कथा : बज्यै

~एमपी केयरलेस~

भोमिट गरिरहेकी थिएँ, मेरो पेट दबाउँदै रश्मीले भनी ‘त्यस्ती बज्यैकी यस्ती नातिनी । दुई पेगमै भोमिट गर्छे !’

भोमिट बन्द भइसकेपछि मुख धोएर ऐनामा हेरेँ, आफ्नो अनुहार बज्यैको जस्तै लाग्यो । अनि लाग्यो बज्यैले हाम्रो हिस्साको पनि सप्पै रक्सी पिइदिनुभएछ ।

ऐना म हेरिरहेकी थिएँ, अनुहार बज्यैको थियो । खैरो जिरिङ्ग परेको कपाल, पातलो जिउ, भित्र गढेका आँखा, ठाउँ-ठाउँमा चोट लागेको अनुहार, मुखबाट चुहिँदै गरेको र्‍याल, मैलो चोलो, मैलो पेटीकोट । बज्यैको डरलाग्दो अनुहार !

साथीहरु आज भरे पार्टीमा रक्सी खानुपर्छ भनेर दिउँसोदेखि नै उत्साहित थिए । आफू भने त्यही कुराले दिउँसोदेखि नै तनावमा थिएँ । रक्सी खान नपरोस् भनेर कुनै बहाना खोजिरहेकी थिएँ ! आजसम्म कुनै न कुनै बहानाले बचाएकै थियो रक्सीबाट ।

‘आफ्नो जन्मदिनमा त यसले नि पिउनुपर्छ’ भन्ने साथीहरुको कर थियो । मेरो जन्मदिन, जुन मलाई मनाउन मनै छैन । तर, साथीहरुको जन्मदिनमा खाएको ऋण आफ्नो जन्मदिनमा तिर्नुपर्ने कर्त्तव्य हुन आइपुगेको थियो ।

मैले सोचेको भन्दा पनि धेरै नजाती हुँदो रहेछ रक्सीको स्वाद । बज्यैले कसरी पिउन सक्नुहुन्थ्यो यति नराम्रो स्वाद !

बाथरुमबाट फर्केर बेडमा पल्टिएँ । साथीहरु आफ्नै धुनमा पिउँदै थिए । मेरो दिमागभरि बज्यै हुनुहुन्थ्यो ।

एकपल्ट बज्यैलाई सोधेकी थिएँ-

‘बज्यै, रक्सी किन खान्छौ ?’

‘बानी बस्यो बा !’

‘कसरी बानी बस्यो बज्यै ?’

‘तेरा बाजे चौकीदार, जहाँ गयो उहीँ बस्ने । घरमा म एक्ली । घरमै आफैं दारु पाड्डी छिया । चाक्थाचाक्थै सिकेँ बा ।’

बज्यैले रक्सी चाख्नु नै गल्ती थियो । बाजे चौकीदार भएकाले बनाएको रक्सी चाखिदिने घरमा अरु कोही थिएन । नराम्रो भए नबिक्ने डरले बज्यैले रक्सी चाख्नुपर्ने सायद बाध्यता थियो ।

बैशाखको महिना थियो । त्यो बेला स्कूल बिहान लाग्थ्यो । एकदिन म र कान्छी फुपू स्कूलबाट घर आइपुग्दा गाउँका सबैजसो मान्छे हाम्रो घरमा कछरी गर्न पुगेका थिए !

आँगनमा धानका दुइटा भाग लगाइएको थियो । बाहुन बाजे भाडाँकुडा दुई भाग लगाइरहेका थिए । आमा-बा सँगै टुक्रुक्क जमिनमा बस्नुभएको थियो । त्यसरी नै अलि पर ठाटीमा बसेर घरि बैनीको झोलुङ्गो हल्लाउँदै घरि खेततिर हेर्दै बज्यै बसिरहनुभएको थियो । मैले बज्यैलाई एकोहोरो हेर्न थालेपछि बज्यैले ‘यहाँ आइजा बा’ भनेर बोलाउनुभो ।

‘बज्यै, हाम्रा घर क्या हुन लाग्या छ ? ‘

बज्यैले रुञ्चे स्वरमा भन्नुभो- ‘क्यै नाइँ बा । तैंकन भोक लाग्या होला । आज खाना माठा पाक्ने हो । जाओ तँ र फुपू गैकन च्याउच्याउ खाइआओ ।’ यति भन्दै मेरो हातमा बीस रुपियाँ राखिदिनुभो र आफ्नो आँखा पुछ्नुभो । म खुशी भएकी थिएँ । कान्छी फुपू ढोकानिर बस्नुभएको थियो । अनुहारमा दोपट्टा बेर्नुभएको थियो ।

मैले कान्छी फुपुको कानमा मुख लगेर भने- ‘फूपू राके मलाई बज्यैले बीस रुप्या दि छन् । हट च्याउच्याउ खान ।”

कान्छी फुपूले मलाई हेर्नुभो । फुपूका आँखाभरि आँसु थिए । तैपनि मैले भनेँ- ‘हट न फूपू, हट न ।’

फुपू जुरुक्क उठ्नुभो र सरासर रोडतिर लाग्नुभो । मेरो हात नसमाती यसरी कहिल्यै हिँड्नु हुन्थेन । पसल पुग्ने बेला फुपूले मलाई सोध्नुभो – ‘क्या खान मन छ तँलाई ?’

‘च्याउच्याउ’

‘अरु ?’

‘चुरन, गोट्टा अनि पाउरोटी ।’

फुपूले मैले भनेका सबै किन्नुभो । आफ्नो लागि चाउचाउ किन्नुभएन ।

रश्मीकी आमाले फुपूलाई सोध्नुभो- ‘निर्मला, तेरा घरका छुट्टिसके क्या ?’

‘नाइँ ।’

‘तेरी भाउजू गट्टी हो । सासूको भन्या पनि सुन्नु पड्डो छ ।’

हामी केही नबोलीकनै सरासर घरतिर लाग्यौं । आँगनमा पुग्दा हल्ला मच्चिरहेको थियो ।

‘दारु पन भाग लाउनु पड्यो’, आमाले भन्नुभो ।

‘दारु मैले पाडेकी हुँ, एक छिटो पन दिन्नँ !’ बज्यैले भन्नुभो ।

‘अनाजको दारु हो । अनाज बाँडिए पछा दारु बाँडिनै न क्या ?’ आमा पिटुला झैं

गरि बज्यैतिर जानुभो ।

त्यत्तिकैमा कान्छी फुपू घरभित्र पस्नुभो र दुई हातमा दुई ग्यालेन लिएर निस्किनुभो । अनि भुइँमा राख्दै भन्नुभो- ‘ल यो भाउजू तमि यो राख, आमा यो राखन्निन ।’

फेरि आमा बोल्नुभो- ‘तीन जर्किन छिए, अर्को कहाँ गयो ?’

फुपूले फेरि भन्नुभो- ‘जाऊ भित्त छ ल्याई आऊ ।’

‘म किन ल्याऊँ, घरिना हुँ भन्नेले ल्याउनु पड्यो ।’

कान्छी फुपू फेरि भित्र जानुभो । एक ग्यालेन रक्सी ल्याएर भन्नुभो- ‘भाउजू, भाँडो

थाप ।’

‘म त्तो जर्किन लिनिउ ?’ आमाले भन्नुभो ।

फुपू केही बोल्नुभएन । आमाको अगाडि त्यो ग्यालेन राखेर फेरि घरभित्र पस्नुभो । म पनि फुपुलाई पछ्याउँदै घरभित्र पसे । बज्यै पनि हामीलाई पचाउँदै घरभित्र पसिन् ।

बज्यैको एक हातमा ग्यालेन र अर्को हातमा एउटा गिलास थियो । फुपू सुँक्कसुँक्क गर्दै रोइरहनुभएको थियो । बज्यैले फुपूलाई अँगालो हाल्नुभो र बज्यै पनि रुँदै बोल्न थाल्नुभो- ‘नरो, म छु क्या मानी त ।’ अनि के-के भनेर फकाइरहनुभो । त्यसपछि ग्यालेनबाट एक गिलास रक्सी सार्नुभो अनि पानी पिए झैं घटघट पिउनुभो ।

फुपू एक्कासी चर्केर बोल्नुभो- ‘त्यै रक्सीले यति हर्‍यो अझ पुगेन तमिलाई ?’ भन्दै घर बाहिर निस्किनुभो ।

त्यो पहिलो दिन थियो, बज्यैले मेरो अगाडि त्यसरी रक्सी खानुभएको ।

‘तँ लास्टै बोका छस्, खाली तिघ्रामा हिर्काउँछस् !’ रश्मी एक्कासी चर्की ।

प्रलादको बानी खराब छ । ऊ हात बढी चलाउँछ । उनीहरु मेरा साथी हुन् । दुई केटा प्रलाद र रोशन अनि तीन केटी- म, रोशनी र रश्मी हामी युनिभर्सिटीमा सँगै पढ्छौं । रश्मी मेरै गाउँकी हो । उसको ठूलो पसल छ हाम्रो गाउँमा ।

ङिच्च दात देखाउँदै प्रलाद बोल्यो – ‘किन ? चोट लाग्यो र !’

केही नबोली रश्मीले घुटुक्क पारी बाँकी प्याग । मगरकी छोरी हो, पचाउन सक्छे ।

त्यसपछि कोही केही बोलेन । वातावरण शान्त भयो ।

बाको साइकल पसलबाट अलिअलि कमाइ हुन थालेपछि बा-आमा बाजे-बज्यैको घर छोडेर स्कूल अगाडि घर बनाएर बस्न थाल्नुभो । म र बैनी पनि बा-आमासँगै त्यो घरमा बसाइँ सर्‍यौं । हाम्रो घर बाट बज्यैको घर पुग्न पाँच/सात मिनेट लाग्थ्यो ।

हजुरबालाई घरको त्यति परवाह थिएन । जता जानुहुथ्यो, उतै हराउनुहुन्थ्यो । त्यसपछि बज्यैले बढी पिउन थाल्नुभएको थियो रे । बिस्तारै आफूले रक्सी बनाउन छाड्नुभएछ । अनि घरमा भएका भाँडाकुँडा र अनाजसँग रक्सी साटेर पिउन थाल्नुभएछ ।

एकदिन बिहान म बिउँझिदा आमा घरमा हुनुहुन्थेन । बैनी रोइरहेकी थिई । म पसलतिर लागेँ । पसलमा बा पनि हुनुहुन्थेन । घरमा कोही नभएको मौका पारी म बज्यैको घर जान्थे र त्यो दिन पनि बज्यैको घरतिर लागेँ ।

बज्यैको घरमा धेरै मान्छे थिए । कोही बाँस काटिरहेका थिए त कोही राता र सेता कपडा च्यातिरहेका थिए । बज्यै ठाटीबाट लाटोले केरा हेरे झैं तलतिर हेरिरहनुभएको थियो ।

आइमाईहरु सुस्त स्वरले कुरा गरिरहेका थिए ।

‘छकालै रुख नचड्नु पड्न्या छियो ।’

‘हो त शीतले हाँगा चिप्ला बनाया हुन्छ ।’

‘थोकाइ दारु पन खाया छिया अरे ?’

‘एइ घर ज्या बिगाड्यो, दारुले त बिगाड्यो !’

‘ज्या भने पन पचास पुग्या छिएनन्, दैव पन निष्ठुरी हो ।’

बाजेलाई तुलसीको मठनिर सुताइएको थियो । त्यति टाढाबाट ठूली फुपू, माइली फुपू पनि आइसक्नुभएको रै’छ । उनीहरु बाजेको वरिपरि बसेर रोइरहेका थिए ।

सेतो कपडाले पूरै जिउ छोपिएको थियो । म कान्छी फुपूलाई खोज्न थालेँ । घरभित्र पसेँ । बाले कान्छी फुपूलाई अँगालोमा लिनुभएको थियो र भनिरहनुभएको थियो- ‘नरो बैना, म छँदै छु ।’

कान्छी फुपू सुँक्कसुँक्क गरेर रोइरहनुभएको थियो । त्यो दिन आमा हतारहतार भित्र-बाहिर गरिरहनुभएको थियो । मलाई देख्नेबित्तिकै आमाले भन्नुभो – ‘बैनीलाई कहाँ छोडी त ? जा घर जा बैनीलाई पनि ल्याइ आ !”

म बाहिर निस्किनै लाग्दा कान्छी फुपूले मेरो हात च्याप्प समात्नुभो र मसँगै हाम्रो घर आउनुभो । हामी दुई बैनीलाइ अँगालो हालेर धेरै बेरसम्म रोइरहनुभो ।

त्यो दिन नै पहिलो दिन थियो, कान्छी फूपू हाम्रो घर आएको । म एकदम खुशी थिएँ, तर फूपू रोइरहेको हुनाले मलाई पनि रुन मन लागिरह्यो ।

त्यसपछिका दिनहरुमा बज्यै कहिलेकाहीँ रक्सी नपिएर हाम्रो पसलतिर आउनुहुन्थ्यो । मलाई काखमा लिएर कपाल कोरिदिँदै आफ्नो पोल्टाबाट झिकेर बदाम, गुड, चक्लेट खान दिनुहुन्थ्यो । बज्यैले मलाई साह्रै माया गर्नुहुन्थ्यो । अझ बैनीलाई भन्दा पनि मैंलाई धेरै माया गर्नुहुन्थ्यो ।

कहिलेकाहीँ रक्सी पिएर बा आमालाई तारन्तार गाली गरिरहनुहुन्थ्यो । तर, मलाई कहिल्यै गाली गर्नुभएन । मलाई ‘जा त्यो बूढीलाई लठ्ठीले हान्’ भन्दै आमा हातमा लठ्ठी थमाउनुहुन्थ्यो, तर मैले कहिल्यै बज्यैलाई हिर्काइनँ । त्यसो गरेको देखेपछि बा ले आमालाई खुब गाली गर्नुहुन्थ्यो । अनि बज्यैलाइ उनको घर छोडेर आउनुहुन्थ्यो ।

एक साँझ गाउँका बाहुन टोलका केटाहरु फुटबल खेलिरहेका थिए । हामी केटीहरु चौरको छेउछाउमा बाख्रा चराइरहेका थियौं । रश्मी पनि मसँगै थिई । थारुगाउँतिरबाट बज्यै आउनुभयो । रक्सीले मातिएकी हुनुहुँदो रहेछ । जिउमा तल पेटीकोट र माथि चोलो मात्र थियो । पछिल्ला वर्षहरुमा मातेको बेला बज्यैको

पहिरन यस्तै हुन्थ्यो ।

बज्यै कसैलाई गाली गरिरहनुभएको थियो- ‘मेरी छाउ नै नभएकी छोरी लिने, तेरो देलो हरिया गोबरले टालन ! तेरो छोरीको छोरो, गाइगो बाच्छो, काकडा बेल्लो पन जन तगौ ।’

यस्तै-यस्तै हुने-नहुने गाली गरिरहनुभएको थियो । केटाहरु बल खेल्न छाडेर बज्यैलाई जिस्काउन थाले । गणेश बज्यैसँग कुरा गर्न थाल्यो-

‘क्या भए कैकन गाली दिनि छौ ?’

‘तेइ विष्ट मापको नाठ्ठी हुन्या, मेरी छाउ नभएकी छोरी भगाइ लियो ।’

‘तम्री छोरी अहिलेसम्म छाउ भयाकी छिनन् क्या ?’

सब केटाहरु हाँस्न थाले, मलाई रोऊँ-रोऊँ लाग्यो ।

‘निकरी भयाकी छिन्, पोहोर एक पल्ट भै, त्याँ पछि भै छिन ।’

‘विष्टले इष्टकी छोरी लियो क्या बिगाड्यो त ?’

फेरि गलल्ल हाँसे केटाहरु ।

‘त्यसी छिन मेरी छोरी ।’

‘तमी त रक्सी खान्छौ, तम्री छोरी खानिछ कि नाइँ ?’

बज्यैले आँखा तरेर हेर्नुभो ।

फेरि केटाहरुले सोधे- ‘कहाँबाट खाई आयौ त ?’

‘बड्कीले दि’, बज्यैले भन्नुभो ।

‘लोटा साटौ कि कराइ कि चामल दियौ ?’

‘त्यसै दि, तमी बाहुन जसा हुन्न सबै । माखा पित्त बाहुनको चित्त ।’

फेरि सबै जना गलल्ल हाँसे । मलाई रुन मन लागिरहेको थियो

‘के हो खाएको जाँड कि लोकल ?’

‘लोकल, जाँड त केटाकेटीले खाने हो ।’

‘एक बोतल मैकन पनि मिलाई द्यौ न त !’

‘हट तँ ।’

फेरि सब हाँसे ।

अनि गणेशले बज्यैको दाहिने तिरको छातीमा हातले अलिकति दबाउँदै भन्यो- ‘यो के हो ?’

बज्यैले गणेशको हात च्याप्प समातेर बोल्नुभो- ‘तँ मेरो पोइ होइ कि छोरो होइ ? किन मेरा छाती समाइ ? भन् पोइ होइ कि छोरो होइ ?’

‘हैन, मैले तम्रा गोजिनाको क्या हो भन्या हुँ ?’

‘अनि गोजिनाको क्या हो भनी सोध्न सक्ने छिनै ? भन्, क्या होइ तँ मेरो ? पोइ होइ भन्या ल अर्को पनि समात्, हैन छोरो होइ भन्या ल दूध खा !’

गणेश बज्यैको हातबाट आफ्नो हात फुत्काउने कोसिस गरिरहेको थियो ।

बज्यैले नै उसको हात छोडेर चोलाको बटन खोलेर बोल्न थाल्नुभो- ‘ल पोइ हुनेकी छोरो हुनेइ छिटो हो ?’

केटाहरु बल टिपेर हुरुरु भागे ।

केटाहरु गइसकेपछि मात्र म नमज्जाले रोएकी थिएँ अनि बज्यैलाइ रुँदै भनेकी थिएँ, ‘हट बज्यै घर जाऊँ ।’

बज्यैले आज्ञाकारी बालक झैं मान्नुभो र मैले बज्यैको हात समाएर उहाँको घरसम्म पुर्‍याइदिएँ । त्यो दिनपछि कतै बज्यैलाई मातेको देखेँ भने म नै घर पुर्‍याइदिन्थे । बज्यै मैले भनेको मान्नुहुन्थ्यो ।

‘साला बाहुन कति हिर्काउँछस् !’ फेरि रश्मी चर्की । प्रलादले फेरि उसको जिउमा हात पुर्‍याएको रै’छ ।

प्रलाद- ‘सरी भनेँ नि यार ।’

रश्मी- ‘यत्रोको सरी ! गर्ने बेला मनपरी गर्छ । यदि गर्न नै मन भएको भए ठमेल जा । सरी सरी भन्न पर्दैन ।’

रश्मी मज्जैले हाँसी । रोशनी पनि हाँसी । म भने हेरेको हेर्‍यै भएँ ।

‘बाहुनको जातै हरामी’ भन्दै रश्मी सबैको गिलासमा रक्सी थप्न थाली । हो, गणेश बाहुन पनि थियो । त्यसको नजर अहिले पनि उस्तै छ । बाहुन टोलका सब खत्तम थिए । बज्यैलाई गाली गर्थे, अनेक आरोप लगाउँथे ।

त्यसपछि एकदिन बज्यै हाम्रो घरमा आउनुभयो । अलिकति पिउनुभएको थियो । मलाई नङपालिस, चिम्टी र काँटा ल्याइदिनुभएको रहेछ । एकछिनपछि बाहुन टोलका सब आइमाई हाम्रो आँगनमा आए अनि बज्यैलाई

चोर्नी भन्दै गाली गरे । मेरो हातबाट नङपालिस र चिम्टी-काँटा खोसेर बज्यैलाई जुत्ताको माला र कालोमोसो लगाउनुपर्छ भन्न थाले ।

त्यसपछि बाले भन्नुभएको थियो- ‘एक पल्ट गल्ती हरिन् आमाले, अब हद्दिनन् तेसो नभन ।’

विश्वकर्माहरु बज्यैलाई साउनी दिदी भन्थे । थारुहरुकी त चौकिदारनी बज्यै थिइन् । तर, बाहुनहरु चाहिँ ‘साउद्की चाडा’ भन्थे ।

मेरो छोरालाई ‘किचेन’ बनाउने भन्दै बज्यै एकाबिहानै हाम्रो आँगनमा आएर कराउन थाल्नुभयो । बा भित्र अगेनानिर हातमा सानो रेन्च लिएर झोक्राइरहनुभएको थियो । आमा बैनीलाई दूध चुसाउँदै थिइन् । ‘क्रिश्चियन’ भन्न नजानेर बज्यै ‘किचेन’ भन्दै हुनुहुँदो रहेछ ।

आमाले मलाई भित्रै बस्न इसारा गर्नुभो । बा ले रक्सी पिउन थालेपछि, आमालाई कसैले भन्दिएछ ‘क्रिश्चियन भएपछि श्रीमान्‌ले रक्सी पिउन छोड्छन् र छोरो पनि जन्मिन्छ’ । त्यो बेला मेरी अर्की पनि बैनी भइसकेकी थिई । अनि आमालाई के चाहियो ! चौबीसै घण्टा कराइरहनुहुन्थ्यो- ‘राम्डो हुन्या भने वि.क. पन हुन्छु म त !’

ती दिनहरुमा बाले पनि अलि बढी नै पिउनुहुन्थ्यो । साँझपख ‘आइहालेँ है’ भन्दै निस्किनुहुन्थ्यो र राति बा आउँदा प्राय: म र बैनी निदाइसकेका हुन्थ्यौं । कहिलेकाहीँ थारुगाउँबाट उधारो माग्न थारुहरु

आउँथे । मैले बालाई मातेको अवस्थामा चाहिँ देखिनँ । रोगको उपचार बेलैमा गर्नुपर्छ भने झैं हामी बेलैमा क्रिश्चियन भयौं ।

मलाई पादरीले भन्नुभएको थियो- ‘हाम्रो गाउँघरमा गरिने पूजामा जानुहुँदैन । उनीहरुले दिएको खानुहुँदैन । उनीहरुलाई प्रभुबारे थाहा नै छैन । उनीहरुको दिमागमा सैतानको बास हुन्छ ।’

तर, उहाँले भन्नुभएन- ‘तिमीले रक्सी नखानू ।’

त्यही भएर मैले आज खाएकी हुँ ।

क्रिश्चियन भएपछि हामीलाई दुइटा फाइदा हुने देखियो । एक त बाले रक्सी छोड्नुभो अनि मलाई र बैनीलाई हाम्रो मण्डलीले नै पढाउनेभो । पढायो पनि । बाह्रसम्म नै पढायो । जय प्रभु, जय मसि !

हामी क्रिश्चियन भएपछि बज्यै कहिल्यै हाम्रो घर आउनुभएन । म पहिले हिन्दू छँदा मिन्स हुँदा बज्यैको छाउगोठमा सुत्न जान्थेँ । पछि त्यो क्रम पनि बन्द भयो ।

कहिलेकाहीँ म बज्यैलाई भेट्न लुकीलुकी जान्थेँ । आमाले थाहा पाउनुभो भने गाली खान पर्थ्यो । त्यसरी जाँदा पनि कहिले बज्यैसँग भेट नै हुन्थेन । कहिले भने उहाँ मातेर सुतिरहेकी देख्थेँ  ।

जुन दिन बज्यै राम्रो अवस्थामा भेटिनुहुन्थ्यो, त्यो दिन मेरो भाग्य खुल्थ्यो । जे खान्छु भन्थेँ, त्यही खुवाउनुहुन्थ्यो । अनि आमा-बाको बारे सोध्दै भन्नुहुन्थ्यो- ‘किचेन, राँड-राँडीको बात खबर क्या छ त ?’

शनिबारको दिन हामी चर्चबाट अबेर फर्कियौं । त्यो दिन ठूलो पानी परेको थियो । भिज्दै हिँडेर आउनुपरेकाले म चाँडै निदाएछु । बिहान उठ्दा बज्यैको खूब याद आइरहेको थियो । हाम्रो घरमा कोही उठेकै थिएनन् । म ब्रसमा पेस्ट हालेर बज्यैको घरतिर लागेँ ।

बज्यैको घरनेर पुग्दै थिएँ, बज्यै नालीमा पल्टिरहनुभएको देखेँ । उहाँको आधा जिउ पानीमा थियो भने आधा रोडमा । निधारमा अलिकति चोट लागेको रहेछ । अनुहार चाहिँ भुक्क फुलेको एकदम सुन्दर

देखिएको थियो । पुक्क गाला, रातभर पानीले पखालिएको अनुहार । अनौठो तेज थियो बज्यैको अनुहारमा ।

म एक्कासि चिच्याएछु । के भो, के भो भन्दै मान्छे आइपुगे । मैले बज्यैलाई अँगालोमा लिएकी थिएँ । बज्यै एकदम चिसो हुनुहुन्थ्यो, बरफ जत्तिकै । कार्की बाजेले लामो समयसम्म नाडी छामिरहनुभो र भन्नुभो- ‘सुख पाई यिल्ले ।’

बालाई कसले खबर गरिदिएछ । बा हतारिँदै आउनुभएको थियो र पछि-पछि

आमा पनि । त्यो दिन त आमा पनि ठूलठूलो स्वरले रुनुभएको थियो ।

‘रश्मी, रक्सी बचेको छ ?’- मैले सोधेँ ।

‘छ, खान्छेस् ?’

‘ल्या न !’

रश्मीले एक पेग मेरो हातमा थमाइदिई । बा धेरैपल्ट एकान्तमा रोइरहेको दृश्य आँखा वरिपरि घुम्न थाल्यो ।

(स्रोत : अनलाईनखबर डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.