छन्द कविता : थामौ न संङ्घीयता

~डा.मेघराज ढकाल~

छन्द : शार्दुलविक्रीडित

मान्छे छन् अलमल्ल रे ! अझ यहाँ पाएर संङ्घीयता
यस्को मर्म र धर्म शक्ति नबुझे बढ्दैन रे एकता
खोज्दै छन् अझ झन् कतै मुलुकमा खाका त खण्डास्मित
यस्तैको परिणामले त अहिले रोज्दै छ एकात्मक ।

धेरै कारणले त रक्त छरियो मागेर संङ्घीयता
पैलो कारणमा विभेद गरियो जातीय सम्मानता
दोश्रो अन्तर भो त देश भरमा वित्तीय सञ्जालता
अर्को बन्न गयो त शासनकला अभ्यास केन्द्रीयता ।

यस्को मर्म थियो त केन्द्रघरको सत्ता दिदैँ पीँधमा
मान्छेको अधिकार स्वच्छ मनले सत्कर्म सम्मानमा
साझा सभ्य समाज अर्थ अझ झन् कर्तव्यको मार्गमा
आफ्नै गाउँ र ठाँउमा प्रगतिको संंचार सन्देशमा ।

ढाँचा हो तलबाट माथि कहिने उल्टो भयो चाल यो
रेखा कोर्नु थियो त केन्द्र घरले आदेश मात्रै दियो
तल्लो गाउँ सदा निराशपनले आदेश कुर्ने भयो
यस्ता घात र बातमा दिनदिनै मर्मै त टाढा गयो ।

भन्दैछन् अझ लौ सुशासन कला रम्दै त दुुष्टासन
साँढेकै बलमा प्रदर्शन गरी साखै गिराए झन
यस्तो शासनमा गयो मुलुक यो नौला सुनौला बिधि
टाढा छन् तर लौ स्वदेश घरमा चोर्ने सधैँको स्थिति ।

अर्थ शक्ति रहो त केन्द्र घरमा कामै रहो है तल
गामै रित्तो भयो अझै मुलुक यो पैसासँगै झन बल
उड्दै छ अहिले विदेश घरमा यो देश रित्तो भयो
लैना बन्न गए विदेश घरमा थारो त देशै भयो ।

के पो अर्थ भयो ? त शासनकला बन्दैन गाउँ हरे !
हाम्रा संरचना अनेक थरका चम्चेहरू ले भरे
राम्रा योग्य लुकालुक भयो आफन्तको राज रे
राणा–पञ्च गए त आज घरमा उन्कै नयाँ रूप रे ।

माथिल्लो पदको उँभो हुन गयो तल्लो उभिन्डा भयो
थिच्ने काम भयो जतापनि यहाँ सिर्तो त चर्को भयो
यस्तैमा उठिबास हुन्छ जनको बन्दैन रक्षात्मक
के पो अर्थ भयो ? अशुद्ध मनले चल्दैछ संङ्घात्मक ?

ठेकेदार बढे निराश जनता भ्रष्टैहरू झन् बढे
पैसाको बलमा त साँसद बने स्वच्छन्द बन्दै लडे
पैलेको दलमा बजार नमिले अर्को सजिलै फेरे
यस्तै तन्त्र भयो त लोकघर यो वेश्यालय झैँ गरे ।

हस्र्तैक्षेप गरे सिमातिर यहाँ चर्को भयो खर्च रे
आम्दानी कम भो’ त मान बढी भो’ खानेहरू हर्कले
बण्डा–पत्र गरे त मानपदवी लाएर भागै यहाँ
ल्याए झन् रिन लौ अहो ! मुलुकले थाम्नै नसक्ने यहाँ ।
१०

आम्दानी भन के छ देश घरमा देखेर ल्यायौ कि खै ?
अर्काको भरमा दबाब सहिदैँ तर्सेर ल्यायौ कि खै ?
यस्तै चाल रहे कठै ! मुलुकको माटो कतै हुुन्न रे
खोलाको पनि आँत सुक्छ अझ लौ देखेर यो रून्न रे ।
११

यस्तो हालतमा अझै हृदयको कालो नफालेपछि
उठ्दैनौँ दुनियाँ खुलस्त मनले स्वार्थै नछाडेपछि
हाम्रा निम्त युगानुसार दरिलो नेता नभएपछि
बढ्दैदैनौं हतियारले कलमको टुप्पो नताछेपछि ।
१२

सम्झौता, शुभकामना सहितका सन्देश लेखेर रे
गर्नेपर्छ सधैँ अवश्य घरमा निस्वार्थ उद्वेगले
होला रे धनको त सञ्चय कला लेखेर सञ्जालमा
राख्दा खुल्छ यहाँ विकास घरको ढोका छ सर्वाङ्गमा ।
१३

सद्धे छौ यदि लौ भने मगज लौ पारेर शुद्धीपना
आओ ! कर्म गरौँ पवित्र मनले फालेर अल्छीपना
बन्छिन् रे धरणी अवश्य पहिलो संसारकै रोशनी
तान्छिन् रे परको त ध्यान सबको लाएर झन् मोहनी ।
१४

फर्केलान् घरमै प्रसन्न मन भै बाटो बिराए पनि
यो उद्यान सधैँ सफेद रहला लिएर सद्मार्ग नि
फुल्छन् फूलहरू अनेक थरका बोकेर स्वाधीनता
फिर्ला राष्ट्र उँभो दिनै–दिन यहाँ थामौ न संङ्घीयता ।
१५

मिति २०७६।१० १९

मेघराज ढकाल (विद्यावारिधि)
निबुवाबोट ,आँधीखोला गाउँपालिका, स्याङ्जा ,
हाल टोखा , धापासी काठमाडौँ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in छन्द कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.