~रुपिन्द्र प्रभावी ‘कटु’~
सीमान्तकृत वर्गीय जनजीवनका कथाव्यथाका कुशल प्रवक्ता हुन् नयनराज पाण्डे । पाण्डेको घामकिरी अलि ढिलै पढिसकें । ‘उलार’ र ‘लू’कै पृष्ठभूमि तर फरक विषयवस्तु रहेको घामकिरीले तिनीहरुले जत्तिकै तानिरह्यो सुरुदेखि अन्त्यसम्म । मलाई पुस्तकले तान्नुपर्छ । नत्र पछिसम्म नै पढ्छु तर फड्किँदै । घामकिरी भने कतै फड्किनुपरेन । सायद नयनराज पाण्डेको सबैभन्दा ठूलो शक्ति पनि यही हो । गम्भीर विषयवस्तुलाई पनि सरलताको कलाले भर्ने पाण्डेको गुणले जोसुकै सामान्य पाठकलाई स्थिर राख्छ किताबका पानाहरुमा र लाभान्वित भई नै रहन्छ पाठक ।
प्रेमको केन्द्रमा रहेको घामकिरीमा रोहित र चारुको उच्च आदर्श प्रेमको प्रस्तुतीले जो कोहीलार्ई आकर्षण गर्दछ । राजु गाइड र राजिव गोस्वामीको मानवताको प्रशंसा गर्न मन लाग्छ । चम्पक र उसकी श्रीमती वागेश्रीको दुर्घटित सपनाले गम्भीर बनाउँछ । पद्मिनी र योगमायाको कथानकले लठ्याउँछ मान्छेलाई अचम्मैसित । बम्बईमा कहिले भेट होला राजुको पद्मिनीसँग भन्दाभन्दै उपन्यासले निकै उत्कर्षतिर बाटो तय गरेको पत्तै भएन, बरु लखनउ फर्केपछि नै पद्मिनीको अप्रत्यासित आगमन र अनपेक्षित प्रतिक्रियाले बालुवाको प्रेममहल र पानीमा लेखिएको प्रेमपत्र नराम्ररी ध्वस्त हुन्छन् । बम्बईकै उपकथाहरुले कहिले स्वस्थ मनोरञ्जन प्रदान गर्दछन् त कहिले निधार खुम्च्याउन बाध्य बनाउँछन् । पूजारी पाखण्डको मधुरो स्वरमा नै सही भण्डाफोर पनि स्मरणीय नै छ । सलिम र राजुको आत्मीयताले मित्रताको नमुना प्रस्तुत गर्दछ तर सलिम बम्बई जान लाग्दा होटेलको साहुले सम्झाइदेऊ भन्दाभन्दै पनि किन आफ्नो परम मित्रलाई राजुले सम्झाउने प्रयास गरेन होला ? जिज्ञासा रहिरहेकै छ मनमा कतै । ठाउँठाउँमा ऐतिहासिक तथ्यहरुको उल्लेखले ज्ञानको भण्डार पनि बढाउँछ उपन्यासले । यिनै जिनिसहरुका कारण त पाठक साथै रहन्छ घामकिरीसँगै उड्दै, घुम्दै ।
प्रेमको रुमानी कहानीमार्फत् यति हृदयविदारक र मार्मिक जिन्दगीको ‘व्यवस्थापन’ नेपाली औपन्यासिक जगत्कै एक महत्वपूर्ण प्राप्ति हो । यसो भनौं, यो नेपाली साहित्यको पाठकका लागि एउटा महत्वपूर्ण प्रेमिल उपन्यास हो ।
नेपालको राष्ट्रियता र सीमान्तकृत जनजिन्दगीको विषयमा साहसिक, सामयिक र महत्वपूर्ण उपन्यास ‘लू’को लेखक पनि नयनराज पाण्डे नै हुन् । ‘उलार’का लेखक पनि पाण्डे नै हुन् जसमा पनि सीमान्तकृत वर्गकै व्यथालाई रोचकता प्रदान गरिएको छ (मैले त ‘उलार’लाई हरेक बिहीबार रेडियो बारीह ९९.२ मेगाहर्ज र barahiradio dot com मार्फत् कृति वाचन गरिने कार्यक्रम शब्दशिविरमा पनि वाचन गरें) । दर्जनौं चलचित्र, टेलिचित्रका पटकथा लेखक, निर्देशक तथा हालै दिवंगत साहित्यकार जगदीश घिमिरेको जीवनीमा आधारित ‘यात्रा माइलोमासित’ वृत्तचित्रका निर्देशक पाण्डेको घामकिरी छैटौं औपन्यासिक कृति हो ।
प्रेम विषयक उपन्यास घामकिरीमा भने मैले रोमान्समूलक प्रेमकै प्रस्तुती होला भन्ने सोचेको थिएँ । पाण्डेकृत ‘उलार’ र ‘लू’ले जुन सफलता आफ्नो मिसनमा प्राप्त गरेका थिए, त्यही सफलता आफ्नो मिसनमा घामकिरीले पनि प्राप्त गरेको छ । स्वैरकल्पनालाई यथार्थनजिक पु¥याउने उपन्यासकार पाण्डेको प्रयास पनि प्रशंसनीय नै लाग्यो । वास्तवमा पछिल्लो समयका केही सामाजिक यथार्थवादी उपन्यास भनिएकाहरुले समेत प्रेमका विषयवस्तु मिसाउने नाममा व्यावहारिक रुपमा अनौपचारिक तथा या त रिस उठ्दा या त कोर्रा ठट्टा गर्दा मात्र प्रयोग गरिने शब्दहरुको निर्लज्ज प्रयोग गरिराखिएको अवस्थामा घोषित रुपमै प्रेम विषयमा लेखिएको कृतिमा पनि त्यस्ता शब्द प्रयोग नगरिनुलाई पनि गौरव नै मान्नुपर्ने अवस्था आइसक्यो अब त नेपालीमा पनि ।
बिम्बात्मक नाम ‘घामकिरी’ले कतिलाई बाल्यकाल पनि सम्झाउला, कतिलाई आफ्नै ऐना हेर्न बाध्य बनाउला, कतिलाई गाउँघर र आमाबाबुको पनि याद दिलाउला । फिल्मी अनुभवलाई राम्ररी प्रयोग गरेका छन् उपन्यासमा कथानकका रुपमा पाण्डेले । कथानकको बहाव जति राम्रो छ त्यति आकर्षक लाग्दैन समाप्ति शैली । उग्र काल्पनिकताले कतै कतै लेखकलाई नै अल्मल्याएजस्तो लाग्दछ भने पाठकलाई त चक्कर लाग्छ नै । धेरैलाई सपना देख्न सिकाउने उपन्यासले लेखक नयनराज पाण्डेलाई ‘लू’ले जत्तिकै उचाइ त नदेला तर पाण्डेको लेखकीय विरासतलाई अझ उचाइ भने प्रदान गर्ने कुरामा कुनै शङ्का गर्नुपर्दैन ।
पोखरा
rupindrakatu@gmail.com