कविता : भिजिट नेपाल

~दिल थापा~

ऋतुहरुले प्रकृतिको रङ्गहरू प्रयोग गरेर
मेरो देशको हिमालहरुमा
तराईका फाँटहरुमा
अनि हिमाल र तराईको
न्यानो मायाँ पाएको पहाडहरुमा
मनको आँखालाई खुसी बनाउने द्श्यहरु कुँदि रहन्छ ।
कलाकारले जस्तै
लाग्छ मेरो देश
एउटा खुला आर्ट ग्यालरी हो।
भौतिकवादी नसाले मन आत्तिएको भए ।
मनको कुनाबाट मेरो देशको
प्राकृतिक मनोरम द्श्यहरुलाई कल्पना गरेको भए
भिजिट नेपाल ।

एकाबिहानै उदाएको कलिलो घामले
सधै मेरो घरको बाटो भएर
सगरमाथाको शिखर चुम्ने यात्रा गर्छ ।
सबैभन्दा छिटो सूर्य उदाउने देशको अनुमति लिएर
घामले मेरो घरको बाटोलाई घमाइलो बनाउँछ ।
अनि माछापुच्छे हिमाललाई
फेवातालको मञ्चमा मन्चन गराउँछ ।
हिमालहरूको कथा सुन्न मन भए ।
हिमालहरु जलवायु प्रदुषणसंग
कसरी जुढिरहेको छ ? हेर्ने मन भए ।
घामले सधै सगरमाथा चुमेको हेर्ने भए l
भिजिट नेपाल ।

विश्वमान चित्रमा कति सानो मेरो देश ।
तराईमा लहलह झुलेको
धानको बालाको एउटा दानाजस्तै लाग्छ ।
रारातालको एक थोपा पानीजस्तै पनि लाग्छ ।
अनि कहिले लाग्छ
मेरी प्रियसीले पहाडको घुमाउने घरको
साँघुरो आँगनमा रोपेको रंङ्गीबिरङ्गी फुल जस्तै ।
साँच्ची यति सानो मेरो देशमा
बहुजातिहरुले बसोबास गरेको देश
बहुभाषिक र बहुसांस्कृतिक सजावटले सजिएको देश ।
भिन्न भिन्न पहिचानहरुले चिनिएको देश ।
नजिकबाट नियाल्न मन भए l
भिजिट नेपाल ।

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.