~देवब्रत घिमिरे~
उत्तरविहिन जीवनका प्रश्नहरूले
प्यसा मच्छर झैं कान वरिपरि
रन्थनिएर कोलाहल मच्चाइदिँदा
समाधानका प्याट्ट प्याट् लबटाहरूले
प्रत्येक असफल प्रयास
आफ्नै गाला नमिठो चहर्याेइदिन्छन्।
एकान्तले एउटा कोलाहल मच्चाएजस्तो
नजन्मिएका भावी सन्ततिले किपट खोज्दा
आफै अस्तित्वविहिन भइ भाँसिएजस्तो
एउटा निर्विकल्प परिस्थिति रोज्दा।
जति जति उत्तर खोज्छु
उति उति सुन्छु, ठुला प्रश्नका अट्ठाहाँस
जति जति उक्लन खोज्छु
उति उति तलतिर खसिरहेको हुन्छु।
दिन दिनै चाउरिएका गालाहरूमा
बैंसका बासी अवशेस खोजिरहेछु
कहाँ हराए ती गालाका लालीजोवन
ऐनालाई एउटा फगत प्रश्न गरिरहेछु।
जीवनका उत्तरविहिन प्रश्नहरूको
एउटै समग्र उत्तर खोजिरहेछु।।
उकाली ताक्ने जिन्दगीले
आज किन ओह्राली रोजिरहेछ?
भिडभाडमा रमाउने यो मनले
किन आज एकान्त खोजिरहेछ?
आज जिन्दगीले आफ्नो गन्तव्य
साँच्चै नै बुझेजस्तो छ,
जिन्दगीले केवल शान्ती मात्र होइन
महाशुन्यता खोजेजस्तो छ।
विविध प्रश्नका गोलाहरू
अटेसमटेस हृदयका अन्तरकुन्तरमहा।
के?, किन?, कसरी?, कहाँ?
कसको?,कसलाई? यहाँ कि वहाँ?
एउटा प्रश्नको अध्याय जीवन
जीवनभित्र उत्तर खोजिरहेछ,
किन किन जीवनले आज
घोची घोची प्रश्न गरिरहेछ।
पूर्वोत्तर क्षेत्रीय भाषा केन्द्र, आसाम, भारत