संस्मरण : मेरो गृह गाउँमा

~डा. रामदयाल राकेश~

मेरो गृह (घर), सिसौटिया गा.वि.स. वडा नं. ५ मा अवस्थित छ । यो सर्लाही जिल्लामा पर्दछ जस्को सदरमुकाम मलंगवा हो । मलंगवादेखि ३ कोश पश्चिममा अवस्थित यो गाउँमा अझसम्म बिजुली बत्तीको व्यवस्था छैन । मैले होश सम्हालेको ६ दशक बितिसक्यो तर मेरो गाउँ जस्ताको तस्तै छ । अहिले पनि मलंगवाबाट पैदल हिंडेर गयो भने तीन घण्टा समय लाग्ने गर्दछ । साइकलबाट गयो भने एक घण्टा र मोटर साइकलमा आधा घण्टा । गाउँमा एक दुइ जनासँग ट्रयाक्टर छ जसबाट सीमित मात्रामा खेती पाती गरिन्छ । बाँकी खेतीपातीको काम परंपरागत ढङ्गबाट प्रति साल सम्पन्न हुन्छ । परंपरागत ढङ्गबाट अर्थात् हलो र गोरुको सहयोगबाट खेतीको काम हुन्छ । विद्यार्थी जीवनमा तीन घण्टा हिडेरनै मलंगवाबाट घर पुग्ने काम गरिन्थ्यो । म सोनबरसा हाइ स्कूलमा पढ्दथें, मलंगवाबाट बिहारको सोनवर्षा आधा कोशको दूरीमा अवस्थित छ । बीचमा दश गजा अर्थात् भारत र नेपालको सीमाना । यो दश गजा अचेल साँझ परेपछि सूनसान हुन्छ । अवैधानिक धंधा गर्नेहरूका लागि यो सुरक्षित ठाउँ भएको छ । कसैसित दुश्मनी छ भने बेलुकातिर त्यो दुश्मनीको काम सजिलोसित गरिन्छ अर्थात् आपसी वैरभावर् इर्ष्या द्वेष छ भने बेलुका उसको काम तमाम गरिन्छ । कसैलाई यस जीवनबाट मुक्ति दिलाउनु छ भने त्यो सबैभन्दा सजिलो सित गरिन्छ । दुइ नम्बरी धन्दा पनि खूब फस्टाएको छ । ‘इधरका माल उधर और उधरका माल इधर’ गर्नमा पनि यसको प्रयोग खुलम खुल्ला गरिन्छ । स्थानीय सबै हाकिमहरू दुइ नम्बरी धंदा गर्नेहरूको चंगुलमा हुन्छन् । राति यो धन्दा खूबै राम्रो सित विना कुनै किसिमको बाधा व्यवधानबाट गरिन्छ । आखिर सदर मुकामको फाइदा के त <

सोनवर्षाबाट सिसौटिया आउँदा र जाँदा मलंगवामा खाजा खाने गरिन्थ्यो । यहाँ रामनाथको मिठाई पसल धेरै प्रसिद्ध थियो र त्यहाँ पाइने ‘गुजिया’ मिठाईको गजबको स्वाद हुन्थ्यो ।

त्यो मिठाई पसल चौकमा अवस्थित भएकोले त्यहाँ जताबाट पनि पुग्नै पर्दथ्यो । त्यहाँ पुगेपछि मुखमा पानी आउन थाल्दथ्यो । तीन कोश हिड्नका लागि दानापानी पेट भित्र हुल्नै पर्ने । सोनवर्षाको होटलमा उसिना भात, दाल र तरकारी खाएपछि सिसौटिया सम्मको लागि भोक र प्यास स्वतः मेटिन्थ्यो तर खाना खाएको छैन भने यस पसलमा पस्नै पर्दथ्यो । मलंगवाको बारेमा एउटा जनजिब्रोमा प्रचलित थेगो थियो – ‘मरेको मलंगवा र बिग्रेको विष्णुपुर’ अर्थात् मलंगवा विष्णुपुर गा.वि.स. तर मलंगवा अहिले मन लाग्ने ठाउँ भएको छ । यो सबै किसिमबाट विकसित हुँदै गएको छ । मलंगवा सिरहा जिल्लाको सिरहा सदर मुकाम र रौतहटको गौर तथा कपिलवस्तुको सदर मुकाम तौलिहवा भन्दा राम्रो भएको छ मेरो दृष्टिकोणमा । एक दुइवटा वास बस्ने होटल पनि बनेको छ । खाने होटलमा एउटा पनि स्तरीय छैन भने पनि हुन्छ । मलंगवादेखि काठमाडौं, जनकपुर, वीरगंज आदि स्थानहरूका लागि सीधा बस सेवा संचालित छ । यातायातको राम्रो सुविधा भएपनि स्तरीय सेवाको अभाव छ । मलंगवामा नै सबै स्थानीय सरकारी कार्यालयहरू अवस्थित छन् । मेरो गृह गाउँ जानका लागि पनि सोझै बस सेवा संचालन नभए पनि गोडैता बजार हुँदै गडहिया गाउँ सम्म यो सुविधा प्राप्त भएकोले हामी गोडैता बजार सम्म बस सेवाको प्रयोग गर्दछौं । गोडैता बजारबाट मेरो गृह गाउँ एक माइल अर्थात् आधा कोशको दूरीमा अवस्थित भएकोले हामी पैदल हिडेर जाने गर्दछौं । पहिला – पहिला रात बेरात हामी हिडेर जाने गर्दथ्यौं तर अब बेलुकी पख अलि अबेर भयो भने डराउँदै डराउँदै डेग सार्नु पर्दछ । बीच बाटोमा एउटा अजंगको रुख थियो जहाँ अबेला पुगेपछि डरले गर्दा शरीरबाट पसिना आउन थाल्दथ्यो र हनुमान चालिसाको पाठको पुनरावृत्ति गरिन्थ्यो । बाहुन साथीहरू गायत्री मंत्र उच्चारण गर्न थाल्दथे जुन उनीहरूलाई कण्ठाग्र हुन्थ्यो । मलाई त गायत्री मंत्र होइन हनुमान चालिसा कण्ठस्थ थियो र अझ पनि छ । जीवनमा धेरै किताबहरू पढियो तर कण्ठाग्र केवल हनुमान चालिसा मात्र छ । अहिले पनि आपत विपत परेको खण्डमा हनुमान चालिसा पाठ गर्दछु र नभन्दै अनावश्यक डर भय त्रासबाट मुक्ति पाइन्छ पनि । यो संस्कारको फल हो । मलंगवाबाट मोतीपुर हुँदै सिसौटिया जाँदा मोतीपुर गाउँको नजिक पुराना रुखहरूको फूलवारी थियो । अबेला पुग्दा त्यस फूलवारीमा डर लाग्नु स्वाभाविक थियो र यसै हनुमान चालिसाबाट काम चलाइथ्यो तर अव स्थिति धेरै बदलिएको छ । पहिलेका भूत-प्रेत र चोर डाँका पनि हनुमान चालिसाको प्रभावले गर्दा होकि के ले गर्दा हो भाग्दथे । डर लाग्दा जनावरहरू पनि भाग्ने गर्दथे तर अचेल त चिरपरिचित मानिसहरूको आवत जावत अथवा जम्का भेट हुँदा पनि होश हवासनै उड्न थाल्दछ अर्थात् आजका मानिसहरू कति डर लाग्दा हुन् भनेर साध्य छैन । आज मानिसको सबैभन्दा ठूलो शत्रु मानिसनै हुन पुगेको छ । जम्मा जम्मी १०० रुपियाँ तिरेपछि मानिसको ज्यान लिन सकिन्छ । ज्यान सबैभन्दा सस्तो भएको छ । मानिसको मोल सबै भन्दा सस्तो भएको छ । अर्को सबै भन्दा सजिलो र राम्रो ठाउँ मलंगवा र सिसौटियाको बीचमा थियो सुन्दरपुर बजार । अहिले यो बजार क्षत-विक्षत भएको छ । अहिले यहाँ एउटै राम्रो स्थान छ – देवधारी हाई स्कूल जहाँ म प्रधानाध्यापकको रूपमा कार्यरत थिएँ । यहाँ हप्तामा मंगलवार र शुक्रवार बजार लाग्ने गर्दथ्यो । सर्लाही जिल्लाको गाउँ – गाउँबाट हाट भर्ने मानिस आउने गर्दथे । स्थायी र अस्थायी लगाएतका धेरै पसल हुन्थे । यस्तै अस्थायी पसलको रूपमा मेरो परिवारको पनि एउटा कपडा पसल थियो । म गोडैता मिडिल स्कूलमा पढ्दा शुक्रवार र मंगलवार पसलको हेरचाह गर्न सुन्दरपुर हिडेर आउँथें र बजारको बेला कपडा पसलको हेरचाह गर्दथें । कपडा पसल चाँहि मेरा दाजुहरू संचालन गर्नुहुन्थ्यो । मलाई रमाइलो लाग्दथ्यो केही खान पनि पाइने र परिवर्तन पनि हुने । शिक्षकहरूबाट यसको लागि सजिलो सित विदा पनि पाइन्थ्यो । यस्तै गोडैता बजारमा पनि बुधबार र शनिवार कपडा पसल संचालित हुन्थ्यो मेरा दाजुहरूबाट । यो बजार जम्मा जम्मी दुइ घण्टाका लागि लाग्ने गर्दथ्यो र यसमा पनि म सहयोग गर्ने गर्दथें । यस प्रकार पढाईको साथै साथ कपडा पसलको पनि हेरचाह गर्दथें ।

संयोगवश बेनी मिडिल स्कूल जहाँ म पढ्ने गर्दथें त्यहाँ बी.ए. पास गरेपछि करीब एक वर्षको लागि शिक्षक भएर पढाउने काम पनि गरें । यो स्कूल अव हाइस्कूल भइसकेको थियो । गोडैताका बेणी दास र मेरै गृह गाउँका भोला झाद्वारा संयुक्त रूपमा संचालित यस स्कूलमा मैले सहायक शिक्षक भएर काम गरें । एक वर्षपछि सुन्दरपुर स्थित देवधारी हाइस्कूलमा प्रधानाध्यापक भएर काम गरें । समानान्तर रूपमा मैले प्राइवेट पढाई गरेर त्रि.वि.बाट एम.ए. पनि पास गरें । सुन्दरपुर हाइस्कूल मेरै जाति (कलवार) का लक्ष्मीपुर निवासी देवधारी साहद्वारा निर्मित थियो । कुनै सन्तान नभएकोले र सम्पन्न व्यक्ति भएकोले हाइस्कूल खोलेर र त्यसलाई सन्तान जस्तै माया गरेर हुर्काउने अठोट थियो उहाँको । तर गाउँको राजनीति कस्तो दूषित थियो भने न मलाई चैन Û न उहाँलाई चैन ! येनकेन प्रकारेण एक वर्षसम्म प्रधानाध्यापक पदमा काम गरियो र त्यहाँको राजनीतिबाट पीडित भएर मैले अन्त्यमा राजीनामा दिनु पर्ने स्थिति सृजना पनि भयो । म बचपन देखिनै शान्त प्रकृतिको मानिस भएकाले मलाई जाल-झेल र राजनैतिक षड्यंत्रमा फँसने एवं रमाउने इच्छानै भएन । म शान्तिपूर्वक अध्ययन-अध्यापन गर्न र गराउन चाहन्थें तर स्थानीय वासीहरूले शान्तिपूर्वक बस्ने बानी नै बिर्सिसकेका थिए ।

तर त्यो राजनीतिले मलाई सताउन थाले पछि वाक्क भएर त्यो पद त्याग्न मैले बाध्य हुनु पर्‍यो । स्थिति कस्तो भयावह भयो भने एक हप्तासम्म अंगरक्षकनै राख्नु पर्‍यो जुन सर्लाहीको प्रहरी कार्यालयबाट खटाइएको थियो मेरो सुरक्षाकालागि । ठूलो मानिसलाई पो अंगरक्षक चाहिन्छ जस्तो मंत्री र प्रधानमंत्री अथवा अन्य ठूला बडालाई ! तर म जाबो एउटा प्रधानाध्यापकका लागि अंगरक्षक सहित हिडडुल गर्नु बेइमानी जस्तो लाग्यो । एक राति त स्थिति कतिसम्म बिग्रियो भने मेरा शुभचिन्तकहरू सल्लाह दिन बाध्य भए र भने तपाईं आफ्नो गाउँ गइहाल्नुस् र मलाई पूरा याद छ कि त्यस राति म हात्ती चढेर आफ्नो गृह गाउँ सिसौटिया गएको थिएँ । स्कूलका प्रोप्राइटर मेरै जातिका मानिस भएकाले उहाँ मेरो पक्षमा हुनुहुन्थ्यो तर स्थानीय वासिन्दाहरू मेरो विरुद्ध षड्यन्त्र रचेर आफ्नै जातिको मानिसलाई प्रधानाध्यापक बनाउन चाहन्थे । यो जात जातिको बन्धन त्यस बखत धेरै बलियो थियो र यसका लागि मानिसहरू जे गर्न पनि पछाडि पर्दैनथे तर अचेल चाँहि जात जातिको बन्धन अलि खुकुलो भएजस्तो लाग्दछ तर पनि यसको जरो छँदैछ । मलाई हिन्दीका प्रसिद्ध कवि मैथिली शरण गुप्तको एक पंक्ति याद आउँछ –

‘स्वजन चिन्ता रज्जु बन्धन है ।’

यस्तो अशान्त र खलबलिएको स्थितिमा मेरो मनस्थिति पनि खलबलायो । म शान्तिपूर्ण ढंगबाट तनाव रहित भइकन काम गर्न चाहन्थें तर मेरा विरोधीहरू दिनरात प्रपंच र षड्यन्त्र रच्न रुचाउँथे । म कसरी बस्न सक्तथें त्यस्तो तनावग्रस्त वातावरणमा । आखिर मैले राजीनामानै दिएँ । अरु कुनै विकल्प थिएन मेरो अगाडि ।

Dr.Ram Dayal Rakesh
Address : Naya Baneshwar, Kathmandu

(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.