~कृष्ण उफान~
“जुन खोलाको दुवाली उही खोलाको चपरी” ठाउँ अनुसारको रहनसहन हुन्छ । मान्छे अनुसारको बानी व्यहोरा हुन्छ । हरेक मावनमा केही न केही भिन्नता हुन्छ । यो दुनियामा भएका मानवका मानवीय स्वभाव नै यही हो । सबै एकै स्वभावका मानिस भएमा त त्यो त मानवीय गुण नै भएन नि । एउटै ड्याङको मुला जस्तो भैहाल्छ नि । अरू मानिसभन्दा तपाईमा के पृथकता छ ? साझा गुणहरू के के मिल्छन् ? कोही कसैसँग पनि नमिल्ने गुण तपाईमा के लुकेर बसेको छ ?
एक पटक ठन्डा दिमागले सोच्नुहोस् त ? कोहीलाई परपर बोलिरहनु पर्ने हुन्छ । कोही कसैलाई जति धेरै फटाहा बोल्ने अवसर पायो त्यति नै संसार विजय गरेको आभास पाउछन् । कोही कसैलाई सभासम्मेलनमा भाको नभाको कुरा गरेर दुनियाको माँझ पररर ताली पायो भने म जस्तो महान व्यक्तित्व त संसारमा अरू को होला र भन्दै गजक्क पर्छन् । भाषण गर्ने क्रममा आफ्नै धोती खुस्केको पनि थाहा पाउदैनन् । उसैका हितैषीहरूले पो ए तपाईको धोती खुस्कन लाग्यो भनेर सम्झाइदिनु पर्ने हुन्छ । त्यसको पनि बेवास्ता गरेमा दुनियासामु जुन काम कुरो नहुनु पर्ने थियो त्यो सबै भैसकेपछि बल्ल फुर्सदमापश्चाताप गर्दै धोती लगौटी स्याहार्ने हो । पछि सबैले आलोचना गरेर खिल्ली उडाए पछि उल्टै समाचार सम्प्रेषण गर्नेहरूप्रति खनिनन्छन् ।
राज्यको चौथो अंग भनेर चिनिने पत्रकार महोदयहरू सत्य तथ्य समाचार सम्प्रेषण गर्न हरवखत लालायित हुन्छन् । उनीहरूलाई झुटो आरोप लगाएर नानाभाती गाली गर्न पनि पछि पर्दैनन् ।
यस्ता महामहिमले घरका गृहलक्ष्मीलाई कति सताउदो हो । कति पिर्दो हो तपाई अनुमान लगाउनुहोस् त । उसिन्नु पर्ने अण्डा किन पकाइस् र पकाउनु पर्ने अण्डा किन उसिनिस् भनेर कति हपार्दो हो । आखिर अण्डा उही हो । उसिने पनि पकाए पनि । सधैं अपजस गर्नु पर्ने । कामको सही मूल्याङ्कन गर्न कहिल्यै नजान्ने । सधैं गालीको वर्षा वर्षाउनु पर्ने ।
एक्काइसौं सताव्दीमा आएर पनि राजनीतिमा चासो नखान्ने मानिस त सायद भेट्न मुस्किल पर्ला ? त्यसमा पनि नेपाल जस्तो संक्रमणकालीन तरल अवस्थाबाट गुर्जिरहेको मुलुकमा । लामो समय भइसक्दा पनि मुलुकले संविधान पाउन सकेको छैन । काम चलाउ संविधान छ । क्षण क्षणमा संशोधन गरिरहन्छन् । तैपनि आफ्नो अनुकुल नहुदाँ समस्याको गाँठो कहिल्यै पनि फुकाउन सकेनन् । गाँठो दिनानुदिन कस्सिदै पो छ । दोस्रो संविधानसभाको निर्वाचन भए पछि त देशले निकास पाउला भनेको छ पहिलो गाँसमा नै ढुंगा भने झे भएको छ । अन्तरिम संविधानमा स्पष्ट कुरा उल्लेख छैन ।
संविधानसभा भनेको त संविधान बनाउने हो अन्यत्र ध्यान मोडिनु हुन्न भन्ने एकथरीका तर्क छ र हाल भइरहेको राष्ट्रपतिलाई अरू कार्यकाल चलाउन दिनु पर्दछ । तर अर्कोथरीका तर्क छ नयाँ जनादेश आएपछि कहाँको म्याद नाघेको रापट्रपतिले काम चल्न सक्छ ? अब कसको कुराप्रति विश्वास गर्ने ? बहुदलीय व्यवस्थाको विशेषता नै यहिरहेछ । भर्खर सम्पन्न निर्वाचनको मत परिणाम हेर्दा सबै पार्टीहरू सहकार्य गरेर मुलुकको महत्वपूर्ण सवालमा सहमति गरेर अगाडि बढ्नु पर्ने तरिकाले जनताले पठाएको देखिन्छ । कसारको डल्ला जस्ता पार्टीहरूले कसरी सहमति गर्लान् । सहमतिको लागि सहमति गर्न सक्दैनन् । सहमतिको रटनाले जति मथे पनि घिउ लाग्नु शून्य हुन्छ । परिश्रम सबै हावामा जान्छन् ।
सञ्चार माध्यमहरूमा बारम्वार आउने समाचार नै राजनीतिको हुन्छ । दृष्य सञ्चारमाध्यममा बारम्बार देखा पर्ने देशको बरिष्ठ व्यक्तित्वको रूपमा देखा पर्ने र क्षण क्षणमा कुरा फेर्ने नेता महोदय को को छन् ? को सिंङ न पुच्छरका कुरा गरेर ठाउँ पिच्छे दर्शकको माँझ वाह वाहको ताली पाउन र ठूला नेताको भाषण त वास्तवमा नै ओजस्वी हो भनेर दुनियाँलाई गफ गर्ने मेलो र पत्रकार महोदयहरूलाई पनि के समाचार लेखौ भनेर समाचारको खोजी गर्न पनि नपर्ने । कम्तीमा पेशेवर पत्रकार महोदयहरूको रोजीरोटीको व्यवस्था त हुन्छ नि ?
हाम्रो जित सुनिश्चित छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनलहर हाम्रो पक्षमा उर्लिसकेको छ । केवल घोषणा गर्न मात्र बाँकी छ । बहुमत त के दुई तिहाई बहुमत आउनेछ । नेपाली जनताको अग्रगामी किसिमको जन संविधान बन्नेछ र आगामी वीष वर्षमा विश्वको एक नमुना देशको रूपमा नेपाललाई पुर्याउने छु भन्दै कुम उचाली उचालीकन भाषण हाक्ने महामहिमको हालत देख्नुभएको छ । दोस्रो संविधानसभाको निर्वाचनको दिन आम नेपाली मतदाताहरूलाई उत्साहपूर्वक निर्वाचनमा सहभागी भएकोमा हार्दिक धन्यवाद दिनु हुने महामहिमको कुम त हल्लिन छाड्यो छाड्यो, शिर पनि ठाडो हुन छोडेर घोसेमुन्टो लगाइराख्नुभएको देख्नुभयो होला नि ।
यथास्थितिवादीहरूले निर्वाचनमा धादली गरे । हाम्रो लक्षलाई अगाडि बढ्न दिएनन् । अब यस निर्वाचनको मतपरिणामलाई हामी स्वीकार गर्दैनौ भन्दै बर्बराउन थालेको कुरा त तपाईले पनि पक्कैपनि सुन्नुभयो होला । पराजय स्वीकार गर्न नसक्ने नाथेले किन निर्वाचनमा होमिनु ? वैद्य बा झै निर्वाचनबाट अलग्गिएर बसेको भए त यो पराजयको स्थिति त व्यहोर्नु पर्ने थिएन नि । विश्वका विभिन्न मुलुकहरूले पर्यवेक्षण गरेको यस निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको प्रतिवेदन प्रस्तुत गरेका छन् । दुईतिहाई सहित विजय प्राप्त गर्ने दिवासपना देख्नेहरूलाई मात्र निर्वाचन धाँदली भएको जस्तो लाग्दैछ ।
– मन्थली– २, सुन्दरबस्ती,
रामेछाप