कविता : जन्म दिनको शुभकामना छोरा

~रेखा पन्त~

खुशी त्यो दिन पनि थिएँ उत्तिकै
जब निस्कन्थे खादै नखाएको खाना
शरीर तातो अनुहार रातो भएर
दुर्गन्ध मिश्रित
बाँकी हुन्थ्यो त केवल
रित्तो आमाशय !!

रित्तो आमाशयमा
भरिभराउ गर्भाशय
आपसमा ठोक्किदा निस्कने मधुर धुनमा
महसुस गरेकी हुँ कयौंपटक
जहाँ तिमी नाच्यौ मयुर सरी
कलिला दुइ हात फिंजाएर
दाँया कोख देखि बायाँ कोख सम्म !!

तिम्रा ति कोमल पाउलाइ
स्पर्श गरेको छु मैले
त्यसै त्यसै हर्षित भएर
आनन्दित र पुलकित भएर
ति मुलायम सुकुमार पाइलाहरु
जब चल्बलाउथे गर्भस्थलीको भित्ता भित्तामा !!

घैला जत्रा पेट देख्नेले
देखेनन् तिम्रो सुक्ष्म रुप
जहाँ मेरो सिंगो ब्रमाण्ड अडेको थियो !!

न जोख्न सके तिम्रो तौल
आफै भन्दा दोब्बर वजन थाप्लोमा राखेर
जोखेकी हुँ बारम्बार प्रेमको तूलामा
जहाँ थियो अजंगको पेट एकातिर
अर्कोतिर राखियो आमाको ममता !!

कदापि भएनन् बराबर
धार्नी नाघ्यो आमाको प्रेमले
तोलामा नपुग भो अजंगको पेट !!
सादा जीवनमा रंग भरेउ तिमीले
निराशा मनमा उमंग छरेउ तिमीले !!

लागेकै हो रिंगटा
घुमाएको हो फनफन्ती
दुरदूर सम्म हल्लिदा डाँडाकाँडा
हिमाल र मठमन्दिर
आभास भएथ्यो गर्दै छु तिर्थ धाम
साथमा छ मेरो श्रवणकुमार
जो डोर्याउदै छ चाहुरिएका हातहरु !!

कमजोर ठान्थे दुनियाँ
म देख्थे आखामा
बिजुलीका झिल्काहरु
बिना करेन्ट लाग्थ्यो झट्का
मेरो जिवनको तेजिलो प्रकाशले
जो तिमि हौ अनि म भित्रै छौ
यस्तै सोच्दा सोच्दै
ढल्थे म
बनमा होस् या आँगनमा
बारीमा होस् या घारीमा !!

जब गल्थे फतक्क हातगोडा
बटारिन्थे शरीरका मांसपेशीहरु
सिथिल बन्थ्यो यी ज्यान
तिमि बस्थेयौ चुपचाप
कत्ति हलचल नगरी
सम्झिन्थे तिमी चाहन्छौ
मैले केहीबेर बिश्राम गरोस् !!

झकाइहाल्थे आखाँ
देखिन्थे सपनीमा
पाकेका फलफूल
फल जस्तै
ताजा, स्वादिला र रसिला बनेर
फूल जस्तै
फक्रदै थियो मेरो प्रेमको आँकुरा !!

जतिबेला छुट्टियौ दुइ शरीरबाट
एक शरीर भएर
डुबेथ्यो मझेरी र अगेनाको छेउ
आलो रगतले
पखाल्दै थियो हर्षको आशुले
रगतका आहाल
सुके धोइए र पखालिए
रगतका छिटाहरु
सुकेनन् मेरा हर्षको आँसु
न त मेटिए तिमि जन्मिएको डोब !!

छिनमा दुखाइ परिणत भो खुशीमा
प्रकाश उदायो मनको आँगनीमा
झलमल्ल आकाशका तारा बनेर आयौ
बुढेसकालको लौरी सहारा बनेर आयौ!!

तिमीलाई साक्षात पाएपछि
प्रेमको अँगालोमा सजाएपछी
हरदिन
खुशीको दियो जलाएको छु
हरपल जन्मोत्सव मनाएको छु

-रेखा पन्त, गोरखा
हाल:ईजरायल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.