कविता : मेला

~यश लामा~

जब देखिन्छ रोटेपिङ
गरीब बाउको टाउको घुमिरहन्छ
स्कुले छोराछोरीको अघिपछि ।

मौतका कुवा
पर्मबाट फर्किएकी आमाको घाँटी अठ्याउने अस्त्र
जो अल्झीबस्छ गलगाँठझै ।

जादु
आङ टक्टकाएर धुलो झार्ने खेल
जो छलिबस्छ आँखाको प्रकाश ।

स्टलहरू
खसीको टाउको झुण्डाएर
कुकुरको मासु बेच्ने उपाय
जो गरिबस्छ भद्दा विज्ञापन ।

कन्सर्ट
रूपमतिले रूप बिगारेर घर फर्कने इमोसन
हातगोडाबीच हुने अनावश्यक घम्साघम्सी
आँखाले गर्ने अघोषित युद्ध
धनकुमारहरूको धन चङ्गा हुने समय
जो रौनक हुन्छ मेलाको ।

खेलौनाहरू
भाँडाकुडी र माटो बिर्साउने कृतिम साधन
रेडिमेड बुख्याँचा प्रतिको काँचो प्रेम
सिर्जनाको अन्त्य
जिभ्रोमा प्लास्टिक टाँसेर खाएको भात
जो आर्ग्निक सपनाहरूको हत्यारा भएको छ ।

रेलगाडी
भुमरीको हावा
घुमाएर सात्तो खाने खोला
कतै नपुर्याउने गन्तव्य
रेमिट्यान्स बाहिर्याउने अब्बल षडयन्त्र ।

मिठाइका परिकार
झिँगाको पाइखाना
धुलोको सगरमाथा
पेट बिगार्ने रोग
जथाभावी कन्याएको हात बेच्ने दोकान
सिँगान पुछ्ने रूमाल
जसले बनाएको छ जिन्दगी अमिलो ।

खुद्रा प्रदर्शनी
अक्षर बिर्साउने चरित्र
भुरा रूवाउने गज्जबको चिमोटाइ
इतिहास प्रतिको नमिठो व्यङ्ग्य
मन भत्काउने भुइँचालो ।

यी जम्मै
आयतित आकर्षण बाहेक अरू केही होइनन् ।

मेला
किन बिकृत हुँदैछ अचेल यसरी ।

गैरीखेत र टारीखेतको मेलाको सिकाइ
माटोको छाती चिथोर्दा पाएको मङ्सिरे उपलब्धी
कत्ति पनि बिकृत छैन बरू ।

आउ बसेर हिसाब गरौँ
यो मेलाले साधु बढी बनाउँछ
कि चोर ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.