~नेत्र तामाङ~
दावा र उसका बा पासाङ चिहानघर कुरिरहेका छन् । चिहानडाँडामा चकमन्न अध्याँरो छ । बेलाबेला चिसो स्याँठले माझघरे झाक्री बा जलाएको चिहानघरबाट केही झिल्का आगो उड्दै खरानी बन्छ । दावाले मोबाइलमा हे¥यो, १२ बज्नै लागेको थियो । चिहानडाँडाको वरिपरि बुट्यानै बुट्यान भएपनि देखिरहेको थिएन । जाडो र डर यी दुबैले दावालाई यहाँ बसिरहन मन लागेन ।
‘ह्या बा, अब जाने बेला भएन भन्या,’ मोबाइलमा गेम खेलिरहेका दावा झर्किए । भाँतेजाँड पिइरहेका पासाङ छोरोको झर्काईले झसंग भए । छोरालाई अल्मलाउन उसले कथा सुनाउन शुरु गरे ।
‘दावा, कथामा भनेजस्तै आजको रात ढुठा राक्षस आउन सक्छ, उसले झाक्री बालाई जिउदै बनाउन सक्छ,’ कथा सकेपछि दावातिर हेर्दै उनले भने, ‘जिउदै पारेर टुक्राटुक्रा पार्छ रे, त्यसो गरे झाक्रीबाको आत्माले शान्ति पाउदैन रे ।’
कथा र बाबाको कुराले दावाको आङ सिरिङग भो । उ मोबाइलमा गेम खेल्न छाडेर बाबा नजिकै टाँसियो । राक्षस आउने ठाउँमै किन बाबाले कुर्न ल्याएका होलान् ? राक्षस आए कसरी धपाउलन् ? यस्ता कुराले दावाको पेट अटेसमटेस भयो ।
‘तर बाबा, राक्षस आइहाल्यो भने हामी दुईजनलाई चाहिँ छाड्ला त ?’ दावाले बाबाको कोट कोट्याउदै सोध्यो । दावालाई लाग्यो, त्यो राक्षसले सबैभन्दा पहिले त चिहान कुरुवालाई नै हटाउनेछ । त्यसपछि झाँक्री बाको चिहानघरमा उसले चाहेको जस्तै गर्नेछ ।
‘तिमी छौ नि त, कुमार केटो भएको ठाउँमा उ आउनै सक्दैन,’ पासाङले हास्दै भन्यो, ‘यदि आइहाले म छु नि, त्यसलाई खुकुरीले छप्काईहाल्छु नि ।’ त्यही ढुठा राक्षसको आक्रमणबाट झाक्रीबाको आत्मालाई बचाउन नै चिहान कुर्न बस्नुपरेको कारण स्पष्ट पारे पासाङले । दावालाई भने कताकता डर लागिरहेको थियो । त्यसैले उसले बालाई घर जान कर गरिरह्यो ।
छोरालाई कसरी मनाउने ? यही चिन्ताले पासाङलाई सतायो । उसको मुख्य उदेश्य छोरो झाँक्री बनोस भन्ने थियो । मरेका झाक्री बाको आत्मालाई खुसी पार्न सके उनको ह्रेन्जेन (उनमा भएको ज्ञान, सीप र शक्ति) दावासँग आउने कुरामा पासाङ विश्वस्त थिए । त्यसैले पासाङले छोरालाई यही कुरा सुनाउन शुरु गरे ।
‘हेर छोरा, तिमीलाई थाहा छ, झाक्रीबाको इज्जत र सम्मान कति धेरै थियो, मेरो चाहना तिमी उहाँ जस्तै बनोस भन्ने हो,’ पासाङले दावाको निधारमा सुम्सुमाउदै भन्यो, ‘यसको लागि उहाँका ह्रेन्जेन तिमीमा आउनुपर्छ, ह्रेन्जेन तिमीमा आउन झाक्री बालाई खुसी पार्नु प¥यो, त्यसका लागि एकरात यही बस्नुपर्छ ।’
बाबाको कुराले दावा झनै डरायो । उसलाई त गाउँकै अस्पतालमा अहेवा बनेर सेवा गर्ने इच्छा थियो । यस्तो झाक्री बन्ने कुरा त उसले सोचेकै थिएन । ‘बा म त झाक्री बन्दिनँ,’ दावाले बालाई भन्यो, ‘मलाई यी कुरामा विश्वासै छैन, डरलाग्ने कुरा मात्र गर्नुहुन्छ तपाई ।’
‘विश्वासै छैन भने डराएर घर जाने, घर जाने भनेर किचकिच किन गरेको त,’ पासाङ रिसाए, ‘जात्रामा चाहि दुईतीन रात बस्न सक्ने, आज एकरात यहाँ बस्न नसक्ने ।’ बाबाको रिसले दावा आत्तिए । बाबा ठुलो स्वरमा हप्काइरहदाँ कतै भुत निस्केर आउने त हैनन् भन्ने डर दावालाई लाग्यो । भुत हुदैहुदैन भनेर स्कुलमा शिक्षकहरुले पढाएपनि कथा त भुतकै सुनिन्थ्यो । यस्तै चिहान, एकान्त ठाउँ हुदाें सम्झना आएर त्यसैत्यसै डर लागिहाल्थ्यो ।
यत्तिकैमा बाबा घुर्न थाल्नुभयो । उहाँ नजिकैको ढिस्कोमा आड लिएर बस्नुभएको थियो, त्यतैतिर टाउको ढाल्काएर निदाएका थिए । अहेवा बन्ने लक्ष्य लिएका उनलाई कतै झाँक्रीबाको ह्रेन्जेन आइहाल्ने हो कि भन्ने अर्को डर थप्यो । यही बेला नजिकैको बुट्यानमा स¥याक्क, बुद्रुक्क आवाज आयो । त्यो आवाज फेरिपनि आफुतिरै आइरहेको जस्तो लाग्यो दावालाई । ‘बाबा, बाबा’ उसले बाबालाई झक्झकायो । तर पासाङ ब्युझेन ।
त्यो आवाज निकाल्ने बस्तु चिहानघरबाटै फुत्त उफ्रेर अर्को बुट्यानरित पस्यो । ‘बाबा, राक्षस आयो,’ उसले बाबालाई बेस्सरी झक्झकायो । तर पासाङ ब्युझिएन । अघिको वस्तु निकै अग्लो र कालो जस्तै लाग्यो दावालाई । उसले मोबाईको टर्च लाइट बालेर यताउति हे¥यो । तर कतै केही देखिएन । उसलाई लाग्यो त्यो भुत होला, अदृश्य भइहाल्यो । त्यसैले टर्च बालेर उ घरतिर दौड्यो ।
चिहानडाँडादेखि घर पुग्न झन्डै एकघन्टा लाग्थ्यो । बाटोमा खहरे खोला पथ्र्यो । यही खोलामा अग्लाअग्ला सेता मुर्कट्टा आउँछन् रे भन्ने सुनेको थियो दावाले । खहरे खोला छेवैमा पुग्दा उसलाई एकदमै डर लाग्यो । खोला तरेर जाने आँटै आएन । छहराको फेदबाटै जानुपर्ने भएकोले त्यो बाटो डरलाग्दो पनि थियो । त्यसैले उ चिहान तिरै फक्र्यो ।
चिहानमा आइपुग्दा बाबा थिएनन् । बाबा गायब भएको देख्दा दावालाई अचम्म लाग्यो । कतै आफ्नै कारणले बाबा गायब भएको त होइन । उनलाई चिन्ता लाग्यो । अघिकै स¥याक्क आवाज आएकैतिर फेरि त्यस्तै आवाज आयो । स¥याक स¥याक आवाज दोहोरियो । बाबा नभएकोले बत्ती बालेर हेर्ने हिम्मत पनि गरेन उसले । उ घरतिरकै बाटो दौड्यो । जति उता दौड्यो उति पछिपछि स¥याक स¥याक आवाज आइरह्यो ।
यता दावाका बा पासाङ भने छोरा जताततै बहुला झै दौडन थालेको देखेर ह्रेन्जेन आयो कि भनेर खुसी हुदै पछिपछि दौडिरहेको थियो । यता छोरा अघिअघि कसैले लखेटिरहेको छ भन्दै डरले दौडदै थिए । झाक्रीको ह्रेन्जेन आएपछि मान्छे पुरै बहुलाइन्छ । जताततै दौडन्छ । यही विश्वासमा पासाङ छोराको पछि लागेको थियो ।
दावा दौडिदै गर्दा बाटोमा एकजना मान्छे आफैतिर आइरहेका थिए । त्यो मान्छे देखेर दावालाई फेरि डर लाग्यो । छेवैमा आइपुग्दा बत्ती उसकै मुखमा परेकोले अनुहार देखिहाले । घरको मुली ज्वाई चिहान पुर्न आइपुगेका रहेछन् । पासाङ पनि त्यही पुगे ।
‘हैन चिहान छाडेर बाउछोरा लाखापाखा किन लागेको हो,’ मुली जवाईले समातिहाले । पासाङले खुसी हुदै भने, ‘दावालाई झाँक्री बाको ह्रेन्जेन चढेछ, त्यही भएर उसको पछिपछि लागेको नि म त ।’
‘ए काँको ह्रेन्जेन चढ्नु, पछि पििछ केले लखेट्यो भनेर डर मान्दै दौड्यदौड्यै छु,’ दावाले रिसाएर भने ।’
बाउछोराको कुरा सुनेर मुली ज्वाई बेस्सरी हाँसे । गाउँतिर कुखुरा बासेको आवाज सुनियो । हाँसो सकेपछि मुली ज्वाईले भने,‘तपाईलाई पनि यो कुरामा विश्वास लाग्छ, यी सब झुट कुरा हुन्, मरेको मान्छेको चिहान कुर्ने, नसकेपनि रिन लिएर घेवा गरेर अन्न फाल्ने, दान दिने । यो सब काम बाध्यताले गरिरहेका छन् मानिसहरु । तपाई बाउछोरा पनि अरुले केही भन्लान् कि भनेर चिहान कुर्न बस्नुभएको होइन ?’
मुली ज्वाईको कुरा दावालाई एकदमै ठिक लाग्यो । चिहानमा कुनै राक्षस वा बोक्सी केही नआउने कुरा उनले स्पष्ट पारिदियो । पासाङलाई भने यो कुरा ठिक लागिरहेको थिएन । छोरालाई मुली ज्वाईल भड्कायो भन्ने पीर लाग्यो । ‘केटाकेटीलाई बुझाउन छाडेर भड्काउन पो थाल्नुभयो त तपाईले,’ पासाङले मुली ज्वाईलाई भन्यो ।
मुली ज्वाई भने, ‘हेर्नुस दाई, तपाई यति बुझ्ने मान्छे हुनुहुन्छ, तपाईको छोरा झाँक्री हैन अहेवा बन्छन्, अहेवाले त झाँक्री भन्दा बढी सम्मान पाउछन्, कमाई पनि राम्रो हुन्छ ।’ सम्मान र कमाईको कुराले पासाङलाई मुली ज्वाईको कुरा ठिक लाग्यो । झाक्रीबाका ज्वाई पनि अहेवा नै थिए । उनलाई गाउँमा राम्रै सम्मान थियो । सरकारी जागिरे भनेर सबैले मान्थे पनि । उसले छोरालाई त्यही दिनदेखि अहेवा बन्न चाहिने सबै सहयोग गर्ने वाचा गरेर घर फर्के ।
-बालकथा संग्रह ‘बन्धन(२०७०)’ मा प्रकाशित ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)