कथा : भोक

~भुवन ढुङ्गाना~

उनीहरु धेरै बेरसम्म गुन्गुनाइरहे । कोठामा बत्ती निभेको थियो, तर झ्यालबाट आइरहेको जूनको उज्यालोमा उनीहरु एक–अर्काका जीउ र अनुहार राम्रैसँग देख्न सक्थे । वातावरणले लाग्थ्यो, उनीहरुको कुरामा केही नराम्रो परिरहेछ ।

‘मलाई भोक लागिरहेछ ।’ एकछिनपछि केटीको रुञ्चे स्वर सुनियो । केटोले एकछिनसम्म केही बोलेन र एउटा लामो सास फेरिरह्यो । त्यसपछि ऊ एकनाससित बोलिरह्यो, दार्शनिक झैँ बोलिरह्यो, ‘मैले तिमीलाई केही गर्न सकिनँ, अरु कुरात परै जाओस्, भोकाएको बेलामा केही खान दिन पनि सक्दिनँ, म धेरै दुःख दिँदै छु, धेरै–धेरै नै !’ त्यसपछि ऊ एकछिन अड्यो र फेरि भन्यो– ‘हिँड, माथि जाऊँ ! भान्सामा जाऊँः केही खानेकुरा पाइन्छ कि !’

‘मैले भर्खरै तरकारी ओइरेको सुनेकी छु ।’ केटीले बिस्तारै उठ्दै भनी र ढोकामा गएर उभिई । केटो आफू सुतेको ठाउँबाट भन्यो– ‘हामी एकछिन पाकुञ्जेल पखौँ न त, भोक त मलाई असाध्य…।’

बाहिर निकै चिसो थियो, तर जुनेली रात । केटीले आफ्नो टाउको र कान ओढ्नेले छोपी र, आँगनमा आएर उभिई । उसले विहान तारेका आलुका टुक्राहरु सम्झी, चिउरा सम्झी । उसलाई अहिले भने आफ्नी आमाको सम्झना आउँछ, उसका लागि स्कूल पढ्दा मीठो गरी आलु तारेर चिउरासँगै राखिदिने उसकी आमा । आँगनका बालुवालाई उसले मुठी भरी–भरी लिएर खेलाउँछे र अनावश्यक सोच्दछे, यो सम्पूर्ण आँगन अहिले चिउरै चिउराको आँगन किन हुन सकेन ? र, यी पहेँला फुलिराखेका सयपत्रीहरु आलुका टुक्रा । उसको मुख रसाएर आउँछ ।

ऊ एकचोटि आकाशमा उदाएको आधा टुक्रो सेलजस्तै जुनलाई हेर्दछे र मुठीभरि बालुवा लिएर धेरैबेरसम्म आफू बसेको ठाउँमा, सेल पकाए झैं गरी बालुवाको गोलो फन्का मारिरहन्छे । यसो गर्दा उनलाई खुब रमाइलो लाग्छ, ऊ भोक बिर्सिरहेकी छ ।

त्यसपछि ऊ झल्याँस्स हुन्छे र त्यस ठाउँबाट उठ्न खोज्दा आफ्नो चारैतिर देख्छे, ऊ बसेकै ठाउँमा चक्का–चक्का बालुवाका तीन–चार फन्का जूनमा टल्किरहेका हुन्छन्, सेता कल्लीझैँ । उसले बालुवैबालुवा टाँसिएका आफ्ना हत्केलाहरु खोल्छे, जुनमा हेर्छे र एउटा दिक्दारको थप्पडी बजाउँदै बालुवाका करणहरु झार्छे ।

एउटा दन्त्यकथाको बोध हुन्छ उसलाई । उसले अहिले पकाउन खोजेको सेल केटाकेटीमा उसकी आमाले सुनाउने गरेको दन्त्यकथाको सेल हो । अँ, उसले एकछिन घोरिए झैँ गरी सम्झी । एकादेशमा बुढाबुढी थिए रे । बूढालाई सेल खान मन लाग्यो । बूढी पकाउँदै छ, बूढा खाँदै छ । त्यसभन्दा अगाडि उसलाई केही सम्झना छैन । उसलाई यो कथा सम्झिरहन पनि मन लाग्दैन । उसलाई कथा र ती बूढाबूढीभन्दा बढी सेलको सम्झना आउँछ । र भोक झन्–झन् चर्किएर आउँछ ।

त्यसपछि ऊ आँगनका छेउछाउमा असमेलसँग खान फुलिराखेका सयपत्रीहरु नजिक जान्छे र सयपत्रीहरु टिप्न थाल्दछे ।

‘सयपत्रीका गुभाहरु असाध्य मीठा हुन्छन्, हामी केटाकेटीमा खाने गथ्यौ ।’ यतिञ्जेलसम्म केटा पनि आँगनमा निस्किन्छ र केटीछेउ उभिएर भनिरहेको हुन्छ ।

उनीहरु दुवै सयपत्री छोडाउन थाल्छन् र गुभा खान थाल्छन् । यसो गर्दा प्रायः आँगनभरिका सयपत्रीका पत्रहरु छरिन्छन् र जुनको उज्यालोमा बुट्टैबुट्टा देखिन्छन् ।

निकैबेरपछि केटीले सम्झे झैँ गरी भन्छे– ‘तिमीले कति शोख गरेर लगाएका फूलहरु होइनन् यिनीहरु ? यसरी चुँड्नु हुन्छ ?’

‘मलाई भोक लागिरहेछ ।’ केटोले सुस्तरी भन्यो र पहिले झैँ सयपत्री छोडाउन थाल्यो ।

‘हिँड, भित्र जाउँ !’ केटीले उसको कुममा हात राख्दै भनी, ‘हामी पनि केटाकेटी झैँ…’

केटाले कोठाको बत्ती बाल्यो । केटीले केही नबोली कहिले दराज, कहिले बाकस र कहिले झुण्ड्याइएको झोलामा केही खोजिरही । केटोचाहिँ बोलिरहेको थिएन उसको आतुरमा ।

उसले झ्यामाथिको ठुटो चुरोट सल्कायो र तानिरह्यो । उसका आँखाहरु फुलेका थिए र उसले निकै गहिरिएर कुनै समस्याबारे सोचिरहेथ्यो ।

‘तिमीले अवश्य नै केही खाने कुरा वा पैसा खोजिरहेकी हाैली, अरू खाेज्न यति समय लाग्दैन ।’ उसले चुराेट तान्दै भन्याे ।

केटीले अहिलेसम्म दुई तीनवटा भुण्ड्याइराखेकाे कमीज र प्यान्टका खल्तीहरु छामिसकेकी थिई । केही कागजका टुक्रा, एउटा रित्तो चुरोटको बट्टा, एक–दुईवटा सलाईका काँटी, एउटा सानो सुपारिको टुक्राबाहेक अरु उसले केही भेट्टाइन पनि।

‘कतै केही छैन होला’, उसले अगाडि इजलमा टाँगिएको कागजतिर हेर्दै भन्यो– ‘बरु म तिमीलाई एउटा विषय दिन्छु, आज छोडिदेऊ पहाड, रुख, नदी र फूलका कथाहरु वा चित्रहरु । तिम्रो क्यानभासमा म देख्दै छु अथवा तिमीले देख्न सक्नुपर्छ , एक प्लेट मासु, चिउरा, तारेको फूल र मलाई र एक सिसी….’

केटीलाई अब भने रीस उठिसकेको हुन्छ । उसले कतै केही पाइन र झर्किएको स्वरमा भन्छे– ‘किन गर्छौ हामी सपनाका कुराहरु ? तिम्रो कोटको खल्तीबाट मलाई बासी मासुहरुको गन्ध आइरहेको छ । हिजो तिमीले कतै पार्टी त खाएका हैनौ वा यो तिम्रै जीउको गन्ध आइरहेछ मलाई ?’ उसले केटाको कुम सुँघे झैँ गर्छे ।

‘हिजो त म निकै राति फर्के नि, थाहा पाइनौ ? एउटा साथीकहाँ खाएँः मासु, अचार, तरकारी, खीर…

‘खीर पनि ?’ केटीले आश्चर्य माने झैँ गरी सोध्छे र ऊ नजिकै पलङमा पल्टिन खोज्दछे । अब ऊ निश्चिन्त भएर केटाका कुराहरु सुनिरहेकी थिई । केटाले फेरि चुरोट तान्छ र बिस्तारै भन्छ– ‘म तिमीलाई हिजाे खाएका कुराहरू सुनाउँछु, तर मलाई अहिले प्यास लागिरहेछ र हुन सक्छ तिमीलाइ पनि ….’

केटीले दुई ग्लास पानी अँखाेराबाट खन्याउँछे र पहिले अाफू खान्छे । उसले पानीकाे गिलास समाउँदै भन्छ, ‘एकछिनका लागि भन्ठान्नु यो रक्सी हो । हिजो पनि…।’ उसले पानी तनतन पिउँछ र एकचोटि हाँसे झैँ गर्छ ।

केटीलाई हाँसाे उठेकाे हुँदैन, उसले गिलास राख्दै भन्छे, ‘हिजोमा बाँच्न सकिन्छ, हिजोको खानेकुरा सम्झेर आज नि… । भोक एक दिन मात्रै लागे पो त…!’ केटो यसपटक निकै लज्जित हुन्छ । तैपनि चुरोट फ्याँक्दै भन्छ– ’आऊ न त हामी एकअर्काका मासु खाऊँ, म तिम्रो आँखाहरु र ओठ पहिले खान्छु ।’

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.