व्यङ्ग्य कविता : माग्ने

~चट्याङ मास्टर~

ऋण, दान, अनुदान जे मिल्छ उही माग्ने
माग्दा माग्दा धनी हामी, दिने बन्नेछ माग्ने ।

धनी देशका सामु, गरिब छौँ, भनी माग्ने
गरिबै भेटिए देश, नछोड्ने, डटी माग्ने
छिमेकी देश धनि देखे, छिमेकमै गई माग्ने
टाढाको देश धनि देखे, देशमै बोलाई माग्ने ।

जहाँ चर्कन्छ गृहयुद्ध, बन्दुक बोकेर माग्ने
शान्त भेटे कुनै देश, बुद्ध बोकेर माग्ने
भ्याएसम्म नेताले, झण्डा हल्लाई माग्ने
नभ्याए कार्यकर्ताले, एनजीओ खोली माग्ने ।

विश्वको अग्लो शिखर हाम्रो,
हामी विश्वको माग्ने
चन्द्रसूर्य रहेसम्म,
झण्डा हल्लाई–हल्लाई माग्ने
सभ्यता यही जन्मेथ्यो, हुर्कियो भयो माग्ने
भृकुटी तारा उदाइथिइन्,
अस्ताइन् अब माग्ने ।

काँगडा टिष्टा पुगेकाथ्यौ, फर्कियैँ अब माग्ने
हाम्रो सिमाना मिचियो, फर्काइ देऊ
भनी माग्ने
कृषिप्रधान देश यो मेरो, मल र बीउ माग्ने
मागेको मलबीउमाथि, कमिसन थप माग्ने ।

स्वदेशी धन विदेशमा छन्, विदेशी धन माग्ने
विदेशी यहाँ मालामाल,
स्वदेशमै हामी माग्ने ।

नेपालको धन हरियो वन, काट्ने रोप्न माग्ने
हुर्काउन माग्ने फेरि, जोगाउन पुनः माग्ने ।

समर्थन माग्ने कोही, विरोध गरेर माग्ने
स्वदेशी नदीको पानी, विदेशीसँग माग्ने ।

उद्योग फैलाउने देशमा, दर्तामै घुस माग्ने
टिप्पणी तोकआदेशको, पसल खोलेर माग्ने ।

पर्यटनबाट उँभो लाग्ने, नाक थुनेर माग्ने
सहर, गाउँ र ठाउँको, बिजोग देखाई माग्ने
भत्काई पाटी र पौवा, फोटो खिचेर माग्ने
आयो वीर गोर्खाली, खुकुरी बेची माग्ने ।

संस्कृतिका धनी हामी, वेद बेचेर माग्ने
आरती अनि साङ्गेमा, डिस्को नाचेर माग्ने
कलाकृति र संस्कृति, जीर्णोद्धार गर्न माग्ने
त्यागका दर्शन हाम्रै हो, इज्जत त्यागेर माग्ने ।

उँचा पहाडपर्वतमा, पहरो लडाइँ माग्ने
लालीगुराँसको वनमा, आगो दन्काई माग्ने
तराईको फाँटमा वर्षे, बाढी बगाई माग्ने
सहर–बस्ती दुर्गन्ध, फोहोर बनाइ माग्ने ।

शिक्षाका पुजारी हौं, स्कुल छाउन माग्ने
गैंडा, बाघ आदिका, छाला काढेर माग्ने
भाग्नेसँग लाग्नेसँग माग्ने
दिँदा–दिँदा सब टाट हुन्छन्,
टाट नै सँग माग्ने ।

त्यसै माग्दैन नेपाली, सिद्धान्त छाँटी माग्ने
सिद्धान्तै पनि मागेको, छाँट्ने खर्च माग्ने
विश्व सबैको साझा हो,
आफ्नो हक माग्ने
माग्ने योजना बनाउन,
गुरु योजना माग्ने ।

माथिका चाकडी माग्ने, तलका
सोर्स माग्ने
बीचकाको लुलो इज्जत,
इज्जतका लागि माग्ने
सत्तावाल माग्ने भत्ता,
भत्तावाल सत्ता माग्ने
नेता हाम्रा महान् त्यागी,
त्यागको मोल माग्ने ।

हामी चन्द्रमा किन जाने,
त्यहाँ के मिल्छ र माग्ने ?
चन्द्रमामा बसुन अरू राष्ट्र,
पछि गै हामी माग्ने
हाम्रो मौलिक प्रतिस्पर्धा, कसले बढी माग्ने
विदेशबाट सफा चिल्ला, मोटर
मगाई माग्ने ।

म त झिल्के त्यसै राम्रो, मादल
घन्काई माग्ने
उच्च टोली विदेश जाने, लर्कन लागेर माग्ने
जेट यात्रा भ्रमण भत्ता, लाखौं भ्याएर माग्ने
मागी गर्ने विकास यस्तो, विकसित
भै माग्ने ।

नारा–जुलुस अनि बन्द–हड्ताल गरेर माग्ने
दौरा सुरुवाल कोट टोपीमा चस्मा
ढल्काई माग्ने ।

पशुपति देव झन् हाम्रा, विकास
कोष माग्ने
सुनका छाना, चाँदीका ढोका, नुहाउन पानी माग्ने
ज्योतिलिङ्ग लथालिङ्ग लिङ्गको भर माग्ने
ढोगाई माग्ने देवता, मान्छे ढोगेर माग्ने ।

चेली चेला विदेश लाग्ने,
नजाने यहीँ माग्ने
फर्काउन माग्ने कोही,
बाँकी फर्किई माग्ने
गर्भिणी माग्ने आहार,
बालकलाई दूध माग्ने
किशोरी माग्ने शिक्षा,
युवकले नोकरी माग्ने
वृद्ध माग्ने भत्ता, मरेकालाई पिण्ड माग्ने
गर्भदेखि मसानसम्म, छुट्यो कि
कोही माग्ने ?

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.