~डा. एकप्रसाद दुवाडी~
मानवले सुनेको थियो नेपाल जति सुन्दर देश संसारमा कुनै छैन तैपनि नेपाल सुनको कुर्सीमा बसेर सुनको कचौरामा मागिरहेछ। अनि नेपाली जति असल मानिस अरु कहिँ पनि हुँदैनन्। उसो भए दैनिक हजारौ नेपाली किन विदेश भासिन्थे त? उसलाई यी कुरामा दम लागेन, सायद अमीलो अँगुर जस्तो होला सोच्थ्यो। कुनैदिन अमेरिकी केटीसँग बिहे गर्ने कुरो त के अमेरिका जान पाउछु भन्ने कुरामा पनि मानवलाई विश्वास थिएन किनकि ३-४ चोटी टोफल अनि जिआरइ दिएर आवेदन गर्दा पनि गतिलो अफर पाउदै थिएन।
यसो हुनुमा दुई प्रमुख कारण भनेको ऊ कुवाको भ्यगुता जस्तो थियो । टाढाका युरोप अमेरिका को त परै जाओस् छिमेकका चीन र भारतका प्रमुख शहरहरू सम्म पनि भ्रमण गरेको थिएन भलै झुक्किएर एक-दुई पल्ट बोर्डरसम्म पुगेको थियो। तर बोर्डरमा गएर अर्को देशको बारेमा बुझ्न सम्भव पनि छैन, अनि छोटो भ्रमण र बसाइले गहिराई र चौडाइ नाप्न सक्दैन कुनै पनि नयाँ यात्रीले। यसका अलवा उसका शिक्षकहरु र मनपर्ने लेखकहरुका अनुसार पनि उसको धारणा बनेको थियो। त्यसैले उसले यही वकालत गरिरह्यो चिनेजानेका सबैसँग ।
उसले नेपलमै पढ्यो, काम गर्न पनि नेपालमा रहेको एक नामुद संस्थामा सुरु गर्यो र नेपालमै बिहे गर्ने सोच बनाएको थियो । उसका साथीहरु भने विस्तारै समबृध्दिको खोजीमा अमेरिका, युरोप र अष्ट्रेलिया हान्निदै थिए। कति जिआरइ, आएल्टस्, टोफल दिदै कलेज- विश्वविध्यालय खोज्दै थिए। एक-दुई जना सरकारी सेवामा पसेका थिए। उसका परिवारका अरु पनि यतै थिए । उसले अन्त जाने सोच नबनाएको कारण बुबा आमा को करले पनि हो। उनीहरु गाउबाट शहर आउन त बडो सकससाथ मानेका थिए तर यताबाट बिदेश आउजाउ गर्न तयार थिएनन् । “हेर है कान्छा, बुढेसकालमा हामीलाई तनाब दिने होइन, तलाई जति पैसा चाहिन्छ, हामी यतै दिउँला तर अरुले जस्तो हामीलाई अलपत्र नपार “ ।
अँग्रेजी साहित्य र संचार विषयमा एम ए गरेको उसलाई पश्चिमी संस्कृति भने नौलो त थिएन किनकि फुर्सदका बेला सिएनएन, एफबियो र इसपिएन उसको रोजाइमा थिए। यध्यपि पुरै भिजेको पनि थिएन उसको ती बुझाइ पनि सतही र बोक्रे मात्र भन्दा हुन्थ्यो । लामो समयसम्को लागि विदेश जान नपाए पनि छोटोसमयको लागि सही ऊ एकचोटी अमेरिका जान चाहन्थ्यो किनकि आधुनिक विश्व इतिहासमा अमेरिका सामरिक, आर्थिक, राजनीतिक, शैक्षिक र प्राविधिक सबै किसिमको केन्द्र भैसकेको थियो र त्यो ठाउँमा जाने मोह जो कोहीमा रहन्छ नै।
यति नै बेला उसको विवाहको लागि कुरो चलिरहेको थियो । दर्जनौ तिरबाट प्रस्ताव आएपनि किन हो जुरिरहेको थिएन। उसलाई मन परेकीलाई ऊ मन नपर्ने तर उसलाई मन पराउने लाई उसले मन नपराउने । कार्यालयमा सँगै काम गर्ने एकजना सहकर्मी प्रति पनि ऊ मोहित त थियो। तर दुई कुराले हच्किदै थियो- एउटा कारण भनेको त्यस बारेमा केटी साथीसँग कहिल्यै कुरा नगरेकोले त्यो एकतर्फी हुनसक्थ्यो भने अर्को भनेको यदि ती साथीले उसको प्रस्ताब स्वीकार नै गरे पनि त्यो अन्तर्जातीय हुने भएकाले उसका पुरातन विचारका बाबुआमालाई घात हुन सक्थ्यो । त्यसैले उसले त्यो जोखिम नै मोल्न सकेन । तर सजातीय घरानिया लगनगाँठोका लागि भएका पहलमा एउटै बाधा थियो कि केटीका बुबा वा दाइ भन्थे, “ केटो त लायक रहेछ, तर यसको आफ्नै नाममा घर जग्गा नै रहेनछ काठमाण्डौमा” । अव काठमाण्डौमा गरजग्गा कसरि जोड्ने, पढाउने काम गरेर, ऊ गम्थ्यो ।
कोही कोही ऊ विदेश नजाने सोचको भएकाले विवाह गर्न राजी थिएनन् , “तपाई जस्तो शिक्षित र प्रतिभावन मान्छे पनि यहि सडेर बस्ने ? तर म त उड्न चाहन्छु—एक्काइसौ शताब्दीमा पनि पुराना सासू-ससुराको स्याहारसुसार गरेर बस्न सक्दिनँ म त!” यस्तै यस्तै कुराले मन कुडिन्थ्यो र कहिलेकाँही सोच्थ्यो, बरु म जीवनभरि अविवाहित बसुँ कि क्या हो। यहाँका केटीहरु त यस्ता छन् भने विदेशी कति भाउ खालान्!
पछि अमेरिकी दुताबासले आब्हान गरेको एउटा सास्कृतिक आदनप्रदानको विज्ञापन देखेर आवेदन भरेपनि ऊ छानिएको थिएन पहिलो चोटी, तर प्रयास भने जारि राख्यो। अर्को वर्ष पनि उसले आवेदन दियो र अन्तरवार्ताका लागि पनि छानियो । रिजल्ट उसको फेबरमा आएन सुरुमा। यसपालि पनि, ऊ वैकल्पिक उम्मेव्दारमा मात्र परेछ-यदि संसारभरिका १६ मध्ये कुनै १ ले छोडेमा ऊ बोलाइन सक्थ्यो त्यसैले उसमा त्यो उत्साह थिएन- अमेरिका जाने अवसर पाउदा कसले छोड्ला अझ सित्तैमा वा अमेरिकी सरकारको खर्चमा । तर कहिलेकाही अचम्म हुन्छ र त्यही भयो मानवको सवालमा पनि । अन्तिम समयमा आएर कसैले क्यान्सेल गरेकोले एउटा खाली सिट उसलाई मिल्यो । दुताबासले उसलाई बधाइ दिदै पत्र लेख्यो तयारी गर्नका लागि । करिब १ महिना पछि केही महिनाको लागि अमेरिका जाने अवसर आएको थियो उसलाई आश मारिसकेको कुरा प्राप्त हुदा उसको खुशी चौगुणा बढ्यो। सबैले बधाइ दिए र केहिले उतै बिलाउन सुझाए पनि त्यही मौकामा। “केही वर्ष पछि त कानूनी भैहाल्छ नि, यो मौका नगुमाउनुहोस्”।
ओहायो विश्वविध्यालयकी एक प्रोफेसर रोजमेरि उसको संपर्कमा आइपुगिन् जसले त्यो कार्यक्रमको संयोजकको हिसाबले मानवलाई अमेरिका भ्रमण, क्रियाकलापहरु, अरु देशबाट जाने सहयात्रीहरु र उता बस्दा गरिने अनुसन्धानका सुपरभाइजरसँग संवाद गराइन् । मानवले लेखेको पहिलो इमेल पढेर उनले लेखेकी थिइन्, “हामी एक रसिला र सिर्जनशील पाहुनालाई हाम्रो विश्वविध्यालयमा आतित्थ्यता दिन पाउदा बडो रोमान्चित भएका छौ”।
पछि उसले सुभरभाइजर बिल लिडरसँग पनि परामर्श गर्यो । उनी पनि बिन्दास लाग्यो । बिलकै निर्देशनमा उसले एउटा प्रस्ताव पनि लेख्यो जोखिम संबन्धी संचार । यतिजन्जेलसम्म उसका अरु सहयात्रीहरुसंग पनि इमेलद्वारा संपर्क भैसकेको थियो भर्चुअल रुपमा । ऊ समेत १६ जनाको डफ्फा त्यो कार्यक्रममा सामेल हुदै थिए । ती मध्ये मलेसियाकी एक प्रध्यापकसँग उसको बढि नै भलाकुसारि भएको थियो उड्नु अघि- उसलाई लाग्यो उनीसँग दोस्ति जम्नेछ उतातिर।
हिड्नु अघि दुताबसका एक अधिकारी सम्झाउदै थिइन्, “तपाईहरु जस्तै छानिएर गएका एकजना साथी उतै हराए। यस्तो भएपछि के लाग्छ? यस्तो अवसर नै मेटिन्छ र जानुपर्ने सही र असल मान्छेले मौका पाउदैनन्।“ गम्भीर मुद्रामा उसले सही थापेको थियो कि उसले त्यस्तो गद्दारी गरेर सयौ अरुका बाटो छेकिदिने छैन । उसलाई त ठूलो पोखरीमा गएर हराउनु छैन बरु सानो पोखरीमै फर्केर बुबाआमाको र देशको सेवा गर्नुछ।
अमेरिकामा पाइला टेक्ने बित्तिकै दाँतमा ढुङगो लागे जस्तै भयो । सिकागोबाट कोलम्बस जाने जहाजको गेट खोज्दै जाँदा अनायाश एउटा ७-८ बर्षकी बालिका की बाउ उसलाई लम्की झम्की गरेर गाली गर्दै लखेट्न थालेछ। जब मानबलाई उसले त्यो सानी केटीको खुट्टा कुल्चेको आभाष गराइयो, तब ऊ माफी माग्न थाल्यो । ती अश्वेत बाबु-छोरी बल्लबल्ल मुस्कुराए ।
पछि ट्रान्जिटमा कुर्दा उसको आँखा एउटा क्याफेमा पर्यो जहाँ कुशाग्र केटी ठूल्ठूलो स्वरमा कफिको विज्ञापन गर्न थाली, “क्यापाचिनो, मोका, लाँटे … “ । ऊ अलि नगिच गएर नियाल्दा कार्डमा “ ए. लाल” लेखिएको थियो, “ के तिमी पनि कफी पिउछौ?” उसले मुन्टो हल्लाउदै सोध्यो, “के तिमी भारतीय हौ कि?” ‘होइन, म नेपाली हुँ, मलाई लाग्छ तिमी पनि नेपाली हौ” अव नेपाली मै फर्ररर्र बोल्न पो थाली। मानवलाई खुशी लाग्यो, नेपालीहरु कुनाकुनामा पुगिसकेछन् त । “के म पनि ऊ सँग कफि किनेर पिऊ?” तर केही ग्राहकहरु आएकाले ऊ आफ्नै काममा फर्की । जुलाइ ४ मा उसले उडान भर्यो कतार एर्लायन्सबाट दोहा हुदै सिकागो र कोलम्बस पुग्यो।
मानवको भेट अर्को एक यात्रीसँग भयो जो ओहायो कि बासिन्दा पनि रहिछन्, आयरल्याण्डतिरबाट ट्रेकिङ गरेर फर्किएकी उनी भन्दै थिइन्, “त्यहाँ हाम्रो पोखरीमा यो क्षेत्रकै सफा पानी छ।“ पछि कुरा गर्दै जाँदा उनीले नै एयरपोर्टबाट विश्वविध्यालयसम्म पुर्याइ दिने प्रस्ताव गरिन्। यत्तिकैमा उसको परिचय लेबनानबाट आएका अर्का प्रोफेसरसँग पनि भयो जो सँगसँगै उही कार्यक्रममा भाग लिदै थिए । अमेरिकन एयरलायन्सको जहाजबाट उडान गर्दा त्यसको सुविधा कतार एअरलाइन्स जत्तिको दर्बिलो लागेन उसलाई , सायद डोमेस्टिक उडान भएकोले त्यस्तो भएको होला सोच्यो । “नत्र कहाँ अमेरिका अनि कहाँ कतार!”
करिब ३ बजेतिर कोलम्बसमा ल्यान्ड गर्दा झलमल्ल घाम लाग्दै थियो । मानवले जाहाजको झ्यालबाट नियालिसकेको थियो, “औध्योगिक देश अमेरिकामा त कुनै खेतबारी बाँझिएका रहेनछन्।“ जता हेरे पनि गहुँ पाकेर पहेलै वा मकै फलेर हरियै ।
त्यहाँ अफ्रिका महादेशबाट आउने ३ जना बाहेक अरु आइसकेका थिए । डाक्टर के जसलाई (उसले ड्राइभर सोचेको थियो) र उनका सहयोगीहरु एन, चु, रब, पाम कार लिएर उनीहरुको स्वागत गर्न खटिसकेका थिए । बुझ्दै जाँदा पत्ता लाग्यो कि उनीहरु विभिन्न समूह मा पढ्ने त्यहीका विध्यार्थी थिए जो बिदाको समयमा त्यसरी नै पार्टटाइम काम गर्थे । ७०-८० माइलको यात्रा पछि अथेन्स स्थित ओहायो विश्वविध्यालय पुगे जहाँ मानवले अर्को गल्ति गर्यो, ढोका खोलिदिने मान्छेलाई गार्ड सम्झेर किनकि तिनी उसको रिसर्च सुपरभाइजर बिल थिए। अमेरिका गएपछि उसले थाहा पायो, त्यहाँ सबैले कार हाँक्दा रहेछन् र काम ठुलो सानो भनी भेदबाव गरिदो रहेनछ।
केही समयमा नै ऊ सबैसँग घुलमिल भयो। ऊ पुरुषहरु राखिएको तलामा अरु ७ जना सँगसँगै बस्यो। माथिल्लो तलामा उति नै संख्यामा महिला प्रोफेसरहरु राखिए। केही दिनमा नै महिलाहरुसँग पनि चिनजान भयो र नयाँ नातागोता र साथी भए। पहिलोपल्ट उसले हिन्दुका अलवा मुसलमान, क्रिश्चियन र अरु धर्म र फरक परिवेशबाट आएका साथीहरुसँग दिनचर्या बिताउनुपर्यो मुख्य गरेर, शौचालय प्रयोग गर्दा, लुगा धुँदा र खाना पकाउदा र राख्दा निक्कै अप्ठ्यारो लाग्यो सुरुसुरुमा ।
उसले विस्तारै विविध धर्म तथा संस्कारहरुको अर्थ र चुनौतिहरु बुझ्यो । उमेरमा अरुभन्दा २-३ वर्ष कान्छो भएपनि उसलाई अरु बच्चा जस्तै लाग्यो। उनीहरुको खानपान, लवाइखुवाइ र व्यबहारहरु अलि अल्लारे तालका थिए एकजना भारतीय समकक्षी बिनोद बाहेक। ऊ उनीहरुसँग उति घुल्न सकिरहेको थिएन तर दिनभरिको तालिम, भोजभतेरहरु, अनि विदाका दिनहरुमा गरिने टाढाटाढाका भ्रमणले उनीहरु एकदम ब्यस्त थिए ।
एकदिन ल्याबतिर घुम्दै जाँदा उसको हर्षले सीमा नाग्छ किनकि त्यहाँ एक नेपाली भेट्टाउछ जो केही वर्ष देखि त्यही काम गर्दै थिए। ती नेपाली अमेरिकी को अर्की साथी थिइन् जो चाख मानेर नेपालको बारेमा सोध्थिन्। “अलि बढी थाहा पाउने भए मलाई कफि पिआउनु पर्छ”। उसले जिस्क्यायो, नभन्दै मेरिनाले उनीहरु दुबैलाई डन्की क्याफेमा कफिको लागि निम्तो दिई तालिम होलो भएको समय।
ओहायो विश्वविध्यालयको हाताबाट ५ मिनेटको दुरीमा रहेको क्याफेमा ऊ जाँदा अर्को नेपाली साथी आइपुगेको थिएन तर मेरिना आइपुगिसकेकी रहिछ। २७-२८ वर्ष जति उमेरकी मेरिनाको हुलिया आम अमेरिकी तरुनीसँग मिल्दोजुलदो थियो । सुनकेस्रा कपाल, फुस्रो गोरो अनुहार, ठूल्ठुला आँखा, पुष्ट स्तन, ठिक्कको उचाइ, हकी स्वभाब र खाइलाग्दो जिउडाल। मानव पनि झन्डै उस्तै उचाइको तर केही छिप्पिएको थियो। ऊ निलो जिन्स र रातो टीसर्ट अनि स्निकर्स लगाएर उता गएको थियो।
आज उसले राम्ररी नियाल्यो मेरिनालाई सायद उसले पनि त्यस्तै गरी । सायद अमेरिकामा प्रोफेसरको धेरै आदर भएकोले ऊ त्यति सुशील देखिएकी हुन पनि सक्थी मानवको अगाडि।
उनीहरुले सँगै कफी पिए, “म नेपाल आएँ भने सहयोग गर्छौ?”
आश्चर्य मान्दै सोध्यो, “किन आउने नेपाल?”
“तिम्रो देश सुन्दर छ भन्ने मैले सुनेको छु।“
“हो, तर त्यहाँ धेरै समस्या पनि छ—जस्तो १५-१६ घण्टाको लोडसेडिङ … तिमीहरु यस्तो विकसित देशका मान्छे टिक्न गार्हो छ, त्यहाँ अहिले धेरै कम मानिस मात्र बस्न रुचाउछन् ।“
“त्यही त म देख्न चाहन्छु आफ्नै आँखाले। अनि यतातिर त्यति भावानात्मक संबन्ध पनि संभव छैन। अमेरिकी केटाहरुसँग राम्रा कार त छन् तर उनीहरुसँग समय छैन।“
“फेरि कमाइ पनि यता जस्तो छैन, तिमीलाई गार्हो होला, अनि पछुताउने छौ पक्कै पनि”।
“मलाई त्यसको चिन्ता छैन किनकि यताको २ वटा पत्रिकाको रिपोर्टर भएकोले फरक पर्दैन, मैले जागिर छोडे पनि उनीहरुले मेरो रिपोर्ट छापि दिन्छन्।“ यसरि विस्तारै उनीहरु नजिकिए सायद विपरित ध्रुबका भएकाले होला। एकदिन मानवले अनुरोध गर्यो, “टाढाटाढाको यात्राले वाक्क लागिसक्यो , यता नजिकै कुनै राम्रो घुम्ने ठाउँ छैन।“
“यो सानो ठाउँ हो तर म तिमीलाई स्टाउट लिएर जान्छु जुन यहाँको नामी पर्यटकीय स्थल पनि हो”। नभन्दै अर्को शनिवार ऊ एउटा कार लिएर एपार्टमेन्ट मै लिन आई जुन दृश्य अरु ८ जना महिला साथीहरुले देखेछन्। पछि र्याख्र्याख्ती पार्दै थिए, “के हो तिम्रो चाला, हामीलाई चाहि खिसिट्युरी गर्ने तर अमेरिकी देखेपछि चाहि … हँ?”
ओहायो विश्वविध्यालयबाट १० किमी जति टाढा जाँदा पनि जङ्गल-जङ्गल, कतै दूरदराज गएजस्तो। उसले जवाफ फर्काई, “तिम्रो सुपरभाइजर त ५० किमी टाढा बस्छन् जहाँ पुगेपछि बाटो नै टुङ्गिन्छ !” मानवले सर्सर्ति नियालो त्यो ठाउँ नेपालको पोखरा जस्तै रमणीय… विचतिर एउटा पोखरी पनि थियो र त्यहाँ पौडिदै थिए केही सेता हाँसहरु, केही केटाहरु रबरको डुङगामा खियाउदै थिए। एकछिनपछि नै किन हो मेरिना ले हतार गरेर भनी, “अव हामी फर्कनुपर्छ।“
बाटोमा मृग मरेर वा मारेर लडेको थियो। “यहाँ धेरै यस्तो भएको पाइन्छ किनकि मृगको संख्या एकदम धेरै छ।“ पछि उसले मुख नेप्र्याउदै भनी, “मलाई मेरो केटो साथीले छोडेको छ अहिले। घरकी ठूली छोरी हुँ अरु एक बहिनी र भाइ छन् घरमा”।
“अनि किन छोड्न चाहन्छौ यति राम्रो जागिर”? उत्सुकता देखाउदै थप्यो, मानवले।
“होइन, प्रगति गर्न नगिज बसेर हुन्न, कहिलेकाही परपरको उडान लगाउनुपर्छ, हामीलाई यस्तै शिक्षा दिइन्छ यतातिर।“ त्यसपछि मानवले आफ्नो बारेमा पनि सबै कुरा भन्छ र मिलेमा विध्वावारिधि गर्न त्यहाँ फर्कने सपना सुनाउछ। मेरिना खुब ध्यान दिएर उसको कुरा सुन्छे। उसले नेपाल आएरै छोड्ने ढिपि दोहोर्याउदै थिई। एपार्टमेन्ट पुग्दा साँझ परिसकेको थियो, कार गएर आँगनमा रोक्कियो ।
मानव ले कृतज्ञता जाहेर गरेर नभ्याउदै मेरिनाले अगाडिको ढोका खोलेर पछाडि आएर देब्रेतिर ढल्किदै दह्रो अंकमाल गरेर भनी, “हाम्रो यो विशेषता हो।“ त्यसपछि बाइ भन्दै ऊ विदा भई । मानवका हात हल्लिरह्यो, कुन बेला कार क्षितिजमा बिलाइसकेछ। कुनै परस्त्रीले अगालो मारेको त्यो पहिलो थियो किनकि उसले कहिल्यै विपरीत लिङ्गीसँग अंकमाल गरेको थिएन किनकि उसको देशमा कि त नमस्कार चल्थ्यो कि हाइ-हेल्लो र त्यसो गर्दा कहिल्यै शरीर स्पर्श हुदैनथ्यो । काउकुति र सआनन्द सँगसँगै दोहोरिदै गरेकोले त्यो रातभर निन्द्रा लागेको थिएन उसलाई। मेरिनाको संकेतको मतलब के हो ?
किनकि अगालो एक संकेतात्मक संवाद हो भन्ने मात्र उसले बुझेको थियो तर बेखबर थियो यसका अरु अर्थहरुप्रति–जस्तै माया, प्रेम, चिनजान, मित्रता, बन्धुत्व, सहानुभूति का बारेमा। पक्कै ऊ त्यसबखत कुनै समस्यामा परेको भए दुखमा परेको मान्छेलाई अगालो मार्नु सामन्य हुन्थ्यो होला । न त मेरिनालाई नै कुनै सफ्ठ्यारो वा मद्दत चाहिएको थियो। उनीहरु धेरै समय सम्म भेट नभएका आफन्तजन पनि थिएनन् जो असीम खुसी प्राप्त गर्न न्यानो भावात्मक कुराहरु साटासाट गर्न अगालो मारुन्। एक्कासी आएर अगालो मार्ने उसको केही व्यक्तिगत समस्या थिए र? त्यस्तो पनि त उसले अनुभव गरेन ३— सातासम्म। पछि उसका समकक्षीहरुले सुझाए कि सायद अमेरिकी सभ्यतामा अगालो मार्नु कुनै आश्चर्य थिएन किनकि त्यहाँ शदियौदेखि त्यो स्विकारिदै आइएको छ । तैपनि उसको कौतुहलता मेटिएको थिएन।
भोलिपल्ट बिहानै ऊ अरु साथीहरुसँगै सानफ्रानसेस्को उड्यो १ हप्ताका लागि जहाँ उनीहरु गुगल हेड अफिस लगायत अरु संचार गृहहरुका संचालन र व्यवस्थापन बारे अध्ययन गर्नुपर्ने थियो। मानवले त्यही मौकामा गोल्डेन ब्रिज मा पैदल हिडेर वारपार गर्ने कोशिस छोडेन । उसले पहिलोपल्ट मेरिनालाई त्यहाँ झल्झल्ति सम्झियो सँगसँगै त्यो बिशाल बेमा चल्ने पानीजहाजमा बसेर सुइकिए जस्तो। पछि फर्कदा मिसिगन तालको माथि पुग्दा हवाइजहाज एकदम बत्तिएर झन्डै खसेको … पाइलटले रुट परिवर्तन गरेर धेरै माथि माथि लगेकोले उनीहरु बालबाल बचे सायद खराब मौषमले त्यस्तो भएको थियो।
पछि ओहायो फर्केपछि ऊ सरासर मेडिया ल्याब गयो तर मेरिना त्यहाँ थिइनन्। नेपाली साथी भन्दै थिए, “उसले तिमीलाई धेरै सोध्दै थिई सायद भेट्न चाहेकी थिई तर अव त २ महिनाको छुट्टिमा गइसकी।“
मानवलाई दिक्क लाग्यो कमसेकम एकचोटी भेट भएको भए पनि हुन्थ्यो नि तर नियतिलाई त्यो मन्जुर थिएन। त्यसपछि लगत्तै उनीहरु केही हप्ता जति पछि वासिङटन डी सी तिर आए। एक हप्ता जति एउटा कन्फेरेन्स र त्यसपछिको एक हप्ता घुमघामको काम सकाएर ऊ नेपाल फर्क्यो। बुबा आमा त्रिभुवन एयरपोर्ट मै लिन आएका थिए। उनीहरुसँगै अर्को एउटा नचिनेको मान्छे पनि थियो, उसलाई लाग्यो त्यसलाई कतै पहिले देखेको जस्तो। नियाल्दा थाहा पाइहाल्यो, ती त उनै मेरिना थिइन्, “अरे, तिमी यहाँ कसरी?”
लज्जाउदै मेरिनाले भनी, “मलाई तिम्रो देश धेरै धेरै मनपर्ने भएकाले घुम्न आएकी ।“ बुबा-आमा मुस्काउदै उनीहरुलाई नै क्वारक्वार्ती हेर्दै थिए। यो एउटा सपना थियो वा वा विपना उसले खुट्याउनै सकेन।
(स्रोत : रचनाकारले “नयाँ रचना पठाउनुहोस्” बाट पठाईएको ।)