~मधु श्री~
“….बिक्रम तिम्रो अफिस छुटेपछि अन्त जानु त छैन नि ?”
“छैन”
“उसोभए मलाई लिन आउ है । आज बैठकमा अलि ढिलो हुन सक्नेछ । धेरै एजेन्डसहरुको छिनोफानो गर्नु छ ।”
“सक्दिन म । सधैँ के को मिटिङ नि ? थपक्क घर नबसेर !”
“किन यस्तो भनेको ? यो त हाम्रो संघठनको मिटिङ हो नि । तिमीलाई नि थाहा छ यो कति जरुरी छ ।”
“भो छोडिदेउ । मैले चासो लिन छोडिसकेँ । संघठनले खान दिन्छ ? फेरी तिमीले के गर्न सक्छौ र ? सबै झूट …।”
“हिजोआज तिमीमा धेरै परिवर्तन देख्दैछु म । कारण के हो बिक्रम ?”
“तिमी पनि परिवर्तन हुनु पर्छ अब । घरको काममा लाग । पार्टिको काम छोडिदेउ ।”
“कसरी यसो भन्न सक्छौ तिमी ? हाम्रो उद्देश्य के थियो बिर्सेउ ?”
“सम्झनु परेको पनि छैन । बिर्से मैले । सबै धोकेबाजहरु …”
“तिम्रो मतलब ?”
“तिमी मसँग भन्दा अरुसँग नै खुसी हुन्छौ अब ।”
“के भन्न खोजेको ?”
“केही हैन । बजारको हल्ला के हो सोधेको …”
“कस्तो हल्ला ?”
” तिम्रो र विप्लपको सम्बन्ध …”
” के रे ? फेरी भन त ?”
“खुब घुमेर हिड्छौ रे । हात मिलाएर अंगालो हालेर ….”
“छि ! कस्तो कुरा गरेको तिमीले ? तिम्रै आँखा समु पनि हामी हात मिलाउँछौँ नि । हाम्रो सम्बन्ध के छ तिमीलाई थाहा छैन र ?”
“अब तिमी मेरो श्रीमती हौ । समाजको मुल्यमान्यतालाई हेर । समाजले पचाउँदैन यस्तो कुरा ।”
“कुन समाजको कुरा गर्छौ तिमी । पहिले त सबै पच्थ्यो । फेरी हात मिलाउँदैमा के हुन्छ ? तिमीसँग पनि पहिले मिलाएकै थिएँ ।”
“पहिले र अहिले धेरै फरक छ ।”
“फरक तिम्रो संकुचनमा आएको हो । केही फरक छैन । झन फराकिलो हुन पर्ने मान्छे ….”
“भो-भो तिमी नै राम्रो छौ । गलत त मैँ हु । तिम्रै विप्लव राम्रो छ । उसैसँग बिहे गरेको भए भैहाल्थ्यो नि । किन आउनु पर्थ्यो मसँग ।”
“तिमी त ज्यादै संकालु भयौ । बिहे अगाडि त यस्तो थिएनौ ? ठूला-ठूला कुरा गर्थ्यौ । परिवर्नका कुरा, संघर्षका कुरा ….। अहिले यस्तो संकुचन मानसिकता ?”
“तिमीले भन्न खोजेको के हो ? कसैले पनि आफ्नो श्रीमती पराईसँग हासखेल गरेको रुचाउँदैन । तिमीलाई पाल्नु मेरो कर्तब्य हो । तिम्रो जिम्बेबारी मैँले लिएको छु । केही काम नगराई पाल्न सक्छु । अब बाहिरको दुनियाँ किन चाहियो तिमीलाई ? किन चाहियो पार्टी, संघठन ….।”
“तिम्रो मतलब मैले सबै काम छोडेर घर बस्नु पर्यो ? कसरी सोचेका हौ, यस्तो गर्न सकुला म ?”
“खोइ त पुर्खा देखिका महिलाहरुले यसै गरेर बाँचेकै थिए । अहिले पनि भाउजुहरु, आमा, काकी, गाउँका अरु महिलाहरुलाई हेर । सबै जना श्रीमानको आज्ञा बिपरित कतै जान्छन् ? जसरी उनिहरु बसेका छन त्यसरी नै किन बस्न सक्दिनौ तिमी ?”
” बिक्रम तिमीलाई के भयो ? किन यस्तो बटारिएको कुरा गरेको ? मैले संघठनमा तिमीलाई भेट्नु भन्दा बर्षौँ पहिले देखि काम गरेको हो । हामीले सँगै काम गर्दा देखेका सपनाहरु, समाजिक परिवर्तनको लागि लड्ने प्रण । आज सबै भुल्दैछौ । तिमी त हामीले टेकेको धर्ती भन्दा पनि धेरै तल भासिएर कुरा गर्दैछौ । महिला अधिकारको कुरा उठाउँने, समानताको कुरा उठाउँने तिमी आज आफैँ महिलाहरु पुरुषको खेलौँना हुन् भन्ने तर्क राख्दैछौ । किन ?”
“म सामाजिक प्राणी हुँ । हाम्रो समाज जस्तो छ त्यस्तै रहने छ । त्यतिबेला मेरो दिमाखमा जे आयो त्यो भनेँ । कारण म तिमीलाई प्रेम गर्थे । तिमीलाई पाउँन तिम्रो हो-मा-हो मिलाउँनु थियो । तर अब त्यो अबस्था छैन । “
“यसको अर्थ तिमी मलाई प्रेम गर्दैनौ अब ।”
“कुरा त्यसो हैन । अब तिमीले मेरो इसार भन्दा बेगर केही गर्न सक्दिनौ । मलाई जे सोच्छौ सोच । म लोग्ने मान्छे हुँ । समाजमा मेरो इज्जतको ख्याल तिमीले राख्नु पर्छ । कसैले चिया पसलमा बसेर तेरो श्रीमती यस्ती-उस्ती भनेको सुन्न सक्दिन म । म तिमीलाई प्रेम गर्छु र त यसो भन्दैछु ।”
“यो प्रेम हैन तिमी भित्रको स्वार्थी पुरुष बोलेको हो । युगौँ देखि महिलाहरुलाई चौघेरा भित्र सिमीत राख्दै राज गर्न पल्केको पुरुषहरुको संकृणता बोलेको हो । मलाई बिस्वास लाग्दैन तिमी पनि यस्तो छौ भन्ने कुरामा ।”
“तिम्रो मतलब के हो ? सत्य कुरा बोल्नु पनि नहुँने ?”
“कुरा नबङ्ग्याउ । प्रष्ट भन । म तिम्रो इसारामा नाचिन भने के गर्छौ ?”
“खुट्टा भए जुत्ता कति- कति ! कमजोर नसम्झ पछि पछुताउनु पर्ला ।”
“अर्को बिहेको धम्की ?”
“गरेर देखाउँछु । लोग्ने मान्छे हुँ । छोरी नबिकेर बसेका कति हुन्छन कति ! रोजी-रोजी पाइन्छ ।”
“के यसो भनेपछि डराउँछे अनि तिम्रो पाउमा परेर रुँदै बस्छे भन्ठानेको मलाई ?”
“हेर्दै जाउ न म के गर्छु “
“गरेर देखाउ म खुशीसँग हेर्नेछु । अझ स्वागत पनि गर्नेछु । नसोच म यो घर छोडेर जान्छु । तिम्रो रोजी-छाडी ल्याइएकी श्रीमती हेरेर हिड्नेछु ।”
“बकबास नगर । पछि यता न उता हुनु पर्ला । म जे भन्छु त्यो मानेर घर बस्ने । अरु कुरा म जान्दिन । समाजको अगाडि केटा घुमाएर हिडेको सुन्न र देख्न नपरोस ।”
” तिम्रो धम्किले डराउँदिन म । म जुन बाटो हिडेको छु त्यो सही छ । मैले कुनै गल्ति गरेको छैन । बाटो नबिराउनु नडराउँनु । म काम छोडेर तिमीले भनेको मान्दिन । किनकी यही मेरो जिन्दगी हो । अब त झन जोस बढेकोछ । तिमी जस्ता नौटंकीहरुले बिगारेको समाजमा हक हितको लागि लड्न झन हौसला बढ्दैछ । तिमी जस्ताहरुको मुखुण्डो उतार्नु पनि हाम्रो कर्तब्य हो । म कुनै खेलौना हैन । म प्रति दया र करुणा देखाउनु पर्दैन । किनकी म गरिखान सक्नेछु । तिमी स्वतन्त्र छौ अर्को बिहे गर्न । म रोक्दिन ।”
शिला भित्रको आक्रोसलाई थुम्थुम्याउँदै ब्यग बोक्छे र घरबाट निस्कन्छे । बिक्रम राता आँखा पल्टाउँदै रिसले हेर्छ । शिला फर्केर पनि हेर्दिन । दुबै एक-अर्काबाट ओझेल पर्छन । शिला महिला संघठनको अध्यक्ष हो । अन्य संगठनमा पनि सक्रिय रहन्छे । विप्लव पार्टीको केन्द्रिय सदस्य । उसँग शिलाको मित्रता धेरै बर्ष पहिले देखिको हो । सँगै भुमिगत जिवन बिताएका उनिहरुको सोच उस्तै-उस्तै छ । विप्लवले शिलाकै साथी रेजिनासँग प्रेम बिवाह गरेको हो । उनिहरु धेरै खुशी छन् । सँगै काम गर्छन । रेजिना पनि शिला र विप्लवको मित्रता देखेर दंग पर्छे । उ कुनै प्रकारको संखा गर्दिन विप्लव प्रति । किनकी उनीहरुमा अटुट बिस्वास छ ।
घरबाट निस्केपछि शिला दुःखी हुन्छे । दुःख बिक्रमको ब्यवहार प्रति लाग्दैन । उसलाई चिन्न गल्ती गरेकोमा उ दुःखी हुन्छे । दुई बर्षको प्रेम सम्वन्ध पश्चात उनिहरुले बिहे गरेका थिए । बिहे भएको पनि लगभग आठ महिना भएको थियो । यति लामो संगत गर्दा पनि बिक्रमलाई चिन्न नसक्नुले उसलाई पश्चाताप हुन्छ । युद्धको पहिलो अभ्यास नै शत्रु र मित्र चिन्नु हो । यति लामो यात्रा गरिसक्दा पनि आफैले धोका पाएकोमा शिलालाई असैह्य पिडा हुन्छ । बिद्रोही हुनुको कारण सोच्छे । परिवारभित्र भएको असमानताले नै उसलाई सानै देखि बिद्रही बनाएको थियो । आमा प्रति बुबाको कठोर ब्यवहार, उ प्रति बुबा, दाई र भाइले गर्ने नियन्त्रण, शंखा, दाजुभाइले आफ्नै जन्म दिने आमा प्रति गर्ने तिरस्कार । यस्ता कृयाकलापले उ आक्रोसित भएकी थिइ । पुरुषहरुको दमन र शोषणको शिकार उ आफ्नै परिवार भित्र भएकी थिइ । यसैले उसले बिद्रोहको बाटो अंगाली । घर परिवार सबै छोडेर भुमिगत जिवन बिताई । अध्यायन अनुसन्धान गरि । उ अहिले राम्रो स्थानमा छे । समाजमा रहेका कुरितीहरुलाई हटाउँन महिलाहरुलाई अधिकार सम्पन्न बनाउँन ज्यू-ज्यान दिने शिलालाई महिलाहरुले आफ्नो दुःख-सुखको साथी नै मान्छन् ।
तर आफ्नो इसारामा महिलाहरुलाई नचाएर कठपुतली बनाउँन चाहने पुरुषहरु उसका शत्रु थिए । किनकी उनीहरुको स्वार्थ पुरा भएको थिएन । यिनीहरुकै फन्दामा बिक्रम पनि परेको देख्दा उसलाई बिस्वासै लाग्दैन । धेरै समय सोचमग्न हुन्छे र निर्णय गर्छे । “सकेसम्म बिक्रमलाई परिवर्तन गर्ने । नसके उसलाई छोड्ने ।” किनकी बिक्रम शिलाको जिवनको उद्देश्य हैन । उ बाटोमा भेटिएको एउटा यात्री हो । यति समयसँगै हिडेका हुन । जब यात्रामा मोडिनु पर्छ, को-कहाँ छुट्छ त्यो परिस्थितिले निम्त्याउँछ । शिलालाई यस्तो निर्णय गर्दा अलिकति पनि दुःख लाग्दैन किनकी उसको आँखामा आफ्नै आमाको तस्बिर नाँच्न थाल्छ । बाबुले दिएको यातना सहँदा-सहँदै मरेकी थिइन । नामर्दहरु यस्तै हुन् । उसले चित्त बुझाउँछे र लाखौँ आमाहरुको मुक्तिको लागि निरन्तर लडिरहने निर्णय गर्छे । उसलाई छुट्टै आँट आउँछ । बिक्रमको ठाउँमा आफ्नै महापुरुष बुबालाई देख्छे । घृणाले आगो हुन्छे ऊ । जुन संस्कारको बिरोध गर्न निस्केकी थिई घुम्दैफिर्दै उस्तै शिकारीको फेला पर्दा उसलाई पिडा हुन्छ । फेरी सोच्छे चुनौती भएन भने त हिड्नुको, संघर्ष गर्नुको के मज्जा हुन्छ र !”
बैठकको काम सकाउँदा राती आठ बजिसकेको थियो । मन भारी थियो । घर जाउँकि जनाउँ गर्दै घरतर्फ लागि । साथीकै बाइकमा उ बाटो लागि । घर नजिकै पुगेपछि साथी छुट्टीने दोबाटो आयो । दुबै छुटिए र आफ्नो-आफ्नो बाटो लागे । एक्लो भएपछि सम्झि बिक्रमसँगको उसको सम्बन्ध । बिक्रम धेरै फरासिलो थियो । हँसिलो ठिटो । उसको दृढ अठोट, काम गर्ने तरिका, मानिसलाई बुझाउँने तरिका सबैमा अगाडि थियो । यस्तै ब्यवहारले उनिहरुको मन मिलेको थियो । विप्लव दुबैलाई असाध्यै सम्मान गर्थ्यो । विप्लवकै आग्रहमा उनिहरुको बिवाह भएको थियो । तर एका-एक आएको परिवर्तनलाई उसले सहनै सकेकी थिईन । बिवाह भएपछि उसले काम गर्ने अफिस परिवर्तन भयो । दुबै एकै ठाउँमा थिएनन् । त्यसपछि बिक्रम र विप्लव बिचमा खासै भेटघाट पनि थिएन । चासो पनि लिँदैन थियो । ब्यस्तताको कारण होला भनेर शिलाले केही महत्व दिइन । तर परिस्थिति सोचेभन्दा धेरै फरक निस्किसकको थियो । बल्ल शिला बुझ्दैछे बिक्रमको नियात ।
घर पुग्दा बिक्रम आएको थिएन । अन्य सदस्यहरु शिला प्रतिनै रुखो देखिएका थिए । तर केही बोलेनन् । शिलाले आफ्नो कोठा सफा गरि । खाना खाने बेला भयो । सबैले खाना खाए । शिलालाई कसैले बोलाएनन् । सोचेका थिए शिलाले बिक्रमलाई खाना कुरेर बस्नेछे । तर त्यसो भएन । शिलाले आफ्नो भाग लिई र खान थाली । यो संस्कार बिपरित थियो । खाँदा-खाँदै बिक्रम रक्सिले लठ्ठिएर भित्र पस्यो । “बेसरम आइमाई । लोग्ने नआइ घिच्न थालिछ ।” रक्सि खाएपछि उ पुरुषार्थ देखाउँदै थियो । नामर्द पुरुषरुको पुरुषार्थ भनेको रक्सि हो । आफ्नी आमाले पनि रक्सिको नसामा रहेका बुबाबाट धेरै शास्ति खानु परेको थियो । शिला मनमनै कुडिइ । बिक्रम झन जोसियो शिलाको मौनता देखेर । उसको पुरुषार्थको सिमा नाघ्यो । उसले शिलाको कपाल समायो । “मैले भनेको मान्दिनस तँ ? म तेरो लोग्ने हुँ । तेरो भगवान । तेरो सिद्धान्तले के ख्यास्छ ? अब तँ मेरो खेलौना नै होस । गाउँका आइमाई भाँडेर हिड्ने सपना छोडिदे । तेरो सबै जगल्टा उखेलेर थुपारिदिन्छु । खुब ठूलो कुरा गर्ने मेरो अगाडि । लोग्नेको अगाडि ?”
यस्तो निच ब्यवहारले शिला चकित परि । उसले सोचेकी पनि थिइन । उसले बिक्रमको हात समाती र पछाडि पट्टि बटारिदिई । रक्सिले मात्तिएको उसले केही बल देखाउँन सकेन । उ थचक्क भैँमा बस्यो । लडाकुको तालिम लिएकी शिलालाई कसरी ठीक पार्नुपर्छ यस्ता मान्छेलाई भन्ने राम्रो ज्ञान थियो । उसले केही नबोली थिचीरही । रीसले आगो बनेकी थिई । घरका अन्य सदस्य छुट्याउँने कोसिस गर्दै थिए । बिक्रम भएभरको बल लगाएर आफूलाई मुक्त गर्ने खोज्दै थियो । तर केही पत्तो लागेन । निकै समय पछि शिला कराई “बिक्रम मेरो साथी कहिले हुन सक्दैनस् । तँ मेरो शत्रु होस । तँलाई बिस्वास गरेर मैँले ठूलो भुल गरेछु । अब मलाई तेरो कुनै आबस्यकता छैन । तँ मेरो वर्गीय सत्रु होस । तँलाई (तँजस्तालाई) परास्त गर्नु नै मेरो जिवनको उद्देश्य हो । जबसम्म तेरो प्रवृति रहिरहन्छ समाजबाट हिंसा उन्मुलन हुँदैन र बिभिन्न नाममा मेरो जन्म भैरहनेछ । याद गर तँलाई त मैले हिजो मात्र भेटेको हुँ । म भित्र तेरो बिरुद्धको युद्ध बर्षौँ पहिले देखि बाँचिरहेको छ । राम्रो गरिस बेलैमा आफ्नो रुप देखाएर । यसको लागि तँलाई धन्यवाद । अब म तेरो स्वास्नी र तँ मेरो लोग्ने हैन । म तेरो काल हुँ । प्रतिक्षा गर मृत्युको । स्वास्नीहरु जहिले पनि कमजोर हुन्छन् भन्ने भ्रम हटाइदे मनबाट । स्वास्नी सधैँ खेलौना हुँदैनन् । उ त जीवनभरको लागि दुःख सुखको साथी हो । दुबैको समान अधिकार हुन्छ जिवन जिउँने । तर तँ जस्तो नामर्द कसैको लोग्ने हुन सक्दैनस् । तेरो मृत्यु मेरो हातबाट निस्चित छ । त्यतिबेलासम्म म संघर्षको मैदानमा बाँचिरहनेछु । तेरो लागि चियान खन्दै । आइन्दा मेरो तर्फ फर्केर हेर्ने भुल नगर्नु ।”
एक किक हानी । उ झन भैँमा पसारियो । त्यसपछि उसको पसारिएको शरिर नागेर उ बाटो लागि ….।
“ईति”
मधुश्री
९ पौष २०६७
(स्रोत : रचनाकारको ब्लगबाट सभार)