कविता : आस्थाहरु स्वतन्त्र हुन खोज्छन्

~इश्वरवल्लभ~

म एकफेरा निर्लिप्त हुने मन गर्छु
ती अँध्यारा कोठाहरुझैं, जो सधैं कुनै बेस्यहार परेको
– परिवेश जिउँछ,
तिमीहरु भन्छौ, ती अघिल्ला झ्यालहरु पनि अनुहार हुन्,
जस्तै बगिरहेका खोलाहरु,
जस्तै अल्झिरहेका बार्दली र झ्यालहरु,
तिमीहरुले जस्तै,
म सुन्न खोज्छु अनुहारहरु, अँध्यारोमा अँध्यारोहरुमा
यस्तो गर्दा गर्दै कतै कोलाहल बनेको त होइन :
यस्तो गर्दागर्दै कतै हाँगाहरु बनिरहेको त होइन।

तैपनि, ती अँध्यारा कोठाहरु झैं
स्वरूप बनिरहेका हुन्छन् ,
कतै वरिपरिको परिवेशको नाममा भित्ता बनेर
त्यता कतै ठूलो अग्निको रापले उभिन खोजेको छ,
उभिंदै र अग्लो हुँदै
अग्लो हुँदै र उभिंदै ।
तिमीहरुले भन के भइरहेछ यसरी यहाँ
तिमीहरुले भन के गइरहेछ यसरि यहाँ
यात्रा जस्तो,
जहाँ पुग्ने क्रमको कुनै रुप छैन ।
तैपनि तिमीलाई
तैपनि मलाई जीउन मन लागिरहेछ,
यी सबैबाहेक केही हुन मन लागिरहेछ,
ती यात्रा किन बगिरहेको नदी नसोध,
उत्तर छैन ।
ती किरणहरु किन भाँचिरहेका, बनिरहेका नसोध,
गति छैन ।
ती बिम्ब किन खोला भइरहेका, नसोध,
पानी छैन ।
तैपनि एउटा मानिस मेरो सामू एउटा गिलास
म उसलाई हेर्न खोज्छु, पिइरहन्छ,
उसले गिलास किन पिइरहन्छ,
एकछिन पर्ख, म केहि भन्न खोजूँ तिमीलाई
कहिले काहीं अलिकति पर्दा खोलेर बाहिर हेरेको झैं
जो निरंतर बाहिर भइरहन्छ
जो निरंतर भित्र हुन सक्दैन
जब, त्यो बाहिर भइरहन्छ ।
एकछिन पर्ख म कसैलाई लेखूँ, बिहान गरेर,
बिहान उज्यालोको तिमीलाई उपहार हो
तर, त्यहाँ पनि व्यवधान छ,
यी सबै उसले खाएको गिलासको प्रभाव होला,
उसले गिलास खाँदा, मलाई हुने गिलासको
– प्रभाव !
– त्यता कतै अग्निको सल्काइले, समिधा पाएर,
अग्लो जान्छ पहेंलो तातो भएर माथिसम्म,
त्यस कुनै पनि माथिलाई सल्काउंदै,
कतै नजीक र टाढाबाट केहि कर्कश
– बजिरहेर
बजिरहन्छ अचेल कर्कश , कानैमा
फेरि बिस्तारै बिलाउँदै जान्छ त्यो हो
त्यसैले म, एकफेरा निर्लिप्त हुने मन गर्छु ।

कहिलेकाहीं छेक्छ सीमानाले
र कह्लेकाहीं सीमानाले बाटो बगाउँछ
त्यो निर्मितिसम्म,
कसैलाई बाँच्ने मन हुन्छ त्यसैले
कसैलाई मर्ने मन हुन्छ त्यसैले ।
मैले र तिमीले । तिमीहरुले यिनै कोलाहलको बीच
– यस प्रकार बाँच्ने र मर्ने मनको कुरा !

हिसाब लेखिन खोजिन्छ कहिले काहीं
एउटा सानो केटाले भनेको आधारमा –
– आर्कीमिडिज् !
तिमीहरु जल्न चाहँदैनौ,
कोहि पनि जल्न चाहँदैन,
त्यसैले कोही पनि, त्यसैले कोही पनि कोही होइन ।
एउटा अग्लो टाकुरोलाई
जिस्काउँछ कुनै सानो लाघुताले भने
– त्यो अस्तित्वको खोजी हो ।
त्यसैले म, एकफेरा निर्लिप्त हुने मन गर्छु,
ती अनेकौं अनुहारजस्तै,
ती अनेकौं अँध्यारोहरुजस्तै,
ती अनेकौं कोठाहरुजस्तै,
र एकफेरा म स्वतन्त्र हुन खोज्छु
ती अनेकौं आस्थाहरुजस्तै ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.