~प्रभा कैनी~
अजम्बरध्वज खातिद्वारा लिखित ‘तपस्विनी’ महाकाव्य बजारमा आएको छ । पाल्पामा जन्मेर बुटवलमा बस्दै आएका खातीले विसं २०१२ सालदेखि साहित्यमा हात बढाएका हुन् । विधागत हिसाबले ‘तपस्विनी’ उनको पहिलो महाकाव्य हो । यसअघि उनका नौ खण्डकाव्य, गीतिकाव्य प्रकाशित छन् ।
‘तपस्विनी’ महाकाव्य नेपालीले भोग्न बाध्य दुई विशेष घटनाको सेरोफेरोमा सिर्जना गरिएको छ । पहिलो हो, चेलीबेटी बेचबिखनको घृणित प्रचलन र दोस्रो बाह्रवर्षे माओवादी युद्धकालमा मानिसले भोग्नुपरेका त्रासदिपूर्ण दिनका अनपेक्षति दुर्घटनाहरू ।
महाकाव्य तीस सर्गमा विभाजित छ । पहिलो सर्ग जसलाई काव्यकारले मंगलाचरण भनेका छन्, त्यसमा ‘तपस्विनी’ लेख्ने अठोट सुन्दर तरिकाले व्यक्त गरेका छन् । बाँकी उनन्तीस सर्गमा महाकाव्यको कथावस्तु बुनिँदै गएको छ । कथाको प्रारम्भ ठूली नामक बालिकाको जन्म प्रसङ्ग, उनको शैशवकाल, किशोरावस्थाको चित्रणबाट अघि बढ्दै गएको छ । गाउँले जीवनमा महिलाप्रति हुने गरेका भेदभावलाई उजागर गर्दै सामाजिक संरचनागत विभेदले गर्दा ठूलीले जीवनमा भोग्न बाध्य अनेकौं दुःख र कष्ट, मर्म र व्यथाका अनन्त शृङ्खला यसमा भेटिन्छन् । महाकाव्यकी नायिका सानै छँदा टुहुरी बनेकी ठूली जसलाई कविले पछि तपस्विनीको रूपमा प्रस्तुत गरेका छन्, किशोरावस्थामा नै दलालहरूबाट दिल्लीको वेश्यालयमा बेचिन्छिन् । वेश्यावृत्तिमा रहेका बेला एकजना संवेदनशील पुरुष ग्राहकको रूपमा उनीकहाँ पुग्दछ । उसले ठूलीलाई त्यस नारकीय पेसाबाट उद्धार गर्छ र विगत जीवनलाई भुलेर भावी दिनहरू उज्ज्वल पार्नका लागि अध्ययनका लागि प्रेरित गर्दछ । उसको सहयोग र समर्थनबाट ठूली शिक्षति बन्छे ।
ती नेपाल र्फकन्छन् र गाउँलेहरूलाई शिक्षित बनाउने प्रयत्नमा जुट्छन् । गाउँलेहरूको विश्वास, प्रेम र सहयोगमा आश्रम तयार हुन्छ । त्यहाँ गाउँलेहरू शिक्षा र ज्ञान गुनका कुरा सिक्न दिनहुँ भेला हुन्छन् । ठूली बालबलिकालाई पढाउन र मानव धर्मका कुरा फैलाउन तल्लीन रहन्छिन् ।
गाउँलेहरू, ठूली र कवि एकआपसमा रमाउँदै शान्त र सुरम्य जीवन बिताउँदै गरेका बेला माओवादीको जनयुद्धसँगै ठूलीको जीवनमा दुर्दिन फेरि सुरु हुन्छ । तपस्विनीको तपस्या र शिक्षा देखेर गाउँका शोषक तर्सन्छन् र यो आइमाई सुराकी गरेर गाउँमा बसेको हो भन्ने कुरा माओवादीलाई लगाउँछन् । मागेजति चन्दा नदिएको निहुँमा कविलाई माओवादीले अपहरण गरेर लगेपछि ठूली विक्षप्ित बन्छिन् । तपस्या गरेको बहानामा माओवादीलाई सघाएको ठहर गर्दै सेनाले आश्रम घेर्छन् । उनीहरूले उनको तिघ्रा भाँचिदिन्छन्, मुक्का हानेर दाँत भाँचिदिन्छन् । गाउँलेहरू मिलेर उनलाई उपचार गर्न काठमान्डु लैजान लाग्दा अपहरणमा परेका कवि माओवादीद्वारा मारिइसकेको थाहा हुन्छ ।
कवि र ठूली अथवा तपस्विनी कुनै दोषका भागीदार रहेनछन् भन्ने कुरा माओवादी र सेनाले पनि निकै पछि स्विकार्छन् । तर तपस्विनी त्यो स्वीकारोक्तिले बाच्दिनन् । महाकाव्य पढ्दा योगमायाको सम्झना हुन्छ । योगमाया जो सामाजमा व्याप्त कुरीति, बेथिति र अन्धविश्वासको विरुद्ध लडिन् । उनी कुशल नेतृ हुन्- व्यवहारवादी नेतृ, समाज बदल्ने आकांक्षा बोकेकी नेतृ । उनले आफ्ना मान्यताअनुसार धेरैलाई अनुयायी पनि बनाइन् तर रुढीग्रस्त समाज बदलिएन । बरु उनले आफ्ना अनुयायीहरूसमेत अरुण नदीमा जीवन उत्सर्ग गरेपछि गुणग्राहीहरू बढेझैं यस महाकाव्यकी नायिका ठूली तपस्विनीले पनि जीवनमा अनेक दुःख र हन्डर खाँदै पनि समाज सुन्दर बनाउने आकांक्षा लिएकी हुन्छिन् । उनी न्यायपूर्ण समाज सिर्जनाका लागि हिंसा र हत्याले होइन तर दया माया, कर्तव्यवोध र लगनशीलताले युगलाई उठाउने दृढता लिएकी तपस्विनी हुन्छिन् ।
अजम्बरध्बज खातीले ‘तपस्विनी’मार्फत् अहिंसा, शान्तिपि्रय र सत्याग्रही भावनालाई महत्त्व दिएका छन् । विभिन्न प्रसङ्गमा धर्मको कुरा उठाएका छन् तर परम्परावादी पूजाआजा, बलिप्रथा र अनेकौं अन्धविश्वासको उछितो काढेका छन् । महाकाव्यमा लेखक पूर्णरूपमा मानव धर्मको पक्षमा वकालत गर्छन् ।
महाकाव्य पढ्दै जाँदा थाहा हुन्छ, कवि महिलाका सुखदुःख, उन्नति-अवन्नतिका सानाठूला कारणहरू स्पष्टसँग बुभmछन् र तिनको निराकरणका लागि उपयुक्त उपायहरू पनि देखाउँछन् । मानिसमा अन्तरनिहित गुणहरूको विकासको स्रोत माया र प्रेम हो, एकआपसप्रतिको सद्भाव हो भन्ने उनको बुझाइ छ । उनी भन्छन्-
हृदय हो रे यो मान्छे भन्नु हृदय नभए
पटक्कै छैन दया र माया ती मान्छे के भए ?
मानिस भन्नु दया र माया, स्नेह र प्रेम हो
मायाको संसार निर्माण गर्नु उसको कर्म हो ।
कवि अजम्बरध्वज खातीले काव्यको विषयवस्तुलाई पाठकको मन छुने गरी प्रस्तुत गरेका छन् । समाजमा महिलामाथि हुने गरेको भेदभाव र द्वन्द्वको प्रभावका सम्बन्धमा मिहिन ढंगले केलाइएको छ । त्यसैले यो काव्य एक काल्पनिक रचना मात्र नभएर नेपाली समाजले भोगेका यथार्थको कथा हो ।
यी सबै विशिष्टताहरू हुँदाहुँदै पनि पाठकले महाकाव्यमा केही कमी महसुस गर्नेछन् । नायिकाको मृत्युपश्चात् मात्र उनको गुणको परख गर्दै महाकाव्य टुङ्गिएकाले काव्यकारले पलायनवाद अंगालेका हुन् कि भन्ने आभास हुन्छ । ठूली तपस्विनी एक सुयोग्य नेतृ हुन्, उनी बाँचेर नै समाजका विसंगतिविरुद्ध संघर्षमा रहिरहेको देखाइएको भए काव्य सुनमा सुगन्ध थपेजस्तो हुने थियो । यसका साथै महिलालाई होच्याउने र निम्न कोटिको मानव साबित गर्न खोज्ने दुई तीन शव्दको प्रयोग भएका छन् । निश्चय नै काव्यकारको नियत त्यो होइन तापनि यी शब्दको प्रयोग समस्त समाज र विशेषगरेर महिलालाई उति रुचिकर लाग्दैन । तथापि ‘दबिन्छ गुणीको दोष गुणका ह्रासमा परी’ भनेझैं महाकाव्यका यी ससाना एक दुई पक्षलाई छोडेर मूल्याङ्कन गर्ने हो भने यसलाई विशिष्ट दर्जाको कृर्तिका रूपमा गणना गर्नुपर्ने हुन्छ । भाषकि सरलता र सुन्दर संयोजनले गर्दा किताब पढ्दा अत्यन्त सहज तरिकाले अगाडि बढ्दछ ।
प्रकाशित: २०७० श्रावण २६
(स्रोत : कान्तिपुर – कोसेली)