~रेखा पन्त~
लाग्दैन आलिशान घर होस्
घरमा काम गर्ने नोकर होस्
न चाहन्छु
सुविधामा घोडा हुन् गाडी हुन्
सुरक्षामा अगाडि पछाडि हुन् !!
कदापि छैन सोच
कमाउँ मनग्य धन सम्पति
जोडौं महंगा जमिनहरु
या
जम्मा गरौं बैंकको
चल्ती र मुद्दती खातामा
न बन्नु छ
आसामी मलाई
लगाएर सय कडा दुइमा !!
कत्ति छैन मोह
नारी भएर पनि
झरिझुट्ट भएर हिड्न
झपक्क शिरदेखि पाउसम्म
सुन
चाँदी
हीरामा
पार्टी होस् या पूजाआजामा !!
न छ चाह
गरौँ देश विदेशको भ्रमण
बुझौं ठाउ अनुसारको आचरण
इतिहास धर्म र संस्कृति
चालचलन विकास र प्रवृति
न चाख्नु छ बिदेशी परिकार
न हेर्नु छ मलाई नौलो संसार !!
यतिमात्र कामना छ
मेरो अन्तिम चाहना छ
सारा इच्छा
मेरो प्रतिक्षा
पुरा हुनेछ त्यो दिन
जब हुनेछन्
मेरा आखाका नानीहरु
मेरै काखको दायाँबायाँ!!
घाम पानीमा ओत लाग्ने
झुपडी नै किन नहोस्
उदाउनेछ प्रकाश
छर्ने छ शक्तिको किरण
मझेरी देखि खोपीसम्म !!
बल्नेछ खुशीको दियो
चम्किनेछ मुहारमा हर्ष
अधरका मन्द मुस्कानले
झार्नेछन् हर्षका आसुँ
सुक्नेछन् खुशीका बिस्कुन!!
हिमाल जस्तै अटल बनेर
पार्नेछ वशमा दुश्मनलाइ
गर्नेछ पहरेदार सुरक्षामा
आमा र बैनीको
चुम्नेछु शिखर सफलताले
बढ्छ साहस र हिम्मत
जब
देख्छु छोरीको अधरमा मुस्कान !!
गुडका बचेरा जस्तै आतुर
मेरा भोका बालबच्चालाइ
यिनै हातले पकाएको भोजन
थपी थपी खुवाएको दिन
भरिनेछ मेरो पेट
अघाउने छु टन्न
सन्तुष्ट भएर
साच्चै तृप्त हुनेछ मन !!
परीको कथा सुनाउदै
सुम्सुम्याउँदा
तो कोमल केशहरु
हुनेछन् आनन्दित
लोलाउने छन्
र
निदाउने छन् बिस्तारै
मेरै छातीमाथि
हो उसै रात पुरा हुनेछ मेरो सपना
जो एक दशकदेखि
हर रात जागै बसेर देख्ने गर्थे !!
-रेखा पन्त, गोरखा
हाल:ईजरायल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )