलता जरुरी छ । यदि उचित व्यवस्थापन र कुशल प्रवर्द्धनात्मक उपायहरुलाई अवलम्वन गर्नसके यो असम्भव भने छैन। यतिकै पनि हेर्दा नेपाली पुस्तकहरुको मूल्य विदेशी पुस्तकको भन्दा धेरै न्यून पाइन्छ र नेपाली साहित्यमा स्तरियता छैन भन्न पनि सकिन्न।

किन विक्रि हुँदैन त नेपाली साहित्यिक कितावहरु? यसबारेमा धेरै साहित्यकारहरुको एउटै विचार छ “प्रवर्द्धनको खाँचो” । नेपालमा निजी क्षेत्रवाट पनि धेरै कितावहरु प्रकाशित हुनेक्रम त भर्खर मात्र सुरुवात हुँदैछ। पहिले पहिलेका स्तरीय साहित्य र स्थापित लेखकहरुका कृतिहरु छाप्ने काम साझा प्रकाशन वा प्रज्ञाप्रतिष्ठानले गरेका छन् भने साझा प्रकाशननै नेपाली साहित्यको प्रमुख विक्रेताको रुपमा रहेको छ। तर पुस्तक विक्रिको लागि साझा प्रकाशनले कति सम्म प्रयास गर्दै छ त ? यसमा सवैले चासो राख्नु आवश्यक छ। प्राय सवै लेखकहरु साझा प्रकाशन गैह्र जिम्मेवार भएको आरोप लगाउँछन् र यो आरोप धेरै हदसम्म सही नै लाग्छ। लेखक मात्र होइन पाठकहरुको पनि आफूले चाहेको किताव किन्न नपाएको  गुनासो प्रसस्तै सुन्न पाइन्छ। जुन किताव पाठकले चाहेर पनि बजारमा किन्न पाइरहेको छैन त्यही किताव वर्षौं सम्म विक्री नभएको भनेर लेखकलाई फिर्ता गरिने तीतो यथार्थ व्यक्त गर्नुहुन्छ साहित्यकार मदनमणि दिक्षीत। पाठक र लेखक दुवै पक्षले साझा प्रकासनलाई जिम्मेवार हुनु सल्लाह दिन्छन्।

साहित्य जीवनका समग्र पक्षसँग सम्वन्धित हुनेभएकोले यसले सवै क्षेत्रलाई प्रभाव पारेको र प्रभावित भएको हुन्छ। कलाका हरेक विधासँग पनि यसको अन्योन्यास्रित सम्वन्ध रहेकोहुन्छ- जस्तो कि चलचित्र, रंगमञ्च, चित्रकला वा अरु कुनैपनि कलाको विषय। अहिले नेपाली चलचित्र फाँटलाई हेर्ने हो भने यो ब्यावसायिकताको लागि संघर्षरत छ तर चलचित्रहरुमा हुनुपर्ने जति साहित्यको प्रभाव भने छैन। वास्तवमा चलचित्र भनेकोनै शव्दहरुलाई दृश्यमा उतार्नु हो वा कथालाई जीवन दिनु हो। त्यसैले यो साहित्यको एउटा पाटो पनि हो। लोकप्रिय नेपाली साहित्यहरुलाई नै कुशलतापूर्वक चलचित्रको रुपमा प्रस्तुत गर्न सकेदेखि यी दुवै क्षेत्रको समानान्तर रुपले विकास हुनसक्ने सम्भावना छ। यस कार्यमा केही समस्याहरु त अवश्य पनि छन्। लेखिएको कुनै कथालाई दृश्यमा उतार्दा त्यसको सारतत्व मुख्य भाव देखिन जरुरी छ र यस कुरामा साहित्य र चलचित्र दुवै सम्वन्धि ज्ञान भएको जनशक्तिको आवश्यकता पर्दछ। यस सन्दर्भमा साहित्यकारहरुलाई फिल्मको स्क्रिप्ट लेखन बारे र  दृष्य निर्माणका सन्दर्भमा आवश्यक तालिम दिनुपर्ने हास्य कलाकार मदनकृष्ण श्रेष्ठको राय छ। हाल टेलिचलचित्रनिर्माणमा सम्लग्न रहनुभएका साहित्यकार लक्ष्मण गाम्नागे पनि यो कुरालाई स्विकार्नुहुन्छ।

नेपालमा २०४६ साल पछि प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका कारणले साहित्यले केहि ब्यावसायिकता हासिलगरेको भानहुन्छ। पत्रपत्रिकाहरुको संख्या र गुणस्तरमा वृद्धिहुनु अथवा पत्रकारिताले धेरै हदसम्म ब्यावसायिकता हासिल गर्नसक्नुले यसो हुनसकेको हो। यसै सन्दर्भमा अहिले लेखेर मात्र पनि जीवनयापनगर्न सम्भव भएको र यसलाई प्रजातन्त्रको उपलव्धिनै मान्नुपर्ने साहित्यकार विमल भौकाजीको विचार छ। तर साहित्यको नाममा राजनीतिक घटनाक्रमको विवरण मात्र लेख्ने र पुर्वाग्रही बनेर कुनै व्यक्ति वा समुहलाई प्रत्यक्ष औंल्याएर लेख्ने प्रवृति बढ्नु विकृत पक्ष भएको उहाँ बताउनुहुन्छ। वास्तवमै साहित्यकारहरुले व्यक्तिगत फाइदालाई हेरेर कुनै व्यक्ति वा समुहप्रति लक्षित गरेर लेख्नु भन्दा साहित्यलाई एउटा मर्यादित पेशाको रुपमा स्थापित गर्ने तिर जोड दिनु उचित होला।

रंगमञ्चको उत्थान र विकासका लागि साधन र स्रोतको भन्दा समृद्ध सोचको अभाव टड्कारो रहेको बताउने निर्देशक सुनिल पोख्रेलको कुरा साहित्यिक क्षेत्रमा पनि मेल खाने देखिन्छ। समाजका हरेक वर्ग वा पेशाका मानिसको आफ्नै अस्तित्व हुन्छ आफ्नै भूमिका हुन्छ र ती परस्परमा सहयोगी बनेमात्र समग्र क्षेत्रको विकास सम्भव छ। तर अरु वर्ग वा पेशाको अस्तित्वलाई स्विकार नगर्ने प्रवृति यहाँ प्राय: सवै तिर देखिन्छ र साहित्य क्षेत्र पनि यस रोगवाट ग्रस्त छ। यसलाई वौद्धिक दरिद्रताको संज्ञा दिंदै साहित्य कसैको पेवा नभएर सवैको खुला क्षेत्र भएको वताउनुहुन्छ हास्यकवि चट्याङ्गमास्टर।

समग्रमा साहित्यलाई ब्यावसायिक बनाउन साहित्यकारहरुले स्तरिय सृजनाहरु गर्नुपर्ने साहित्यिक पत्रकारितालाई अझ शशक्त बनाएर जनसाधारणमा साहित्यिक चेतना जगाउनुपर्ने र हरेक क्षेत्रका मानिसहरुमा साहित्यको प्रभावबारेमा जागरण अभियान थालिनु पर्ने देखिन्छ। साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान लगायत राज्यपक्ष बाट पनि साहित्यकारहरुलाई गहनाको विशेषण जडेर बन्द सेफ भित्र थन्क्याउने किसिमको काम गर्न भन्दा उनीहरुलाई सर्वत्र छाउनसक्ने वातावरण बनाउने तिर लाग्नु जरुरी छ।

(स्रोत: तन्नेरी डट कम – Issue 12 – Mangsir, 2062)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.