लघुकथा : भगवान्ले भलो गरुन् !

~गोरखबहादुर सिंह~

“वृद्धहरूको आदर-सम्मान गर्नुपर्दछ, उहाँहरूजस्ता पाकालाई उभ्याएर हामी बस्नु लाजमर्दो कुरा हो । ल, तिमी पनि उठ र उहाँहरूलाई बस्न देऊ ।” एउटा अधवैंसे जोडीले सिट खाली गरिदियो र पहिल्यैदेखि सँगै उभिएका वृद्ध दम्पती खाली गरेको सिटमा बसालिए।

लामो समयदेखि उभिन विवश वृद्ध दम्पतीले बस्न पाएकोमा सन्तोषको सास फेर्दै बस्ने ठाउँ दिने दम्पतीलाई हार्दिक आशिष् दिए- “भगवान्ले नानीहरूको भलो गरून् !”

“कमसेकम तिनीहरूले त ढिलै भए पनि सिट खाली गरिदिए जुन कुरा मैले गर्न सकिनँ ।” नजिकका यात्रुहरूले आफूले ती वृद्ध दम्पतीलाई बस्ने ठाउँ नछोडिदिएकोमा केही हीनताबोध गरे ।

वृद्ध दम्पतीले आसन ग्रहण गरेको केही समयभित्रै ती उदार दम्पती बसबाट ओर्ले।

(स्रोत : बगर साहित्यिक पत्रिका बर्ष २३, पूर्णाङ्क ७१, २०६१ कार्तिक-मार्ग-पुस)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.