समीक्षा : नेपालीमा लिमरिकको प्रवेश : एउटा उत्सुकता

~पवन आलोक~

भनिन्छ, नेपाली भाषामा गजल शैलीका प्रथम प्रवर्तक मोतिराम भट्ट हुन् । त्यस्तै जापानी हाइकु शैलीलाई नेपाली कविताजगतमा प्रवेश गराउने श्रेय शंकर लामिछानेलाई दिइन्छ । हालै नेपाल स्रष्टा समाजले राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा अर्को एउटा नौलो जानकारी पाइयो र त्यो हो अंग्रेजी साहित्यमा प्रचलित ‘लिमरिक’ काव्यशैलीको प्रवेश सन् ६० को दशकतिर नेपालीमा पनि भएको रहेछ ।

के हो त अंग्रेजीको ‘लिमरिक’:

भनिन्छ, अंग्रेजीमा यो पांच पंक्तिको एक हास्यव्यंग्य कविता हो र ती पांच पंक्तिमध्ये पहिलो, दोस्रो र पांचौं पंक्तिमा अन्त्यानुप्रास मिलेका हुन्छन् भने तेस्रो र चौथो पंक्तिमा पनि । अक्षरसंख्याको दृष्टिले पनि पहिलो, दोस्रो र पांचौं पंक्तिमा सरदर १६ वर्ण हुन्छन् तथा तेस्रो र चौथो पंक्तिमा सरदर १० वर्ण रहने गर्छन् ।

नेपाल स्रष्टा समाजको उक्त कार्यक्रममा तीनवटा कविता पाठ गरिएका थिए, जसको संरचना र हास्यचेतको बान्की हेर्दा लिमरिकसंग मिल्नगएको देखिन्छ । तिनको रचयितामा सोफिया रेग्मीको नाम रहेको छ र तिनलाई सुश्री रेग्मीले सन् १९६६को १२ अगस्टको मिति दिएर रचना गरेकी जानकारी पनि उक्त कार्यक्रममा दिइएको थियो । ती तीन कविता निम्नप्रकार छन् :

१. गर्दभ राग
संगीत सिक्न आएकी नेपालबाट
तर सबै हांस्छन् मेरो गर्दभ रागबाट ।
अरुका मीठा स्वरहरु सुन्छु
कोठामा छिरेर एक्लै रुन्छु,
कैले भागुं जस्तो लाग्छ यो ठाउंबाट ।

२. चड्कन
राम्री एउटी साथीको बिहे भो प्रोफेसरसंग
प्रोफेसरको साथी भएथ्यो फिदा मसंग ।
बिहेमा म गएं भएर झिल्के
उ पनि आएछ भएर टिल्के,
छुन के खोजेथ्यो, चड्काएं गाला जोडसंग ।

३. नाठो
गाइरहेथे माइकमा केटाका जन्ती
नाच्ने केटीहरुको पनि थिएन गन्ती ।
बेगाने शादी मैं अब्दुल्ला दिवाना ू
बोलको गीतमा सबै मस्ताना,
नाठोसंग सल्कीछ त्यै रात ब्यौलीकी लोकन्ती ।

साहित्यको एक शिक्षार्थीको हैसियतमा मेरो उत्सुकता के हो भने, उक्त तीन हास्यव्यंग्य कवितालाई लिमरिकको संज्ञा दिन उपयुक्त हुन्छ भने यी कविता नै नेपाली काव्यशैलीमा लिमरिकको रुपमा प्रथम प्रयोग भएका रहेछन् भन्न मिल्ला कि नमिल्ला ? साहित्यको इतिहासका ज्ञाताहरुबाट यस बारेमा थप प्रकाश पारिदिनुभए नेपाली काव्यशैलीको एक महत्वपूर्ण पक्ष उजागर हुने थियो भन्ने ठानेका छौं ।

– पवन आलोक
कालिकास्थान, काठमाडौं ।
२०६८ / ८ / २६

This entry was posted in लिमरिक, समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.