~डा.मेघराज ढकाल~
छन्द: अनुष्टुप्
मर्दैन भोकले मान्छे नारा भए अघाउँछ
चहिन्न सीपको खेती भाषणले फलाउँछ ।
बारी र खेतका पाटा बिना मान्छे हराभरा
बन्न सक्ने भए साँच्चै के खाँचो नर वा चरा ?
१
समृद्ध देश बन्ने छ खेदिएमा युवाहरू
नोटमा भोट बढ्ने छ पञ्चायती कथाहरू
पुनरूत्थान नै होला विद्या ज्ञान परै सरे
सम्सेर रूप नै चल्छ ईष्टमित्रहरू भरे ।
२
एकै खाले छ अन्याय सजाय भिन्न बन्दछ
आफ्नो भन्छ त निर्दोष अर्कोमा चोर देख्दछ
छ प्रधान थिए भन्थे उहिल्यै देशमा पनि
सम्झेमा हाल उस्तै छ राजनीति यहाँ अनि ।
३
बालुवाटारको जग्गा रकमी मारमा गयो
कुलाखोलो सबै आज सम्पत्ति दलको भयो
हतियार, धनै, गुण्डा लोकतन्त्र भयो सब
सत्य, न्याय हराएको देशमा दर्ज भो’ अब ।
४
संविधान भयो आज लोकतन्त्र त भन्दछ
डुबुल्की मारिई हेर्दा सतिको बास गन्ध छ
भाषा बान्की त मिलेन दर्शन् कस्तो त देख्दछ ?
व्यर्थैमा निर्मला मार्ने छायाँ सम्सेर जाग्दछ ।
५
बडेमान म हूँ भन्दै केन्द्रले थिच्न खोज्दछ
प्रदेश म ठूलो भन्दै सिँङ्गौरी खेल्न जान्दछ
दोहोरो मारमा आज स्थानीय शासनै भयो
लङ्गडो देश बन्दैछ , महङ्गी उर्लदै गयो ’ ?
६
साँढासाँढी रमाएका शक्ति हाम्रो भयो भनी
डाम्नाडाम्नी बढेका छन् गालीताली दिदैँ अनी
उर्लिए खहरे जस्तै कुर्लिए कागझैँ बनि
धनधान्य पदै ठूलो मात्र भो’ ऐस जीवनी ।
७
बिग्य्रो भत्क्यो भने नीति परत्र सार खोज्दछ
पलाएमा गुदी केही पाखुरा सुर्की बोल्दछ
नेपाल सरकारै यो बोल्दा लाज भयो किन
सरकार त यो मेरो मात्र भन्नु भयो किन ?
८
दोधार मनमा बन्थ्यो बोलौँ कि नबोलौँ किन ?
आफ्नो मात्र भलो हैन अरुको भलोमा हिँड
भन्ने सोच भए मात्र देश उत्थान हुन्छ है
अन्यथा पतनै हुन्छ अशान्त वा धरापमै ।
९
जुत्ता जत्ति महङ्गो होस् पैरिन्छौ पैतला तल
इतिहास त लेखिन्छ सेता–काला त बादल
भने मान्छे बडो ! दम्भ गर्दै छ पदमा किन
खाली हात त जाने हो विर्सिन्छ मनुवा किन ?
१०
लेखेँ बोले चिलाएर हात मुख कति कति ?
मरे मान्छे त व्यर्थमा सीमा क्षति भयो अति
पोल्यो पेट छुटे ज्वाला आगाले भष्म दन्दनी
जलेको छु त काव्यमा व्यर्थैको रै’छ लेखनी ।
११
यो कविता रजस्थल साहित्यिक पत्रिका(२०७५),पूर्णाङ्क ७७ र गैर–साहित्यिक पत्रिका समभाव (२०७६)मा प्रकशित छ ।
आँधीखोला गाउँपालिका , स्याङ्जा ,नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )