भलाकुसारी : हाम्रो समाज जहाँ पुगेको छ,  साहित्य त्यसै तहसम्म पुगेको छ

डा.तारानाथ शर्मासँग कपिल सिटौला, कमला सरुप र किरण सिटौलाको कुराकानी

नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ?

नेपाली साहित्य जीवित जनताको बौध्दिक अभिव्यक्तिहुनाले गतिशीलनै रहँदै आएको छ । वर्तमान कालमा जनताका रुचिहरु बाँडिएकाले मोटामोटी रुपमा हेर्दा साहित्यका लेखन, प्रकाशन र पठनपाठनमा केही घट्ति पो आउन थालेको हो कि जस्तो लाग्न सक्ला । वास्तवमा तथ्य त्यस्तो निराशाजनक छैन । साहित्य अझ प्रभावकारी र समृध्द हँुदै गएको छ ।

विश्व साहित्यमा नेपाली साहित्यको स्थान कहां छ ?

साहित्यले समाजका गतिशीलताको प्रतिनिधित्व गरेको हुन्छ । नेपाली साहित्यमा नेपालका माटाको सुगन्ध हुन्छ, नेपाली संस्कृतिको प्रतिविम्व हुन्छ र नेपाली जनताका उकाली ओहूालीहरुको छाप हुन्छ । नेपाली जनता सभ्यताको कुन स्तरमा पुगेका रहेछन् भन्ने जान्नुपर्दा नेपाली साहित्य पढ्नुपर्ने हुन्छ । विश्वले प्रगतिका यति धेरै फड्काहरु मारेका वेला हाम्रो समाज जहाँ पुगेको छ, हाम्रो साहित््य पनि त्यसै तहसम्म पुगेको छ ।

नेपाली साहित्यको संस्कृत, हिन्दी र अंग्रेजी साहित्यसँगको सामिप्य, सम्बन्ध, सहयोग, शब्दको ऐंचोपैंचो, भावनाको चोराइ, लेखाइको बसाँइ सराइ कस्तो पाइन्छ ?

नेपाली भाषा संस्कृतबाट जन्मेको हो । नेपाली साहित्यको प्रारम्भिक चरणमा संस्कृत साहित्यले ठूलो प्रभाव पारेको छ र महत्वपूर्ण योगदान दिएको छ । आज पनि भाषा र साहित्य का दुवै फाँटमा नेपालीले आफ्नी आमा संस्कृतको निरन्तर र अविरल अमृतरुपी दूधका धारा प्राप्त गरिरहेकै छ र गरिरहने पनि छ । हिन्दी हाम्रो छिमेकी भाषा हो र यसको विस्तृति नेपालीको भन्दा सयौं गुणा ठूलो छ । त्यति मात्र होइन, देवनागरी लिपिमै नेपाली र हिन्दी लेखिने तथा संस्कृतबाटै दुवै जन्मेका हुनाले पनि यिनको सामिप्य राम्रोे छ । सवै पठित नेपालीहरुले हिन्दी पढ्न र बुझ्न सक्छन् । हाम्रा धेरै कविलेखकहरुले हिन्दीका रचना पढेर लेख्ने प्रेरणा पाएका हुन सक्छन् । अङ्ग्रेजी भाषाले समस्त भारतमा राज ग(यो र अझै गर्दै छ । अहिले त अङ्ग्रेजी एकमात्र विश्वसम्पर्कको भाषा भएको छ । यसको प्रभाव नेपालमा पनि बढिरहेको छ र भविष्यमा अझ बढ्दै जानेछ । शब्दसापटी त जुनसुकै जीवित भाषाको पनि स्वभाविक गुणै हो । सम्पर्क बढ्दै जाँदा विचार, भावना र अभिव्यक्तिका शैली साटासाट हुन्छन् नै ।

साहित्यको आफ्नो पहिचान हुन्छ कि हुन्न ? हुन्छ भने कस्तो हुन्छ ?

बालकृष्ण समले एक ठाउँमा भनेका थिए ः “कविता भनेको भावनाको बौध्दिक कोमलता हो ।” यहाँ कविताका ठाउँमा साहित्य राखे पनि हुन्छ अर्थात, “साहित्य भनेको भावनाको बौध्दिक कोमलता हो ।” भन्ने मेरो धारणा छ । अर्थात साहित्यमा बौद्धिकता भए पनि कोमलता, भावनात्मकता र हार्दिकता बढी हुन्छ । तथ्यहरुको सङ्कलनले साहित्य बन्न सक्तैन । कल्पनाको बाइपङ्खी घोडामा नचढी साहित्य कहाँ सिर्जन सकिन्छ र ?

नेपाली साहित्यको कालखण्डलाई कसरी विभाजन गरिएको छ ?

विश्वविद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना सजिलाका लागि नेपाली साहित्यका विकासलाई प्रारम्भिक, माध्यमिक र आधुनिक गरि मोटामोटी तीन कालखण्डमा विभाजित गर्ने गरेका छन् । त्यसमा मेरो मत मिल्दैन । त्यसै हुनाले मैले मेरो ‘नेपाली साहित्यको इतिहास’मा आफ्ना धारणाहरु स्पष्टसित राखेको छु । ती धारणाहरु २०२७ साल तिरका हुनाले तिनमा पनि केही परिवर्तन गर्नुपर्छ र अत्याधुनिक काललाई थप्नुपर्छ ।

नेपाली साहित्यमा कुनचाहिं विधा बढी प्रिय छ ?

कथा विधा बढी प्रिय छ । तर मलाई चाहिँ उपन्यास गड्गडाएर अघि बढे पनि रमाईलो हुन्थ्यो जस्तो लाग्छ ।

भाषा र साहित्य वीच कस्तो सम्बन्ध हुन्छ ?

भाषा नभई साहित्यको अभिव्यक्ति हुन सक्तैन । भाषा आधारभूत वस्तु हो । साहित्यले भाषालाई शिष्ट,सुन्दर र सशक्त बनाउँछ । यी दुवैको परस्परमा अभिन्न सम्बन्ध हुन्छ ।

नेपाली भाषाका ह्रस्व(दीर्घ ( िी), तलकुरे (क)ु(वर्धने (कू), ु ू, छोटाउ (उ)(वडाऊ (ऊ), छोटाइ (इ)(वडाई (ई), ः ;, ! ऽ, चन्द्र विन्दु ( ँ)(श्री विन्दु ( ं) आदिले भाषा साथै साहित्य लेखनमा क्लिस्टता भनौं अनावश्यक झन्झट पु(य।एका छन् । त्यस्तै श, ष, स, ले पनि अलमल्याएका छन् । यसै गरि छेत्री(क्षेत्री, ग्यालेन(ज्ञालेन जस्ता शव्दहरुले अन्यौलनै पैदा गरेका हुँदा यी विषयहरुलाई हाम्रा व्याकरणविद्, भाषाविद् र साहित्यकारहरुले छलफलको विषय बनाउनु उपयुक्त हुन्छ कि हुन्न ?

हूस्व र दीर्घका कुराहरु तीन प्रकारका स(=श,ष,स) का भेदहरुका विषयमा छलफल गर्नु राम्रो हो । संस्कृत भाषामा हूस्व र दीर्घ मात्र होइन, सको समेत भेद उच्चारणमा नरहेकाले तिनको आवश्यकता छैन, तर संस्कृतमा जसरी लेख्ने चलन थियो त्यही चलनलाई मान्ने परम्परा रहंदै आएकाले नेपाली लेखाइमा पनि उच्चारणको वास्तै नगरी ती मात्रा(हूस्व र दीर्घ) र तीन स लेखिँदै नै छन् । अचेल नेपाली बृहत् शब्दकोशले भने संस्कृतका तत्सम शब्दमा बाहेक अरु धेरैमा सरलतालाई अँगालेको छ ।

लिपि, भाषा र साहित्य सरल एवं सहज भएमा फैलावटका लागि सहयोग पुग्ने थियो भन्ने लाग्दैन ?

लिपि र भाषालाई सरल पार्ने उद्देश्यले नै २०१३ सालमा हामीले झर्रो आन्दोलन थालेका थियौँ ।

भनिन्छ साहित्य समाजको ऐना हो । ऐना मात्रै कि समाजलाई बाटो देखाउने लालटिन पनि हो ?

साहित्यलाई समाजको ऐना वा नक्कल हो भन्ने धारणा ग्रीसबाट जन्मेको हो । यो पाश्चात्य विचार हो । हाम्रो पूर्वीय (=वैदिक, दक्षिण एसियाली ) धारणा अनुसार साहित्य समाजलाई बाटो देखाउने ज्योति नै हो । चित्रण मात्र गरेर, देखाइ मात्र दिएर वा यथार्थता मात्रको फोटो खिचेर साहित्यलाई सामान्य क्यामेरा बनाउनाले यसको महान उद्देश्य र आध्यत्मिक मर्यादाको हत्या हुन्छ । साहित्यलाई म ईश्वरीय सिर्जनासँग दाँज्न मन पराउँछु, जो सत्य मात्र हुँदैन, ज्ञानगरिमायुक्त हुन्छ, हार्दिक र मनमोहक हुन्छ तथा मार्गदर्शक पनि हुन्छ ।

नेपाल भित्र र बाहिरको नेपाली साहित्य बीच सम्बन्ध, सामिप्य र दूरी साथै साहित्यकारहरुको मान सम्मान भेटघाट के कस्तो छ ?

नेपाल बाहिरको नेपाली साहित्य भन्नाले पहिलेपहिले दार्जीलिङ् र बनारसलाई मात्र हेरिन्थ्यो । धरणीधर शर्मा, सूर्यविक्रम ज्ञवाली र पारसमणि प्रधानले नेपालसितको साहित्यिक सम्बन्धलाई अतिनै महत्व दिएकाले नै दार्जीलिङ्मा रुपनारायण सिंह, शिवकुमार राई र रामकृष्ण शर्माजस्ता महारथीहरुको प्रादुर्भाव हुन पायो र यो सम्बन्ध अझ सुदृढ हुँदै गयो । बनारसमा पुरानो समयका धेरै कविहरुले आफ्ना कृतिहरु छपाउन पाए । पछि आएर नेपाली भाषालाई भारतमा मान्यता प्राप्त गराउने कार्यमा सिक्किमले पनि ठूलो टेवा पु(यायो । आज आसाम, बर्मा र हङ्कङ्मा पनि नेपाली लेखकहरु उत्पन्न भएका छन् । कहाँसम्म भने जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँत्यहाँ नेपाली भाषा, नेपाली साहित्य र नेपाली संस्कृतिको उपस्थिति पाइन्छ । मूलभूमि नेपालसित मायालु सम्पर्क रखि नै रहने काममा सबै नेपाली लागेका छन् । यो सम्पर्क अझै बढ्नुपर्छ र साहित्यकारहरुको सम्मान हुनुपर्छ ।

नेपाली साहित्यमा आयामेलीवाद भन्ने कुनै वाद छ ? छ भने त्यसको साथै झर्रोवादका बारेमा स्पस्ट पारि दिनु हुन्छ कि ?

इन्द्रबहादुर राई, ईश्वर वल्लभ र वैरागी काँइला तीन जना मिलेर साहित्यलाई एक पाटाबाट नहेरी लमाइ, चोैडाइ र गहिराइजस्ता तीन पाटाबाट हेर्नुपर्छ, अर्थात साहित्य गम्भीर हुनुपर्छ भन्ने धारणाको प्रतिपादन गरेका थिए । आफ्नो लेखाइको परिचय दिने र आफू पाठकसमक्ष प्रसिद्धहुने योे एउटा राम्रो तरिका थियो । तर वादका रुपमा आयामेली लेखाइको विकास हुन सकेन । इन्द्र राई, ईश्वर वल्लभ र वैरागी काइँला प्रतिभावान् सर्जक हुन् र तिनको नाम आयामेली भनेर चल्यो, तर ती तीन जनामा कुनै बेग्लै तत्व छैन । यही बुझेर र आयामेली आन्दोलन भुसुक्कै सेलाएको देखेर दार्जीलिङ्मा एक्ला इन्द्र राई लीलालेखनको चटक देखाउँदै छन्, तर त्यसप्रति पनि कसैको चासो पटक्कै देखिँदैन ।

झर्रोवाद भाषासम्बन्धी आन्दोलन हो । यो २०१३ सालमा बनारसमा ‘ नौलो पाइलो ’ भन्ने पत्रिकामा जन्मेको हो । यसको उद्देश्य नेपाली भाषालाई सरल र शुद्ध बनाउनु थियो । झर्रो आन्दोलनकै फलस्वरुप अप्ठ्यारा संस्कृत शब्द र विदेशी अनधिकार प्रभावबाट नेपाली भाषाले मुक्ति पाएको हो ।

साहित्यका प्रमुख धाराहरुमा यौनवादीधारा पनि एक हो । साँच्चै भन्ने हो भने प्रायजसो कविता, कथा, कहानी, नाटक, काव्य, महाकाव्यहरु मायां, प्रेम, मिलन, बिछोडका बारेकै चर्चालाई लिएर सृजना गर्दै जीवन जिउनुको उपलब्धि भनेको संभोग सुख प्राप्त गर्नु हो भन्ने तर्फ साहित्यकारहरुले जोड दिएको पाइन्छ । यस सम्बन्धमा तपाईंको भनाइ के छ ?

यौनवृत्तिजन्य भावनाहरु जीवनका अति आवश्यक र गम्भीर कुरा हुन् । साहित्यमा ती कुराको स्थान राम्रो हुन्छ । प्रेम, स्नेह, माया, आकर्षण आदि गुणहरुले नै जीवन रसमय र बाँच्न लायक हुन्छ । मनोविश्लेषणमा यौनवृत्तिको ठूलो भूमिका हुन्छ । ईश्वरले आफ्नो सृष्टिलाई लाभदायी र चिरस्थायी बनाउने उद्देश्यले नै भाले र पोथीको परिकल्पना र ती दुईका बीचको यौनआकर्षणलाई प्राथमिकता दिएका हुन् । अद्र्धनारीश्वरको वैदिक कल्पना अति प्रशंसनीय र उच्च छ ।

नेपाली साहित्यले यौनवादीधारालाई कसरी सह्यारेको छ ? अर्थात यौनवादीधाराको नेपाली साहित्यमा कस्तो स्थान छ ?

नेपाली साहित्यमा यौनचित्रणको राम्रो स्थान छ । विश्वेश्वरप्रसाद कोइरालाका र भवानी भिक्षुका कथा र उपन्यास यसका साक्षी छन् । दौलतविक्रम विष्टका कथा र उपन्यास, पोषण पाण्डेका कथा, गोविन्द गोठाले र विजय मल्लका नाटक, कथा र उपन्यासदेखि लिएर देवकुमारी थापा, प्रेमा शाह र परशु प्रधानका कथासम्म सर्सर्ती हेय्रो भने पनि यस तथ्यको राम्रो पुष्टि हुन्छ ।

साहित्य बिनाको संसारको कल्पनालाई शब्दमा उतारिदिनु हुन अनुरोध गरिन्छ ।

साहित्य विनाको संसार सहारा मरुभूमितुल्य सुख्खा र उजाड हुनेछ । चेतना विनाको शरीर, पानी विनाको समुद्र र हावा विनाको आकाशको कल्पना नै साहित्य विनाको संसार हो ।

हाम्रो देशमा भाषा एवं साहित्यको फाँट सर्जका लागि आर्थिक दृष्टिकोमा अनुत्पादक मानिन्छ । सुनिन्छ प्रकाशक र बिक्रेताहरु महलमा बस्छन् तर लेखकहरु चाहिँ डेरामा भोकभोकै सुत्छन् । यो कस्तो विडम्बना हो ? यसमा तपाईंको धारणा के छ ? सत्य तथ्य के हो ?

हो, लेखेर जीवन चलाउने कुरो नेपालमा चाहिँ सम्भव छैन । एक त हाम्रा पाठकहरुनै अति कम छन् र त्यसमा पनि पैसा तिरेर पुस्तक किन्नेहरुको सङ्ख्या त नगण्य नै छ । प्रकाशकहरु प्।नि के गरुन् ?

तपाईंले आफ्ना कृतिहरुका प्रकाशनको व्यवस्था कसरी मिलाउनु भएकोछ ?

धेरैजसो मेरा कृतिहरु प्रकाशककै अनुरोधबाट छापिका छन्, तर दोस्रो, तेस्रो र चौथो संस्करण भने ती पुस्तक पाठ्यका रुपमा रहेमा सम्भव हुन्छ । मलाई उति थाहै दिईंदैन ।

हाम्रा विद्यालय र महाविद्यालयहरुमा पाठ्यक्रममा राखिएका नेपाली भाषा एवं साहित्यका पुस्तकहरु, केहीलाई छाडेर, पहिलेकाजस्ता स्तरिय छैनन् साथै लेखकहरुका अनुरोधमा पनि पुस्तकहरु पाठ्यक्रममा राखिन्छन् भन्ने सम्बन्धमा यहाँको भनाइ के छ ?

हाम्रा पाठ्यक्रममा उपयुक्त र स्तरीय नेपाली साहित्य र भाषाका पुस्तकहरु नराख्ने चलन पहिले पनि थियो । अहिले आएर यो चलन अझ बडेर गएको छ । योग्यताको कदर कुनै क्षेत्रमा नहुने व्यवस्थामा पाठ्यपुस्तकहरुको यस दुर्दशाको स्थिति कुनै अनौठो बिषय होइन ।

संस्कृत भाषालाई पाठ्यपुस्तकबाट गोर्खेलौरी लगाएर खेद्न संस्कृतभाषाका बिरोधिहरु पाखुरा सुर्केर लागिपरेका छन् । संकृतभाषाले उनीहरुका आलुबारिमा डामेको साँढे छाडेको छैन क्यारे । बरु संस्कृत (भाषाबाटै जन्मिएका थुप्रै भाषा हरु धेरै जात जातिका जनजिब्रोमा झुन्डिएका छन् । माऊभाषालाई खेदेपछि बच्चा भाषा भाषीहरु टुहुरा हुँदैनन् र ? संस्कृत(भाषालाई पाठ्यक्रमबाट हटाउनु ठिक बेठिक के लाग्छ ?

संस्कृत भाषाप्रतिको दुव्र्यवहार खेदको बिषय हो । संस्कृतलाई नै आधार मानेमा मात्र त्यस भाषाबाटै जन्मेका नेपाली, मैथिली र भोजपुरीजस्ता (भारोपेली) भाषाहरुको विकास वा प्रगति सम्भव हुन्छ । यी भाषाका लागि संस्कृत यस्तो मूल हो जो कहिल्यै सुक्तैन । त्यति मात्र होइन, तिब्बतबर्माली वर्गका नेवारी, किराती, मगराती र गुरुङ्गी भाषाहरुलाई पनि आधुनिक कालमा समेत संस्कृतले ठूलो शाब्दिक योगदान दिँदैछ । संस्कृतलाई पठनपाठनबाट हटाउनेत त कुरै आउनु हुँदैन, यस भाषालाई अझ राम्रो स्थान दिनुपर्छ । हो, अनिवार्य नगरी संस्कृतलाई ऐच्छिक विषय बनाउनु चाहिँ आवश्यक देखिन्छ ।

यता केही समय देखि हाम्रो देशमा छोरा छोरीलाई गर्भै देखि अङ्ग्रेजी भाषा सिकाउन इच्छा गर्ने आमा बावुका संख्यामा बढोत्तरि हुंदै गएको पाइन्छ भने अर्कातिर मातृभाषामा शिक्षा दिन प्रयत्न गर्नेहरुको लाम पनि लम्बिदै गएको पाइन्छ । यसमा तपाईं के भन्नु हुन्छ ?

नेपालको शिक्षा हेर्ने अधिकारीहरु दूरदर्शी नहुनाले तिनको भाषिक नीति अनुपयोगी, अव्यावहारिक र अफलदायी भएको हो । नेपालको राष्टिूयतालाई, सांस्कृतिक समन्वयलाई, धार्मिक सहिष्णुता र आर्थिक एकतालाई बलियो र चिरस्थायी पार्ने हो भने नेपाली भाषालाई अनिवार्य बनाउनै पर्छ । राष्टिूय सम्पर्कको भाषा नेपालमा नेपाली बाहेक अरु हुन सक्तैन । अङ्ग्रेजी भाषा अन्तर्राष्टिूय सम्पर्क, अनुसन्धान र विज्ञान, विश्वव्यापार र सञ्चार जस्ता विषयमा अत्यन्त आवश्यक हुन्छ । राष्टिूय स्तरमा नेपाली र अन्तर्राष्टिूय स्तरमा अङ्ग्रेजी हाम्रा बालकबालिकाहरुलाई पढाउनैपर्ने हुन्छ । अङ्ग्रेजी सानै उमेरदेखि पढाउनु अनुचित होइन, तर त्यसो गर्दा नेपाली भाषिक क्षमतामा कुनै वाधा पार्नुहुँदैन । नपालमा बोलिने अरु भाषाहरुलाई भने ऐच्छिक रुपमा सानो कक्षादेखि उच्चतम स्तरसम्म राख्न सके राम्रो हुन्थ्यो । नेपालभित्र बोलिने सबै मातृभाषाहरुको समान सम्मान हुनु हाम्रो गौरवको विषय हो ।

नेपाली भाषाका कृतिलाई अन्य भाषामा र अन्य भाषाका कृतिलाई नेपाली भाषामा उल्था गरिएका थुप्रै कृति यहाँका सम्झनामा होलान् । सम्झनामा नभएकालाई पनि सोधपुछ गरेर पुस्तकको नाम बताइदिनु हुन्छ ?

नेपाली भाषामा केही कृतिहरु संस्कृत मूलबाट अनुवाद गरिएका छन् । तर तिनको संङ््ख्या अति अल्प छ । अङ्ग्रेजी, फ्रान्सेली, रुसी, चिनियाँ, जापानी, हिन्दी, बङ्गाली आदि भाषाहरुबाट पनि नेपालीमा अनुवाद गरिएका केही कृति प्राप्य छन्, तर तिनको सङ्ख्या त ज्यादै नै कम छ । नेपालीका कृतिहरु अङ्ग्रेजी, हिन्दी, फ्रान्सेली, चिनियाँ, जापानी आदि भाषामा नगण्य रुपमा अनुवाद गरिएका छन् । अनुवाद गर्ने र पारस्परिक आदानप्रदान गर्ने कार्य प्रज्ञा प्रतिष्ठानको हो, तर त्यस संस्थाका हर्ताकर्ता हण्डी खाने र भतेरमा रमाउने साधुजस्ता छन् ।

समालोचनाले साहित्यकारहरुलाई छाडाहुनबाट जोगाउँछ भनिन्छ । अर्थात ठिकबाटोमा लैजान्छ । तपाईंले आजसम्म कति साहित्यकारहरुलाई बाटो देखाउनु भएको छ ? वास्तवमा साहित्यकार र साहित्यप्रति समालोचकहरुको धर्म के हो ?

हो, त्यो भनाइ साँचो हो । हाम्रा रामकृष्ण शर्माले ‘शारदा’ पत्रिकामार्फत विक्रमाब्द १९९१ को दशाब्दीतिरै लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समजस्ता महारथिहरुलाई ‘नेपालीमा अङ््ग्रेजी साहित्यको प्रभाव’ जस्तो ज्ञानवद्र्धक समालोचना लेखि सतर्क गराएका थिए । सममा शेक्स्पीयरको अनावश्यक प्रभाव र देवकोटामा वडर््स्वथर्् , शेली र किट्स्को बढी नै छाप देखेर नै रामकृष्ण शर्माले कठोर हुनुपरेको थियो । मैले स्वयम् कसकसलाई बाटो देखाएँ भन्ने बिषयमा म आफैँ बोल्नु भन्दा मेरा कृतिहरु पढ्ने विद्वान्हरु बोल्नु उपयुक्त हुन्छ । त्यसमा पनि ‘उसैका लागि हेर्दा’, ‘चिसो चुह्लो(नेपाली साहित्यको झुसिलो डकार’ जस्ता आलोचनात्मक लेख वा ‘नेपाली साहित्यको इतिहास’ यसका साक्षी छन् । समालोचकको धर्म व्याख्या गर्नु, गुणदोष देखाइदिनु र मार्गदर्शन गर्नु नै हो ।

साहित्यको सृजना गर्न सजिलो कि समालोचना गर्न सजिलो ? तपाईंले आजसम्म समालोचना गर्नु भएका प्रमुख कृतिहरु कुन्कुन् हुन् ?

दुवै सजिला विषय हेइनन् । मेरा विचारमा सिर्जना गर्नु प्राकृतिक र प्रतिभायुक्त हार्दिक क्रिया हो भने समालोचना विराट् विवेचना, ज्ञानयुक्त छलफल र तार्किक खोज हो । मैले अनेकौँ कृतिहरुको समालोचना गरेको छु । जव म शेक्स्पियरका कृतिहरुका हजारौँ समालोचना भइसकेर पनि अझै नयाँनयाँ समालोचनाहरु आफ्ना विचार प्रकट गर्न अघि सरेको देख्छु , म आफ्ना समालोचनाहरुको सीमिततालाई हृदयङ्गम गर्छु । हेर्नुहोस् न, समका समस्त विधाहरुको समालोचना गर्दै ‘सम र समकाकृति’ प्रस्तुत गरेँ भनेको त भरे उनका निबन्धहरुलाई नै भुसुक्कै बिर्सेंछु ।

आलोचना र समालोचनामा के फरक हुन्छ ?

धेरै विद्वान्हरु आलोचना भन्नाले दोषहरु मात्र देखाउने रचना र समालोचना भन्नाले गुण र दोष बराबर देखाउने लेख भन्ठान्छन् । म चाहिँ आलोचना र समालेचनालाई पर्यायवाची नै मान्दै आएको छु ।

तपाईं र मपाईंमा के फरक छ ?

शिष्टता र अहङ्कारमा जे फरक छ त्यही फरक यी दुई शव्दमा छ ।

ताना शर्मा के होे ? ताना शर्मा तपाईं हो कि मपाईं हो ? ताना शर्मा केका लागि हो र ? र कसका लागि हो ?

तरानाथ शर्माको छोटकरी रुप ता.ना. शर्मा हुन्छ । मैले विश्वेश्वरप्रसाद कोइरालाको छोटकरी बी.पी.कोइराला र देवीप्रसाद अधिकारीको छोटकरी डी.पी.अधिकारी देख्ता त्यसरी अङ््ग्रेजीको दास भएको कुरो मन नपरी नेपाली तरिका देखाउन (जस्तैः गोरखापत्र=गो.प., नेपाली भाषा प्रकाशिनी समिति =ने.भा.प्र.स., विक्रम संवत्=वि.सं.) टी.एन.शर्मा नगरी ता.ना. शर्मा गर्न खोजेको थिएँ, तर पछि झर्रोवादलाई प्राधान्य दिई ता. ना.सर्मा गर्ने विचार आयो । त्यसो गर्दा ‘सरमा’ भन्ने कुकुर्नीको पौराणिक कथा म सम्झन पुगेँ र मैले ता र ना मा थोप्ला नदिई सर्मासंगै जोडेर तानासर्मा भन्ने नयाँ नाम बनाएँ र प्रयोग गर्न थालेँ । आफ्नै नामलाई छोट्याउनु कुनै अहङ्कार होइन ।

तारानाथ भण्डारीबाट तारानाथ शर्मा फेरि तानासर्मा हुंदै डा.ताना शर्मा र आज प्रा.डा.तारानाथ शर्मा, यसरी नामको लेखाइमा फेरफार गर्नुमा केही रहस्य छ कि ?

मेरो थर भँडारी हो, तर मेरा पिताले आफ्ना नामका पछाडि थर नलेख्ने गरेकाले मैले उहाँले आफ्नो सिद्धान्त कौमुदीको पुस्तकमा ‘इदं पुस्तकं प्रजापति शर्मणस्य’ लेखेको भेटि आफ्नो नाम तरानाथका पछि शर्मा लेख्न थालेक हुँ । ‘ताना शर्मा’ मैले कतै लेखिनँ, तानासर्मा मात्र लेखेँ । तारानाथ शर्मा भने मेरो पूरा नाउँ हो । भाषाविज्ञान पढेर विस्कन्सिन विश्वविद्यालयमा पीएच.डी. गरेकाले मैले नामका अगाडि ड÷डाक्टर लेखेको हुँ , कुनै रहस्य वा मपाईं कतै छैन ।

अहिलेसम्म लाममा लागेका नेपाली साहित्यकारहरुमा उनीहरुले साहित्य क्षेत्रमा पु(याएको योगदानका आधारमा १, २, ३, अङ््कलाई प्रथम, द्वितीय, तृतीय स्थान मानि अङ््क दिँदै जाँदा तपाईंका हातमा पर्ने अङ््क कुन होला जस्तो लाग्छ ?

अङ््क दिनु अत्यन्त अहङ्कारी कार्य हो, तर म पनि नेपाली आमाकै एक छोरा हुनाले गन्नु पर्छ र गन्तीमा पर्नुपर्छ । नेपालको जनसङ्ख्या २ करोड पचास लाख पुग्यो भनिन्छ । त्यस सङ््ख्याको म एउटा मामुली सदस्य हुँ ।

नेपाली साहित्यको टाहारी खेतका गराहरुमा आली ऐंचला काट्ने (गराहरुको छेउ भित्तो तास्ने), आली लगाउने, बाँजो जोत्ने, हिल्याउने, दाँदे कुदाउने, वीउ काड्ने, र बीउ रोप्तै झमझम पानी परेको असार पन्ध्रका दिनमा रोपाईं गीत गाउँदै रमाइलो गर्न अब आउने पिँडिका हली, बाउसे, ब्याडे र रोपाहारहरुले आफूलाई कसरी सम्झना गरुन् भन्ने चाहानु हुन्छ ?

नेपाल, नेपाली भाषा, नेपाली साहित्य, नेपाली जनता र नेपाली संस्कृति भनेपछि हुरुक्क हुने एउटा यस्तो लेखक जसले सधैँ नैतिकता, मानवता र विश्वबन्धुत्वको पक्षमा कलम चलायो ।

नेपाली साहित्यमा तपाईंको निरन्तरता कसरी रहला जस्तो लाग्छ ?

मैले अब यस्तो ग्रन्थको सिर्जना गर्नुपर्छ जसले नेपाल र नेपालीको गौरव विश्वमा देखाउन सकोस् ।

नेपाली साहित्यमा तपाईंका अनुयायीहरु छन् कि छैनन् ? छन् भने उनीहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?

मेरा अनुयायीभन्दा पनि मेरा उत्तरवर्तीहरु छन् भन्ने कुरामा म मक्ख छु । सन्देश त मैले के दिने र ? अनुरोध चाहिँ के छ भने अब आउने सर्जकहरुले सधैँ नै सगरमाथाको उच्चतालाई, कर्णाली र कोशीको पवित्रतालाई, भेरी र गण्डकीको गतिलाई र लालीगुराँस तथा डाँफेको सौन्दर्यलाई आफ्ना रचनामा प्रकाशित गरुन् र नेपाली मूलमा गर्व गरुन् ।

छोरी छैनन् । छोरा दुवै यतै छन् । विवाह पनि यतै गर्लान् । पशुपतिनाथ र वौद्धनाथको मन्दिर यहीँ मेरील्याण्डमा नै निर्माण गर्ने क्रममा मूर्तिहरुको प्रतिस्थापना भइनै सकेको छ । यसैले कतै बुढेसकालको यौवन यतै जिउने रहर टुसाउँदै आएको त छैन ?

यो जीवन सधैँ अध्ययन, अन्वेषण, अध्यापन र लेखनमै बित्यो । छोराहरु बसेकै छेउछाउ बस्न खोज्नु स्वाभाविकै हो । तर जहाँ बसे पनि म आफ्नो भाषालाई, आफ्नो संस्कृतिलाई र आफ्नो नेपाली मूललाई नै आधार मानेर बाँच्ने छु । मातृभूमिको माया जति ठूलो अरु केही पनि हुँदैन ।

नेपाली सहित्यले तपाईंसंग अझै धेरै धेरै आशा राखेको छ जस्तो लाग्छ नै होला ? त्यसैले आजभोलि पनि साहित्यकै साधनामा नै हुनुहुन्छ होला ? के कस्तो कृति तयार हुँदैछ ? दिनचर्या कसरी चलि रहेछ ?

जबसम्म कृति प्रकाशनका अवस्थामा तयार भइसक्तैन, त्यसको उल्लेख गर्दा धेरै कुराको अप्ठ्यारो पर्छ । विषय पनि नखोल्नु नै उचित होला । तर निरन्तरका चिन्तन, अध्ययन र लेखनमा लाग्नु नै मेरो दिनचर्या हो भन्ने म भन्न सक्छु ।

अमेरीकामा आफ्नो अध्ययन सकेर स्वदेश फर्कनु भइ अध्यापनको पेशा अँगाल्दै साहित्यको सेवामा रमाउनु भयो । जे जस्तो उपलव्धि भयो छर्लङ्गै छ । कतै त्यसबेला अमेरिकामा नबसेकोमा पश्चाताप भएको त छैन ? नाम पनि आजको भन्दा ठूलै हुन्थ्यो होला ? धन पनि धेरैनै जम्मा हुन्थ्यो होला कि ? कस्तो लाग्छ ?

यहाँ बसेर लेखन र प्रकाशनमा लागेको भए पक्कै पनि पैसा र प्रशंसा कता हो कता धेरै र ठूलो हुने थियो, तर के पैसा र प्रशंसा मात्रै सबै उपलब्धि हुन् र ? मलाई मातृभूमि फर्केकामा कुनै पश्चात्ताप छैन ।

केही सयम पहिले वासिङटन डी.सी. वरपरका नेपालीहरुले तपाईंलाई सम्मान व्यक्त गर्नका लागि एउटा सानो कार्यक्रमको आयोजना पनि गरेका थिए । सो बारे केही भन्न रुचाउनु हुन्छ कि ?

अति नै आनन्दको अनुभूति भयो । विदेशमा छु जस्तो नै लागेन । त्यसै हुनाले त्यस समयमा मैले यो सानो नेपाल नै हो भन्ने उद्गार प्रकट गरेको थिएँ ।

भनिन्छ मानिसले जीवनमा प्राप्त गर्ने सफलता र असफलतामा श्रीमतीको महत्वपूर्ण भूमिका रहन्छ । हो भने तपाईंका जिवनमा वहाँको साथ सहयोग कस्तो रहेको छ ? र तपाईं आफ्नो जीवन संग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

श्रीमती जीवनको सम्पूर्णता हुनाले तपाईंहरुका प्रश्नसंग म शतप्रतिशत सहमत छु । मेरो दाम्पत्यजीवन अति नै सफल र सुखदायी छ ।

ईश्वर, जीवन, जगत, जन्म, मृत्यु, स्वर्ग, नर्क, धर्म, ग्रह (दशा आदिका बारेमा तपाईंको धारणा कस्तो छ ? कर्म र भाग्यका वीच के कस्तो सम्बन्ध हुन्छ जस्तो लाग्छ ?

कर्ममा मेरो ठूलो विश्वास छ । ईश्वरको सत्ताले नै विश्व नियममा चलेको छ । मानवतावाद ईश्वरीय उच्चतातर्फको निरन्तरको अभियान हो ।

सपना के कारणबाट देखिन्छ ? राम्रा नराम्रा सपनाहरुले जीवनमा के कस्तो प्रभाव पार्दछन् जस्तो लाग्छ ?

सुतेका वेलाको कल्पना नै सपना हो । जस्तो कल्पना गरिन्छ सपना पनि त्यस्तै हुन्छ ।

राष्टूवादी सचेत नागरिकका हैसियतबाट नेपालको वर्तमान अवस्थामा देखा परेको राजनैतिक, आर्थिक र सामाजिक विसंगतीका बारेमा छोटो तर ठोस चित्रण गरिदिनु होस् न ।

प्रदिप्त सूर्यझैँ सत्य, सङ्लो र छर्लङ्ग देखिने कुरालाई मैले व्याख्या गरिरहनु पर्ला जस्तो मलाई लाग्दैन । जताततै विसङ्गति छ, जेमा पनि विकृति छ र जुनसुकै क्षेत्र पनि बिभिन्डिएको छ, बरालिएको छ ।

समुद्रपार बसेका नेपालीहरुलाई नेपाली भाषा र साहित्यको संरक्षण साथै सम्वद्र्धनका लागि यसरी, यसप्रकारले, यस्तो योगदान पु(याउनु होस् भन्ने सल्लाह(सुझाव दिनुभए बेसै हुन्थ्यो ।

समुद्रपार बस्नुपरे पनि परिस्थितिवश आफ्ना दैनिक जीवनचर्यामा घरमा झैँ नै डुब्नु परिहाल्छ । अनिवार्य भौतिक, भावनात्मक र बौद्धिक कार्यमा संलग्न हुँदाका क्षणबाट केही न केही फुर्सद निकाली साहित्य, सङ्गीत र कलामा हाम्रा प्रतिभाहरु लागिरहून् र तिनले नेपाली संसारमा मात्र सीमित नरही विश्वभरिनै आफ्नो कृतित्वको कीर्ति फैलाउन सकून् भन्ने मेरो हार्दिक कामना छ ।

अन्तमा नेपालीपोष्ट डट कमले यहाँका सुझावहरु पाएमा प्राथमिकताका साथ पूरा गर्न प्रयत्न गर्ने थियो ।

तपाईंहरुले केही आफ्ना तीतामीठा कुराहरु निर्धक्कसँग प्रकट गर्ने यो मौका दिएकामा म आफ्नो हृदयान्तरको कृतज्ञता प्रकट गर्छु । हाम्रा पशुपतिनाथ बाबा र पार्वती आमाले हामी सबैको कल्याण गरुन् ।

(द्रष्टव्यः मौलिक लेखन, अध्ययन र चिन्तनमा लागिरहेका अवस्थामा सम्पूर्ण प्रश्नहरुका उत्तर दिन नभ्याएकामा क्षमा माग्दै आफूले सान्दर्भिक ठानेकाहरुका मात्र सङ्क्षिप्त उत्तर प्रस्तुत गरिएका छन् । वर्तनी (=हिज्जे) चाहिँ आजको नेपालमा मान्यताप्राप्त नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशअनुरुप नै अनुसरण गरिएको छ । त्यसो गर्दा स्तरीय लेखनमा टेवा पुग्ने, भाषामा एकरुपता हुने र शुध्दताको मर्यादा पालन हुने विश्वास लिइएको छ । तारानाथ शर्मा )

This entry was posted in साहित्यिक भलाकुसारी and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.