~अर्जुन दुलाल~
मान्छे हुन्न कतै निस्वार्थ मनको आमा समानै यहाँ
खोजे जे पनि लौ सँधै श्रम गरी भेटिन्छ संसारमा
खोजौँ है मनले सँधै भरी अब यो जिन्दगीको घर
हुन्छन् साथ सबै जिते पछि यहाँ संघर्ष गर्ने गर
!!१!!
देखिन्नन् दुधमा अहो घिउ कतै भेटिन्छ संघर्षले
पीडा ती मनका र दर्द सबनै मेटिन्छ संघर्षले
खुट्टा छैन भनी बसे पछि त्यसै उठ्नै त को सक्छ र
लड्दै साहसले सधै भर जुटी संघर्ष गर्ने गर
!!२!!
माया हुन्न यहाँ सधै मनभरी सद्भाव छैनन् भने
धोका भो मनमा भनी बसिदिदा पाईन्न केही अरे
ढुङ्गामै सब मुर्ति छन् तर यहाँ देख्नै त को सक्छ र
ढुङ्गा नी अनमोल बन्दछ तिमी संघर्ष गर्ने गर
!!३!!
तेन्जिङ्ले पनि उच्च त्यो सगरमा संघर्षले नै चढे
जो जो छन् जति छन् महान जन ती संघर्षले नै बने
केही नै नगरी विकास मुखले बोल्दा कहाँ हुन्छ र
राखी लक्ष्य उदेश्य यो मनभरी संघर्ष गर्ने गर
!!४!!
सारा जीवनमा नयाँपन झिकी खाल्डा भए पुर्नु छ
पक्का फूल्दछ रे सबै जीवन यो आफू सँधै जुट्नु छ
कोही छैन भने जुटीरहनु रे राखेर आफ्नै भर
तिम्रै सारथी बन्छ है समयनै संघर्ष गर्ने गर
-अर्जुन दुलाल
माई नगरपालिका ईलाम
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )