लघुकथा : मगर्नीको खुट्टामा मार्क्सवादको स्टील

~दिल थापा~

कमरेड योजकको भाषणले मेरो निन्द्रा हराम गरिदिएको थियो । त्यो दिनदेखि म पनि माओवादीमा हिड्छु भन्ने निर्णय गरे। स्कूल पोशाकमा नै भूमिगत भएँ । भूमिगत जीवनलाई त्यागेर सामान्य जीवनमा फर्केको यति लामो समयपछि मेरो जिन्दगीले मेरै जिन्दगीको निन्द्रा हराम गरिदिएको छ। ओछ्‌यानलाई रात कटाउन गाह्रो छ। आंखालाई निन्द्रा पचाउन साह्रो छ। जब शरीर र मनलाई शुन्यमा राखेर बस्छु । शरीर र मनलाई थोरै भएपनि सजिलो मिल्छ । म केही पनि होइन भनेर बद्धध्यानमग्न हुन्छु तर मेरो खुट्टाको मार्क्सवाद स्टीलले मलाई दुखाउछ । पीडा दिन्छ ।अनि मपनि पुर्वमाओवादी पो हुँ भन्ने मनोवैज्ञानिक तरङ्ग मनमा पठाईदिन्छ । साँच्चै म आजकाल मेरो घरको आँगनमा रोदीघर बनाउन गाडिएको खाबोको दोबहरुलाई खोज्दै सोच्ने गर्छु। माध्यामिक तह पढ्दा रोदीघरको चार किल्लामा कौराहा र झ्याउरे गीतहरुमा l माओवादीमा हिडेपछि जनवादी गीतहरुमा नाच्ने मेरो सक्कली खुट्टाहरु कार्ल मार्क्सहरु सत्तामा बस्ने शक्तिफोबिया कुर्चीका खुट्टाहरू भइसक्यो । आज मसँग आफ्नो शरीरलाई पनि थेग्न नसक्ने कमजोर खुट्टाहरु छन् । त्यसैले होला आजभोलि सभामहासम्मेलन र पर्व महोसत्वहरुमा बज्ने लोकभाका र जनवादी गीतहरु मेरा कमजोर खुट्टाका पैलताहरु चिलाउदैन ।

जब म भूमिगत भएँ । सामन्तवादविरुद्ध लड्ने आँट बोकेर माओवादीको एउटा समुहसंग मधुवनको बाटो भएर जीवन नयाँ अध्याय सुरु गरे। मलाई आजपनि सम्झना छ । कमरेड योजकले वुर्जुवाशिक्षाको पक्षपोषण गर्ने मेरो किताबहरु खोल्सामा फाल्न पठाएको । मैले फालेको किताबहरुको अवशेष त अब खोजेर पाउँदिन होला । तर हामीले गरेको महाजनयुद्धले फाल्न नसकेको बुर्जुवा शिक्षाको अवशेषहरू औपचारिक शिक्षाका किताबहरुमा आजभोलि पनि पाउँछु ।

झोलाको किताब खोल्सामा फालेर हिडेको म जनसास्कृतिक टोलीमा परे । ममा गाउन र नाँच्न जान्ने क्षमता देखेर होला । गीतको माध्यमबाट जनतामा क्रान्तिको छालहरू ल्याउने काम ।

त्यतिबेला मैले मेरो घरपरिवार मात्र त्यागेर हिँडेकी थिइन् मैले मेरो लाहुरेलाई पनि त्यागेर हिँडेकी थिएँ । सबैभन्दा माया गर्ने मान्छेलाई त्यागेर क्रान्तिमा होमिएकी थिए । उसको मलाई सम्झना आउँथ्यो हरप्रहरl अनि रोदी बस्ने साथीसंगीहरुको पनि।

मेरो घरमा रोदीघर थियो। हरेक साताको शुक्रवार नाचगान रङ्गरमाइलो खुब गरिन्थ्यो । हो यही रोदीघरले जन्माएको थियो हाम्रो प्रेम । मेरो लाहुरे लाहुर जानु र म भुमिगत हुनु संयोग जस्तै भयो। लाहुर लाग्नु भन्दा अघिको रात रोदीघरमा उसले मलाई पहिलो छुट्टीमा आउँदो के कोसेली ल्याइदिउँ भनेर सोधेको थियो। मैले तिम्रो मायाँ लिएर आएर पुग्छ भनेकी थिएँ त्यो बेला । तर दुखको कुरा उसको मायाँको कोसेली ग्रहण गर्ने सौभाग्य मलाई मिलेन । याद त मलाई उनको आजभोलि पनि आउँछ । उसलाई आउँछ होला सायद ।

भन्छन् दार्शनिकहरू विचारले प्रेम जन्माउँछ प्रेमले विचार ।सायद मेरो जीवनमा त्यही भयो । भुमिगत भएपछि लाहुरेसंगको प्रेम सम्बन्धलाई रोदीघरको चारकिल्लामा सीमित पारेर वा राखेर मेरै जनसास्कृतिक टोलीको प्रज्वलसंग संम्बन्ध गास्न पुगे। प्रज्वलसंग मेरो जनवादी विवाह पनि भयो । विवाह भएको पाँच वर्ष नबित्दै उसले मलाई कहिल्यै नआउने गरेर छोडेर गयो । हाम्रो टोली कार्यक्रमको शिलशिलामा थियौ ।हामीमाथि सांघातिक आक्रमण भयो। दश जना कमरेडहरू सहादत हुनुभयो । तीमध्ये एक मेरो श्रीमान कमरेड पनि पर्नुभयो । म लगायत केही साथीहरू घाइते भयौं । मेरो दुइटै खुट्टा काम नलाग्ने भईसकेको थियो । श्रीमान घुमाउनु परेको पिडा लिएर हरसेकेन्ड चुनौतीहरू पार गरेर भारतसम्म उपचार गर्न पुगे। एक वर्षको उपचारपछि नेपाल फर्के । सायद त्यतिबेला डियर कमरेडहरु पहाडको साँघुरो गोरेटो भएर राजधानीको यात्रा गदै थिए क्यारा !

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.