पुस्तक समीक्षा : असमवासी नेपालीहरूबारे असमीया भाषामा लेखिएको एउटा गहकिलो पुस्तक

~अविनाश श्रेष्ठ~

एक दिन बिहान दाइ रोचक घिमिरेले फोनमा भन्नु भयो “अविनाशजी, असमबाट तपाईंको नाममा पठाइएको एउटा पुस्तक मकहाँ छ । पठाइदिंदै छु । पढेर यस पुस्तकबारे केही लेखिदिनुहोला ‘रचना’का निम्ति ।”

कसको पुस्तक ? कुन विधाको पुस्तक ? रोचक दाइले केही नभन्नु भएकोले पुस्तकबारे मनमा कुतूहल उप्जनु स्वाभाविकै थियो । त्यस दिन क्याम्पस पुग्दा खामबन्द गरिएको त्यो पुस्तक मेरै प्रतीक्षामा रहेछ । हतारिंदै खामबाट पुस्तक झिकेर हेरेपछि मनभरिको कुतूहल त्यसपछि प्रफुल्लतामा, प्रसन्नतामा अनुवाद भएको थियो । धेरै दिनपछि असमीया भाषामा लेखिएको कुनै पुस्तक मेरो हातमा परेकाले म विभोर बनेको थिएँ । झन् त्यसमाथि पुस्तकका लेखक असमेली नेपाली संसारका एक जना सिद्धहस्त स्रष्टा र चर्चित व्यक्तित्व ‘पद्म ढकाल’ भएकाले पुस्तकको स्तरीयताप्रति म विश्वस्त बनेको थिएँ ।

पद्म ढकालद्वारा असमीया भाषामा लेखिएको यस पुस्तकको नाम ‘असमर जातीय जीवनलै नेपाली राईजर अवदान’ -‘असमको जातीय जीवनमा नेपाली जनताको अवदान’) रहेको छ । पुस्तकको शीर्षकलेनै लेखकद्वारा सो पुस्तक लेखिनुको उद्देश्य र पुस्तकभित्र समेटिएका सामग्रीहरूको छनक केही मात्रामा दिन्छ । वास्तवमा १२ प्वाइन्टका मसिना अक्षरमा डिमाई आकारको ९१ पृष्टभित्र ओगटिएको यस पुस्तकलाई भरपर्दो र विश्वसनीय बनाउन लेखक पद्म ढकालले निकै मिहिनेत गर्नुभएको छ ।

पुस्तकको आरम्भमै असममा नेपालीहरूको आगमनको औचित्यलाई पुष्टि गर्न खोज्दै लेखक ढकालले नेपाल र असम राज्यमाझ पौराणिक कालदेखि चलिआएको प्रगाढ सम्बन्धबारे मात्र चर्चा गर्नुभएको छैन, इतिहासमा उपलब्ध सामग्रीका आधारमा नेपाल र असम राज्यमाझ विभिन्न कालखण्डमा गहिरो ऐतिहासिक सम्बन्ध रहिआएको समेत खुलासा गर्नुभएको छ । उदाहरणका निम्ति – ‘कामरूपका प्रसिद्ध राजा हर्षवर्मनकी कन्या राज्यमतीको विवाह नेपालका राजा जयदेव द्वितीयसित भएको थियो । यिनै असमीया राजकन्या राज्यमतीले काठमाडौंस्थित श्री पशुपतिनाथको मन्दिर निर्माण गर्न लगाएकी थिइन् ।’ भनी पुस्तकको प्रथम पृष्टमै लेखक ढकालले ठोकुवा गरी लेख्नु भएको छ । यो कुरो कति तथ्यपूर्ण र इतिहाससम्मत छ ?, पादटिप्पणी वा पुस्तक-सन्दर्भ केही उल्लेख नगरिएकाले यसको आधिकारिताबारे किटानी गर्ने काम इतिहासविज्ञहरूको जिम्मा लगाउनु नै बुद्धिमानी हुने ठानेको छु ।

यसै गरी नेपाल र असम राज्यमाझ परापूर्वकालदेखि चलिआएको ऐतिहासिक सम्पर्क-सम्बन्धलाई छर्लङ्ग्याउने अन्य उदाहरण पनि लेखकले यस पुस्तकमा प्रस्तुत गर्नुभएको पाइन्छ । यसबाहेक सन् १८१६ को सुगौली सन्धिपछि नेपाल अधिराज्यको धेरै ठूलो भूभाग भारतमा गाभिएको र तत्कालीन वृटिश शासित भारतमा भूभागसहित लाखौं नेपालीहरू पनि गाभिन बाध्य बनेको तथ्यतिर पनि लेखकले सङ्केत गर्नुभएको छ । सन् १८२५ मा असममा खनिज तेलको पत्तो लागेपछि तथा सन् १८४० मा असममा चियाखेतीको शुरुवात भएपछि भने गाँस-बासको खोजीमा भौंतारिएका नेपालीहरूलाई ठूलो संख्यामा ज्यालादारी सस्ता मजदूरका रूपमा वृटिश शासकहरूले भकाभक असम भित्र्याउन थालेको र तिनलाई जग्गा-जमीन उपलब्ध गराएर स्थायी रूपमा त्यहीँ बसोबास गर्न प्रेरित गरेको तत्कालीन यथार्थतिर इङ्गित गर्न पनि लेखक चुक्नुभएको छैन । यी र यस्तै अनेक कारणहरूले गर्दा सयौँ वर्ष अघिदेखि नेपालीहरू असम र पूर्वाञ्चल भारतका विभिन्न स्थानमा भित्रिने क्रम जारी रह्यो तथा तिनै नेपाली र तिनका सन्तान-दर-सन्तानले त्यसै धरतीमा आफ्नो पौरख र पसिना सिञ्चन गरी, त्यसैको उन्नति र प्रगतिमा दिलोज्यानले सरिक भई त्यहींकै बनेर जिन्दगी गुजरबसर गर्दै जान थाले । विशेष गरी असमका विभिन्न जिल्ला र गाउँ-गाउँसम्म पुगेका नेपालीहरू रैथाने असमीयाहरूको मन जितेर, उनीहरूसित सद्भाव र सम्प्रीति कायम गरी पुस्तौंपुस्तादेखि बसोबास गर्दैआएका छन् । असममा रहँदा बस्दा नेपालीहरूले असमीया भाषा-साहित्य, कला-संस्कृतिलाई पनि अङ्गीकार गर्दै जान थाले । असमीया भाषा-साहित्य र कला-संस्कृतिको विकासका निम्ति नेपालीका सन्तानले पनि योगदान गर्न थाले । त्यतिमात्र नभई असमका विभिन्न अञ्चलको विकास-निर्माणको कार्यमा असमीयाहरूसित कुममा कुम जोरी नेपालीहरूले पनि होस्टेमा हैँसे गर्दै गए । सामाजिक उत्थान-विकासका क्रियाकलापमा मात्र संलग्न नभई नेपालीहरू त्यहाँको राजनीतिक गतिविधिहरूमा पनि उत्तिकै सक्रियताका साथ होमिन पुगे । रैथाने असमीयाहरूसँग मिलेर भारतको स्वाधीनता सङ्ग्राममा नेपालीहरू सामूहिक रूपमा सहभागी भएका थुप्रै घटनाहरू साथै नेपाली समुदायका मानिसहरूले भारतीय स्वतन्त्रता सङ्ग्रामका क्रममा गरेका बलिदान र आत्मोर्त्र्सगका अनेकौं उदाहरणहरू प्रस्तुत गरी लेखक ढकालले असमको जातीय जीवनमा नेपालीहरूको अवदानको पुष्टि वस्तुपरक ढङ्गबाट गर्नुभएको छ ।

आजको असमलाई ‘असम’ बनाउनमा नेपाली समुदायका व्यक्ति-विशेषहरूको समेत उल्लेखनीय योगदान रहेको तथ्यलाई प्रस्ट्याउने क्रममा लेखक पद्म ढकालले राजनीति, समाजसेवा, साहित्य, संस्कृति, शिक्षा, खेलकूद आदि क्षेत्रमा विशिष्ट कार्य गर्ने वरिष्ठ असमे नेपालीहरूको छुट्टाछुट्टै पनि चर्चा र मूल्याङ्कन गर्नुभएको छ । उदाहरणका निम्ति ‘असम एशोसिएसन’लाई ‘असम प्रदेश कंग्रेस पार्टीमा रूपान्तरित गर्नका निम्ति अग्रणी भूमिका निर्वाह गर्नुहुने स्वनामधन्य छविलाल उपाध्याय; असमको राजनैतिक आकासमा उदाएर नेपाली समुदायका प्रतिनिधि नेताको छवि बनाउन सफल – दलवीरसिंह लोहार, विष्णुलाल उपाध्याय, चन्द्रबहादुर क्षेत्री, राम शर्मा, कुलबहादुर क्षेत्री, स्वरूप उपाध्याय, रुद्र पराजुली, मणिकुमार सुब्बा आदि; शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने – पं.गङ्गाधर उपाध्याय, टिकाराम शास्त्री, पं‌ गुणनाथ उपाध्याय काफ्ले आदि ; असमीया भाषा-साहित्यमा उल्लेखनीय योगदान, पुर्‍याउने – हरिप्रसाद गोर्खा राई, धनबहादुर सुनार, पुष्पलाल उपाध्याय, विष्णुलाल उपाध्याय, अग्निबहादुर क्षेत्री, दुर्वासा उपाध्याय, पद्म ढकाल, हरिभक्त कटुवाल, गीता उपाध्याय, कुलबहादुर क्षेत्री, हरि गजुरेल, मनबहादुर क्षेत्री, शेरमान थापा, अविनाश श्रेष्ठ आदि ; त्यस्तै कला-संस्कृतिको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल प्रतिभाहरू आरती नेवार, विपुलबहादुर , सरस्वती क्षेत्री, अन्जु देवी, सरस्वती प्रधान, चक्रपाणि शर्मा, गीताञ्जलि क्षेत्री आदि; खेलकूद क्षेत्रमा प्रतिष्ठा आर्जन गर्ने – खेमराज अधिकारी, हेमनाथ घिमिरे, लुरे क्षेत्री, कृष्णबहादुर राई, भक्तबहादुर क्षेत्री, कुलबहादुर क्षेत्री, बोधराज क्षेत्री, दीपा क्षेत्री, मीरा क्षेत्री आदि ; यसै गरी समाजसेवाको क्षेत्रमा कार्य गरी चिनिएका – भक्त बहादुर प्रधान, शिवलाल गहतराज, प्रसादसिंह सुब्बा, प्रेमसिंह सुवेदी, चन्द्रलाल जैसी, पद्मबहादुर पौडेल, प्रभुराम कार्की छविलाल शर्मा, नरसिंह थापा, परशुराम कटुवाल आदि; असमका केही अग्रणी नेपाली महिलाहरू – अन्नपूर्णा देवी, भोगमाया देवी, हर्कमाया, गीता उपाध्याय, जानकी देवी, डा. शान्ति थापा, डा. यमुना देवी, फूलेश्वरी ढकाल, रीता गुरुङ, स्वर्गीय (शहीद) वैजयन्ती देवी उपाध्याय आदि र अन्य धेरैको योगदानका बारेमा लेखक ढकालले असमीया भाषामा लेखिएको आफ्नो यस पुस्तकमार्फत् असमीया समाजलाई अवगत गराउन खोज्नुभएको छ । यसलाई असमको सन्दर्भमा अत्यन्त स्तुत्य प्रयास मान्नु पर्दछ ।

पुस्तकको उत्तरार्द्धतिर एक ठाउँमा लेखक ढकालले स्पष्ट शब्दमा भन्नु भएको छ, – “असममा विदेशी वहिष्कार आन्दोलन हुनुभन्दा अघिसम्म असमीया र नेपाली सम्प्रदाय माझ सम्बन्ध अत्यन्त सुमधुर थियो, दुवै सम्प्रदाय समावेशीकरणको बाटोमा अग्रसर पनि थिए । तर विदेशी वहिष्कार आन्दोलनपछिका दिनहरूमा असमेली नेपालीहरूको मनमा चीसो पसेको छ ।” यो चिसो र शङ्कालाई हटाउने दिशामा असम राज्य सरकार, विभिन्न असमीया संघ-संस्था र असमीया सर्वसाधारणले गरेका केही महत्वपूर्ण कार्यको १४ वटा बुँदामा छुट्टै चर्चा गर्दै त्यस्ता सकारात्मक कामको प्रशंसा गर्न समेत लेखक पद्म ढकाल पछि पर्नुभएको छैन ।

कुनै पनि सिद्धहस्त असमीया लेखकले लेखेजत्तिकै स्तरीय असमीया भाषामा पद्म ढकालले यो पुस्तक लेख्नुभएको हो । असमका नेपालीहरू असमीया भाषामा कति पारङ्गत छन् र उनीहरू कसरी असमीया भाषा-साहित्य-संस्कृतिमा भिजेका छन् भन्ने कुराको यो पुस्तक आफैं उदाहरण बनेको छ । तर यहाँनिर म के कुरा प्रष्ट पार्न चाहन्छु भने असमवासी नेपालीद्वारा यस विषयमा लेखिएको र प्रकाशित भएको यो नै पहिलो पुस्तक भने होइन । यसअघि पनि विष्णुलाल उपाध्यायको असमे नेपाली -प्रकाशक (भानु प्रकाशन, भद्रपुर, नेपाल ; सन् १९७१) , पुरुषोत्तम उपाध्यायको भारतीय नेपालीहरू -प्रकाशक (लेखक आफै ; सन् १९७८), श्यामराज जैसीको असममा नेपालीहरूको ऐतिहासिक पृष्ठभूमि -प्रकाशक (बोधकुमारी प्रकाशन, डिगबोई, असम; सन् १९९० श्यामराज जैसीको यस पुस्तकको अग्निबहादुर क्षेत्रीद्वारा गरिएको असमीया अनुवाद सन् १९९६ मा सत्यव्रत क्षेत्री, विश्वनाथ चाराली, दरङ, असमद्वारा प्रकाशित भइसकेको छ ।) पद्म क्षेत्रीको तुराका नेपाली (प्रकाशकः प्रदीप क्षेत्री, तुरा मेघालय; सन् १९९३), मुक्ति गौतमको मणिपुरमा नेपाली (सन् १९९९), डा. लक्ष्मीप्रसाद पराजुलीको उत्तर-पूर्वाञ्चलीय भारतीय नेपाली समाज र साहित्य (सन् …………….), अनि मनबहादुर क्षेत्रीद्वारा असमीया भाषामै लेखिएको “असमर नेपाली समाज आरु संस्कृतिर रूपरेखा” -प्रकाशक (असम साहित्य सभा, गुवाहाटी, असम; सन् १९८३) आदि छन् । तर पद्म ढकालले असमीया भाषामा लेख्नुभएको यो पुस्तक अन्य लेखकका पुस्तकभन्दा उद्देश्य र सन्देशका हिसाबले नितान्त भिन्न छ । यो पुस्तक लेखकले नेपाली भन्दा पनि असमीया पाठकलाई लक्षित गरी लेख्नु भएको प्रष्ट छ । यस पुस्तकद्वारा लेखकले प्रेषित गर्न खोज्नुभएको सन्देश पनि नेपाली भन्दा असमीया विज्ञ पाठक वा मर्मज्ञ सर्वसाधारणका लागि नै बढी हो । असमका विशिष्ट योगदान पुर्‍याउने नेपाली व्यक्तित्वहरूबारे, संघ-संस्थाबारे, सामाजिक-राजनीतिक-अर्थनीतिक इतिहासबारे महत्वपूर्ण जानकारी, महत्वपूर्ण सूचना दिने मात्र उद्देश्य यस पुस्तकको नभई- असमीया जनता र असमवासी नेपालीमाझ शताब्दीयौँदेखि रहिआएको जातीय समन्वय तथा सुमधुर सम्बन्धलाई अझ कसिलो र अझ प्रगाढ बनाउनु पनि हो । आफ्नो उदेश्यमा यस पुस्तकले केही हदसम्म सफलता हात पार्ने विश्वास लिन सकिन्छ ।

Avinash Shrestha
Address : 207.Kriti Marga,Amarabati tole, Koteshwar,ktm

(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.