~विष्णु सुवेदी~
हाकिम साहेब भन्दा त पियन दाई राम्रो
कम्तिमा पियन दाईले बसौं हजुर त भन्छन् ।
गजधुम्म आकाश झैं हाकिम साहेब
सुन्निएको बिरामी जस्तो
चुपचाप चुपचाप मनमा कुरा खेलाएर
आफ्नै धुनमा मस्त रहन्छन् ।
पियन दाई यसो मर्का बुझेर
केहि थियो कि हजुर ? भन्छन्
बस्नलाई बेन्ची त दिन्छन्
हाकिम साहेब भन्दा त
पियन दाई कता कताको जाती
हाकिमको भन्दा पियन दाई कै ठूलो छाती ।
काम अनुसारका फाइलहरु
हाकिमका टेबलमा हाकिमलाई नै हेरिरहन्छन्
हाकिम साहेबको मन टेवलका फाइल नभएर
ग्राहकको खोजीमा र,
अगाडि उभिएको निरिह मान्छेको गोजीमा दौडिरहन्छ
कस्तो नाटकी हुन्छन् हाकिम साहेब पनि
सबै प्रकृया पुगरेर पनि
एकै थोक कमि भो भन्छन्
झर्को फर्को गर्छन्, आँखा तर्छन्
र फाइल हुत्याउँछन्
फाइलभित्र नत्थी नगरिएका
कागजपत्रहरुको थाक
पहिरो गए झैं छरपष्ट हुन्छन्
पियन दाई छरपष्ट कागजपत्रहरु
एक एक सम्हाल्दै टेबल मै राख्छन्
हाकिम साहेब भन्दा त पियन दाई राम्रा
हाकिम साहेब भन्दा त पियन दाई हाम्रा ।।
पियन दाई दिनभरी
चिया ल्याउँछन् खाजा खुवाउँछन्
फोहर बढार्छन
दिनभरी कार्यालय रेखदेख गर्छन्
घरमा सबै भताभुङ्ग
परिवारमा सबै लथालिङ्ग
जहान छोरा छोरी, रोग भोग र शोक
सबै बिर्सिएर
पियन दाइ सबैलाई हसिलो मुद्रामा
नमस्कार त गर्छन्
कसो कसो हाकिम साहेब भन्दा त
पियन दाई नै असल
पियन दाई नै महान्
पियन दाई नै सेवक
किनकी,
पियन दाई हाकिम साहेब जस्तो
स्वार्थी त छैनन्
महत्वकांक्षी त छैनन्
हाकिम साहेब भन्दा त पियन दाइ राम्रो
कम्तिमा पियन दाइले के छ त सोध्छन्
बसौं न हजुर त भन्छन्
पियन दाई हाकिम साहेबको जस्ता
भोली भोली त भन्दैनन्
पियन दाई हाकिम साहेबको जस्तो मान्छेलाई पशु त गन्दैनन् ।
भी.न.पा.३, दोलखा
हाल काठमाण्डौ